इश्वरी र शारदाले अप्सरा विकहरु जस्ता हजारौंलाइ व्यसायी बनाउदैछन

लमजुङ , १३ साउन, विभेद बिरुद्ध अभियान  । सुन्दर भविश्यको सपनालाई साकार बनाउन मान्छले बर्तमानमा कतिसम्म सम्झौता गर्छ ? सन्तानको सपना सकार बनाउन बाबुआमाले कतिसम्म दुःखसँग पौंठेजोरी खेल्छन् ? यी दुई प्रश्नको उत्तर अप्सरा विकसँग छ । लमजुङ्ग सुन्दरबजार नगरपालिका परेवाडाँडा १२ की अप्सरा विक बगुर र कुखुरा सँगै दिनभरी लुकामारी गर्छिन्, र रात पनि सँगै कटाउँछिन् । बाँसको भाटाले बनाएको टहरोको एक छेउमा हुर्कदै गरेका बोइलर कुखुराका चल्ला त अर्को छेउमा एक हुल बंगुर । त्यती मात्रै होइन सँगै अप्सराको रात कटाउने ओछ्यान पनि छ । जहाँ उनी आफ्नो दिनभरीको थकान बिसाउछिन् ।
बंगुर र कुखुरा बेचेर उनले अहिले आफ्नो छोरालाई हेल्थ असिष्टेन्ट (एचए) पढाइरहेकी छन् । “गरिबका लागि पनि सरकार छ भन्ने मलाई थाहा थिएन, श्री नमुना नागरिक सचेतना केन्द्रको सदस्य नहुन्जेल सम्म मलाई गाविस छ भन्ने पनि थाहा थिएन,” अप्सराले भनिन्, “हाम्रा लागि सामाजिक सुरक्षा भत्ता पनि आउँदो रहेछ । त्यो मलाई थाहा थिएन । भत्ता पनि यो केन्द्रमा आएपछि लिन सकें,” उनले अगाडी थपिन्, “मलाई कुखुरा र बंगुर अझै धेरै बनाएर पाल्न मन छ, मिल्छ भने सरकारले यसका लागि अझै धेरै ऋण दियोस् । म यसलाई व्यवसायीक रुपमा अघि बढाउन चाहान्छु ।” अप्सराले विपन्न बस्तिमा विपन्न जनताको आयस्थर उकास्ने उद्देश्यले स्थानीय विकास मन्त्रालयले जिविस मार्फत सञ्चालन गरेको नागरिक सचेतना केन्द्रबाट ऋण लिएर सुरु गरेको बंगुर र कुखुरा पालन व्यवसायबाट गैरसरकारी संस्था पनि प्रभावित भएर वल्र्ड भिजनलगायतका संस्थाले पनि सहयोग गरेको बताइन् । उनी अहिले मासिक २० देखी ४० हजार सम्म आमदानी गर्छिन् ।
अप्सरा सँगै श्री नमुना नागरिक सचेतना केन्द्रमा ५० जना सदस्य छन् । अरुपनि अप्सरा जस्तै सबल र सक्षम हुदैछन् । उनीहरुलाई मात्रै खाँचो छ त लगानीको ।
श्री नमुना नागरिक सचेतना केन्द्रमै वडा नागरिक मञ्च पनि छ । स्थानीय निकायको अभावमा देशैभर गठन गरिएका यस्ता मञ्च मध्य यो १२ नम्बर वडाको संयोजक दिलबहादुर घर्ती हुन् । घर्तीले आफ्नो परिचय पनि दिन नसक्ने महिलाहरु अहिले आयआर्जनमा लागेको बताए । सहकारी गठन गर्ने तयारीमा रहेको भन्दै महिलाहरु अहिले आम्दानी भन्दा कम खर्च गर्न थालेका घर्ती बताउँछन् ।
