प्राचिन कालमा मध्य एशिया बाट घुमन्ते र पशुपालक आर्यहरु खैवरघाँटीको
बाटो हुँदै भारत बर्षमा प्रवेश गर्दा अहिलेका दलितका पुर्खाहरु भारतको
पश्चिम तर्फ सिन्धु नदी देखि पूर्व तर्फ गंगा र ब्रहमपुत्र नदी सम्मको समथर
र उब्जाउ क्षेत्रमा राज्य जमाई बसेका थिए। उनीहरु शान्त स्वाभावका,
सुसंस्कृत र साहित्य, संगीत, कला, कौशलका धनी थिए। ठाउँ ठाउँमा
मोहिन्जोदडो, हरप्पा आदि नामका ठूला ठूला बस्ती तथा शहर निर्माण गरी बसेका
थिए। त्यस क्षेत्रको उब्जाउ जमीन र धन धान्यले आकर्षित भै आएका आक्रमणकारी
आर्यहरुको ती पुर्खाहरुले बित्ता बित्तामा कडा प्रतिरोध गरे। आफुलाई सुर
अथवा देव भन्ने आर्यहरुले ती पुर्खाहरु लाई असुर, अनार्य, दानव, दैत्य एवं
राक्षस आदि संज्ञा दिए। नवागन्तुक आर्यहरुले भारतमा कब्जा जमाउन र आदिवासी
असुरहरुले आफ्नो पैतृक भूमि र अस्तित्व जोगाउनकालागि भएको यो युद्ध सयौं
बर्ष सम्म जारी रह्यो। जसलाई पौराणिक आर्य ग्रन्थहरुमा “देवासुर संग्राम”
भनिएको छ। त्यो लामो युद्ध को पुष्टि आर्यहरुको सर्व प्राचिन ग्रन्थ
ऋग्वेदमा शत्रुहरुमाथि बिजय प्राप्त गर्नका लागि सुयर्, अग्नी, बायु,
इन्द्र आदि देवताहरुलाई आह्वान गरेका ऋचाहरुबा ट पनि हुन्छ ।
अन्ततः त्यो दीर्घ लंडाईमा आर्यहरु पूर्णतः बिजयी भए भने दलितका पुर्खा
अर्थात् असुरहरुले पुर्ख्यौली भूमिमा आफ्नो राजपाट, अधिकार र हालहुकुम
संधैका लागि गुमाउन बाध्य भए। लामो समय सम्म चलेको त्यो संग्राममा शुरा,
बलिया र चलाख असुर यौद्धाहरुलाई खोजी खोजी सखाप पारियो भने धातुका
भाँडाकुँडा, हतियार, गरगहना , मुर्ति आदि बनाउने, छालाका जुत्ता, झोला
सिलाउने, कपडा बुन्ने तथा सिलाउने, घर बनाउने, काठ बाँस आदिबाट सरसामान
बनाउने, नाँचगान गर्ने आदि दैनिक जीवनोपयोगी बिभिन्न कला, सीप र संगीत
जानेका असुरहरुलाई चाँही भविष्यमा आफ्नो समाजको लागि धेरै काम लाग्ने र सधै
आवश्यक पर्ने बिचार गरेर आर्यहरुले जीवन दान दिई दास (शुद्र) बनाएर राखे।
बिजेताले आफ्नो बिजयलाई चिरस्थायी बनाउन सर्वप्रथम सत्रु पक्षको संस्कृति र
साहित्यलाई समूल्नष्ट गर्नुपर्छ भन्ने रहस्य राम्रो संग बुझेका आर्यहरुले
ती दासहरुको मानसिकतामा कहिल्यै प्रतिशोधको भावना जागृत हुन नपाओस् भन्ने
हेतुले उनीहरुको धर्म, संस्कृती र साहित्य समूल्नष्ट गरी दिए भने ब्रह्माका
मुखदेखि ब्राह्मण पाखुराबाट क्षेत्री, नाईटोबाट बैश्य र खुट्टा बाट शुद्र
(दास) को उत्पत्ती भएको भन्ने भ्रमित कुराको प्रचार गरे। फेरी गीतामा
कृष्णले मान्छेको गुण र कामको आधारमा ४ बर्ण मैले सृष्टि गरेको हुँ भनी
अर्को भ्रामक प्रचार गरे। यदि ब्राह्मण र शुद्र एकै ब्यक्तिको शरीर बाट
निस्केका वा गुण कर्मका आधारमा बनाइएका हुन्थे भने शुद्र अछुत कदापि हुने
थिएनन्। बरु दासहरु आपसमा एक भएर पुर्खाको प्रतिशोध लिन नपाउन भनेर फुटाएर
