अन्याय र असमानताको अन्त्यका लागि म राजनीतिमा लागेकी हु -शान्ति नेपाली

सरिता पौडेल/१३ साउन, विभेद विरुद्ध अभियान ।
हँसिलो  गोलो अनुहार, गहुँगोरो बर्णकी बाक्ली चाक्ली हक्की स्वाभावकी विगत लामो समयदेखि अनवरत रुपमा दलितको सेवामा समर्पित एक परिचित नाम हो शान्ती परियार । २०३७ सालमा गोरखा जिल्लाको घैरुङ गाविस बतासेमा  बुवा चन्द्र बहादुर परियार र आमा दुर्गा परियारको कोखबाट जेठो सन्तानको रुपमा जन्मिएकी शान्ती दलितको मात्र नभई समाजको अगुवा बन्न सफल छिन् । २०४२ सालमा बाबु आमा बसाइसराई गरी चितवन झरेपछि शान्ती चितवनमा नै विभिन्न सामाजिक जागरणको अभियानमा लाग्न शुरु गर्नुभएको हो ।  सानैदेखि दलित उत्थान र सामाजिक जागरणका साथै राजनीतिमा लाग्नुभएकी शान्तीको प्राथमिक स्तरको पढाई बाह्रघरे स्कुल र माध्यमिक तहको पढाई लक्ष्मी उच्च मावि लंकुबाट पुरा भयो।  प्रमाणपत्र तहसम्मको अध्ययन पुरा गरेकी शान्ती अहिले नेपाल दलित संघ चितवनको सभापति, नेपाली काग्रेसको महाधिबेशन प्रतिनिधि हुनुहुन्छ  । सानैदेखि समानता र प्रजातन्त्रको पक्षमा लड्दै आउनुभएकी शान्तीले २०५४ सालमा काग्रेसको सदस्यता लिई क्रियाशिल रुपमा लागिरहनुभएको छ । नेपाली काग्रेस अहिले १३ महाधिबेशनको चटारोमा छ शान्ती पनि महाधिबेशन प्रतिनिधि हुन दौडधुप गरिरहनुभएको छ । किन त उहाँको उमेदवारी ,आखिर के छ शान्तीमा हामीले खातल्ने प्रयास गरेका छौं । 
बच्चैदेखि अन्याय सहन नसक्ने शान्ती कसैले अन्याय गरे प्रतिक्रिया जनाइहाल्छिन्  । टिरिरिर घण्टी बज्छ शान्ती कहाँ हो? दलितको केश आएको छ मिलाउन आउनुपर्यो , खादाँ खादैंको हातको गाँस फालेर दौडिदै प्रहरी कार्यालय पुगि दलितको पक्षमा वकालत गराउने शान्तीलाई आज पनि दलीत वस्तीहरुमा जाने हो भने यी त  दलित वर्गकै आमा हुन् हाम्रो मुत्तिका लागि लड्ने अगुवा नारी हुन् भनेर चिनाउछन् ।  कहिले आधा रातमा न्याय दिलाउन दौडिन्छिन् । यीनलाई आफ्नो कुनै प्रवाह छैन । अन्यायामा परेका दलित, महिला लाई न्याय दिलाउन पाए मन प्रफुल्ल हुन्छ उनी भन्छिन् ।“ दिमाखमा सधै समाजमा चल्दै आएको दलितमाथिको व्यवहार गलत हो भन्ने सोच्छु समानताको लागि चेतना आवश्यक छ भन्ने सोचाई आउछ” शान्तीले कुराकानीका क्रममा भनिन् ।
