|
लेखक :-सरोजदिलु विश्वकर्मा |
अघिल्लो वर्षको असारमा एघारौं जनगणना
सम्पन्न भइ सोको तथ्याङ्क वाहिर आउने क्रममा छ । विश्लेषण गर्ने हो भने
२०४८ सालमा १६ प्रतिशत देखिएको दलितको जनसंख्या २०५८ सालमा आईपुग्दा १३
प्रतिशतको हाराहारीमा आइपुग्यो । यसपालीको दलितको परिणाम पनि सोही अनुपातमा
तल झर्ने देखिन्छ । २०४८ सालमा अधिकांश दलितले आफ्नो थर लेखाए । जवकि सो
वेला शहर केन्द्रित जनसंख्या थिएन र पातलो जनघनत्वमा चिनिइने हुनाले
त्यसवेला जात थर लुकाउने वातावरण पनि थिएन । त्यसैले जनसंख्या उच्च थियो ।
२०५८ मा द्धन्दका कारण र समयको आवश्यकता संगै शहरीकरण बढ्दै गयो । गाउंका
मानिस शहरमा पसे । शहरमा विभिन्न वाध्यताले बस्नुपर्ने हुनाले उनीहरु दलित
भनेर चिनिन चाहेनन् । त्यसैले जात लुकाउनै पर्ने कारणले २०५८ मा ३
प्रतिशतभन्दा बढी दलितको जनसंख्या घट्यो । अहिले अघिल्लो जनगणनाको
शहरीकरणले तुलनात्मकरुपमा करिव ३ गुणा फड्को मारेको छ भने छुवाछूत रुढीवादी
नै हो भन्ने बुझेता पनि गैरदलितको मानसपटलबाट दलित भनेको तल्ला जात नै
हुन् भन्ने यथास्थितीवादी सोच अझपनि छ । अर्कोतिर दलितमा उपल्ला जातको थर
लेखे आफू पनि उपल्लो थरी नै होईन्छ भन्ने कुण्ठा यथावत् छ । यथास्थितीमा
जात ढाट्नै पर्ने र शहरमा लुकेर बस्नैपर्ने वाध्यता अधिकतम् रहन्छ । त्यसो
हुनाले शहरमा रहेका अधिकांश युवा जमात, पढेलेखेका र आन्दोलनको महत्व
नबुझेको दलितले आफ्नो जात–थर फेरिपनि ढाँट्नेहरुको संख्या अघिल्लो
जनगणनाभन्दा अधिक रह्यो । परिणामतः २०६८ को जनगणनामा दलितको जनसंख्या अझ
घट्नसक्ने सम्भावना छ । तर दलित घट्नुमा न राज्य दोषी छ न हामी दलित नै ।
यो समयको उभार हो । नयाँ पुस्ता पुराना पुस्ताभन्दा अर्थात तिनले भोगेको
उत्पीडनभन्दा वाहिर आई अन्य जातिसंग अन्तर्घुलन हुन चाहन्छन्, हुदैँ गएका
छन् । उनीहरु आफूलाई दलित भनाउन रुचाउँदैनन् । वरु ठूला जातिकै थर लेखेर
ठूला जातिसरह देखिन र बुझिन चाहन्छन् । उनीहरु दलितको पहिचानमा बाँच्न
चाहँदैंनन् वरु ‘दलित’ भन्ने शब्दै विस्थापन गरेर नयाँ पहिचान खोजिरहेका
छन् । यो युवा जमात विस्तारै दलित अवस्थाबाट मुक्त हुन चाहन्छन् । तिनलाई
दलित भन्ने अवस्था पटक्कै मन परेको छैन । जनगणना अनुगमनका क्रममा हामीले
देख्यौं,– अधिकांश जिल्लाका शहरी क्षेत्रमा दलितले जात लुकाएको, आफ्नो
वास्तविक जात र थर लेख्नै नमानेको र आफु खुशी जात थर लेखाएको । कतिले आफ्नो
