२०७२ साउन ५ गते, विभेद बिरुद्ध अभियान । गरिब भएपछि दलित भइँदो रहेछ।' उनले भेट्नेबित्तिकै बोलेको पहिलो वाक्य थियो। चित्रकला, मूर्तिकला, साहित्य र स्कुलको अध्ययनमा अब्बल पृथक् विनोद दलित हुन् भन्ने कुरा सुरुमा थाहा हुँदैन। कुराकानीका क्रममा उनले सुनाए, 'मेरो नाम विनोदकुमार सुनार हो, तर साहित्यमा मलाई पृथक विनोदका रूपमा चिनिन्छ।' उमेरमा कविता लेख्न थालेपछि सबैमा नयाँ नाम राख्ने सोच पलाउँछ। त्यही नयाँ नाम लेख्ने चलनअनुसार उनले पनि पृथक शब्द जोडेका रहेछन्। केही महिनाअघि वैदेशिक रोजगारीबाट फर्किएका विनोदले आफ्नो कथा सुनाउँदा लाग्यो, उनले भनेजस्तै मानिस गरिब भएपछि दलित हुने रहेछ।
००००
विनोद चार दाजु र चार दिदीका कान्छा भाइ हुन्। आमा-बुवा र पाका मान्छेसहित उनको घरमा १२-१४ जना सदस्य थिए। नुवाकोटको एउटा तामाङ बस्तीको बीचमा उनीहरूको आरन थियो। अर्काको जग्गामा बसेकाले कुनै दिन उठ्नुपर्ला भन्ने लागेकाले हुनसक्छ, त्यहाँ कहिल्यै राम्रो घर भएन। सबै जना एउटै कोठामा खाँदिएर सुत्थे। भोलिपल्ट त्यहीँ खाना पाक्थ्यो। राति खाना खाएपछि त्यहीँ ओच्छ्यान लाग्थ्यो। दाजुहरूले विवाह गरेपछि उनका बुबा केटाकेटीलाई भन्थें, 'उता फर्किएर नसुत्नु, नयाँ बेहुला-बेहुली सुतेका छन्।' ००००
आफू दलित हुँ भन्ने कुरा उनलाई थाहा थिएन। एक दिन पानी लिन धारामा जाँदा एक जना वृद्ध तामाङले उनलाई अलि पर बस्न आदेश दिए। उनी गएपछि मात्र विनोदले धारामा पानी थाप्न पाए। त्यसको केही समयपछि उनलाई त्यो धारामा पानी लिन बन्देज गरियो। त्यसपछि मात्र उनलाई आफू दलित हुँ भन्ने थाहा भयो। उनी पढाइमा निकै राम्रा थिए तर स्कुलमा राखिएको गाग्रीबाट पानी सारेर खान बन्देज थियो। त्यसैले स्कुल जानुअघि टन्न पानी पिउँथें अनि एकैपल्ट घर फर्किएपछि पानी पिउँथे। ३ कक्षा पुगेपछि उनलाई यो भेदभावबाट दिक्क लाग्यो र स्कुल नै छाडिदिए। उनले आफूलाई भेदभाव गर्ने त्यही आरन हो भन्ने लाग्यो र आरन अघि एउटा बोर्ड लेखे-कृषि औजार कारखाना।
००००
१४ वर्षको उमेरसम्म उनी परेका बेला आरनमा काम गर्थे भने धेरैजसो समय खेलेरै बिताउँथे। एक दिन शिक्षक भोलिप्रसाद यादवले उनलाई स्कुल गएर पढ्न आदेश थिए। अर्का शिक्षक नवराज तिमल्सिनाले आफैले गाग्रीबाट पानी सारेर खाने आदेश दिए। गाउँमा यसरी दलितलाई सार्वजनिक पानी छुन र खान दिएकोमा विरोध नभएको होइन, तर दुई शिक्षकले अडान लिएपछि समाज गल्यो र उनको पढाइ अगाडि बढ्यो। उनले आरनलाई कृषि कारखाना लेखेर विरोध जनाएका थिए, स्कुलमा विद्रोह गरेर अधिकार पाए। यसलाई दुई शिक्षकले साथ दिए। त्यसपछि उनको चित्रकला, मूर्तिकला र कविता लेखन सबै प्रतिभा मौलाउन थाल्यो। उनी कक्षाका प्रथम विद्यार्थी थिए भने मोनिटर पनि भए। त्यति मात्र होइन, उनकै अगुवाइमा विद्यालयमा लाली गुराँस विद्यार्थी बचत कोष पनि प्रारम्भ भयो। उक्त कोषले प्रत्येक महिना विद्यार्थीबाट केही शुल्क लिइने वर्षको अन्त्यमा माइक, खेलकुदका सामग्री वा पुस्तकालयका लागि पुस्तक किन्ने काम गथ्र्यो। परिणामस्वरूप उनको विद्यालयले अहिले पनि उनलाई सम्झन्छ। सुनारको कविता-संग्र्रह 'अँध्यारोविरुद्ध' उक्त स्कुलको पुस्तकालयमा पनि सजिएको छ। उनले बनाएका चित्र एवं मूर्ति पनि विद्यालयमा सुरक्षित छन्।
००००
'विद्वत् वर्गले मलाई अछूतको व्यवहार गरेन। बरु साथ दियो, तर गरिबीले साँच्चै दलित बनायो।' कुराकानीको अन्त्यमा विनोदले भने, 'मलेसियामा नेपालभरिका युवा पुगेका छन्, दु:ख गरेका छन्। त्यहाँ बाहुन पनि छन्, जनजाति पनि छन् र दलित पनि छन्।" मलेसियामा ठूलाबडादेखि साना सबैले नियम मानेको, काम गरेको देखेर नेपाल किन त्यस्तो हुन नसकेको भनेर उनलाई चिन्ता लाग्छ।
नोट :- अश्विनी कोइराला लिनु भएको अन्तर्वार्ता केहि महिना अघिको भए पनि नपढेका मित्रहरुलाई सान्दर्भिक हुने लागेर साप्ताहिक देखि साभार गरि राखेको छु ।
No comments:
Post a Comment