आहुतिको कविता र संविधानमा दलित अधिकारको प्रश्न- इन्द्र नरथुङे

साउन ११, बिभेद विरुद्ध अभियान । 
गहुँगोरो अफ्रिका- आहुति

मेरो रातो रगत
मानिसको पवित्र रातो रगत
नीलो पसिनाको बुँद बनेर जब झर्दछ
तिमी आफ्ना नरम अञ्जुलीहरूमा आली लगाएर थाप्दछौ
जब म त्यो श्रमको सुवासयुक्त पसिना सुघ्न खोज्छु
तिमी मेरो अपमान गर्छौ र मलाई टाढा राख्छौ
आँखा जुधाउने आँट गर पूजारी
म बीसौं शताब्दीको 'अछूत' हुँ !
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
म न्याय चाहन्छु
म मुक्ति चाहन्छु !
तिम्रो मन्दिरको मूर्तिमा मेरो आरनको गन्ध आउँछ
ओदानीमाथिको कराहीमा मेरो पसिनाको गन्ध आउँछ
आँखा जुधाउने आँट गर धर्माती मान्छे
कि मेरो अस्तित्वलाई भुङ्ग्रोमा पोल र धर्म धान्ने आँट गर
कि मेरो अपमान गर्ने शास्त्रका पानाहरूलाई च्यात्ने या
जलाउने साहस गर
म तिम्रो मन्दिरको देवता बनाउने कामी हुँ
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
तिम्रो बस्तीको सफा भुइँलाई सुँघ
बस्तीको हर चोक्टामा मेरो रगतको गन्ध आउँछ
आँखा जुधाउने आँट गर सफा मान्छे !
कि मेरो रक्त नलीहरूमा पानी भर
कि आफ्नो दिमागको फोहोर सफा गर
म तिम्रो बस्तीको फोहोर सोहोर्ने च्यामे हुँ !
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
तिम्रो मनका मनोरञ्जित ग्रन्थीहरूलाई च्यात
त्यहाँ मेरो सङ्गीतको मधुर सरसराहट सुनिन्छ
आँखा जुधाउने आँट गर चेतनायुक्त मान्छे !
कि मलाई जनावरसँग बाँध र घाँस खुवाउने आँट गर
कि तिमी आफूलाई जनावरभन्दा फरक पार्ने साहस गर
म सारङ्गी रेट्ने, मादल ठोक्ने, गाइने हुँ–वादी हुँ !
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
माटोमा धस्सिएको मेरो जीवनलाई छाम
त्यहाँ मेरो आँसुको आहाल भेटिन्छ
आँखा जुधाउने आँट गर अघाएको मान्छे !
कि तिम्रो गाँसमा मेरो आँसुको गन्ध छैन भन्ने आँट गर
कि मेरो दलित जीवनको सम्मान गर्ने साहस गर
म तिम्रो गोरुसँगै माटोमा पौडिने मुसहर हली हुँ !
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
तिम्रो पैतालाको जुत्तादेखि शिरको टोपीसम्म
तिम्रो दृष्टिको दूर क्षितिजदेखि मुटुको स्पन्दनसम्म
म कहाँ छैन? म सर्वत्र छु !
मलाई तिमी कसरी 'अछूत' बनाउन सक्छौ 'छूत' मान्छे?
कि इतिहासको कठघरामा उभिने आँट गर
कि आफूलाई बदल्ने साहस गर
आँखा जुधाउने आँट गर पूजारी !
म बीसौं शताब्दीको 'अछूत' हुँ !
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
म अपमानित इतिहासको हिसाब चाहन्छु
म कुनै पनि मूल्यमा मुक्ति चाहन्छु !
आहुतिको यो कविता मैले पहिलोपल्ट मूल्यांकन माशिकमा पढेको थिएँ तर त्यो मूल्यांकन माशिक मेरो हातमा पर्दा दुई-तीन बर्ष पुरानो भैसकेको हुनुपर्छ । काठमाण्डौमा कलेज पढेर गाउँ निस्किएका एक जना दाइ पर्नेबाट मैले सो पत्रीका पैंचो लिएको थिएँ । उसबेला कविता अलिक कम बुझ्ने म, यो कविता पढिसकेपछि भने नमज्जैले हल्लिएँ । चारैतिर मेरा दामली दलित साथीहरुको अनुहार नाच्न थाल्यो । गाउँले परिवेशमा हुर्किएको म कवितामा उधृत पूजारी कै मानशिकतामा त नहुन सक्छु तर दलितप्रति उस्तो उदार भने पक्कै थिइँन । 
कविताले उसबेला मज्जैले झक्झकायो, अहिले पनि झक्झकाई नै रहेछ । गाउँले दाइलाई उक्त पत्रीका फिर्ता नदिइञ्जेलसम्म पढें पटक-पटक । अहिले आएर सोंच्दैछु, कविताले मेरो मानशिकता बदल्न निक्कै ठूलो सहयोग पुर्याएको रहेछ ।