शासन गर्ने निति अनुरुप तिनीहरुको बिचमा पनि ठूलो र सानो जात बनाई उनीहरु
एक आपसमा मिल्न, खानपान गर्न नपाउने र यदि त्यसो गरेमा दण्डित गर्ने स्थायी
ब्यबस्था गरियो। यो ब्यबस्था नेपालका आर्य शासकहरुले कानुनी रुपमा नै
बि.स. २०२० साल श्रावण मसान्तसम्म कडाईका साथ लागु गरेका थिए। आफ्ना पराजित
पुर्खाको बदला लिन दासहरुले आर्यहरुको खानपानमा, पानी खाने इनार कुँवामा
बिषादीको प्रयोग गर्न सक्ने, घर भित्रको भेद पाएमा अनेक षड्यन्त्र गर्न
सक्ने, पढे लेखेमा चेतना पाउने, बेद पढेमा वा सुनेमा आर्यहरुले आफ्ना
पुर्खा संग गरेको महासंग्रामको जानकारी पाइ प्रतिशोध लिन सक्ने सभावना
रहिरहने हुँदा त्यस्ता खतराबाट आफुहरुलाई सधै सुरक्षित राख्न आर्य
मालिकहरुले ती दासलाई “अछुत” बनाए। फलतः दासहरु आर्यको घर भित्र पस्न
बस्न, पानीको इनार, कुवा, धारो र खानपान छुन, सम्पत्ति आर्जन गर्न र शिक्षा
हाँसिल गर्न कहिल्यै नपाउने कडा ब्यबस्था मनुस्मृतिमा गरियो। यहाँ सम्म की
कुनै शुद्रले लुकी छिपी बेद पढेको वा सुनेको पाईएमा त्यसको कानमा पगालेको
तातो शीशा खन्याएर मार्नु पर्ने ब्यबस्था गौतम स्मृतिमा पाइन्छ। पराजित
शत्रुलाई जातीच्यूत गरी “अछुत” बनाउने काम कालन्तरमा आर्य/आर्य बीच पनि
चल्न थाल्यो। एक राज्यको आर्य राजा र अर्को राज्यको आर्य राजा बीच युद्ध
हुँदा पराजित राजाको बंश नै सखाप पार्ने र यदि शत्रु बिजेताको साख्खै नाता
भएमा मृतकका परिवार महिला, बालबच्चालाई जीवन दान त दिने तर जातीच्यूत गरी
“अछुत” बनाई कडाईका साथ दमन गर्ने गरेको प्रमाण इतिहासमा गनिनसक्नु
भेटिन्छ। एक उदाहरण: – गोर्खाका राजा पृथ्वीनारायण शाहले आफ्ना जेठान
मकवानपुरे राजा दिग्बन्धन सेनको हत्या पश्चात मृतकका परिवार, बालबच्चालाई
जातीच्यूत गरी “सार्की” बनाएका थिए। यसरी अछुत बनाइएका दलितहरु र आर्यहरु
शताब्दीऔं देखि एकै ठाउँमा उठबस र संसर्ग गर्दा आपसमा Cross-breeding हुन
गई अचेल छ्यास्छ्यास्ती बर्णशंकर हुन पुगेका छन्। जसले गर्दा को बाहुन,
क्षेत्री आदि आर्य हो? को कामी, दमाई दलित हो? छुट्टयाउनै गाह्रो भईसकेको
छ। यति भईसक्दा पनि आर्य सन्ततीहरुले अमेरिका, युरोप, जापान, चीन, इरान,
अरव आदि संसारभरका क्रिश्चियन, मुसलमान र अन्य जातका छोरा छोरी संग
हाकाहाकी बिहे गरेका छन् जो हाम्रो समाजलाई सर्व स्वीकार्य छ, तर हजारैं
बर्षदेखि आफ्नो धर्म, संस्कृति बाट बिमूख भई आर्यहरुकै धर्म संस्कृतिलाई
पछ्याउँदै आएका पराजित असुर एवं अन्य शत्रुका सन्तान दलितवर्गका
छोराछेरीसंग बिहे गर्न भने आर्य खलक अझै तैयार छैन। त्यसै कारण पनि नेपालमा
दिनहुँ सवर्ण– दलित संघर्ष चलिरहेको छ।
जयस्थिती मल्ल, राम शाह, जंग बहादुर राणा आदि हिन्दू शासकहरुले दलितलाई
कुकुर भन्दा तल्लो स्तरमा राख्ने कानुन बनाए। राज्य एकीकरण अभियानमा
