खोई कहाँ भयो छुवाछुतको अन्त्य ?- जया कार्की

२७ असार-  विभेद बिरुद्ध अभियान । बर्ष ५५ का मजदुर ज्ञानबहादुर श्रेष्ठले ३५ वर्ष अघि  एकजना दलित सित प्रेम विवाह गरेका थिए । त्यसको  परिणामस्वरुप उनी श्रेष्ठबाट दलितमा घटुवा भए ।  अचेल उनलाई ठूला जातका मानिसका घरमा प्रवेश निषेध  छ । उनी दिनभरि ठूला जातका मानिसहरुका खेतवारीमा  काम गर्छन् । तर उनको खाना खाने बेलामा ढोका वाहिर  ल्याईदिन्छन् । बाहिर दलानमा बसेर भात खान्छन् ।  खाएको भाँडा माझेर वाहिरै राखिदिन्छन् । सकेसम्म ती  दलितमा घटुवा भएका श्रेष्ठका लागि छुट्याएको भाँडा  बर्तन भित्र हुल्न वर्जित छ या त पानी सुकेपछि एकपटक  पखालेर भित्र लैजाने चलन यद्यपि कायमै छ । यो गाउँमा  कतिपय घरमा दलितका लागि खाना खान दिनको लागि  भाँडाकुडाहरुको छुट्टै व्यवस्था गरिएको छ ।
श्रेष्ठ दलितको छोरी असाध्ये काम गर्छिन् । श्रमका कारण गाउँ घरमा हारालुछमा पर्छिन् । तर उनलाई दलित भएकै कारण ठुला जातका घरमा प्रवेश निषेध छ । उनका पिता भन्छन् “मेरा सन्तानको थर श्रेष्ठ कायम गरिएको छ । तर मलाई समाजले श्रेष्ठ थरको भनि स्वीकार गर्दैन । यता दलितको थर कायम गर्न पनि सकिन । कम से कम दलितमा दर्ज हुन पाएको भए दलितले पाउने सुविधा त पाउने थिएँ । मलाई यो सकसको उपाय कसैले दिन सकेको छैन ।”
उनी बसेको गाबिसको नाम धनुषा जिल्लाको तुलसी हो । उनी वडा नं छ को दलित बस्तीमा बस्छन् । न त उनलाई दलितले सही तरिकाले स्वीकार्छ न त आफ्नै परिवारले । उनी दुखेसो पोख्तै भन्छन् “मलाई दलितको थर दिए पनि म स्वीकार गर्थें तर सिडिओ कार्यालयले नागरिकता सच्याउन मानेन । यदि म नेवार श्रेष्ठ नै हुँ भने जातीय भेदभावका विरुद्ध खुलेका राजनैतिक दलहरु र एन्जिओहरुको ऐलेसम्म मेरो विषयमा चुँ सम्म बोलेका छैनन् । म एउटा ज्ञानबहादुरको यो समश्या होइन, म जस्ता लाखौं ज्ञानबहादुरहरुले यो पींडा भोगिरहेका छन् । गणतन्त्र आए पनि माओवादीको १० वर्षे जनयुद्ध र मधेश आन्दोलनले छुवाछुतको यो भयानक क्यान्सरलाई खोई हटाउन सकेको ? गाउलेहरु कानूनमा छुवाछुत कानुनमा वर्जित होला तर कानुनको कुरो गाउँघरमा लागू हुँदैन भन्छन् ।”
यो गाउँमा एक जना दलित शिक्षक पनि छन् । उनी विद्यार्थीलाई सवैभन्दा राम्रो शिक्षा दिने टिचरभित्र पर्दछन् । टिउसन पढाएर राम्रो आम्दानी गरेका छन् र आर्थिक हैशियतमा क्रमश प्रतिस्पर्धामा आईसकका छन् । गाउँलेका नजरमा वाहवाही कमाएका छन् । उनले पढाएका विद्यार्थी अब्बल दर्जामा उतिर्ण भएका छन् । तर उनलाई कसैको घरभित्र पस्न र गाउँमा आयोजना गरिने भोज भतेरमा संगै बस्न अनेक चाँजोपाँजो मिलाएर हटक गर्छन् ।
यो त एउटा वडाको कुरा भयो । सिंगो गाविस छुवाछुत र भेदभावले ग्रस्त छ । कुरामा समानता आएपनि व्यवहारमा कतै देखिएन । छुवाछुत विरुद्धको कानुन वनाउने तर कार्यान्वयन नगराउने यसतो गलत परिपाटीले जातीय भेद र छुवाछुतको अन्त्यको संभावना एक रत्ति पनि देखिदैन ।

साभार :- मजदुर अनलाइन डटकम 

No comments:

Post a Comment