साउन ११, बिभेद विरुद्ध अभियान ।
कवि आहुतिको कलम सबै खाले असमानता र विभेदविरुद्ध निरन्तर लडिरहेको छ। २०५० सालमा 'मूल्यांकन' मासिकमा छापिएको उनको शक्तिशाली कविता 'गहुँगोरो अफ्रिका'ले दलित समुदायको पीडा, संघर्ष, आक्रोश तथा समानता र न्यायको आदिम भोकलाई अभिव्यक्त गरेको छ। कविता पारखी केही लेखकले यस कवितामाथि गरेका टिप्पणी सहित यहाँ प्रस्तुत छः
मेरो रातो रगत
मानिसको पवित्र रातो रगत
नीलो पसिनाको बुँद बनेर जब झर्दछ
तिमी आफ्ना नरम अञ्जुलीहरूमा आली लगाएर थाप्दछौ
जब म त्यो श्रमको सुवासयुक्त पसिना सुघ्न खोज्छु
तिमी मेरो अपमान गर्छौ र मलाई टाढा राख्छौ
आँखा जुधाउने आँट गर पूजारी
म बीसौं शताब्दीको 'अछूत' हुँ !
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
म न्याय चाहन्छु
म मुक्ति चाहन्छु !
तिम्रो मन्दिरको मूर्तिमा मेरो आरनको गन्ध आउँछ
ओदानीमाथिको कराहीमा मेरो पसिनाको गन्ध आउँछ
आँखा जुधाउने आँट गर धर्माती मान्छे
कि मेरो अस्तित्वलाई भुङ्ग्रोमा पोल र धर्म धान्ने आँट गर
कि मेरो अपमान गर्ने शास्त्रका पानाहरूलाई च्यात्ने या
जलाउने साहस गर
म तिम्रो मन्दिरको देवता बनाउने कामी हुँ
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
तिम्रो बस्तीको सफा भुइँलाई सुँघ
बस्तीको हर चोक्टामा मेरो रगतको गन्ध आउँछ
आँखा जुधाउने आँट गर सफा मान्छे !
कि मेरो रक्त नलीहरूमा पानी भर
कि आफ्नो दिमागको फोहोर सफा गर
म तिम्रो बस्तीको फोहोर सोहोर्ने च्यामे हुँ !
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
तिम्रो मनका मनोरञ्जित ग्रन्थीहरूलाई च्यात
त्यहाँ मेरो सङ्गीतको मधुर सरसराहट सुनिन्छ
आँखा जुधाउने आँट गर चेतनायुक्त मान्छे !
कि मलाई जनावरसँग बाँध र घाँस खुवाउने आँट गर
कि तिमी आफूलाई जनावरभन्दा फरक पार्ने साहस गर
म सारङ्गी रेट्ने, मादल ठोक्ने, गाइने हुँ–वादी हुँ !
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
माटोमा धस्सिएको मेरो जीवनलाई छाम
त्यहाँ मेरो आँसुको आहाल भेटिन्छ
आँखा जुधाउने आँट गर अघाएको मान्छे !
कि तिम्रो गाँसमा मेरो आँसुको गन्ध छैन भन्ने आँट गर
कि मेरो दलित जीवनको सम्मान गर्ने साहस गर
म तिम्रो गोरुसँगै माटोमा पौडिने मुसहर हली हुँ !
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
तिम्रो पैतालाको जुत्तादेखि शिरको टोपीसम्म
तिम्रो दृष्टिको दूर क्षितिजदेखि मुटुको स्पन्दनसम्म
म कहाँ छैन? म सर्वत्र छु !
मलाई तिमी कसरी 'अछूत' बनाउन सक्छौ 'छूत' मान्छे?
कि इतिहासको कठघरामा उभिने आँट गर
कि आफूलाई बदल्ने साहस गर
आँखा जुधाउने आँट गर पूजारी !
म बीसौं शताब्दीको 'अछूत' हुँ !
यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !
म अपमानित इतिहासको हिसाब चाहन्छु
म कुनै पनि मूल्यमा मुक्ति चाहन्छु !