आहुतिको यो कविता केही महिनादेखि फेरि चर्चामा छ । यहि कविताको शिर्षकबाट कविता संग्रह प्रकाशित भएपछि यो कवितालाई लिएर बहस गर्ने र कविता साभार गर्ने क्रम चलिरहेको छ ।
२०५० सालमा छापिएको यो कविताको सान्दर्भिकता अहिले अझै मुखरित भएको छ । संविधानको मस्यौदामाथि जनताले सुझाब दिइसकेको अवस्थामा पहिलो र दोश्रो संविधान सभाले दलितको पक्षमा निर्णय गरेका कतिपय बुँदाहरुलाई मस्यौदा लेख्दा छुटाईएको र तोडमोड गरिएको कुरा आइरहेको छ । यस बिषयमा दलित अधिकारकर्मी र दलित राजनीतिज्ञहरुले कति आवाज उठाई रहेका छन् उनीहरुले नै जानुन् तर पनि संविधान सभाका प्रमुख दलहरु दलितलाई सबैप्रकारको बिभेदबाट मुक्तगरी अधिकारसम्पन्न बनाएर समतामूलक समाज निर्माण गर्न चाहँदैनन् भन्नेकुरा भने पारित भैसकेका कतिपय कुरा मस्यौदामा जानाजान छुटाउनुले प्रष्ट पारेको छ ।
एकातिर संविधानको मस्यौदामा सहमति भएका दलित सम्बन्धी निर्णयहरु उल्टाईन्दै छ भने अर्कोतिर शहरिया केही पढालेखाहरु दलित समस्या पहिलाको अवस्थामा नरहेको जिकिर गरिरहेका छन् । बिदेशमा बसेर हिन्दु राष्ट्रको वकालत गरिरहेका कतिपय भुइँफुट्टा बुद्धिजीवीहरु त बिदेशमा दलितसँग एउटै भाञ्सा खाइरहेको प्रशंग उल्लेख गर्दै नेपालमा दलित समस्या नै नरहेको तर्कदिन पनि पछिपरेका छैनन् । तर शहरबाट अलिकती निस्किएर गाउँतिर लाग्ने हो भने दलितको अवस्था अझै पनि कविताले बोले जस्तै छ । म मेरै गाउँको एउटा उदाहरण पस्कन चाहाछु ।
कुरा चार बर्ष अगाडिको हो । गाउँविकास समितिको बजेट र स्थानीय क्लबको साझेदारीमा मेरै गाविसको वडा नं ९ मा एउटा शिवालय बनाईयो। उक्त शिवालय बनाउँदा साझेदारी गर्ने क्लबका सक्रिय सदस्यहरुमा दलित समुदायका पनि छन् । सो शिवालयको जग हाल्नेदेखि धुरी मार्ने, मूर्ति राख्ने मण्डप बनाउने काम सबै दलितहरुले नै गरेका हुन् । तर जब शिवालय तयार भयो, त्यहाँ स्थानीय पण्डितहरुबाट रुद्री पाठ गरेर मूर्ती स्थापित गरियो । हो, त्यही दिनदेखि सो शिवालयमा दलितहरुलाई पस्न मनाही गरिएको छ । उक्त कुरामा केही स्थानीय दलितहरुले असन्तुष्टि जनाए पनि प्रतिरोध गर्न भने सकेनन्। यो एउटा सानो उदाहरण मात्र हो, गाउँघरमा यस्ता उदाहरण त पाइलै पिच्छे भेटिन्छन् । नयाँ पुस्तामा दलितप्रति हेर्ने दृष्टिकोण केही परिवर्तन भए पनि धार्मिक र सामाजिक रुपमा त्यति ठूलो परिवर्तन भएको छ भन्ने देखिन्दैन ।
यहाँ कविताले राज्य र उच्च जातीय अहंकारबादलाई दलित प्रतिको दृष्टिकोण बदल्न सुझाब दिएको छ । यदि दलितप्रतिको दृष्टिकोण र व्यवहार परिवर्तन नगरिए बिद्रोह गर्न दलितको नैसर्गिक अधिकार हुने कवि बताउँछन् ।
नेपालमा भएका हरेक आन्दोलन र बिद्रोहमा दलितहरुको अपार सहभागिता र समर्थन रहँदै आएको छ । यतिबेला जनता आफैले चुनेको प्रतिनिधिबाट संविधान निर्माणको कार्य भैरहेको छ । तर पनि नेपालको कूल जनसंख्याको करिब १३ प्रतिशत हिस्सा ओगटेका दलितहरुलाई अधिकार सम्पन्न बनाउने र बिगतमा राज्यबाट भएका बिभेदको क्षतिपूर्ति स्वरुप निश्चित समयसम्म सकारात्मक बिभेदको नीति अंगिकार गरेर दलितहरुलाई राज्यका हरेक तह र तप्कामा स्थापित गराउने कार्यमा प्रमुख पार्टीहरु नकारात्मक बनिरहेका छन् । अहिले संविधानको मस्यौदालाई संशोधन गर्ने तयारी चलिरहेको छ । बिगतमा संविधान सभाले पारित गरेका दलित सम्बन्धी कतिपय छुटेका बुँदा सँगै पिछडिएका जाती र क्षेत्र, आदिवासी जनजाती, मदेशी, महिला आदिको मागलाई यथोचित सम्बोधन गर्न ठूला पार्टीका नेताहरुको चेत खुलोस् । नत्र कविताले भने झैं----
"कि इतिहासको कठघरामा उभिने आँट गर
कि आफूलाई बदल्ने साहस गर
आँखा जुधाउने आँट गर पूजारी !
म बीसौं शताब्दीको 'अछूत' हुँ !
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
म अपमानित इतिहासको हिसाब चाहन्छु
म कुनै पनि मूल्यमा मुक्ति चाहन्छु !" 
भन्न कुनै पनि शक्तिले अब रोक्न सक्दैन ।


लेख साभार - इन्द्र नरथुङे ज्युको फेसबुक बाट

No comments:

Post a Comment