जगदीश रोकाया,चैनपुर, साउन ७ , विभेद विरुद्ध अभियान : बझाङ मेलबिसौना-४ तल्कोटमका दृष्टिविहीन धौले दमाई गाउँघरमा ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन्।
जन्मजात दुवै आँखा देख्न नसक्ने दमाईं गाउँघरमा घर बनाउँदा ढुंगाबालुवा बोक्छन्। उनले बजारमा व्यापारीका भारी बोकेर घरपरिवारको जीवन धान्दै आएका छन्।
२७ वर्षीय अविवाहित धौलेले भारी बोकेर वृद्धा आमा र दाइका छोराछोरी पालिरहेका छन्। चार-पाँच वर्षअघिदेखि ज्यालामा भारी बोकेर गुजारा गर्दै आएका धौले बाटोमा हिँड्दा गाईगोरु, घोडा, खच्चरबाट कुनै अप्ठ्यारो नहोस् भनेर अर्को व्यक्ति साथमा लिन्छन्।
तल्कोटको बजारमा स्थानीय दिनेश सिंहको पसल निर्माणका लागि दैनिक तीन सय रुपैयाँमा ज्यालामा ढुंगा बोक्दै गरेका धौलेले भारी बोक्दा लामो बाटोमा बालबालिकाको सहारा लिने बताए। 'सहारामा हिँडाउने केटाकेटीलाई कमाएको ज्यालाबाट सय रुपैयाँ ज्याला दिन्छु', उनले भने। पैसा पाउने भएपछि बालबालिकाहरू सहयोग गर्न रुचाउँछन्।
दृष्टिविहीन धौलेलाई डोर्याउन सहयोग गर्दै आएका कक्षा दुईमा पढ्ने मेलबिसौनाका अर्जुन नेपालीले भने, ‘धौले काकालाई सहयोग गर्दा हामीलाई पनि फाइदा भएको छ।'
विद्यालय छुट्टी हुने दिन बालबालिकाहरू धौलेलाई सोध्छन्, 'आज काम कता छ, अंकल ? ' दुवै आँखा नदेख्ने धौलेले गाउँघर र स्थानीय बजारमा ज्यालामजदुरी गरेर खाएको देख्दा हेर्दै स्थानीय उनको प्रशंसा पनि गर्छन्।
‘धौले काकाको आज काम कता छ भनेर हामी सोध्छौं', धौलेको सहयोगी बन्न रुचाउने अर्जुनले भने, 'शनिबार त म डोर्याइदिन्छु भन्ने साथीहरूको समेत होडबाजी हुन्छ।'
बोलीचाली र कुराकानी राम्रै गर्ने तर लेखपढ गर्न नसक्ने धौलेका तीन दाजुभाइ छन्। उनका जेठा दाजु भारतमा चौकीदारी गर्छन्। ‘घरमा बूढी आमा छिन्, परिवार पाल्नैपर्यो', उनले भने, 'घर खर्चका लागि भारी बोक्छु। पेट पाल्नैपर्यो।'
धौलेले लठ्ठी र बालकको सहाराले आधा घन्टा हिँडेर तल्कोटको खौलामा ढुंगामाटो ओसार्दै आएका छन्। 'मैले अहिलेसम्म ज्याला गरेर २०-३० हजारसम्म कमाइसकें होला,' धौलेले भने, 'कमाएको पैसाले खाने अन्न किन्छु। आमाको औषधिमा पनि खर्च गर्छु।'
आँखा नदेखेर लठ्ठी र अर्को व्यक्तिको सहारामा ज्यालामजदुरी गर्दा धेरै दुःख हुने गरेको सुनाउँदै धौलेले भने, 'सरकारले मजस्तालाई सीप सिकाउने तालिमको व्यवस्था दिए काम गरिखान सजिलो हुन्थ्यो।'
स्थानीय नन्दकृण जोशीका अनुसार दृष्टिविहीन धौलेले भारी बोकेर घरपरिवारको खर्च जोहो गर्दा आँखा हुनेहरूलाई काम गरेर खान प्रेरणा मिलेको छ।
साभार- अन्नपूर्ण
No comments:
Post a Comment