सामाजीक संघ संस्थाहरु हाम्रो गाउँमा किन आईपुग्दैनन् ? -लिलाबहादुर सार्की

कात्तिके देउराली २, बोकेचौर - २७ असार-  विभेद बिरुद्ध अभियान ।भनौं कसरी नभनौं बर्षाै भोगिसकेको कुरा कसरी लुकाउँ ? यो टोल समाज नै यस्तै हो । चेतना छैन भनौं भने अध्ययन गर्नु पर्ने कुरा थाहा छ । छ भनांै भने त्यो वातावरण बन्न सकेको छैन । वर्षाै भैसक्यो हाम्रो सपना पुरा हुन नसकेको । हाम्रा बाजे, बाबुहरु पनि यस्तै सपना बुन्थे । सपना बुन्दा बुन्दै उनिहरुको स्वर्गबास भैसक्यो । हामी त्यसै भन्दै छौं । अब हाम्रा सन्ततिहरुले पनि त्यहि भनिरहेका छन् । मुठी बाँधेर, टुपी कसेर त्यो सपना पूरा गर्ने अभियानमा हामी लागेका छौं । हिजोको समय परिस्थिति पनि त्यस्तै थियो । आज सहज भएको छ । यो भुकम्पले झनै हामीलाई कहालीलाग्दो बनायो । भएका साना कुटीहरु पनि भत्काईदियो ।
    कात्तिकेदउराली गाविस २ बोकेचौर स्थित सिङ्गो बस्तिको पीडा हो यो । ३६ घर परिवार छन् यहाँ । भुकम्पको पीडा विर्साउने गरी खुशी छाएको छ यो दलित बस्तिमा । घरमा कोहि थिएनन् बैशाख १२ गते । भएका ब्यक्तिहरु पनि काममा थिए । भुकम्प आए लगत्तै घर बाहिर निस्किएकाले बच्न सफल भए । हुन चाँहि अन्य गाविस र टोलमा जस्तो यहाँ क्षति भएन तर पनि घरहरुमा बस्न हुने छैन । राज्यले घोषणा गरेको सहयोग प्राप्त भएको छ । १५ हजारको राहतले अस्थायी टहरा निर्माणमा जुटेका छौं । एकले अर्काेलाई सहयोग गर्ने भावना छ । तर गाउँका टाठा बाठाले कसैलाई छुट्टयाएको गुनासो पनि छ । दलितहरुको कहाँ आफ्नै घर हुन्छ र सबैको । एउटै घर भित्र फरक फरक चुल्हो लगाएर बसेका केहिले राज्यको १५ हजार प्राप्त गरेनन् । गुनासाहरु पनि छन् । यहि समुह भित्र फरक फरक धर्म मान्नेहरु पनि छन् । ३६ घर मध्ये चार घर क्रिश्चियन धर्म मान्छौं । भुकम्प गए लगत्तै विभिन्न संघ संस्थाहरुले राहत वितरण गरे । राहतले पनि छुट्ट्यो । क्रिश्चियन धर्मबाट आएको राहत १५ घरलाई वितरण गरियो । अन्य हिन्दु धर्म मान्नेहरुलाई त्यसले आकर्षण ग¥यो । पछि अन्य संघ संस्था राहत लिएर पुगे । पहिला वितरण भएको भन्दै १५ घरलाई छुटाए । केहिले सम्झे हामी क्रिश्चियन भएर पाएनौं । पछि मात्रै बुझ्यौ एक पटक राहत लिएको भएर अन्य संघ संस्थाले दिएको रहेनछ ।
    कात्तिकेदेउराली गाविसमा ठ्याक्कै खान नपुग्ने परिवारको संख्या एकदमै कम छ । हामी दलितहरुको जग्गा जमिन नै कमी भएकाले भुकम्पले मात्रै होइन अरु बेला पनि खान पुग्दैन । अन्य जातका ब्यक्तिहरुको जग्गा जमिन धेरै छ । परिवारका सदस्यहरु कमाउन सक्छन, जागिर तिर पनि छन् । अहिलेको राहत केहिलाई साँच्चै समस्या नै परेको छ तर सबैलाई आवश्यक छैन । भन्नुको मतलव त्यतिखेर आवश्यक थियो जतिखेर भुकम्प गएर अरु विकल्प खोज्न सकिएको थिएन । अहिले मान्छेले