दलित सङ्घको क्षमता अभिवृद्धि प्रशिक्षण सुरु

ललितपुर, असार २९ - विभेद विरुद्ध अभियान । नेपाल दलित सङ्घ केन्द्रीय कार्य समितिको आयोजनामा दुईदिने योजना तर्जुमा एवम् क्षमता अभिवृद्धि राष्ट्रिय प्रशिक्षण सोमबारदेखि यहाँ सुरु भएको छ ।
सो प्रशिक्षणमा देशभरि रहेका दलित सङ्घका जिल्ला सभापति र दलित सामान्य समितिका उपाध्यक्षसहित १५० जनाको सहभागिता रहेको छ ।
सो अवसरमा नेपाली काँग्रेसका वरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले लामो समयदेखि पछाडि पर्दै आएका आएका महिला, दलित एवम् पिछडिएका वर्गको हक अधिकारलाई आगामी संविधानमा सुनिश्चित हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले आदिवासी जनजाति तथा अल्पसङ्ख्यकको अधिकारलाई समेत संविधानमा सुनिश्चित गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
संविधान निर्माण मधेसी समुदायको भावनालाई समेटेर अगाडि बढ्नुपर्नेमा उहाँको जोड थियो । संविधान जारी भएपछि देशले विकासका खुड्किला तीव्र ढङ्गले अगाडि बढ्न सक्नेमा उहाँको विश्वास थियो ।
काँग्रेस केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टी सञ्चालन प्रक्रिया विधिको शासनअनुसार हुनुपर्नेमा जोड दिनुभयो । पार्टी नीतिमुखी नभई नेतामुखी हुँदै गएको उहाँको आरोप थियो ।
सङ्घका अध्यक्ष मीन विश्वकर्माले दलित कार्यकर्ताको क्षमता अभिवृद्धि गराउने उद्देश्यले प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । 
साभार - गोर्खापत्र

No comments:

Post a Comment