सुन्दरबजार नगरपालिकाकै ऐसेलु चौरमा पनि नागरिक सचेतना केन्द्र ऐसेलुचौर छ । जसमा आबद्ध ३० महिला बाख्रा पालन गरिहेका छन् । चालु आर्थिक वर्षमा जिविसले दिएको १ लाख रुपैयाँले केन्द्रमा आबद्ध मध्य सबै भन्दा विपन्नको पहिचान गरेर उनीहरुले सचेतना केन्द्रले एक एक वटा बाख्रा दिएको हो । ८५ प्रतिशत दलित समुदाय रहेको यो गाउँका महिला अहिले केन्द्रकै कारण आयआर्जनमा लागेका छन् । जिविसले फलफूलका विरुवा वितरण गरेको छ । यो गाउँलाई अदुवा उत्पादनको पकेट क्षेत्रको रुपमा बिस्तार गर्ने लक्ष्यका साथ अहिले तीन रोपनि जग्गामा सामुहिक अदुवा खेती सुरु गरिएको केन्द्रकी संयोजक सरस्वती परियारले बताइन् । उनले आँफुहरु अदुवा खेती, बाख्रा पालन र फलफुल खेतीलाई व्यवसायकै रुपमा अघि बढाउन चाहेको भन्दै जिविसले अहिले दिदै आएको सहयोगको मात्रा बृद्धि गर्न माग गरिन् । नागरिक सचेतना केन्द्रकै कारण आँफुहरुमा नेतृत्व क्षमता समेत अभिबृधि भएको बताउने परियारले आँफु वडा अध्यक्षको जिम्मेवारी निभाउन सक्ने भएको बताइन् । “चाँडै स्थानीय निकायको निर्वाचन हुदैछ । म निर्वाचनमा नेतृत्वको लागि उठ्छौं,” परियाले अगाडी थपिन्, “यो केन्द्रले हामलीलाई धेरै कुरा दियो, अहिले हाम्रो गाउँमा छुवाछुत प्रथाको अन्त्य भएको छ भने सासु र बुहारीबीचको सम्बन्धमा पनि सकारात्मक परिवर्तन आएको छ ।” उनले जिविसको बजेट समयमै निकासा भए हिउदको महिनामा आयआर्जन तथा सिपमुलक काम गर्न सहज हुने बताइन् ।
गाउँ ब्युँझाउँदै इश्वरी र शारदा
अप्सरा र सरवस्तीको यो कथामा जोडिन्छन् इश्वरी र शारदा । लमजुङ्ग बेसीशहरकी इश्वरी थापाले पद्यकन्या क्याम्पस काठमाडौंबाट समाजशास्त्रमा स्नातकोत्तर सकेकी छिन् । उनी अहिले गाउँमा दुई देखी तीन घण्टा सम्म हिडेर सचेतना केन्द्रहरुमा पुग्छिन् । केन्द्रमा आबद्ध हुन विपन्न र दलित समुदायलाई आग्रह गर्छिन् । हंसिलो चेहरा र मिजासिलो स्वभावकी उनको आग्रहलाई सहजै स्वीकार्दै स्थानीय महिलाहरु पनि केन्द्रमा आबद्ध हुन्छन् । र, इश्वरीले भनेजस्तै जिविसको आर्थिक सहयोगमा आयआर्जनमा लाग्छन् । फलतः अप्सरा विक जस्ता हजारौं व्यसायी बनिरहेका छन् ।
लमजुङ्ग जिविस प्रशासन विज्ञ लोमश अधिकारीले शारदा पौडेललाई अब अर्को सचेतना केन्द्रमा पठाउन लागेको बताए पछि नागरिक सचेतना केन्द्र ऐसेलुचौरका वडा नागरिक मञ्चका संयोजक चन्द्रबहादुर तामाङ्गले भने, “सरसँग म एउटा आग्रह गर्छु, शारदा म्याडमलाई खोसेर नलैजानुस्, उहाँकै कारण हामी आज यहाँसम्म आइपुग्यौ अझै हामीले शारदा म्यामबाट सिक्नु धेरै छ । कुवाको भ्यागुतो शरह हामी उहाँकै कारण आज विकासे योजना माग्ने भयौं, घण्टौं हिडेर खाने पानी ल्यनाउनु पर्ने वाद्यता अब टर्दैछ,” तामाङ्गले भने, “अब हाम्रोमा खाने पानीको आयोजना बन्दैछ । घरघरमै खानी पानीको धारा बन्दैछ । यी यस्ता अभियानमा हामीलाई शारदा म्याम र इश्वरी म्यामको अझै खाँचो छ ।”
विश्वविद्यालयको उच्च तहको औपचारिक अध्ययन सकेकी लमजुङ्ग सुन्दरबजारकी स्थानीय शारदा पौडेल घाम पानी नभनि सरकारको अभियानलाई सफल बनाउन होष्टेमा हैसे गरिरहेकी छिन् ।

No comments:

Post a Comment