फाइनल म्याच (कविता ) - आहुति

११ श्रावण, २०७२- विभेद विरुद्ध अभियान ।

हातमा ज्यावल या कहिले हतियार
सम्झेर सुरक्षित
निर्भय
मस्त निदाएँ युगौंयुग
तड्पेर ब्युझँदा
ममाथि शोषण गरिरहेका थिए
हातमा किताव बोकेका मानिसहरू !
हतार हतार
मैले पनि उठाएँ कलम
लेख्न थालें
बोक्न सिकें अङ्गालो भरी भरी कितावहरू !
हातमा कलम या कहिले किताव
ठानेर सुरछित
निस्चिन्त
फेरि निदाएँ वर्षौंवर्ष
झस्केर उठ्दा
ममाथि शासन गरिरहेका थिए
हातमा हतियार बोकेका मानिसहरू !
कहिले हुन्छ मेरो मुक्ति
कहिले हुन्छु म स्वतन्त्र
ज्यावल र हतियार बोक्छु
म शोषित नै भैरहेको हुन्छु
फेरि कलम र किताव बोक्छु
म शासित नै भैरहेको हुन्छु !!
अबदेखि
स्वास अक्षरहरूको लिन्छु
प्रस्वासमा फाल्न सिक्नेछु बारूद
कलमले संवाद गर्छु
प्रतिवादमा तयार राख्नेछु हतियार
किताव र हतियार बोकेर एकसाथ
म कहिले निस्चिन्त रहने छैन
मस्त निदाउने छैन एकपल
कलम भिर्दा भुल्ने छैन हतियार
हतियार बोक्दा बिर्सने छैन कलम !
संभवत
अब भने रोचक हुनेछ
यो ऐतिहासिक महासंग्रामको
फाइनल म्याच !

- साभार- रेकर्ड नेपाल



No comments:

Post a Comment