असार २१, विभेद बिरुद अभियान ।विहान बेलुका एकपटक इन्टरनेट फेसबुक नखोली दिन नै खल्लो लाग्छ । यदि खोलिएन भने केहि विर्सेजस्तो केहि छुटेजस्तो अनुभव हुने गर्दछ । यो फेसबुक नै यस्तो छ, एकपटक अपडेट गर्न पाए लग इन गर्न पाए अचम्म फ्रेस हुन्छु । खाना हजम हुन्छ । निदाउन सक्छु । विश्वमा हरेक आम मानिसहरु पनि अनलाइन समाचार मा रमाइरहेका हुन्छौँ । हरेक गतिविधि र जानकारीलाई नजिकबाट परिचय गरिरहेका हुन्छौँ । म फेसबुक लग इन गर्छु । सरसर्ती साथीभाइ र पत्रपत्रिकाले सेयर गरेका नयाँ समाचारहरु इच्छानुसार पढ्छु अनि मन परेमा सेयर गरेको हुन्छु ।
यो मेरो दैनिकी बनिरहेको छ । च्याट चाँही सायद कम नै गरेको हुन्छु किनकी खास कुराहरु नभए पछि मैले वालपोस्टको सेयर लाइक र कमेन्ट बाटै सन्चै छु र साथीभाइ आफन्तहरु सन्चै हुनुहुदो रहेछ भन्ने जानकारी पाँउछु र गराउँदछु । फेसबुकमा फोटोहरुको साथै पत्रपत्रिकाका राम्रा लेखहरु खासगरी समाज परिवर्तनलाई सहयोग गर्ने खालका वास्तविक लेखहरु मेरो नजर परेसम्म सबैलाई जानकारी होस भन्ने हेतुले सेयर गरिरहेको हुन्छु । म सदियौँ देखि समाजले अछुत भनि छुट्टाइएको मान्छे । २१औँ शताब्दीमा आउदापनि शिक्षाले तिब्र गति लिदापनि समाजमा छुवाछुतको अन्त्य कछुवाको गतिमा भएको हुँदा विचार र लेखको माघ्यमबाट छुवाछुत अन्त्य र विभेद अन्त्य गर्न सघाउ पुग्ने खालका सम्पूर्ण लेख रचनाहरु उच्च चासोका साथ सेयर लाइक र कमेन्ट गरेको हुन्छु । ता कि नबुझ्नेका लागि जानकारी बनोस र बुझ्नेहरुका लागि घच्घचाउने माध्यम बनोस ।
मान्छे सबै एकैनासका हुदैनन् । गलत काम र प्रचारका लागि लाखौँ मानिसहरु भेला हुने तर समाज परिवर्तन गर्न विभेद र छुवाछुत अन्त्य गर्ने जस्तो विषयमा पन्छिन खोज्नेहरुसंग गुनासो छैन । मलाई त केवल परिवर्तन गर्न चाहने र खोज्ने मेरो गाँउमा भर्खर भित्रिएकी नँया बुहारी जस्तै अन्य साथीभाईको साथ चाहिएको छ ।
विचार प्रधान अनलाइन पत्रिकामा एलिसा कोइराला बहिनी को “बाहुनको छोरी भएर किन उत्पिडित वर्गको समर्थन गर्छस ?भन्छन” शिर्षकको लेखले मेरो मन छोयो र लेखकको जस्तै सबैको विचार हुने भए देशमा सदाबहार शान्ति हुन्छ । छुवाछुत अन्त्यको लागि शिक्षित बाहुनहरुको साथ चाहिएको छ भनि उक्त बैनीको लेख सेयर गरेँ । २०/२२ जना साथीहरुको लाइक आयो, एकजना मेरो गाँउको बाहुन भाइ र बाहुनी बैनी को “म छु दादा” अर्थात म साथ दिन्छु भन्ने कमेन्ट आएको रहेछ । म खुसी भई साथ पाउने आशा ब्यक्त गरेँ । म फेरी एक घण्टापछि फेसबुक खोले एउटा लामो म्यासेज आएको रहेछ । के रहेछ भनि उत्सुकताका साथ खोले र पँढे । त्यो म्यासेज त्यही कमेन्ट गर्ने भाइले गरेको रहेछ । उसलाई उकुसमुकुस पारेको घटनाले सताइरहेको हुँदा हलुका हुनलाई मलाई म्यासेज मार्फत सेयर गरेको रहेछ । जुन यस प्रकार थियो ।
तर दादा हजुर हाम्रो घरमा आउनुभयो भने हजुरलाई वाहिर राखेर खाना खुवाउछु भाडा मझाउछु त्यो भाडा आगोले र पानीले चोखाएर भित्र लैजान्छु तर अरु बाहुन क्षेत्री जति फोहरी भ्रस्ट अशिक्षित भएपनि भित्र लगेर खाना खुवाउछु यस बारेमा तपाई नि बोल्नुहुन्न म झन वोल्ने कुरै भएन । हजुरको दाईले हामीलाई ट्युसन पढाँउनु भयो हजुरले हाम्राभाइ बैनीहरुलाई पढाउनु भयो तर हजुर हाम्रो घरमा आउदा त्यही भाईबैनीले अलक्क माथिबाट पानी दिन्छन् । ठुलालाई सम्मान गर्ने कुरा कहा हरायो दादा । हाम्रा बुबाआमा पनि त्यही कुरालाई राम्रो मान्नुहुन्छ । खै हामी कसरी त्यस्तो कुरालाई मान्नु । म तपाईको साथ छु । दादा समाजबाट छुवाछुत तथा अपमानजनक व्यवहारको अन्त्य गर्नुपर्छ । दादा धेरै समय भयो हजुरलाई एक घटना भनौँ वा कहानी, आत्मग्लानी, लज्जाबोध सेयर गर्छु भनेको आज पाएको छु ल सुन्नु ।