जात नै लेखाउनु पर्छ भन्ने आग्रह गर्दा समेत ‘हाम्रो आफ्नो खुशी, जे जात
लेखाए पनि किन चाहियो…..?’ भनेर हामीलाई मुखभरीको भोटे ताल्चा लगाईदिए ।
त्यसअर्थमा २०६८ को जनगणनामा दलितको जनसंख्या अझ घट्ने प्रवल सम्भावना
रहन्छ । अन्ततः हामी २० वा २५ प्रतिशत छौं भनेता पनि हामी दलितको जनसंख्या
खुम्चिदै गएको यथार्थ हो । हामीले यसपल्टको जनगणनामा प्रत्यक्ष अनुभव
गर्यौं– काठमाडौं, काभ्रे, झापा, नवलपरासी र वैतडीका केही गाविसमा त जात
लेखाउने कि नलेखाउने भन्ने विषयमा दलित–दलितवीच मै सडकमै झडपको स्थिती आयो ।
अधिकांश युवा तथा आफ्नो मुक्तिप्रति जागरुक नहुने दलित समुहले दलित
अधिकारकर्मीमाथि नानाभाँतीका आरोप लगाउँदै कुनै हालतमा आफ्नो जात नलेख्ने,
दलित भन्दै नभनिने अड्डी लिए । वैतडीमा यो कुरा स्थानीय प्रशासनसम्म पुग्यो
। यसको अर्थ यो होइनकी ‘दलित’ भनि नलेख्नेहरु पटमुर्ख र अबुझ छन् । होईन,
दलित भनिनु नभनिनु उनीहरुको स्वतन्त्रता र सामाजिक आवश्यकता अनुसारको माग
हो । उनीहरुलाई दलित नहुँदैमा खुशी छ र मुक्ति छ, स्वतन्त्रता छ भने त्यसमा
हामीले अवरोध गर्न हुँदैन । त्यसो हो भने उनीहरुलाई समुहकृत गर्नका लागि
नयाँ उपाय हामीले खोज्नु पर्छ । त्यो नयाँ उपाय भनेको हामी सवैलाई सम्मान
दिने, हाम्रो पहिचान बोक्ने र सवैलाई संगठित गर्ने शब्दको चयन र परिभाषाको
निर्माण नै हो । अव यस विषयमा हामी दलितले आन्तरिक वहस शुरु गर्नुपर्छ । र
हामी पुराना पुस्ताले पुरानो अड्डि पनि छोड्दै नयाँ पुस्ताको चाहनालाई
सम्मान गर्नुपर्छ । जनगणना अनुगमनको क्रममा प्रत्यक्ष भोगेता पनि केहीले
भन्दैछन्– शब्दभन्दा पनि ‘दलित’ लाई हेर्ने र बुझ्ने मानसिकतालाई बदल्नु
पर्दछ, हेर्ने मानसिकता गलत भयो भने वाहुन नै लेखे पनि विभेद त रहिरहन्छ ।
मधेश आन्दोलनको उदारण दिदैं केही साथी भन्दैछन् “हिजो मधेसीलाई हेर्ने
दृष्टी अर्कै थियो आज आन्दोलन पछि उनीहरुलाई सम्मानित तवरबाट हेरिन्छ ।”
त्यसैले बुझाउने कुरा प्रमुख हो । कोही जनजातिलाई देखाएर त्यसै भन्दैछन्–
आन्दोलनले नै सम्मान स्थापित गर्दछ । तर दलितको सन्दर्भमा यो लागु
हुनसक्दैन । जवकि मधेसी र जनजाति संस्कृती र पहिचान र उत्पत्तिको लडाईं
लडिरहेका छन् भने हामी छुवाछूत र विभेद र दासता विरुद्धको लडाई लडिरहेका
छौं । तर दासता र दलन उत्पीडन हाम्रो पहिचान होइन, हामीमाथीको धब्बा हो,
