म त दमीनी हुँ, नछोऊ’

काठमाडौ, १३ साउन, विभेद बिरुद्ध अभियान  ।
महाभुकम्पको १० दिन बितिसक्दा पनि राहत नपुगेको गाउँ खोज्दै हामी रसुवा र नुवाकोट जाँदै थियौं । विपत्तिले मलाई एकैपटक दोहोरो भूमिकामा खटाएको थियो, एक पत्रकार, अर्को राहतकर्मी । चिनजानका मनकारीहरुको सहयोगमा जुटेका राहत सामाग्री लिएर एउटा टोली रसुवा, नुवाकोट हिडेका थियौं ।२३ बैशाखको मध्यान्ह हामी नुवाकोटको गेर्खु गाउँ पुग्यौं । हामी पुग्नासाथ चार बिसा काटेकी जस्ती देखिने (हे. तस्बीर) महिला “म बुढीको यो संसारमा कोही पनि छैनन्, साह्रै  दुःख पाईराछु” भन्दै हाम्रो गाडी छेउ आइन् । यात्राले थाकेका हामी भोकाएका पनि थियौं । केही खाएर राहत वितरण गर्ने हाम्रो सोचाइ थियो । तर, ति वृद्धाको अवस्था देखेपछि मैले आफूलाई रोक्न सकिन । एउटा चाउँचाउँ र २ प्याकेट बिस्कुट उनको हातमा राखिदिँदै भने, “अहिले यो खाँदै गर्नुस् अरु पछि दिउँला” । तर, चाउचाउँ मात्र आफुसँग राखी उनले भनिन्, “बाबु, मलाई किन यति धेरै दिएको ? बिस्कुट अरुलाई देऊ !” 

हाम्रा गाडी चालक सानुकान्छा तामाङले रु.५५ निकालेर दिँन खोज्दा वृद्धाले ‘पैसा किन दिन पर्यो मसँग राख्ने थैली पनि छैन्’ भन्दै पटुकीतिर राखिन् । त्यहीबेला हिमालकी फोटो पत्रकार देवकी विष्टले ‘आमैको घर कहाँ हो ?’ भन्दै अंगालो मात्र के हालेकी थिइन्, हत्तपत्त हात तल झर्दै उनी ‘लौ नानी यो के गरेको ? म त दमीनी हुँ, नछोऊ’ पो भन्न थालिन् । वृद्धाको कुरा र व्यवहारले हामी हेरेको हेरेकै भयौ ।


“आमाको नाम के हो ? कति वर्ष पुग्नु भयो ?” मैले सोधे । “खोई नाम त थाहा छैन्, ९० सालमा भुइँचालो जाँदा ४ वर्षकी थिए”, उनले यती भन्दासम्म मेरा आँखा रसाइसकेका थिए । देवकीको हालत पनि त्यस्तै थियो । अरु साथी अचम्म मानिरहेका थिए । जतिबेला पनि हसाँइरहने चर्चित हाँस्यकलाकार मनोज गजुरेलसमेत गम्भीर देखिन्थे ।महाभूकम्पको राष्ट्रिय संकटमा धेरै मनकारी उद्धार र राहतमा होमिएका छन् । कति प्रवासी नेपाली राहत बाकेरै स्वदेश फर्किएका छन् कतिले उतैबाट दिल खोलेर सहयोग गरिरहेका छन् । तर, यस्तोबेला पनि मानिसमा स्वार्थी प्रवृत्ति सकिदों रहेछन ।राजधानीमा अपार्टमेण्ट र सग्लै घरमा बस्नेहरुले राहतको पाल हारालुछ गरेको दृश्यले यस्तै मानसिक दरिद्रताको देखाउँथ्यो । ‘म सँग छ तर ऊ सँग छैन, मलाई होइन, उसैलाई दिनुहोला’, भन्ने ति वृद्धाको जस्तो मन भएकाहरु दुर्लभ देखिए ।


अघिल्लो दिन नुवाकोटकै बट्टारमा चिया पिउन रोकिएको हाम्रो गाडी राम्ररी चिहाउने त्यहीका एक किराना पसले थिए । गाडीमा झुल देखेपछि विना लाज भने, ‘माथि रसुवातिर मच्छर लाग्दैन, यी झुल हामीलाई दिनुस् ।’ त्यहाँका केटाकेटीलाई बिस्कुट बाँडदा हात थाप्ने धेरै अधवैश नै थिए ।पोखराका युवा उद्यमीहरुले रसुवामा राहतका लागि ल्याएका पाल र खाद्यान्न पहिल्यै राहत पाइसकेकाहरुले ‘तपाईहरु जानुस् हामी आफै बाँड्छौं’ भन्दै कब्जामा लिएका थिए । बल्ल तल्ल उनीहरुबाट फिर्ता पाएको ४० प्रतिशत सामान लिएर  दुई राहतकर्मी युवा उद्यमी दावा र उनका इटालियन साथी शास  पनि हामीसँगै गेर्खु पुगेका थिए । कलाकार गजुरेल र रमेश बरालले पनि सिन्धुपलाञ्चोकका केहि स्थानमा टाठाबाठा गाउँलेद्धारा भएका यस्तै घटना सुनाइरहेका थिए । मन्द विष सरह नेपालीमा फैलिरहेको ‘मै खाऊ, मै लाऊ’ मानसिकताले समाज कुरुप र संवेदनाविहीन बनाइरहेको छ ।

महाभुकम्पको कहरपछि देश सम्हालिदैछ । विपत् व्यावस्थापनमा अझ् धेरै कठिनाइ छन् । विपत्को दुई सातासम्म पनि कति ठाउँमा पिडितले राहत देख्नै पाएका छैनन् भने खोसेरै दोहोरो तेहोरो राहत बटुल्ने पनि हाम्रै वरिपरि छन् ।

गेर्खुमा पनि त्यस्तै देखियो, पाल र खाद्यान्न पहिल्यै लिइसकेकाहरु समेत ‘हामीले पनि पाउँनु पर्छ’ भन्दै अड्डी कस्न् थाले । भीड निक्कै बढेको थियो । नाक, काँन र घाँटीमा सुन ढल्काएकाहरु पनि ‘यो चाहियो र त्यो चाहियो’ भन्दै हारालुछ गर्न थाले । हामीले बाँडेको राहत सामाग्री न सरकारको थियो न कुनै संस्थाको । देशविदेशमा रहेका मनकारीहरुले वास्तविक पीडीतसामु पुर्याउन ब्यक्तिगतरुपमा उठाएको रकमबाट किनिएको थियो ।

हुनेखानेको भीडमा म ति वृद्धालाई खोज्दै थिए । तर, उनी देखिइनन् । हामीले स्थानीय युवा दामोदर घिमीरेलाई आमैका लागी खाद्यान्न, ब्ल्याङकेट, झुल दिन भनेर छुट्याईदियौ । एक्लै जसले दिन्छ उसैको घरमा बस्ने भएकाले उनलाई पाल छाड्न परेन ।

थामिनसक्नुको भीड बढेपछि बाँकी राहत सामाग्री गाडीमा हालेर हामी फर्कियौं । कच्ची सडकमा धुलो उडाउँदै गाडी गुडिरहँदा मैले समाजको त्यस्तो विभेद सहेर पनि अरुका लागी सोच्ने उनै मनकारी आमै सम्झे । धन भएका तर मन नभएकाहरुसँग ति आमैको तुलना गर्न पटक्कै सकिन् । 


हिमाल खबरपत्रिकामा प्रकाशीत

No comments:

Post a Comment