गोर्खाली पल्टन संग संगै हिडेर भाँडाकुँडा, हातहतियार, झोला, जुत्ता, कपडा
तयार पार्ने कामी, सार्की , दमाई र गोर्खाली बिजय अभियानको गीत/कार्खा
गाउँदै गाउँ/बस्ती चाहारेर जनतामा देशको लागि लड्न मर्न तयार मनस्थिती
बनाउने गाईनेहरुको पृथ्वी नारायण शाह देखि भीमसेन थापा सम्म कुनै शासकले
रत्तीभर मुल्याङ्कन नगरेको इतिहास साक्षी छ।
यसरी प्रष्ट हुन्छ कि देवासुर संग्राममा हारेर दास एंव अछुत बनाइएका
असुरका सन्तानहरु, आर्य/आर्य बिच भएका युद्धमा पराजित शत्रुका जातिच्यूत
गरी अछुत बनाइएका सन्तानहरु र शत्तासिन आर्यहरुको कट्टर बिरोध वा बिद्रोह
गर्दा समय समयमा मारिएका सरदार/भारदारका जातिच्यूत गरी अछुत बनाइएका
सन्तानहरुको समष्टिगत जमात नै बर्तमानको दलित समाज हो, जसलाई आज सम्म पनि
आर्य सन्ततीहरु र उनीहरुले सिकाए मुताविक मंगोल एवं स्वधर्मी /बिधर्मी
सवैले मनमाफिक हेला होचों गर्ने वा दया देखाउने मौका पाइरहेका छन्। यस्तो
अवस्था रहे सम्म नेपालमा शान्ति कसरी संभव होला? यो कुरा सबै नेपालीले
राम्ररी बुझेर दलित प्रति भईरहेको नकरात्मक ब्यबहारमा आमुल परिवर्तन
ल्याउनु आजको टड्कारो आवश्यकता देखिएको छ।
सन्दर्भः अन्तर्राष्ट्रिय रंग भेद तथा जाति भेद उन्मूलन दिवस कार्यपत्र (दोस्रो भाग)
नेपालमा अहिलेसम्म दलितले किन अधिकार पाउन सकेका छैनन्?
दलितहरु राणा कालको उत्तरार्ध देखि आफ्नो हक अधिकार र समानताको लागि
जुरमुराउन थालेको देखिन्छ। बाग्लुङ्गको गैरागाउँबाट भगत सर्वजीत
विश्वकर्माले जातीय समानता र हक अधिकार प्राप्तिको लागि नेपालमै पहिलो
शंखनाद गरे भने त्यसपछि काठमाडौंका सहश्रनाथ कपाली, टी.आर विश्वकर्मा आदिले
दलित हक अधिकार वारे आवाज उठाउँदै आए। तर पनि अहिले सम्म दलितले अधिकार
पाउन सकेका छैनन्। उसै पनि दलितको हितमा कानुन बनाउन बाह्मणवादी सरकारले
भरसक चाँहदैन। जो बनेका कानुन पनि कार्यन्वयन गर्न ब्राह्मणवादी शासक
प्रशासकले आलटाल गर्छन्। दलितका नेता चेतनशील नहुँदा बिभिन्न ब्राह्मणवादी
दलका नेतालाई आ–आफ्नो मालिक मानेर मालिकको इसारामा चली आफ्नो निजी स्वार्थ
पुरा गर्छन् तर दलितको समस्यामा बोल्दैनन्। त्यसै कारणले अहिलेसम्म दलितले
मानव भएर मानव सरह बाँच्न पाउने समानताको हक अधिकार पाउन सकेका छैनन्।
२०६२ / ०६३ को जनक्रान्ति र गणतन्त्र ल्याउनमा दलितहरुले अन्य जाती सरह
काँधमा काँध मिलाएर महत्वपूर्ण योगदान दिए अनि कैयौं दलितहरु शहिद भए। तर,
गणतन्त्र स्थापनाको ५/६ बर्ष बितिसक्दा पनि नेपालको राजनैतिक, प्रशासनिक,
न्यायिक, सामाजिक, आर्थिक सवै क्षेत्रमा दलितहरुको पहुँच शून्य हुनु
दुर्भाग्यपूर्ण भएको छ। परम्परादेखि राणाकाल, पंचायतकाल हुँदै ऐले सम्म पनि
आर्यहरु (बाहुन क्षेत्री) को एकाधिकार र हाली मुहाली कायमै छ। दलित दवेको
दब्यै छ। अब बन्ने भनिएको नयाँ संविधानमा राज्य पुनर्संरचना गर्दा बि.स