भन्छिन् “म निडर खालको लिडर बन्न चाहन्छु ।” म अन्याय सहनै सक्दिन अन्याय र असमानताको अन्त्यका लागि म राजनीतिमा लागेकी हु । पहिले त मलाई राजनीति के हो सम्म  थाहा थिएन , सानै हुदाँदेखि स्कुल जिवनमा दलित भएकै कारणले निकै हेपाई सहनुपथ्र्यो , असाध्यै विभेद थियो उनी थप्छिन्, “बाह्रघरे स्कुलमा पढ्थे , ८ बर्षकी थिए पानीको घैटो छुदाँ साथीहरुले घैटो नै फुटालेर तथानाम गाली गरेको झलझली याद आउँछ ।” साथीहरुको घरमा जाँदा आँगनीको छेउमा बसेर अलग्गै दिन्थे त्यो बेला समय नै त्यस्तै थियो । दलितलाई हेर्ने दृष्ट्रिकोण असाध्यै नराम्रो थियो  । विभेद र चेपुवामा दलित वर्ग थियो । “चिया खान होटलमा जादाँ आमाले गिलास पखालेर हिड्दा मन कटक्क काट्थ्यो कसरी चिर्ने होला यो विभेद भन्ने सधै लागिरह्यो ।”
विभेदको अन्त्य गर्दै समानता कसरी ल्याउन सकिन्छ होला भन्ने कुराले शान्तीलाई सधै झक्झकाई रहन्थ्यो । खेलाडी बनेर समाज परिवर्तन गर्ने शान्तीको इच्छा थियो । यसका लागि उनले तयारी पनि नगरेकी होइनन् । बाह्रघरेको स्कुलबाट पाँच कक्षा पास गरेपछि ६ कक्षामा लक्ष्मी उच्च माविमा भर्ना भए १ बर्ष स्काउटको तालिम गरे, पछि राष्ट्रिय सेवा दलमा सदस्य भए  । ६ महिना आर्मीले जस्तै नवलपरासीको जंगलमा गई तालिम लिएका हौ हामीले । मैलै ८ कक्षाबाट तेवान्दो खेलेकी हु , रामगुरु, सन्तोष प्रधान, पुष्पराज मेरा गुरुहरु हुनुहुन्छ । म निकै मेहनत गर्थे ।  लक्ष्मी माविबाट २ पटकसम्म विरेन्द्र शिल्ड जित्न सफल शान्तीको खेल जिवनबाटै करियर बनाउने सोच थियो  । नेपाली काग्रेसका सभापति एवं प्रधानमन्त्री शुशील कोइराला वलिउडको हिरो बन्छु भन्दै गर्दा राजनीतिमा आएजस्तै शान्ती पनि खेलाडी हुन्छु भन्दा राजनीतिज्ञ भइन् । 
बच्चैदेखि सामाजिक काममा सक्रिय शान्तीले विभिन्न जनचेतनामुलक नाटक सरसफाई कार्यक्रम गर्दथिन् । चितवनका दलित सबै एकै दलका थिए ।  ऋषिबाबु परियार दलितका अगुवा अभिभावक थिए । पछि पार्टीहरुले समावेशीकरणको नीति लिएपछि दलित अगुवाहरु पार्टीमा विभाजन भएका हुन् । तत्कालिन समयमा दलितहरुले पियुस नामक संस्थाको स्थापना गरेका थिए । जसले रगत नामक नाटक उत्पादन गरेर जनचेतना फैलाउने काम गर्यो । जनचेतनाका लागि नाटक देखाउँदै शान्ती पनि रात दिन नभनी लागिन् । मानव मानव विचको मतभेद हटाउन पर्छ भनेर नाटक लिएर रात दिन हिडियो शान्ती ति दिन सम्झिदै भन्छिन् ।
शान्तीको हजुरबुवा जमानामा काग्रेसको राजनीति गर्थे त्यतिवेला राजनीतिक लगाव भएपनि वर्गीय उत्थानका लागि केही गर्न सक्ने अवस्था थिएन परिवर्तन ल्याउन कसैले त पाइला चाल्नै पर्छ भनेर राजनितिमा लागे शान्तीले सुनाइन् । दलितहरु माथिको विभेद हटाउन जस्तो सुकै चुनौतीको सामाना गर्न तयार भएकी शान्ती अन्नत राजनितिमार्फत समानता ल्याउन सकिन्छ भनेर राजनीतिमा लागेको बताउछिन् ।  विपीको समाजबादको सिन्द्धान्तबाट प्रभावित शान्तीलाई चारतारे झण्डाले आकर्षित गर्यो । शान्तीले २०४६ सालको आन्दोलनमा समेत सहभागिता जनाएकी हुन् । सानै भएकाले के का लागि आन्दोलन भएको होला यो आन्दोलनले दलितमाथिको विभेदको अन्त्य भएपनि हुन्थ्यो नी भन्ने लाग्थ्यो भागी भागी आन्दोलनमा जान्थे , बच्चाहरु जानुहुन्न भनेर आमाले फर्काउनुहुन्थ्यो शान्तीले बताइन् ।  त्यतिबेला गंगाधर लम्सालको चुनाव प्रचारप्रसारमा सक्रिय रुपमा लागेकी थिइन्  शान्ती । 
