को हुन् दलित को छ दलितमैत्री ?-—इन्द्रबहादुर बराल

वास्तविक रूपमा नेपालमा दलित जाति सबैभन्दा उत्पीडित जाति हो भन्नेमा सम्भवत: विवाद नहोला । सामाजिक, आर्थिक उत्पीडनको जाँतोमा पिसिएका जातिलाई माथि उठाउने प्रयत्न नभएका पनि होइनन् । तथापि आजपर्यन्तका प्रयत्न त्यति कारगर भएका देखिन्नन् । अर्थात्, ती प्रयत्न व्यवहारमा उतार्न सकेको पाइँदैन । यसर्थ दलित जातिको सबैखाले उत्पीडनलाई जति सक्यो चाँडो जरैदेखि उखेलेर फाल्न अत्यावश्यक छ । मानव जातिकै कलङ्कको रूपमा रहेको जातीय भेदभाव र छुवाछुत, सामाजिक एवम् जातीय उत्पीडनको पराकाष्टाले नेपालको सन्दर्भमा जो–कोहीलाई पनि पीडाबोध भएको हुनुपर्छ । यस्तो जातीय एवम् सामाजिक उत्पीडनले ग्रस्त मुलुकमा कानुन निर्माण गरेर मात्र हुँदोरहेनछ भन्ने प्रमाणित भइसकेको छ । त्यसैले जातीय भेदभाव र छुवाछुतविरुद्धको कानुनमा टेकेर व्यवहारमै उतार्नुपर्छ भन्ने धारणा राष्ट्रिय अखण्डता र जातीय सद्भावको जगमा गठित एवम् क्रियाशील रहेको क्षत्री समाज नेपालको विश्वास हो ।
को हुन् दलित, कहाँबाट आयो मानवजातिमा दलित र गैरदलितको भेदभाव भन्ने कुरा खोज र अनुसन्धानको विषय हुन सक्छ । तर, मावनशास्त्रीहरूले संसारमा थुपै्र मानव जाति भए पनि मुख्य गरेर ककेसाइट, मङ्गोलाइट र नेग्रोहाइट गरी तीन जातमा विभाजन गरेको पाइन्छ । नेपालको सन्दर्भमा नेग्रोहाइटबारे चर्चा गर्न आवश्यक छैन किनकि उक्त जातिको वैधानिक उपस्थिति नै छैन । तसर्थ यहाँ सङ्क्षेपमा ककेसाइट र मङ्गोललाइट जातिबारे चर्चा गर्नु सान्दर्भिक हुनसक्छ ।
मानवशास्त्रीहरूले जातीय विभाजन गर्न शारीरिक बनोट र रूपरङको आधार बनाएको पाइन्छ । जस्तो छोटो कद, थेप्चो नाक र चिम्रो आँखा भएका जातिलाई मङ्गोलाइट अर्थात् मङ्गोलियन भनेको पाइन्छ भने अग्लो, दुब्लो–पातलो शरीर र चुच्चे नाक भएकाहरूलाई ककेसाइट अर्थात् ककेसियन जाति भनिएको छ । यसरी हेर्दा नेपालका दलितहरू को हुन् त भन्दा स्वयम्सिद्ध ककेसाइट जाति भएको प्रस्ट हुन्छ । एउटै ककेसाइट जातिमा जातीय भेदभाव र छुवाछुतको कुप्रथा कहाँबाट आयो ? यसको वास्तविकता के हो खोज र अनुसन्धान बाँकी भए पूरा गर्नुप-यो । अन्यथा, एउटै जातिमा छुवाछुत र भेदभाव हुनु घोर अन्याय र अपमान हो । यस्तो मौजुदा स्थितिबाट नेपाली समाजले मुक्ति पाउनुपर्छ र त्यसका लागि तथाकथित दलित समुदायको साथमा क्षत्री समाज नेपाल सङ्घ रहनेछ र रहिरहेको छ ।
अहिले नेपालमा ककेसाइट जातिलाई ‘खस’ जातिको रूपमा चिनिन्छ । बेबिलोनियाबाट ककेसाइट जातिमध्ये एउटा झुन्ड पूर्वतिर बढ्दै जाँदा पश्चिम एसियाको (जुन इरान र इराकको बीचमा पर्दछ) खसिस्तानमा आइपुग्दा उनीहरू ‘खस’ जाति हुन पुगेका हुन् भन्ने खस साम्राज्यको इतिहासमा भेटिन्छ । एवम् रूपले सहज र सुविधाजनक जीवन जिउने उपायको खोजीमा पूर्वतर्फ बढ्दै जाँदा त्यो खस जाति समूहमा विभक्त भई एउटा हाँगो वैदिक सोच भएकाहरू आफूलाई आर्य जातिका रूपमा परिचित गराउँदै गए भने अर्को हाँगो अवैदिक ‘खस’ हिमवतखण्डको एउटा कालखण्डमा