२०५८ को जनगणना अनुसार क्रमश ७/७ प्रतिशत जनसंख्या भएका मगर र थारुहरुका
लागि क्रमश: मगरात प्रदेश र थारुवान प्रदेश, ६ प्रतिशत जनसंख्या भएका
तामाङ्ग को लागि ताम्सालिङ प्रदेश, ५ प्रतिशत जनसंख्या भएका नेवारकोलागि
नेवाः राज्य, क्रमशः २/३ प्रतिशत जनसंख्या भएका राई /लिम्बु को लागि क्रमशः
खम्बुवान/ लिम्बुवान प्रदेश, २ प्रतिशत जनसंख्या भएका गुरुङ्गको लागि
तमुवान प्रदेशको अवधारणा राखिएको छ। तर १४ प्रतिशत जनसंख्या भएका
दलितकोलागि भने गैर भौगोलिक प्रदेशको कल्पना गरि अल्मल्याइएको छ। यस
अवस्थामा संविधान बनेमा नेपाली दलित फेरी सदाका लागि ठगिने निश्चित छ।
पहाडे र तराईमुल गरी कुल जनसंख्या को १३ प्रतिशत मात्र भएका बाह्मणहरुले
गणतान्त्रिक नेपालमा पनि राजनैतिक , प्रशासनिक, आर्थिक, सामाजिक, शैक्षिक,
बैदेशिक आदि सवै क्षेत्रमा ८० देखि ९० प्रतिशत भाग ओगटेका छन् भने उनीहरु
भन्दा समग्रमा १ प्रतिशत जनसंख्या बढी भएका दलितहरु ती सबै क्षेत्रमा सून्य
प्रतिशतमा बस्न बाध्य छन्। यस अवस्थामा देशमा शान्ति र अमन चैनको कल्पना
गर्नु मूर्खता सिवाय केही हुँदैन।
भारत र नेपालका दलितको सामाजिक अवस्था लगभग एउटै हो। त्यहाँ डा. भीमराव
अम्बेडकरको महत्वपूर्ण सकृयतामा बनेको भारतीय संबिधानमा दलितहरुको हक
अधिकार र सर्वागींण बिकासको लागि धेरै कुराहरुमा संवैधानिक प्रतिबद्धता
सहित सम्पूर्ण क्षेत्रमा आरक्षणको ब्यबस्था गरिएको हुनाले त्यहाँका
दलितहरुले तुलानात्मक रुपमा धेरै उपलब्धी हाँसिल गरेका छन्। तैपनि, त्यहाँ
कथित सवर्णहरुबाट दलित आरक्षणको सवालमा समय समयमा बिरोध भइरहन्छ; तर,
त्यहाँका दलितहरु समग्रमा अग्रगामी दिशा तर्फ उन्मुख एवं दलित हक हितका
लागि एकताबद्ध छन्।
नयाँ बन्ने संबिधानमा दलितहितको लागि के कुराहरुको ग्यारेन्टी गरिनुपर्छ?
नयाँ बन्ने संबिधानमा दलित हितको लागि निम्न कुराहरुको ग्यारेन्टी गरिनुपर्छ: –
(१) राज्य र समाजका प्रत्येक अंग र तहमा समानुपातिक प्रतिनिधित्व वा सहभागिता हुनुपर्छ।
(२) ऐले ब्राह्मणबादी सोच भएका दलहरुले आ–आफ्नो पार्टीको तर्फ बाट
छानेर पठाउनु पर्ने जुनसुकै स्थानमा दलित प्रतिनिधी पठाउँदा निरक्षर अवुझ
दलित (जस्तै नेताका घरमा भाँडा माझ्ने गरेकी दलित स्त्री, नेताको घरमा
हरुवा- चरुवा बसेको दलित पुरुष) लाई पठाई दिएर दलित आवाज लाई कुण्ठित गर्न र
दवाउनमा परोक्ष भूमिका खेली रहेकोछन्। त्यसरी पठाइने दलित प्रतिनिधिको
लागि सर्वप्रथम संसद २ सदनात्मक वा १ सदानात्मक जे भएपनि त्यसमा दलितको सिट
समानुपातिक हिसावले सुनिश्चित गर्नुपर्छ। ती सीटमा पुग्ने दलित
प्रतिनिधिकोलागि दलहरुले आफ्नो उम्मेदवार उठाउन मात्र पाउनेछन्, चुनाव
चाँही त्यो क्षेत्रका दलितले मात्र गर्न पाउनुपर्छ तसर्थ संसदमा सुनिश्चित