एक त दलित त्यसमाथि महिला राजनीतिमा सक्रिय हुन शान्तीका लागि संघर्षको सीमा रहेन । जातीय धरातलमा बसेर निकै ठुलो संघर्ष गरेकी शान्तीलाई महिला भएर एउटा बर्गकै संघर्ष गर्न सजिलो पक्कै थिएन तर पनि निरन्तर चुनौतीको सामाना गर्दै अहिले चितवनका मात्र होइन नेपालकै दलित बर्गको उत्थानमा सक्रिय भएर लागिरहेकी छन् । 
शान्ती नेपाली काग्रेसको भातृ संगठन नेपाल दलित संघ चितवनकी प्रथम निर्वाचित महिला सभापति हुन् । सघंको १ कार्यकाल कार्यसमिती सदस्य र १ कार्यकाल कोषाध्यक्ष भइन् । नेपाली काग्रेँस महाधिवेशन प्रतिनिधि हुन् । यसअघि  जिल्ला विकास समितिमा दलित समन्वय समितीमा काग्रेसको तर्फबाट प्रतिनिधि भएर काम गरिन् । शान्तीको सक्रियतामा दलितहरुको उत्थानका विभिन्न काम भएका छन् । दलितलाई  मेसिन वितरण, ड्राइभिङ तालिम , छात्रवृत्ति वितरण, कम्युटर तालिम, जस्ता कार्यक्रम सम्पन्न भएका छन् । दलित भएकै कारणले घरभाडा पाउन मुस्किल हुने जटिल समस्या आएपछि शान्ती सहित तत्कालिल दलित वर्ग जिल्ला समन्वय समितिको परिकल्पनामा दलित छात्रावासको निमार्ण शुरु गरिएको छ । जिल्लाका ५० हजार दलितको अगुवा भएर काम गरिरहेकी छिन्  । शसक्तिकरण , क्षमता विकास,  रक्तदान  कार्यक्रमहरु सञ्चालन गरिएका छन् । पढ्ने चाहाना हुदाँहुदैं पढाई छाड्न बाध्य जेहेन्दार दलित विद्यार्थीले छात्रबृत्ति पाएको छ । खान नपाउनेले आश्रय पाएको छ । भुकम्पछि राहत संकलन गरि सिन्धुपाल्चोक लगायत विभिन्न ठाउंमा शान्तीकै सक्रियतामा पठाउने काम भएको छ । शान्तीकै सक्रियतामा अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको छ ।  निरन्तर पार्टीमा २००७ सालदेखि  सक्रिय रुपमा लागिरहेका दलित बृद्धबृदालाई पहिलोचोटी सम्मान गर्ने कार्यको थालनी शान्तीबाटै भएको छ । नेपाली काग्रेसमा लागेपछि दलित भएपनि सम्मानित हुन पाइदो रहेछ भनेर ती बृद्धबृद्धाले मञ्चमै हर्षका आशु बर्र्षाएका थिए । “मरेर काम गरिन्छ तरपनि अनेक प्रकारका हुदैं नभएका झुटा आरोप उत्तिकै खेप्नुपर्छ ”  उनले दुखेसो पोखिन् ।