मानसिकता कुँद्ने छिनु - राजेन्द्र महर्जन
मेरा मित्र आहुतिको सबैभन्दा चर्चित कविता हो 'गहुँगोरो अफ्रिका।' र, सम्भवतः उनका सबैभन्दा बेसी साभार गरिएको र उद्धृत गरिएको कविता पनि 'गहुँगोरो अफ्रिका' नै हुनुपर्छ। यस अर्थमा उनको यो कविता उनको कविता, साहित्य र लेखनकै एक पहिचान बनेको छ।
एक जमानामा म 'मूल्यांकन' मासिकको सहसम्पादक हुँदा त्यसमै यो कविताको प्रथम पटक प्रकाशन भएको थियो। 'मूल्यांकन' (२०५० भाद्र–आश्विन, पूणर्ांक १४, पृ. २५) मा छापिनासाथ उनको यो कविता निकै हिट भयो, जसरी उनको 'रातो नालिश' कविताले पहिले चर्चा पाएको थियो। यो कविता पहिलो पटक छापिएको डेढ दशकपछि मैले उनका रचना संकलन गर्दै 'नेपालमा वर्णव्यवस्था र वर्ग–सङ्घर्ष' पुस्तक सम्पादन गरेँ, जसमा भएका संकलित दुई वटा कवितामध्ये यो कविताले नै प्राथमिकता पाएको थियो।
पछिल्लो समयमा 'गहुँगोरो अफ्रिका'कै नाममा उनको दोस्रो कवितासंग्रह प्रकाशित भएको छ, जसले पनि उक्त कविताको मर्म र प्रभावलाई इंगित गरेको छ। 'गहुँगोरो अफ्रिका' दलित जीवनबारे जीवन्त सांस्कृतिक दस्तावेज हो, जसमा हिन्दू सामन्तवादले तीन हजार वर्षदेखि दलनमा पारिएका समुदायका पीडा र संघर्षलाई पोखिएको छ। सामान्यतः अछूत मानिएका दलित समुदायलाई पनि हिन्दू सामन्तवादद्वारा निर्मित 'मौनताको संस्कृति'ले छोपेको समुदायका रूपमा लिइन्छ। तर, आहुतिको लेखनले देखाएको छ, दलित समुदायमा पनि 'मौनताको संस्कृति'लाई तोड्ने प्रतिरोधको संस्कृति छ। धेरैजसो विद्वान साहित्यलाई समाजको ऐना भन्छन्, तर उनको रचना चाहिँ बर्ताेल्त ब्रेख्त शैलीमा समतामूलक समाज निर्माणका लागि छिनु भएको छ, जसले समाजलाई बदल्ने र न्यायपूर्ण बनाउनेगरी कुँद्ने प्रयास गरेको छ। विचार र कलाको उन्नत सम्मिश्रण भएको रचना हो यो।
दलितको चुनौतीपूर्ण पोट्रे - युग पाठक
आहुतिको बौद्धिक सक्रियता पछिल्लो समय निकै लोभलाग्दो छ। विचारोत्तेजक लेख र भाषणमार्फत उनले नारी अस्मिता, जनजाति, मधेसी, आदिवासी आदि सीमान्तकृत समुदाय र दलितको शिर उठाउने विद्रोह बोलिरहेका छन्। आजको 'आहुति'को जन्म नेपालमा चलेका अनेकन विद्रोह तथा आन्दोलनहरुको गर्भबाट भएको हो। तर, यही गर्भबाट जन्मनेहरु सबै आहुति हुँदैनन्।