गरिएको संख्या पुर्ति हुने गरी दलित घनत्व बढी भएका क्षेत्रहरु छानेर
सकेसम्म पुरै देशैभरीका ठाउँ ओगट्ने गरी दलित सांसदको चुनाव क्षेत्र
संबिधानमा सुनिश्चित गरी लेखिनु पर्छ। त्यसो भए मात्र जुनसुकै दल बाट
चुनाव जितेको भएपनि त्यो दलित सांसद आफ्नो दलको दास बन्न बाध्य हुने छैन र
जीवनकाल भरी पहिलो प्राथमिकता दलित समस्या समाधान गर्न र दलित लाई उठाउनमा
दिनेछ।
(३) बिद्यमान राष्ट्रिय दलित आयोग वा दलित वर्ग उत्थान राष्ट्रिय समन्वय
समिति जस्ता दलित हकहितको रेखदेख र संरक्षण गर्न गठित निकायहरु पूर्ण
संबैधानिक र अधिकार सम्पन्न हुनुपर्छ। अहिलेको जस्तो देशको शासक फेरीनासाथ
ती निकायका पदाधिकारी पनि स्वतः फेरिने अति दयनीय ब्यबस्था हटाइनु पर्छ।
(४) क्षतिपूर्ति स्वरुप दलितले निम्न बिशेषाधिकारको ग्यारंटी पाउनुपर्छ:–
(क) दलितका बिद्यार्थीहरुले अत्यन्त आर्थिक अभाव र अनेक समस्या झेल्दै
पढिरहेका हुन्छन्। त्यसकारण निजलाई सरकारी वा संस्थागत पदको परीक्षाको लागि
योग्य हुन ढिलो हुनु स्वाभाविकै हुन्छ। अतः दलित जातिको पूरुषले अहिले
महिलाले पाए सरह ४० बर्षको उमेर हद सम्म त्यस्तो परीक्षा दिन पाउनुपर्छ।
(ख) लिखित परीक्षामा उत्तीर्ण भएका दलितलाई सामान्य अर्न्तवार्ता मात्र लिई स्वतः उर्त्तीण गरिनुपर्छ।
(ग) औशीको जुन झैं बडोमुस्किलले भर्ना भएको दलित जातिको कर्मचारीलाई
दलित हो भन्ने थाहा पाउनासाथ आफ्नै कार्यालयका कर्मचारी/ अधिकृतहरुले पनि
सौतेलो ब्यबहार गर्ने र समाजमा निजलाई डेरा दिन नरुचाउने, कसैले उदार बने
झै गरेर डेरा दिई हाल्यो भने पनि घर भाडा अरुलाई भन्दा मंहगो लिने, समाजले
छि –छी र दुरदुर गर्ने हुँदा त्यो दलित कर्मचारीले बाध्य भएर जागीर छोड्नु
परेका घटना अनगिन्ती छन्। अतः दलित कर्मचारीलाई निजले रोजेको जिल्ला वा
स्थानमा नोकरी गर्न दिनुपर्ने, निजको इच्छा बिपरित सरुवा गर्न नपाइने।
(घ) नयाँ नियुक्ति गर्दा वा फाइल बढुवा गर्दा दलित कर्मचारीलाई दलित भएको क्षतिपूर्ति बापत ५ अंक अतिरिक्त दिने ब्यबस्था हुनुपर्छ।
(५) अहिलेको ४९ जनाको जम्बो मन्त्रीमंडलमा एक जना पनि दलित मन्त्री
छैनन्। अपवादको रुपमा एकजना राज्यमन्त्री (खेलकुद) मात्र छ। मन्त्रीमंडल
बनाउँदा समानुपातिक हिसावले दलित सहभागिता अनिवार्य हुनुपर्छ।
(६) देशमा ८७ प्रतिशत दलित भूमिहीन छन्। उनीहरुलाई भूमिको न्यायेाचित ब्यबस्था गरिनु पर्छ।
(७) स्वदेशमै स्वरोजगार गर्ने तथा बैदेशिक रोजगारीमा जाने दलित युवा
युवतीलाई बिना धितो सस्तो ब्याजमा कम्तीमा रु १ लाख रुपैया सजिलै उपलब्ध
गराउने ब्यबस्था राज्यले गर्नु पर्छ।
माथि लेखिए बमोजिम समानुपातिक अधिकार को सुनिश्चितता संबिधानमा गरिए
मात्र दलितले जुनसुकै नामले गठित संघीय राज्यमा पनि न्याय पाउन र गणतन्त्र
नेपालको अनुभूति गर्न सक्नेछन्।
साभार :- dalit info
No comments:
Post a Comment