जसलार्ई मेटाएर समृद्ध, सम्मानित सहअस्तित्व स्थापित गर्न चाहन्छौं,
त्यसलाई उही दलित शब्दले सम्वोधन गर्न सक्दैन । त्यसो हो भने अव ‘दलित’
भन्ने धब्बालाई मेट्दै जानु पर्दछ । अहिले संविधानसभा भवन अगाडि विभिन्न
जाति, समुह, क्षेत्र, लिङ्गको धर्ना र पैरवी चलिरहेको छ । त्यहाँ सवैभन्दा
थोरै (६० लाखमध्ये पछिल्लो समयमा एकदर्जनजति दलितमात्र) को संख्यामा दलित
नै हुने गरेकाछन् । यसले के देखाउँछ भने दलित आन्दोलनप्रतिको रुची
सवैतिरबाट घट्दै गएको छ । घट्दै जानुको कारण– अरुले आन्दोलन गरिदेओस्, मैले
चैं अवसर पाऊँ भन्ने मानसिकता केही हदसम्म छदैं छ । तर मुख्य चाहिँ नयाँ
पुस्तामा अपनत्व वृद्धि नभएर पनि हो । अपनत्व वृद्धि नहुनुमा दलित शब्द पनि
एक हो, जसलाई नयाँपुस्ताले सुन्नै चाहँदैन । त्यसैले उपत्यकाका ५ लाख
दलितमध्ये आन्दोलनमा हामी १२–१५ जनामात्र हुने गरेका छौं । अतः दलित शब्दको
सावधिक अर्थ फेरेर मात्र सवैले पत्याईहाल्ने अवस्था पनि छैन ।
त्यो शब्दको जति नै सुन्दर र पवित्र ब्याख्या गरेता पनि त्यसले केवल
तिरस्कार र प्रतिशोधको शब्दभाव मात्र जनाउँछ । त्यसैले यस जनगणनाको धरातलीय
यथार्थलाई मनन गर्दै, दलितको पहिचान, प्रतिष्ठा र उन्मुक्तिको लागि साच्चै
सवै दलितलाई संगठित गर्दै र नयाँ पुस्ता पनि तयार गर्दै जाने हो भने नयाँ
शब्दसहितको नयाँ परिभाषा खोज्नु पर्दछ । कसैले अन्तर्राष्ट्रियकरण भएको
दलित शब्दलाई अव हटाउनै हुँदैन पनि भन्दैछन् । तर राष्ट्रसंघको कुनैपनि
महासन्धी, प्रोटोकल, वडापत्रमा दलित भनेर उल्लेख गरेको छैन । वरु रंग र
वर्णको कुरा गरिएको छ । त्यसैलाई आधार बनाएर हामी नेपालमा दलितको
अन्तर्राष्ट्रिय मानवअधिकारको हवला दिदैंछौं । ती महासन्धी र वडापत्रमा
दलित सम्वोधन हुनु त परै जाओस् छिमेकी भारतका दलित अधिकारकर्मीले समेत
अन्तर्राष्ट्रिय जगतमा आफूलाई दलित भनाएर चिनाउन चाहेका छैनन् । तर हामी
अझै पनि आफैं अपमानित हुने शब्दको धब्बा लगाएर आन्दोलन उचाई पुर्याउने
दुश्प्रयत्न गरिरहेका छौं । फलतः साच्चै मतदान नै गर्ने हो भने ‘दलित नै
भनेर चिनिनु पर्छ’ भन्ने समुहभन्दा ‘दलित भन्नु हुँदैन’ भन्ने समुह ३ गुणा
बढी छ आज । यो सत्यतथ्यलाई हामीले स्वीकार्नु पर्दछ कि अव दलित भन्ने धब्बा
हाम्रो निधारबाट सदाका लागि मेटिनु पर्दछ, जुन आजका युवा पुस्ताको माग हो ।
source:-nepalplus
No comments:
Post a Comment