आफ्नो जोहो आफै गरिसक्ने अवस्था छ । यतिखेर पनि मान्छेहरुलाई चामल वितरण गरेर पौरखी हातहरुलाई मगन्ते बनाउँदै छ । हामीले पनि लिएका छौ राहत । हाम्रो त विकल्प पनि छैन । माओवादीको शसस्त्र युद्धले पनि हामीलाई नै ठग्यो । भुकम्पले पनि हामीलाई नै ठग्यो । आजसम्म शिक्षा, गरिबीले पनि हामीलाई नै ठग्यो । बाध्यता नै हो दलित समुदायको । कमाएर खान जग्गा जमिन छैन । अधिकांश परिवारको ४ आना भन्दा जग्गा छैन । चार आना जग्गामा बनेको घर र त्यहाँबाट हुने कमाईले कति समय खान पुग्ला र ? प्रत्येक घरमा तीन÷चार जना बच्चाहरु छन् । श्रीमान श्रीमती, बाबु आमा समेत गरेर कम्तिमा ६÷७ जनाको परिवार छ । त्यति ठुलो परिवारको रेखदेख कसरी गर्ने ? शरीर ढाक्नै प¥यो, भोको पेट भर्नै प¥यो । चाडबाड मान्नै प¥यो । संस्कृति धान्नै प¥यो ।
    यस्ता पीडाहरुका बीच यो वर्ष दलित समुदायमै खुशी ल्यायो छोरा सरोज सार्कीले । उसको अंकल होमबहादुर सार्कीले एसएलसीसम्म दिएको थियो । तर उत्तिर्ण हुन सकेन । गाउँको अन्य एक जना यादव मिजारले पनि एसएलसी दिए उनि पनि पास भएनन् । एसएलसीसम्म अध्ययन गर्नु पनि दलित समुदाय भित्र ठुलै कुरा हो । बिडम्वना पनि मान्नु पर्छ । हाम्रै गाविसको यहि वडामा २०१० सालमा स्थापना भएको प्रभा प्रावि देखि क्याम्पस तहसम्म भैसक्यो । ६२ वर्षमा कसैले पनि एसएलसी पास गर्न नसक्नु भनेको लाजमर्दाे पनि हो । यो समाजले हाम्रा लागि प्रयास नै नगरेको भने पक्कै होइन । हामीमा पनि दृढ संकल्प भएन । पढेर के गर्ने ? जसरी पनि मजदुरी नगरी पेट भर्न सकिदैन । विद्यालय नियमित जान पनि त समय चाहियो । समय मिलाएर पठाएकाहरु पनि पास हुन सकेनन । पास पनि कसरी हुनु सधै कामको बाहेक अरु चिन्ता छैन । काम छाडेर किताव अध्ययन गर्ने समय निकाल्नु प¥यो नि । त्यसले पनि केहि नलागेपछि घरबाट जसरी पनि एक जनाले मात्रै भए पनि एसएलसी पास गराउनु पर्छ भन्ने उदेश्यले हामी सबैले सोच्यौ र सरोजलाई नियमित विद्यालय पठायौं । १७ वर्षको मात्रै भएको छ सरोज । १५ वर्षका केटाकेटीहरु भर्खर कक्षा ६ मा छन् । उसलाई नियमित विद्यालय पठाउँदा पठाउँदै अझै २ वर्ष ढिला भयो । त्यो बेला उसलाई पनि हामीले काममा नलगेको भए सायद उ दुई वर्ष अघि नै एसएलसी पास गर्ने रहेछ ।
    भुकम्पले त्रसित थियौ हामी । एसएलसी सकिएर उसले घरमा नबस्ने बताएको थियो । म त फेल हुन्छु । अंकलहरु पनि पास हुन सक्नु भएको छैन । साथीहरुको अगाडी फेल हुँदा मलाई लाज हुन्छ । सरोजले त्यहि भने । काठमाडांैमा चिनेका आफन्तहरुसँग सरोज काममा गए । मजदुरी गर्न थाले । एक महिना जति मात्रै भएको थियो भुकम्पले काठमाडांैमा भएका सबै मान्छेहरुलाई घर घर फकाईदियो । सरोज पनि घरमै आएको थियो । केहि समय बस्यो । फेरी घर परिवारका लागि भन्दै उ मजदुरीमा निस्कियो