दलितको उत्थानमा निरन्तर क्रियाशिल शान्तीले समाजमा दलित पनि सभ्य र शिक्षित होउन् भन्ने सोचका साथ संघर्ष गरिरहेकी छिन् । राज्यको हरेक तह र तप्कामा दलितको प्रतिनिधित्व हुनुपर्छ भनेर आवाज उठाइरहेकी छिन् । दलितहरुको हक अधिकार संरक्षणका लागि ०६२,०६३ को आन्दोलनमा लागिन्  । भरतपुरको हाकीमचोकमा पुलिसले हानेको लठ्ठीको डाम अझै मेटिएको छैन । साना साना बच्चाहरुलाई घरमा एक्लै छाडेर आन्दोलनमा उत्रियो,  शान्तीले खुट्टाको निलो डाम देखाउंदै भनिन् कति लाठी खाइयो खाइयो , तरपनि परिवर्तनका लागि ज्यानको बाजी थापेर लडियो ।शान्तीका २ छोरा छन् सफल र सन्जोक । यीनीहरुलाई शान्तीले कहिल्यै समय दिन सकिनन् । राजनीति नै सबथोक हो भने आफ्नो बालबच्चाको समेत प्रवाह नगरी पार्टीलाई संगठित र एकिकृत बनाउंदैमा फुर्सद भएन । कुराकानीका क्रममा भेटिएका छोराहरुसंग आफ्नो आमाबारे सोध्दा उनीहरुले भने । दिनभरी चिसो सुरुवालमा सुत्दा फेरिदिने मान्छे भएन, भोकै हुदाँ खुवाउने कोही भएन अहिले त हामी आफ्नो काम आफै गर्न सक्ने भएका छौं । अब मामुको यो अभियान नरोकियोस् भन्ने लाग्छ ,हाम्रो मामुले पार्टीको लागि राजनीति भनेर हामीलाई समेत समय दिन सक्नुभएन परिवर्तनको लागि लडिरहनुभएको छ , जसो अब हामी पनि मामुलाई सहयोग गर्न सक्ने भएका छौं । यसरी नै मामुको नाम सबैतिर चलोस् हामीलाई मामुको आर्शिबाद मात्र भए पुग्छ । छोराहरुको यो उच्च विचार सुन्दा शान्ती गहभरी आसु पार्दै धन्य मेरा छोराहरु भन्दै गर्लाम् अगालो हालिन् । 
संविधानसभाको निर्वाचनमा पार्टीलाई जिताउन घरपरिवार बालबच्चा केही नभनी निरन्तर लागिन् । पार्टीका लागि यीनलाई नत छोराहरुको आसुले रोक्यो न मंसिरको चिसो सिरेटोले रोक्यो न त चैतको गर्मीले नै । दलितलाई सम्मान गर्ने पार्टी हो काग्रेस भन्ने बुझेकी शान्तीले दलितको आसु पुच्दै अधिकारका लागि ७५ जिल्ला पुगिन् । दलितको अवस्था बुझ्नका लागि अध्ययन अनुसन्धान शुरु गरेकी छिन् । “मलाई ७५ जिल्लामा पुग्दा लाग्यो दलितको उत्थानका लागि शिक्षा नै महत्वपुर्ण पाटो हो  । आर्थिक रुपमा सवल र सक्षम बनाउन शिक्षा नै चाहिदो रहेछ । विभिन्न सीपमुलक तालिम त दिन्छौ तर त्यो तालिमको सहि सदुपयोगका लागि पनि चेतना महत्वपुर्ण पाटो भन्ने बुझे ” बीपिले छुवाछुत हुुनुहुन्न भनेर चलाएको अभियानलाई अहिले शान्तीले सम्हालेकी छिन् । “शान्ती परियार दलितको अमृत हो , जसले सेवन गर्न जान्यो उसैको कल्याण हुन्छ ” एक दलित वृद्धले भने हामी दलित पनि समान हौ भनेर सिकाउने उही शान्ती हो । शान्तीलाई नेपाली काग्रेस पार्टीले चिनोस् उ भित्रको क्षमता र इमान्दारीलाई भरपुर प्रयोग गरोस् ।”