दादा म दुबईबाट फर्कैको पहिलो छुट्टीमा नै विवाह गरे । विवाह हतार हतार भयो हजुरलाई सम्झन सकिन । दुख नमान्नुहोला । विवाह राम्रैसंग सम्पन्न भयो । दुरन नफर्कदै बुहारीलाई लिएर सिन्दुर र टिका लागेका लुगा धुन पधेँरा गयौँ । धारामा दमै केशुका बुढाबुढी टेक दर्जी का बुढाबुढी लगायत लुगा धुदैँ थिए । बुहारी उनीहरुकै विचमा गएर लुगा धोइन मैलेपनि भन्न विर्सेछु । ति दमैहरुसँग लुगा धुनुहुन्न भनेर र तिनीहरु दमै हुन भनेर। हुनत दादा मान्छे हेरेर काहा जात थाहा हुन्छर ।
जब म घरमा गए दादा मैले बुहारीलाई सम्झाए ति दमैहरु थिए दमैहरुसँग छोइन हुदैन थियो धन्न कसैले देखेन नत्र त बरबादै हुन्थ्यो । तिमी भोलीदेखि तिनिहरुलाई चिनेर छोइछीटो गर्नु । दादा मलाई त्यो याद आयो म भाइ भएर पनि हजुरलाई कति छोइछिटो गर्थे आजपनि हजुर यहाँ भाको भए अझै गर्थे होला । समाज परिवर्तन भएकै छैन । दादा जब मैले बुहारीलाई सम्झाए नयाँ दुलही भएपनि उनले त चर्को स्वरमा मलाई पो सिकाउदै थर्काउन थालिन । यो कस्तो ठाँउ हो छोइएर के हुन्छ र? मान्छे मान्छे नि छोइन्छर ? मत सक्दिन नछोइएर हिड्न जे सुकै गर्नुस जे सुकै भन्नुस । २१औँ शताब्दिमा पनि छुवाछुतको कुरा गर्ने ? अब हजुर हामी मिलेर यो विरुद्ध उभिनुपर्छ ।
बुबाआमालाई सम्झाउनु पर्छ उहाँहरुले गरेपनि हामीले गर्नुहुदैन । मैलेपनि हेर प्रिय मलाई पनि थाहा छ छुवाछुत गर्नहुन्न भनेर परदेशमा हामी दमै, कामी, सार्की, मगर, गुरुङ, बाहुन, राई, लिम्बु सबै सँगै काम गर्छौँ, सँगै खान्छौ, सँगै सुत्छौँ ,एउटै लुगा लगाउछौँ, जुठो खान्छौँ नेपाली भन्ने वित्तिकै यति माया हुन्छ सिमा रहदैन । तर यहाँ आएपछि म बाध्य हुन्छु । समाज ज्युँका त्यु छ । मान्छेहरु जानेर अनि नजानेर यस्तो कुप्रथालाई निरन्तरता दिन्छन् तर अब तिमीले भने झै अब छुवाछुत गर्नु हुदैन यसको विरुद्धमा उभिनै पर्छ । त्यसपछि १०/१२दिन उनि र म सँगै धारा गयौँ उनले मतलब गरिनन् म हेरेको हेरेइ भए ।
दादा म अहिले दुबईमा छु कहिलेकाही कुरा हुँदा उनले आज मैले दमैकोमा खाना खाए पानी खाए भनेर जिस्काउछिन । मलाई नमज्जा लाग्छ ।मैले उनलाई स्वीकृती दिन्छु समाजमा रहेको कुप्रथा विरुद्ध घरपरिवार समाज कसैले साथ नदिएपनि म तिम्रो साथ दिन्छु । एउटा श्रीमतीलाई उसको श्रीमानको साथ निकै बलियो हुन्छ । दादा पिर नगर्नु म हजुरको साथ छु । समाजमा रहेको यस्तो विसंगति कुप्रथालाई अन्त्य गर्नुपर्छ ।
भाईलाई हार्दिकताका साथ धन्यबाद दिएँ । बधाई दिएँ प्रगतिशिल परिवर्तनशिल सचेत बुझकारी जीवनसाथी पाएकोमा । ह्रदयबाटै बुहारीलाई अझै धेरै धन्यबाद दिएँ । हाम्रो समाजमा उनी जस्ता धेरै बुहारीहरु भित्र्याउन पाइयोस भन्ने प्राथना गरेँ । डोर बहादुर विष्टको बाक्य सापटी लिदा शिक्षित बाहुन युवाहरु सक्रिय भए समाज बाट छुवाछुत अन्त्य हुने कुरामा म पनि विश्वस्त छु । मैले स्कुल देखी परदेश अनि स्नाकोत्तर सम्मको पढाइमा धेरै बाहुन युवायुवतीको संगत गर्न पाएको छु । सबैको साथ पाउने छु ।समाजबाट छुवाछुत अन्त्य अवश्य छिट्टै हुनेछ । कडा कानुन बनाएर र संविधानमै लिपिबद्ध गर्दैमा समाजबाट छुवाछुत हट्दैन ।
सेतो परेवा बाट ::::::::::मूल आलेख/समाचार तथा तस्विर © सम्बन्धित स्रोतमा
No comments:
Post a Comment