आहुतिका अनेक परिचय छन्। तीमध्ये उनको कवि परिचयसँग विद्रोही काव्यचेतना जोडिन्छ। 'गहुँगोरो अफ्रिका' उनको त्यही काव्यचेतनाको उपज हो। एक कम्युनिस्ट कार्यकर्ताको हैसियतमा दलित आन्दोलनको समेत नेतृत्व गरिरहेका आहुतिको यो कविताले दलितको एक चुनौतीपूर्ण पोट्रेट पेस गर्छ। हुन त दलित शब्दको विद्रोही ओजलाई उनले व्याख्या पनि गर्ने गरेका छन्। तर, यो कविताको विशेषता हो त्यसको जीवन्त चित्रण। हिन्दू समाज व्यवस्थाले सिर्जना गरेको दलनको पृष्ठभूमि एकातिर छ, साथसाथै दलितको अर्थराजनीतिक शक्तिलाई पनि यो कविताले उजागर गर्छ। अथवा, भनौँ दलितको पसिना र सिर्जनाले निर्माण गरेको समाजको चित्र पेस गर्छ।
त्यसैले यो कविता एकैसाथ 'पूजारी'लाई चुनौती र दलित–शक्तिको अनावरण पनि हो। यो छोटो टिप्पणीमा धेरै कुरा भन्न सम्भव छैन, तथापि 'गहुँगोरो अफ्रिका'को एक सघन विम्बमार्फत आहुतिले सिर्जना गरेको विद्रोहको संगीत गुञ्जिनुको अनुभूति साट्न सम्भव छ। पहाडदेखि मधेससम्मका दलितले भोगिरहेको दलनबाट उब्जेको यो एक झिल्का हो र यो झिल्कासँग आँखा जुधाउने आँट गर्ने कि नगर्ने भन्ने प्रश्न पनि।
कुलीन काजीहरुप्रति लक्षित- बसन्त बस्नेत
आहुतिले यो कविता कति सालमा लेख्नुभयो, मलाई थाहा छैन। सायद पचासको दशकतिर पढेको हु"। भाव भने संविधान मस्यौदा छापिएपछि लेखिएझैँ प्रतीत हुन्छ। नेपाली समाजको सर्वाधिक सीमान्तकरणमा परेको दलितको मुक्तिका लागि संविधानसभाले साझा अठोट गरेको थियो। त्यो समुदायले भोगिरहेको दलन, बहिष्करण र वर्गभेद मेट्दै जान भूमिलगायत विशेषाधिकार दिने, समानुपातिक प्रतिनिधित्व दिनेलगायत वाचा र निर्णय सबै दलका दलित र गैरदलित सभासद्को थियो। सर्वसम्मतिले अनुमोदन भएका दलित एजेन्डालाई मस्यौदा समितिमा बसेका ठूला दलका आर्य–खस तालुकदारहरुले इरेजर लगाएका छन्। ऐतिहासिक उत्पीडन समाधान गर्न बनेको संविधानसभा नै जब उत्पीडनको पछिल्लो प्रतिनिधि बन्छ, आहुति त्यो बिन्दुमा फेरि एक पटक सान्दर्भिक बन्नुहुन्छ। यो कविता तिनै कुलीन काजीहरुप्रति लक्षित देखिन्छ। यो कविता उनीहरुले एक पटक पढून् र आफैँलाई सोधून्– के उनीहरु दलितलाई जनावरको दर्जाभन्दा माथि राख्ने, सम्मानजनक जीवन बिताउन पाउने मानव अधिकारको ग्यारेन्टी गर्ने हिम्मत गर्न सक्छन्? के उनीहरु कथित अछूतहरुलाई आफूसँगै राखेर संवाद गर्ने नैतिकता राख्छन्? के उनीहरु त्यो जातिभेद, वर्गभेदयुक्त अपमानित इतिहासको हिसाबकिताब फिर्ता गर्ने, समतामूलक समाज निर्माण गर्ने साहस गर्न सक्छन्?