अर्थात् एघारौँ शताब्दीतिर नेपालको पश्चिम कर्णाली क्षेत्रमा सङ्गठित र स्थायित्व ग्रहण गर्दै खस साम्राज्य स्थापना गर्न पुगे । त्यहाँसम्म आइपुग्दा जातीय भेदभाव र छुवाछुतको कुनै कलङ्क भएको पुष्टि हुँदैन । त्यसकारण जब वैदिक सोचका आफूलाई आर्य जाति भनिनेहरू दक्षिणको गंगानदीको समतल भूमिबाट क्रमश: उत्तरतर्फ हिमवत् खण्डमा अवैदिक सोचका ‘खस’ जातिसँग उनीहरूको भेट र तत्पश्चात् दुवै वैदिक र अवैदिक खस/आर्यहरू समुदायमा सँगै बस्दै आए । त्यसपछि मात्र जातीय भेदभाव तथा छुवाछुतजस्तो मानव जातिकै लागि अशोभनीय कुप्रथा प्रचलनमा आएको हुन सक्छ भन्ने अनुमान गर्न सकिन्छ । धर्मशास्त्र तथा पौराणिक ग्रन्थहरूमा पनि ‘खस’ जातिका सम्बन्धका अनेकन लाञ्छना लगाएको पाइन्छ । ‘खस’ भनेको पापी यक्ष, म्लेच्छ अर्थात् संस्कृतिबाट खस्केको जाति भनी निन्दा गरेको पाइन्छ । गायत्री मन्त्र जप गर्न नजान्नेलाई ब्रतबन्ध र गायत्री मन्त्र जप गर्नका लागि अयोग्य भनिएको छ । यसर्थ, नेपालका खास गरेर पहाडी मूलका दलित र खस/क्षत्रीहरूमा एघारौँ शताब्दीभन्दा पहिले कुनै भेदभाव र छुवाछुत थियो भन्ने कुनै आधार र प्रमाण भेटिँदैन । जब वैदिक आर्यहरूको अवैदिक खस आर्य समूहसँग भेट भयो र सँगै बस्न थाले, त्यसपछि मात्र समाजमा जातीय भेदभाव र छुवाछुतको कुप्रथा आउन थालेको हो भन्न हिचकिचाउनुपर्ने देखिँदैन ।
यसो भनेर वैदिक आर्य (ब्राह्मण)लाई दोष थोपर्न खोजेको भने होइन, मात्र के हो भने जातीय भेदभाव र छुवाछुतको कुप्रथा जुन मानवजातिका लागि कलङ्कको रूपमा रहेको, त्यसको खोज गर्न सहज होस् भनेर एउटा बहसको विषयवस्तु हुन सक्छ भन्ने अभिप्रायले उक्त वैदिक आर्यहरूको विषयमा केही लेख्ने धृष्टता गरिएको हो ।
त्यसकारण केही दलित अगुवाहरूले क्षत्री समाज नेपाल र क्षत्री जातिका सम्बन्धमा बेलाबखत दलित जातिको उत्थान र जातीय भेदभाव तथा छुवाछुतलाई निमिट्यान्न पार्न असहयोगी भूमिका रहेको भन्ने अभिव्यक्ति दिने गरेकाले क्षत्री समाजको धारणा प्रस्ट पार्न आवश्यक ठानिएको हो । समाज विकासको क्रममा जो पछाडि परे ती जाति अहिले आएर कोही जनजाति त कोही दलित पनि भएको हुनसक्छ । यो तर्क पनि एउटा मननयोग्य र खोजमूलक बनाइयो भने रामै्र हुन सक्छ । सङ्क्षेपमा के भन्न सकिन्छ भने नेपालका पहाडीमूलका जाति पनि दलित छन्, सबै खस नै हुन् र क्षत्रीहरू पनि जो पहाडीमूलका छन् ती सबै खस जाति नै भएकाले खस–क्षत्री र खस दलितमा कुनै प्रकारको अन्तर देखिँदैन । यद्यपि यही विषयमा फरक धारणा पनि नहोला या नआउला भन्न सकिँदैन, किनकि मानिसको बुझाइ र नियतिमा पनि भर पर्ने कुरा हो यो ।
