दलित समुदायमाथि मृत्युपछि अन्त्येष्टि गर्ने घाटमा पनि विभेद

करन ताम्राकार, डडेल्धुरा, १४ साउन -विभेद बिरुद अभियान ।जीवित हुँदा मात्र होइन, जिल्लाका दलित समुदायमाथि मृत्युपछि पनि विभेद हुने गरेको छ । दलित समुदायलाई अन्त्येष्टिका लागि छुट्टै मसानघाट प्रयोग गर्न बाध्य पारिएको छ । अमरगढी नगरपालिका–३ मा रहेको घटालस्थानमा दलित र गैरदलितका लागि छुट्टाछुट्टै घाट निर्माण गरिएको छ । अमरगढी–३ का शिक्षक भक्तबहादुर विकेले भने, ‘हाम्रो समाजमा अझै पनि दलितमाथि ठूलो विभेद कायम छ भन्ने कुराको योभन्दा अर्को उदाहरण हुनै सक्दैन ।’ अमरगढी–७ र ८ स्थित शैलेश्वर महादेव मन्दिरनजिक रहेको सल्लगडाँ मसानघाटमा पनि फरक–फरक घाट बनाइएको छ ।
 स्थानीय समाजसेवी इन्दिरा ताम्राकारले बाहुन, क्षेत्रीलगायतका लागि फरक र दलित समुदायका लागि फरक ठाउँमा अन्त्येष्टि गर्ने घाट बनाइएको बताइए । दलित र गैरदलितका रूपमा विभेद गर्नु कानुनी रूपमा दण्डनीय भए पनि सामाजिक रूपमा भने यस्तो विभेद अझै कायम छ । जिल्लामा यस्ता विभेद कायमै रहे पनि दलित समुदायको हितका लागि खुलेका गैरसरकारी संघसंस्थाको आँखा भने अहिलेसम्म यसतर्फ परेको छैन । दलित समुदायका अगुवाले भने, ‘हाम्रो नाममा डलर खेती गर्नेदेखि राज्यको कानुन कार्यान्वयन गर्नेहरूले पनि अहिलेसम्म यसतर्फ ध्यान दिएका छैनन् ।
 उनले आफूहरूले दाहसंस्कार गर्ने ठाउँमा दलित समुदायको दाहसंस्कार गर्दा देवी रिसाउने भन्दै बाहुन, क्षेत्री जातिले एउटै घाट प्रयोग गर्न रोक लगाउँदै आएको जनाए । दलित अगुवा प्रकाश जैरुले सरकारले कडाइका साथ कानुन कार्यान्वयन नगरेकाले अहिलेसम्म विभेद कायमै रहेको बताए । जातीय छुवाछुत अन्त्यका लागि चार वर्षअघि बनेको ‘जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐनबारे सरकारले जनचेतना नफैलाउँदा पनि यस्तो विभेद कायमै रहेको हो,’ जैरुले प्रश्न गरे, ‘सदरमुकाममै यस्तो विभेद हुन्छ भने विकट गाविसमा हुने विभेदको अन्त्य कसरी कल्पना गर्न सकिन्छ ?’ - साभार - नया पत्रीका 

No comments:

Post a Comment