‘भागी विवाह’ गरेको सात दिनपछि युवकले थाहा पाए युवती त दलित रहिछिन्

जनार्दन पोखरेल -महोत्तरी, साउन १४, विभेद बिरुद्ध अभियान –  ‘हाम्रो हाम्रो भेटघाट भएको ६ दिन मात्र भयो । फोनमा कुरा भने पहिल्यैदेखि हुन्थ्यो । बगाले थापाकी छोरी हुँ भन्थी । हामी दुवैले एक अर्काको अनुहार देखेका थिएनौं । फोनमा कुरा गर्दा मन पर्‍यो । मैले विवाह गरौं, सँगै बसौं भनें । उसले पनि हुन्छ भनी । हामी भाग्यौं । तर बुझ्दै जाँदा यो त बिक पो रैछे । पछि थाहा भयो । अब म कुनै पनि हालतमा यसलाई विवाह गरेर घरमा भित्र्याउन सक्दिन’ सर्लाहीको हरिवन इलाका प्रहरी कार्यालयमा भएको छलफलमा दलित युवतीबाट आफूलाई छुटकारा दिन एक युवक समाज र प्रशासनलाई आग्रह गर्दै थिए । तर सँगै रहेकी युवती भने युवकले झुट बोेलिरहेको भन्दै उसको कुरा नपत्याउन भन्दै थिइन् ।

‘घरबाट भाग्नु अघि नै मैले म बिककी छोरी हुँ, पछि तल्लो जातकी भनेर यस्तो उस्तो भन्न पाउनु हुन्न भनेकी थिएँ’ युवतीले युवकतिर आँखा तर्दै भनिन् ‘मैले यसलाई म बगाले थापा हो भनेकै छैन । यो झुट बोल्दैछ । यसले मलाई जातभातको मतलब छैन, प्रेममा जातभातको कुरा हुँदैन, तिमी भए मलाई पुग्यो, मैले घरमा आमाबुवासँग कुरा गरिसकेको छु, तिमीलाई घर लगेर भित्राउन मलाई कुनै समस्या हुँदैन भनेर फकायो, अनि मात्र म उसँग भागेकी हुँ ।’
सर्लाहीको हरिवन नगरपालिका २ निबासी १७ वर्षिय हिमाल कार्की र हरिवन ३ निबासी १८ वर्षिया बिना विक आफूहरुबीचको प्रेम सम्बन्ध र भागी विवाहबारे समाज र प्रशासनलाई स्पष्टीकरण दिंँदै थिए । कसैले दिएको मोवाइल नम्बरमा सामान्य कुराकानी भएकै भरमा एक अर्कालाई मन पराएका उनीहरु यहि साउन ६ गते घर छाडेर भागेका थिए ।
तर एकअर्काबाट कहिल्यै नछुट्टिने, जीवनभरी सँगै बाँच्ने सँगै मर्ने कसम खाएर भागेका उनीहरुको प्रेम सम्बन्ध भने एकहप्ता पनि टिक्न सकेन । आफन्तको र आफ्नो घरमा गरेर ६ दिनसम्म युवतीलाई सँगै राखेका कार्कीले जब युवती दलित भएको थाहा पाए, तब घरबाट निकाले । युवती पनि के कम,उनी न्याय खोज्दै प्रहरी कार्यालय पुगिन् ।
इलाका प्रहरी कार्यालय हरिवनले दुबै पक्षलाई छलफलमा बोलायो । छलफलमा सहभागी सबैले जातको आधारमा युवतीलाई घर निकाला गर्न नपाईने भनेर दबाब दिएपछि युवक आफूले मन पराएकी दलित युवतीलाई फेरि घर भित्र्याउन बाध्य भएका छन् । प्रशासनिक र सामाजिक दबाबपछि युवकले युवतीलाई घर भित्राउने, आइन्दा कुनै पनि प्रकारको भेदभाव नगर्ने भनेपनि उनीहरुको सम्बन्ध लामो समय टिक्नेमा सबैलाई शंका छ ।
छलफलमा सहभागी इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक शेरबहादुर चन्दले युवायुवती दुवको विवाह गर्ने उमेर नपुगेपनि दलित र गैर दलितबीचको अप्ठ्यारो माम्लो भएकाले दुवैैलाई सँगै बस्न आग्रह गरिएको बताउनुभयो । ‘हामीले केटा पक्षलाई दलित भएकै आधारमा युवतीलाई भेदभाव नगर्न सम्झाएका छौं’, चन्दले भन्नुभयो ।

SOURCE:-उज्यालो 

No comments:

Post a Comment