दलित समुदाय सधैँ किन पछाडि ? - हुमा कार्की ,दाङ

दलित समस्या शुरु भएको लिच्छवीकालदेखि नै भएतापनि हिन्दु वर्णाश्रम व्यवस्थाले राज्यको आडमा दलित समुदायलाई दमन गर्ने बलियो आड दिएको छ । त्यतिबेलादेखि नै दलित समुदायमाथि भएको ज्यादतीका विरुद्ध विद्रोह गरेको ऐतिहासिक तथ्य कतै पाइदैन । तर, हिन्दु धर्मशास्त्रमा आर्य र अनार्य, सुर र असुर, दानव र देवता बीचमा युद्ध भएका वर्णनहरुले अशुद्ध भनिएका यतिबेलाका उत्पीडित ऐतिहासिक श्रमिक वर्गले ठूला-ठूला युद्ध र विद्रोह भएको देखाएको छ । जसका कारणले तत्कालीन शासकहरुले नीतिनियमका जटिल तानावानासहित मनुस्मृतिलगायत दुई सयभन्दा बढी धर्मसूत्रको रचना गरी छुवाछुतको स्तरसम्म झार्ने अति निकृष्ट काम गरेको पाइन्छ । त्यतिबेला दलित समुदायका व्यक्तिहरुमा रहेको क्षमता, वौद्धिकता, कला, सीप, आफ्नो समुदायको हित र मुक्तिका लागि उनीहरुले प्रयोग गर्न सकेनन्, बरु कथित ठूलो जाति र वर्गका मालिकहरुको सेवा गर्न बाध्य बनाइयो । तत्कालीन राजा पृथ्वीनारायण शाहले बाइसे चौबीसे राज्य र जनजाति आदिवासीका कविलाई गणराज्यहरुमा कब्जा गर्ने क्रममा दलितहरुमा भएको बुद्धि, सीप, कला र अनुभवको प्रयोग गरी राज्य विस्तार गरेका थिए । त्यो बेला पृथ्वीनारायण शाहले नेपाललाई चार जात छत्तीस वर्णको साझा फूलबारी हो भनी आफू जातीय छुवाछुतको कट्टर पक्षपाती भएको देखाएका थिए । दलित समस्या हिन्दु धर्मको उपज भएको र त्यो राज्यको धर्म रहदै आएकोले हिन्दु धर्मको निर्देशनमा सञ्चालित राज्य र राजनीतिबाट दलित समुदायको मुक्ति सम्भव छैन भन्ने कुरा हाम्रा पुर्खाहरुले बुझ्न सकेनन् ।
 त्यही समयदेखि नै ऐतिहासिक श्रमिक दलित समुदाय बुद्धि, सीप र कलाले सम्पन्न थिए । तर, विचारात्मक ज्ञानको अभावमा आफ्नो वर्ग र समुदायको हकहित र अधिकारका लागि त्यो सीप र कलाको सदुपयोग हुन सकेन । सामन्तवादको सुदृढ र विस्तार गर्ने तथा वर्ग विभाजित समाजलाई स्थायीत्व प्रदान गर्ने सवालमा अचुक हतियार सावित भएको हिन्दु धर्मको उपज नै वर्णाश्रम व्यवस्थाको जातपात, छुवाछुत तथा भेदभावजस्तो निकृष्ट प्रथा भएकोले त्यसलाई सही तरिकाले बुझ्ने र त्यस्तो गलत संस्कार, संस्कृतिको प्रथाको अन्त्य गर्ने अभियानमा लागेर मात्र दलित समस्याको समाधान हुन सक्दछ । त्यसैले अब सम्पूर्ण दलित समुदायको अधिकार प्राप्तिका लागि सबै दलित समुदाय एकजुट भएर लाग्नुपर्दछ । source:-‘नौलो जनउभार’

No comments:

Post a Comment