कतिन्जेल यसरी बस्ने ? - कृष्ण थापा

२०७२ साउन ११, धुन्चे (रसुवा), विभेद बिरुद्ध अभियान रसुवाकी श्रीमाया विकको हाकुमा सानो घर थियो। भूकम्प गएलगत्तै घरमाथिबाट पहिरो आयो। ‘त्यतिबेला परिवारै लिएर भाग्यांै,’ विस्थापित भई सदरमुकाम धुन्चेमा पालमुनि बस्दै आएकी उनले भनिन्, ‘नत्र कहाँ ज्यान जोगिन्थ्यो र?’ पहिरो रोकिएन। सबै गाउँले लर्कन लागेर धुन्चेमा बाँझो जमिन र कसैले आफन्तकोमा शरण लिएर बसें।

यतिबेला उनीहरू विद्युत् प्राधिकरण कार्यालयभन्दा माथि लाङटाङ राष्ट्रिय निकुञ्जको झाडी फाँडेर बसेका छन्। उनी बसेको ठाउँबाट घर, जग्गा, अन्नबाली र घरमाथिको पहिरो प्रस्ट देखिन्थ्यो। ‘ऊ त्यही ठाउँ हो जग्गा,’ उनले आफ्नो थातथलो देखाउँदै भनिन्, ‘सबै छाडेर यहाँ बस्नु पर्दा मनै कटक्क हुन्छ। यो ठाउँमा पनि कहिले निकाल्ने हुन् थाहा छैन। कतिन्जेल यसरी बस्ने?’ प्राधिकरणमाथिको उक्त जग्गामा उनीजस्तै हाकुका ३० भन्दा बढी घरपरिवार भिरालो जमिन सम्याएर पाल हाल्न खनीखोस्री गरिरहेका थिए।

स–साना बच्चा बोकेर अर्की सिरिमाया तामाङ तमाखुको भुस्सा तान्दै चिन्तित देखिन्थिन्। चिलिममा तमाखुको भुस्सा सकिनासाथ फेरि राखेर सोतेबाट तान्दै उनले पनि भनिन्, ‘केही छैन, सबै गयो। मन शान्त बनाउन खाएको।’ बस्ने बास दाइले बनाइदिएको उनले सुनाइन्। उनका श्रीमान् रामबहादुर मलेसियामा छन्। ‘भर्खर ६ महिना भयो गएको,’ उनले भनिन्, ‘गाउँले र दाइको सहाराले यहीं बसेकी छु।’ घरमाथि पहिरो छ। ‘अब फर्किएर कहाँ जाने थाहा छैन,’ उनले भुस्सा तान्दै भनिन्। उनका श्रीमान् रामबहादुर ३/४ लाख ऋण खोजेर गएका हुन्। ‘घरमा रिन छ,’ भनिन्, ‘बूढाले बेलाबेलामा फोनमा रोएर भन्छ रिन छ, के गरी घर आउँm? बस्नलाई यस्तो सास्ती छ।’ २ वर्षको छोरो सुमन र १ वर्षकी छोरी सुष्मासहित उनी अस्थायी टहरामा बस्दै आएकी छन्। पछाडि रहेकी छोरी सुष्मातिर हेर्दै उनले भनिन्, ‘यिनीहरूलाई कसरी पढाउने ?’विक र तामाङ सबैको जग्गा भूकम्पले चिराचिरा परेको छ। भएका बस्तुभाउ त्यसै जंगलतिर छाडेर हिँडेका उनीहरूलाई जिल्ला दैवीप्रकोप उद्धार समितिले धुन्चेभन्दा तल बसोबासका लागि जग्गा दिएको छ। उक्त जग्गामा मूल फुटेर थप समस्या भएको छ। धुन्चेमा मात्रै विस्थापित भएका २/३ सय परिवार छन्।
साभार : कान्तिपुर 

No comments:

Post a Comment