राजधानीमा । राजधानी यस्तो खाल्डो रहेछ त्यहाँ जस्ता ब्यक्तिहरु पनि अटाउँदा रहेछन् । हाम्रो सरोजले त्यहाँ मजदुरी गरिरह्यो । त्यसको एउटै कारण एसएलसीमा उ फेल हुन्छु र लाज हुन्छ भन्ने थियो । तर उ प्रथम डिभिजनलाई पाँच नम्वर कम ल्याएर दोश्रो श्रेणीमा उत्तीर्ण भएको खवर आयो । खुशीले गद्गद् भयौ हामी । हाम्रो टोल नै रमायो । उ खुशी नहुने कुरै भएन । त्यहि दिन उसलाई हामीले फोन गरेर बधाई दियौं । उ खुशीले रोयो । गाविस भरी हल्ला फैलियो ६२ वर्ष पछि दलित वस्तिबाट सरोज पहिलो एसएलसी पास गर्ने भयो । लिलाबहादुर सार्कीको छोराले लिला नै गरिदियो । उ प्रतिको भरोसा ह्वात्तै बढ्यो । चेतना भरियो भने समाज परिवर्तन गर्न सक्छ भन्ने बुझेका यो बस्तिमा सरोज प्रतिको आशामा झनै दियोमा तेल थपे झै भयो । समाजसेवी भनेर चिनिनेहरुले पनि उसको रोजगारीका लागि कुरा गर्दिन थाले ।
    सरोज परीक्षाफल प्रकाशन भएको पर्सिपल्ट घरमा आयो । उसलाई हामीले गल्र्याम्म अंगालो हालेर माया ग¥यौं । तर पनि धित मरेन । भाईहरु झनै खुशी भए । एउटा कक्षा ८ र अर्काे कक्षा ४ मा अध्ययन गर्छ । उनिहरुलाई पनि एसएलसी पास गराउन दाजुको सफलताले काम गरेको छ । प्रभा क्याम्पसमा विज्ञान विषयको अध्ययन हुन्छ । उसको सपना पनि विज्ञान नै हो । तर दोश्रो श्रेणी आएछ भनेर निराशा हुन शिक्षकहरुले पनि दिएका छैनन । अध्ययन गर्ने चाहना भयो भने नम्वरले केहि गर्दैन । उसले विज्ञान विषय लिएर अध्ययन गर्न सक्छ भन्ने सबैको ठम्याई छ । अध्ययनका लागि श्रेणी चाँहिदैन । स्थानीय भलाराज गिरीले समेत सरोजको शिक्षाको चिन्ता लिदै तत्काल गाउँ फर्काउन र सोहि विद्यालयमा सहयोगीका रुपमा काम गर्ने गरी कुरा गरिदिएका छन् । विहान अध्ययन गर्ने र दिउसो सोहि विद्यालयमा सहयोगी भएर काम गर्ने बाटो देखाईदिए सरोजलाई भलाराजले । छोरो एसएलसीको खुशी साटेर पुनः राजधानी फर्किएको छ । केहि समय काम गरेर गाउँ फर्कने उसको चाहना छ । किनकी क्याम्पस अध्ययन गर्न पैसा चाहियो । भर्ना गर्न पनि पैसा छैन । अझ विज्ञान विषय अध्ययन गर्न धेरै पैसा लाग्छ रे । त्यसका लागि उसले क्याम्पस शुरु नहुँदासम्म मजदुरी गरिरहन्छ ।
    यो गाउँको एउटै समस्या छोराछोरीहरुलाई विद्यालय नियमति पठाउन नसक्नु हो । बाबु आमा कामका लागि थानकोट र भक्तपुरको इट्टा भट्टामा जान्छन । नगएर अन्त जाने ठाउँ पनि छैन । बैशाख महिनामा घर फर्कन्छन् । बैशाख देखि कार्तिकसम्म बालबालिकाहरु विद्यालय जान्छन् । एउटा घरमा कम्तिमा तीन जना बालबालिका छन् । करिव २ सय बालबालिकाहरु अझै विद्यालय बाहिर हुन्छन् । धेरैले बीचमै अध्ययन छाड्छन् । बैशाखमा भर्ना गरेको बच्चा कार्तिकमा लिएर हिँडेपछि उसले कसरी पढ्नु ? फेरी आयो विद्यालय पठायो । हरेक वर्ष एउटै कक्षामा पठाउन पनि नहुने । पठायो त्यो बच्चाले सिक्ने पनि केहि होइन । बालबालिबाहरु भट्टामा जान रोक्ने कार्यक्रम पनि छैन । त्यसका लागि अभिभावकका लागि रोजगारी रहेछ । अझ सक्ने हो भने गाउँको विद्यालयमा जुन कक्षामा अध्ययन गरेको छ त्यहि कक्षामा भट्टा नजिकै अध्ययन गरेर परीक्षा दिन सक्यो भने उसको अध्ययन अगाडी बढ्छ । नत्र ६ महिना विद्यालय जाने र ६ महिना नजाँदा उसको अध्ययनले निरन्तरता पाउन सक्दैन । भएकै पनि त्यहि हो । कुनै बच्चाले कक्षा १० सम्म नियमित पढ्न पाउँदैन । समस्या पनि त्यस्तै छ । बालबालिकाहरु घरमा छाडेर काममा जान मिल्दैन । घरमा उसको रेखदेख गर्ने कसले ? के खायो ? कसो खायो ? के गर्छ ? एकै पटक ६ महिना गाउँ नफर्कँदा उसको स्वास्थ्यका बारेमा समेत जानकारी हुँदैन । त्यसकारण अधिकांश अभिभावकले आफ्ना सन्तान लिएर हिड्दा अध्ययन गर्न पाउँदैनन् । अध्ययन गरे पनि निरन्तरता हुँदैन । भएकै पनि त्यहि हो । हामीले प्रण ग¥यौं हाम्रो सरोजलाई कतै नपठाउने । र सफल पनि भयौं ।
    गाउँका समस्या अरु थुप्रै छन् । भट्टामा काम गरेको पैसाले युवाहरु विदेशिएका छन् । विदेश गएर ल्याएको रकम पनि सदुपयोग हुन सकेको छैन । बालबालिकामा अध्ययन गर्न पाएनन् । त्यसपछि ऋण गरेर विदेश गए । विदेशबाट पठाएको पैसा पनि ठोस काममा खर्च हुन सकेको छैन । अहिले गाउँमा कोहि म¥यो भने बोक्ने युवा छैनन् । अझ कार्तिक देखि चैत्रसम्म त घरमै लास परेको केहि दिन लैजाने मान्छे हुँदैनन् । महिला, केटाकेटी सबै भट्टामा हुन्छन् । बुढाबुढीहरु मात्रै घरमा हुँदा विरामी हुँदा अस्पतालसम्म पु¥याउने र मरेपछि घाटसम्म लैजाने मान्छेहरु समेत हुँदैनन् । सायद यो संकट सबै गाउँमा होला जस्तो लाग्छ । हामी दलितहरुमा त झनै भयो । भट्टामै हुन थाल्यो विवाह पनि । त्यहाँ धेरै जिल्लाका मान्छेहरु भेटिन्छन् । कसैले तामाङसँग, कसैले विकसँग, कसैले अन्य जातका ब्यक्तिहरुसँग विवाह गरेका छन् । विवाह गर्ने उमेर पनि सानैमा हुन्छ । २० वर्ष कटेर विवाह गर्नेहरु थोरै छन् । विवाह ग¥यो, केहि समय भट्टामै काम ग¥यो अनि विदेश गयो । गाउँमा खासै रोजगारी छैन । गाउँमा काम हुँदा हामी यतै बस्छौं । धेरै बुढाबुढी पनि भैसक्या छन । जाने ठाउँ पनि छैन । कमाउन जान पनि सकिदैन । कमाएर ल्याउनेहरु पनि समयमा आउन सक्दैनन् । भोकमरी चाँहि हाम्रो गाउँमा हुन्छ । सहयोग त भएको छ तर पनि वर्षभरीलाई भन्दा यसको सधैका लागि अन्त्य गर्ने कुरामा राज्यका निकायहरुले सोच्ने हो कि ? हामी काम गर्न तयार छौ तर वर्षभरी पेट भर्नका लागि बालबालिकाहरुको भविश्य जोखिममा पार्ने कामबाट बचाउने हो कि ? थुप्रै सामाजीक संघ संस्थाहरु कृयाशिल भएको सुन्छुृ हाम्रो गाउँमा किन आईपुग्दैनन् । हामीलाई भट्टामा लालाबाला बोकेर जान रहर छ र ?

No comments:

Post a Comment