मानवजातिको विकासको क्रम जुन अगाडि आए, विस्तारै तिनीहरूले पछाडि परेका जाति–समूहलाई हेर्ने दृष्टिकोण फरक आएकाले पनि एउटै जाति समूहबाट कोही उँच र कोही निच पनि भएको हुन सक्छ । यद्यपि श्रम विभाजन (हिन्दूधर्म वर्णव्यवस्था)को आधारमा ब्राह्मण, क्षत्री, वैष्य र शुद्र भनी चार जात छत्तीस वर्ण भनिएबाट पनि जातीय भेदभाव र छुवाछुतजस्तो घृणित र निन्दनीय कुप्रचलनले नेपाली समाजमा जरा गाडेको हो । यसकारण पनि सही अर्थमा सामाजिक र आर्थिक उत्पीडनमा परेका जातिलाई उत्थान गर्न आवश्यक छ र यस्तो पुनीत कार्यमा सङ्गठित रूपमा रहेको क्षत्री समाज नेपाल पछि नपर्ने पक्का छ । तर, दलित अगुवाको गुनासो क्षत्री समाजसँग पनि भएको पाइएको छ जसको निराकरण जरुरी छ । जस्तो वर्तमान राज्यले प्रदान गर्दै आएको आरक्षण सेवा–सुविधाको आधार जातीय बनाइएको छ, जुन अवैज्ञानिक र अव्यावहारिक पनि छ भन्ने क्षत्री समाजको धारणा हो र आरक्षणको व्यवस्था जातीय नभई वर्गीय हुनुपर्दछ भन्ने जोडदार आवाज पनि समाज प्रकट गर्दछ । सबैले देखेकै कुरा हो जातीय आरक्षणको व्यवस्था हुँदा ठूलाठूला व्यापारिक घरानाका मानिस उदाहरणका लागि मधेसी मूलका भएकाले गोल्छा अर्गनाइजेसन, दुगड, चौधरी गु्रप, अग्रवाल समूह तथा मारवाडीहरू जसले मुलुकको अर्थतन्त्र नै आफ्नो मुठ्ठीमा राख्न वा अर्थतन्त्रलाई आफ्नो प्रभावमा लिन सफल छन् । त्यस्तै जनजातिका कतिपय मानिस व्यापारिक सङ्गठनमा आबद्ध व्यक्तिहरूले जातीय आरक्षण प्राप्त गरिराखेका छन् भने त्यही हाराहारीमा दलितहरूले पनि जातीय आरक्षण प्राप्त गरिराखेका छन् । के यो न्यायिक र वैज्ञानिक छ ? यो केवल भोटका लागि मात्र गरिएको त होइन ? आरक्षण प्राप्त गर्नुपर्ने जाति यदि कुनै छ भने दलित, सीमान्तकृत तथा लोपोन्मुख जाति छन्, तिनीहरूलाई मात्र जातीय आरक्षण प्रदान गर्न कोही तयार छ भने क्षत्री समाज नेपाल त्यसका लागि घुँडो–मुन्टो टेकेर सहयोग गर्न तत्पर रहन्छ । के राज्य र सबै राजनीतिक दलहरू यसका लागि तयार छन् ? वास्तविक रूपमा जुन जाति सामाजिक रूपले उत्पीडित छ त्यही जातिलाई माथि उठाइने कुनै पनि नीतिप्रति क्षत्री समाज कहिल्यै असहयोगी भूमिका खेल्दैन । किनकि खस क्षत्री जाति भनेकै न्यायपे्रमी र इमानदार जाति हो । यो जाति कहिल्यै विभेद र असमानतालाई स्वीकार गर्दैन । कुनै कालखण्डमा कतिपय तत्कालीन परिस्थितिजन्य कारणले कहीँ–कतै गलत भएकै छैन भन्ने होइन ।
तर, समग्रमा खस–क्षत्री जाति जहिले पनि न्याय र सत्यको पक्षमा लडेको जाति फेरि पनि त्यसको पक्षमा लडिरहने प्रतिबद्धताका साथ सङ्गठित हुँदै आएको छ । त्यसकारण क्षत्री समाज नेपालबारे उत्पन्न भ्रमको फाइदा लिएर फेरि खस–आर्य (वैदिक आर्यहरू)को आफू सत्ता राजनीतिको शिखरमा रहिरहने र दलितहरूलाई खुड्किलो बनाइराख्ने रणनीति अब दलित समुदायले पनि बुझ्नैपर्छ । राजनीतिक दलको गोटी वा खेलौना नबनी स्वतन्त्र रूपले जातीय भेदभाव र छुवाछुत तथा अन्य सबैखाले सामाजिक आर्थिक उत्पीडनबाट मुक्तिका लागि कार्य गरेको खण्डमा न्यायप्राप्तिको निमित अब धेरै पर्खन पर्दैन । क्षत्री समाज नेपाल सम्पूर्ण उत्पीडनबाट नेपाली समाजले मुक्ति पाओस् भन्ने चाहन्छ र त्यस दिशामा आफूलाई योजनाबद्ध ढङ्गले अग्रसर गराउँदै छ । क्षत्री जाति र सिङ्गो क्षत्री समाज नेपालप्रति कुनै भ्रम भए भ्रममुक्त हुनसमेत पङ्क्तिकार आग्रह गर्दछ ।
source: ghatanarabichar

No comments:

Post a Comment