जातिय भेदभाव विरुद्द धेरैले लड्नु भयो, उहाँहरुको
योगदानलाई उच्च मुल्याकन गर्नैपर्छ तर समग्र अभियानले आशातित परिणाम
नल्याएको, सम्पूर्ण जातिय भेदभावको आधारमा पछाडी समुदायलाई तथाकथित “दलित”
को संज्ञा दिएर विभिन्न राजनीतिक पार्टीहरुले यो समुदायका मानिसहरुलाई
प्रयोग गरिरहेको अनि स्वयं यस समुदाय विचको एकतामा खेलवाड गरिएको र यो
शब्दलाई एक काल्पनिक जात सरह मान्यता प्रदान गर्दै पुस्तौ पुस्तासम्म
समाजमा दलित र गैर दलित जस्तो अमान्य विवेदको रेखा कोरेर झन् अर्को
विवेदको सिर्जना गरिरहदा यो परम्परागत शैली कतै गलत त छैन भन्ने सोच्ने
बेला आएन र ?
“दलित” शब्दलाई हटाईदा अहिले राज्यले दिएको सुविधाबाट
बन्चित हुन्छ भन्ने कसैलाई लाग्छ भने यो बुझ्न जरुरि छ कि राज्यले दिने
भरपाई वा क्षतिपूर्तिको आधार वास्तवमा सदियौं देखि राज्यस्तरबाट नै
संस्थागत रुपमा यो समुदायलाई आर्थिक, सामाजिक, राजनीतिक आदि रुपमा पछाडी
पारिएको कारणले हो नकि तथाकथित “दलित” नाम राखिएको कारणले ! यहाँ राज्यले
दिने सुविधा वा त्यसका लागि गरिने लबिङ्गलाई नकार्न खोजिएको होइन । यसमा
हाम्रो समुदायको स्वाभाविकै रुपमा दावी हुनुपर्छ तर हामीलाई जातीय भेदभाव
गरि वर्सौं देखि पछाडी पारिएको आधारमा ! यहि नै हाम्रो वास्तविक पहिचान
हो । राज्यले दिने भनिएको केहि सिमित आरक्षण (जो वास्तवमा त्यहि केहि
जान्ने बुझ्नेहरु कै पोल्टामा झर्छ र शायद लाखौमा सयले पाउलान कि नपाउलान)
तिनको लागि समग्र ४० लाख जातिय भेदभावको आधारमा पछाडी पारिएका समुदायहरु र
तिनका भावी पुस्ताले “दलित” जस्तो अर्को काल्पनिक जातको ट्याग भिर्न कतई
जरुरी छैन !
“दलित” शब्दलाई आन्दोलनले स्थापित गरेको हो भन्ने हो
भने नेपालमा यो समुदायको त्यस्तो के आन्दोलन भएको छ जसले गौरव गर्न लायक
एकता कायम गरेको होस्? आज हरेक राजनीतिक पार्टीले हाम्रो समुदायलाई प्रयोग
गरेको अवस्था हो भने तिनकै पिछलग्गु भएर हाम्रा अग्रजहरु नै छिन्न भिन्न
छन् - यो पार्टीमा कि त त्यो पार्टीमा । पार्टीका नाइकेहरुले हामीलाई
चाहे जस्तो गरि घुमाएका छन् , नचाएका छन् र चाहेको बेला अनाहकमा ज्यान
अर्पण गर्न पनि लगाएका छन् । के ति अभियन्ताहरुले भावी पुस्ताका लागि
नया तरिकाले सोच्ने बेला आएन र ? वा, तथाकथित “दलितहरुको मसिहा” हुनु नै
उपलब्धि हो - गम्भीरतापुर्वक सोच्नै पर्ने भएको छ ?
कानूनमा कतै
नभएको भेदभावलाई फेरी पनि अझै पनि कानून मै भेदभाव छ भने जस्तै गरि
राजनीतिक रंग दिंदै तथाकथित दलितहरुको हक र अधिकारको कुरा मात्रै गर्ने तर
वास्तविक रुपमा यो समुदायलाई संगठित गर्दै जातीय भेदभावको खाडल पुर्दै
जातिय भेदभाव गर्ने समुदायलाई समेत समेटर अब सामाजिक रुपमा लडने अभियान
चलाउनुको साथै वर्षौं देखि हेरेक क्षेत्रमा पछाडी पारिएका हाम्रो समुदायलाई
अरु सरह प्रतिस्पर्धामा उत्रिन मद्दत गर्नु पो वास्तविक अर्थमा जातीय
भेदभाव विरुद्द अब गर्न बाँकी रहेको सामाजिक आन्दोलन वा अभियान गरेको
ठहरिन्छ । “दलित” जस्तो काल्पनिक जातको नाम दिएर जातिय भेदभावको आधारमा
पछाडी पारिएको समुदायको नाममा केहि व्यक्तिहरुले फाइदा लुट्नुलाई मात्रै
कहिँ कतै स्पष्ट नदेखिएको आन्दोलनले प्राप्त गरेको उपलब्धिसंग जोडन कसरी
सकिन्छ ?
सहयोग उत्थान मञ्च (Help Rise Forum) ले समाजमा भिडन्त
(Confrontation) निम्त्याउन चाहेको होइन। न एउटा गरिब देशले तथाकथित दलितका
नाममा दिने भनिएको नाम मात्र कै आरक्षण कै रिस गरेको हो न हामीलाई तथाकथित
माथिल्लो जात नै हुनु छ भनिएको हो । हामीले चाहेको हो, जातिय भेदभावको
मुद्दालाई राष्ट्रिय मुद्दा बनाइयोस र यो अभियानमा सबैलाई मुछौ किनकि
अहिले तथाकथित उच्च जातका पुस्ताले जातिय भेदभाव गर्दैनन् भने पनि तिनका
बाजे बराजुले गरेका हुन् र त्यसको क्षतिपूर्ति अबका पुस्ताले यो अभियानमा
सामेल भएर तिर्न सक्छन भने त्यसैगरी राज्यले गरेको संस्थागत भेदभावको
क्षतिपूर्ति दिलाउन त्यो उपल्लो जातिलाई समेत प्रेरित गर्न आवश्यक छ अनि
मात्र हाम्रो आवाज घनिभूत हुनसक्छ र यसको संभावना पनि उत्तिकै छ तर
सबैभन्दा पहिला हामीले वास्तविक धरातलमा ओर्लिनै पर्छ अनि भन्न सक्नुपर्छ
कि समाजमा कोही ठुलो जात वा सानो जात (अर्थात तथाकथित दलित र तथाकथित गैर
दलित) हुँदैन जसको आधारमा चिरकालसम्म अर्को विभाजनको रेखा कोर्ने काम
जान अन्जानमा होस् बल्कि निस्वार्थ भावनाले यो समुदायको हितलाई सर्वोपरी
ठानी विवेद रहित अनि भावी पुस्ताले गौरव गर्न लायक समतामुलक समाज निर्माण
गर्ने ध्येय राख्नु नै भावी पुस्तालाई हामीले दिन सक्ने सर्वोत्तम
सामाजिक उपहार हो ।
No comments:
Post a Comment