शान्तीले आफै पनि दलितभित्रको अन्तरजातीय विवाह गरेकी हुन् । शुरुका दिनमा घरपरिवारले नस्वीकारेपछि श्रीमान काशीराम विश्वकर्माले छुट्टै घरमा राखे । अहिले पनि शान्ती त्यहि घरमा छिन् । शान्ती नेपाली काग्रेसमा त्यतिबेला लागिसकेकी थिइन, घरपरिवार सबै कम्युनिष्ट विचारधाराका थिए । त्यो परिवारभित्र काग्रेसको राजनिति गर्ने शान्ती एक्ली थिइन्। श्रीमानको साथ त थियो तर खुलेर समर्थन गर्दैनथे । शान्तीलाई विहेपछि जातिय संघर्ष सगै राजनीतिक संघर्ष पनि उत्तिकै गर्नुपर्यो । १२ नम्बर वडामा बस्ने सबै काग्रेसीलाई एक बनाउन  सहयोगी बन्दै शान्ती निरन्तर पार्टीमा लागिरहिन् । 
नेपाली काग्रेस सबै जात सबै बर्ग र सबै क्षेत्रका मानिस अटाउने पार्टी हो , गरिबका लागि क्रान्ती गर्ने पार्टी हो भनेर मैले त्यतिवेला बुझे । वाक स्वतन्त्रता काग्रेस  पार्टीमा छ । यो देशको लागि परिवर्तनको लागि देशकै सच्चा सपुतहरुले जन्माएको पार्टी नेपाली काग्रेसले राणा संग लड्यो, राजासंग लड्यो जनताको अधिकार  संरक्षणका लागि कसैसंग सम्झौता गरेन यही पार्टीका नेता र सिद्धान्त नै सच्चा हो  शान्तीले भनिन् । 
नेपाली काग्रेसमा रहेर शान्तीले दलितको हकअधिकार सुनिश्चितताका लागि पार्टीलाई घच्घचाउने काम गरिरहनुभएको छ । शान्ती हरेक दलितको आशु पुछ्ने आमा बन्न सफल भएकी छिन् । यीनको बासै जिल्ला प्रहरी कार्यालयमा हुन्छ । दलितका मुद्धाहरु मिलाउन प्रहरीको धाउनु यीनको दैनिकी जस्तै हो । कहिले अन्तरजातीय विवाहका मुद्धा त कहिले छुवाछुत अनि विभेदका मुद्धा लिएर आउने दलितहरुको अभिभावक बनी निस्वार्थ सहयोग गरिरहन्छिन् । दलित अधिकारको साथै महिला अधिकारको सुनिश्चितताका लागि पनि लड्ने अधिकारकर्मी हुन् शान्ती परियार । 
हाम्रो देश नेपालमा परापुर्वकालदेखिनै शैक्षिक पछौटेपन, सामाजीक,आर्थिक एवं धार्मिक असमानताको कारणले छुवाछुत प्रथाले प्रत्यक्ष वा अप्रत्क्ष रुपबाट प्रश्रय पाउंदै आंएको छ । यो छुवाछुत प्रथा नेपालमा वि.स.२०२० मा नयां मुलुकी ऐन लागु हुनु भन्दा अगाडि कानुनी रुपमा संरक्षित भएता पनि वि.स.२०२० साल पछि यसलाई कानुनी रुपमा दण्डनीय मानीएको छ । तैपनि जातिय असमानता र भेदभाव कायमै रहेको छ । यसका अलवा दलित समुदायका व्यक्तिहरुनै गरीवि र अशिक्षाबाट आक्रान्त छन् । यसले पनि समाजका अन्य समुदाय विच असमानताको दुरि बढाउन सघाउ पुयाएको छ । मुलकुमा विद्यमान यस्तो अवस्थाको कारणले गर्दा निश्चय नै दलित समुदायका जात जातिहरुले अपेक्षा गरे अनूरुप देशमा सामाजिक सुधार एवं विकासको प्रतिफल पाउन सकिरहेका छैनन् । यिनै समस्याहरुको निराकरणको लागि दलित समुदायको शैक्षिक, आर्थिक, सामाजिक, राजनीतिक एवं धार्मिक स्तरमा सुधार गरी उनीहरुलाई देश विकासको मुल प्रवाहमा सामेल गराउनुपर्छ यो नै शान्ती परियारको अभियान हो अठोट हो ।
स्रोत- सिनर्जी एफ एम 

No comments:

Post a Comment