प्रतिरोधी चेतनाको अभिव्यक्ति - जेबी विश्वकर्मा
२०५८ सालतिर हुनुपर्छ। मैले एउटा पत्रिकाको पछिल्लो भित्री पानामा छापिएको आहुतिको 'गहुँगोरो अफ्रिका' पहिलोपल्ट पढेको थिएँ। मैले पढेका कवितामध्ये दलित जीवनको प्रतिरोधी अभिव्यक्ति दिने यो नै पहिलो सशक्त कविता थियो। यस कविताले मानिस हुनका लागि संघर्ष गरिरहेका लाखौँ दलित जीवनको यथार्थबोध गराउँछ। साथै दलितमाथि अन्याय गर्नेलाई चुनौती दिन्छ।
'गहुँगोरो अफ्रिका' सिंगो दलित समुदायको प्रतिरोधी चेतनाको अभिव्यक्ति हो। यो कविताले परम्परागत सौन्दर्यशास्त्रमाथि प्रहार गरेको छ भने दलित सन्दर्भमा लेखिने रचनामा नयाँ आयामको सुरुआत गरेको छ।
तीन हजार वर्षभन्दा लामो समयदेखि कथित ठूलाबडाको आदेश 'सुन्ने र मान्ने' बाहेक दलितलाई प्रश्न सोध्ने अनुमति थिएन। निरन्तर संघर्षले दलित प्रश्न सोध्ने र आफ्नो अधिकार दाबी गर्ने अवस्थामा आइपुगेका छन्। यस कविताले दलितको श्रम–पसिनामाथि पौडी खेल्नेहरूसँग रगत र पसिनाको मूल्य माग्दै विद्रोह बोलेको छ। दलितले बनाएको मूर्तिमा पूजा गर्ने तर दलितलाई मान्छे स्वीकार नगर्ने धर्मभीरु अर्थात् 'हिन्दू राज्य'का पूजारीसँग आँखा जुधाउने हिम्मत गर्न चुनौती दिएको छ। दलितलाई पशुसरह ठान्ने चेतनाधारी मान्छेहरूलाई कविले दलितलाई जनावरसँग बाँधेर घाँस खुवाउन वा आफूलाई जनावरभन्दा फरक देखाउन चुनौती दिएका छन्। यतिमात्रै होइन, कविताले शासनसत्तामा रहेका पूजारी, जनतालाई चेतना र ज्ञान दिने प्राज्ञिक तप्का, साहित्यकार, लेखक, बुद्धिजीवी र आफूलाई सचेत दाबी गर्ने समुदायलाई इतिहासको कठघरामा उभिएर दलितमाथि गरिएको अपमानको हिसाब दाखिला गर्न चुनौती दिएको छ। विचार, कला र विम्बको असाध्यै राम्रो सम्मिश्रण रहेको यो कविता दलित सन्दर्भमा लेखिएको अहिलेसम्मकै उत्कृष्ट कविता हो।
मन्डेलादेखि अम्बेडकरसम्म सम्झाउने कविता- उज्ज्वल प्रसाईं
'गहुँगोरो अफ्रिका' मैले पढेका कवितामध्ये मलाई सबैभन्दा बढी मन परेको कविता हो। यो कविता पहिलो पटक पढ्दाको अनुभूति सुनाउँछु। कविताका केही पंक्ति पढिसक्दा नै यस्तो लाग्यो, मानौँ मेरो मस्तिष्क तारहरूले बनेको हो र यो कविताले ती तारहरूमा एकैपटक करेन्ट सञ्चार गरिदियो। मेरो चेतनाले नयाँ रोशनी पायो र दलनका विरुद्ध बोल्ने ऊर्जा पनि। शब्दको असली सामर्थ्य पहिचान गराउने यो कविता त्यसकारण नै मलाई बढी मन परेको हो।
'गहुँगोरो अफ्रिका'को व्याख्या गरेर सयौँ पृष्ठ लेख्न सकिन्छ। दक्षिण एसिया र खासगरी भारतीय र नेपाली समाजको दलनको सिंगो इतिहास लेखेर मात्रै यो कविताको व्याख्या गर्न सकिएला। शीर्षक बन्न आइपुगेका विम्बले फ्रान्ज फेननदेखि मन्डेला, मार्टिन लुथर किङदेखि अम्बेडकरसम्म एकैपटक सम्झना दिलाउँछन्। शीर्षकका दुई शब्दले बोक्ने इतिहासको मर्म र ती विम्बको हाम्रो समाजसँगको तादात्म्य पनि व्याख्या गर्दा अरू सय पृष्ठ चाहिन्छ। तर, सयौँ पृष्ठले दिन नसक्ने चुनौती, बोल्न नसक्ने पीडा र फुक्न नसक्ने संघर्षको बिगुल यो कविताका लगभग साढे तीन सय शब्दले फुकिदिन्छन्।
साभार:- नागरिक दैनिक
यो कविता हाम्रा विद्यालय वा कलेजका पाठ्य सामाग्री बन्न सकेको छ कि छैन? मलाई थाहा छैन। तर, राम्रो कविताको परख गराउन, साहित्यमा सौन्दर्य र गहन सन्देशको सम्मिश्रण गर्ने शिल्प सिकाउन र नेपाली समाजको चरित्र एकैसाथ बुझाउन यो कविता सहयोगी हुन सक्छ।
No comments:
Post a Comment