संविधानको मस्यौदामा छुवाछुत अन्त्य गर्ने सवालको वेवास्ता

३ साउन, विभेद विरुद्ध अभियान । नयां संविधानको मस्यौदामा दलित अधिकार उचित ढंगले संवोधन नभएको बारेमा बेलायतमा एक अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ। युकेको लण्डन, अल्डरसट स्थित भेटघाट गोरखा रेष्टुरेण्टमा जुलाई १७ मा सम्पन्न ‘नयां संविधानमा दलित अधिकार’ विषयक अन्तरकृया कार्यक्रममा  नयां बन्ने संविधानले पनि छूवाछूतको समूल अन्त्य गर्ने तथा दलित अधिकारको सुनिश्चितता गर्ने सवाललाई वेवास्ता गरेको बिषयमा चिन्ता ब्यक्त गरियो।
सिड्नी विश्वविद्यालयमा विद्यावारिधी अध्ययनरत तथा जातीय विभेद विरुद्ध विश्व मंचका कार्यकारी सदस्य श्री मोम विश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रम श्रृजनशिल समाज युकेको आयोजनमा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि तथा वक्ता श्री मोम विश्वकर्माले नेपालको दलित समुदायको अवस्था, संविधान निर्माणमा दलित अधिकार तथा रणनीतिको बारेमा मन्तव्य दिनुका साथै आफ्नो अनुसन्धानको निष्कर्ष समेत प्रस्तुत गर्नुभएको

थियो ।

कार्यक्रममा उहांले ‘दलित समस्या नेपाल तथा दक्षिण एशियामा मात्र  सिमित नभई यो विश्वव्यापी सवाल भईसकेको हुनाले विभिन्न राष्ट्रमा छरिएर रहेका दलित समुदाय अब एकताबद्ध भई संघर्ष गर्नुपर्ने बेला आएको  छ,’  मोम विश्वकर्माले भन्नु भयो ।

दलित अधिकारको सुनिश्चितता गर्ने सवाललाई वेवास्त गरेको हुनाले बढि भन्दा बढि दलित समुदायले आफ्नो राय, सुझाब संविधानसभामा पठाउनुका साथै नेपालमा शसक्त प्रतिरोधात्मक कार्यक्रम आयोजना गर्न विदेशमा रहेका सम्पूर्ण दलित समुदायको आर्थिक, भौतिक तथा बौद्धिक सहयोगको आवश्यकता रहेको वहाँले बताउनु भयो ।

दलित समुदायको सामाजिक न्यायको लागि शक्ति, श्रोत र साधनको पुर्नवितरण तथा दलित समुदायको पहिचान हुन आवश्यक रहेको त्यसका लागि दलित समुदायले तत्कालिन रणनीतिको रुपमा पहिचान अथवा समुह राजनीति गर्न आवश्यक रहेको तथ्य अनुसन्धान प्राप्त भएको जनकारी  गराइयो।
कार्यक्रममा उपस्थित सहभागीहरुले पनि दलित समुदायको सामाजिक न्याय, समानता र मानवअधिकारका लागि एक्यबद्ध रुपमा लाग्नुपर्ने सुझाब राखेका थिए । साथै कार्यक्रममा बोल्दै समाजका सल्लाहकार श्री शेर सुनारले श्रृजनशिल समाज २००४ देखि नै यो विषयमा सकृय रहेको जनाउनु भयो ।

कार्यक्रममा श्रृजनशिल समाजका पदाधिकारीहरुले विश्व मंच संग आवद्ध भएर अगाडि जान सकिने बारेमा समेत सहमती जनाएका थिए । सुक सुनारको अध्यक्षता तथा संस्थाका सल्लाहकार शेर सुनारको विशेष सहयोगमा सम्पन्न उक्त कार्यक्रम संस्थाका महासचिव श्री धन सार्कीले संचालन गर्नुभएको थियो भने स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष श्री भक्त परियारले गर्नुभएको थियो ।
- साभार:- rhinonews.net

No comments:

Post a Comment