|
लेखक - दिनेशप्रसाद हरिजन |
काठमाडौ , १४ साउन , विभेद विरुद्ध अभियान ।नेपालमा राज्यले अहिले देशभरीमा दाइजो हटाउ छोरी बचाउ भन्ने नाराका साथ विशेष अभियान सञ्चालन गरेको छ । काठमाडौंको विभिन्न बसहरूलगायत तराईमा सञ्चालन हुने लामो यात्राका बसहरूमा समेत दाइजो हटाऊँ, छोरी बचाऊँको पोस्टर टासेको देखिन्छ । दाइजो हटाउनका लागि त नेपाल सरकारले अहिले धेरै नै पहल गरिरहेको छ । यो दाइजो प्रथा नेपालको तराई क्षेत्रमा सबैभन्दा व्यापक रहेको हुँदा यो अभियानलाई अझ विशेषगरी दाइजो प्रथा रहेका तराईका जिल्लाहरूमा तराईकै जनताहरूलाई विशेष जनचेतना जगाउन जरुरी छ ।
तर, तराईकै एक चमार समुदायमा अझै बलि दिने प्रथाको बारेमा राज्य, नेपाल सरकारका कर्मचारीलगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरूले समेत ध्यान नदिएको हँुदा यो प्रथा अहिले पराम्परागत रूपमा बढिरहेको छ । यो प्रथा खासगरी चमार र डोम समुदायमा व्यापक रहेको पाइन्छ । केही दिनअघि म आफैँ तराईका छोरीहरू किन विद्यालय पढन जादैनन् ? भनी खोजतलासका लागि तराईको विराटनगर उपमहानगरपालिका वडा नं. १५ मा चमार समुदायका मानिसहरूको बसोबास बाक्लो छ । म यहाँ जाँदा विराटनगर उपमहानगरपालिकामा रहेको एउटा ठुलो मन्दिरमा एक चमार समुदायकै आठ वर्षीय संगीता हरिजन (नाम परिवर्तन) गरेकी छात्रालाई मन्दिर रेखदेखका लागि बलि चढाएको देखेँ । यो विषयमा खोजतलासका लागि स्थानीय सोही ठाउँका चन्द्रेश्वर हरिजनसँग सोधखोज गर्न खोजियो । उहाँका अनुसार यो जिल्लामा बलि दिइने प्रथा खासगरी मोरङ जिल्लाको हात्तीमुढा गाविसबाट सुरु भएको बताए ।
हरिजनका अनुसार यी आठ वर्षीय वालिकाका अभिभावकहरू एकदमै गरिब र त्यसमा पनि ५÷६ जना छोरीहरू मात्रै जन्मेको हुनाले आफूलाई छोरा पाउने आसामा सुनीतालाई मन्दिरमा बलि चढाएको बताए । यसरी थाहा पाउनेबित्तिकै म र चन्द्रेश्वर हरिजन दुवैले सुनीताका अभिभावकहरूलाई भेट्नका लागि उनीहरू बसोबास गरिरहेको स्थानमा पुगियो । र, सुनीताका ४५ वर्षीय आमासँग भाग्यबश भेट भयो र उनका आमासँग सोध्दा आफू छोरा पाउने आसामा माइली छोरीलाई बलि दिएको स्विकारिन् । छोरीलाई बलि मन्दिरमा चढाएको ३ वर्ष भयो तर अझै पनि छोरा नपाएकोमा सुनीताका आमा दुःखी छन । मलाई छोरा नभएको र मेरो माइती र श्रीमानको चहाना छोरा पाउने भएकोे माइली छोरीलाई बलि दिएका छौँ ।
आफनो घरमा छोरा पाउनका लागि धेरै मठमन्दिरमा भाकल कबुल गरेको छु । तर, पनि कुनै भगवान्ले आफ्नो कुरा सुनेकै छैनन् । तर घरमा एक जना भारतीय साधु आएर छोरीलाई विराटनगरकै एक काली मन्दिरमा बलि दिएमा छोरा अवश्य नै हुने भनेपछि आफूहरू छोरीलाई बलि चढाएको उनले भनिन् । छोरा पाउने आसाले आफूहरूले छोरीलाई मन्दिरमा बलि चढाएको दुःख यसरी पोखिन् । हाल ती बालिका आफ्नो पढाइलेखाइ छोडेर काली मन्दिरको रेखदेख गरिरहेकी छन् । यस्तै सुनसरी जिल्लाको प्रमुख व्यापारिक ठाउँ मानिने इटहरीमा पनि १२ वर्षीय लक्ष्मी डोम(नाम परिवर्तन) लाई पनि उनका आमा बुवाले बलि चढाएका छन् । उनी अब कहिले आफ्नो अभिभावकको घरमा नफर्कने गरी बलि चढाइको छ ।
उनकै अगाडि मन्दिरको वरिपरि रहेका बालबालिकाहरू विद्यालयमा पढ्नका लागि जान्छन् तर उनलाई विहानै ५ बजे चिसो मौसम होस् या गर्मी मौसममा उठेर मन्दिरको सरसफाई गर्नुपर्ने हुन्छ । उनलाई मन्दिरमै खाने सुत्ने व्यवस्था छ । मन्दिरमा पूजाआजा गर्न आउने भक्तजनहरूले काली माताको नाम लिएर चढाएको फलफूलहरूलाई जम्मा गरी मन्दिरमै रहेका पूजारीलाई दिन्छिन् । त्यसपछि ती पूजारीले उनलाई सोही फलफूलबाट केही फलफूल खानका लागि दिन्छन् ।
अरु प्रसादको रूपमा भक्तजनहरूलाई बाँडिदिने गरेको मन्दिरका पूजारी प्रमेश्वर योगीले बताए । योगीका अनुसार बालिकाका बुवाआमाहरूले मन्दिरमा ल्याएर बलि दिएको ५ वर्ष भयो तर एउटा कपडा लत्ता नदिएको बताए । र, छोरीलाई रेखदेख गर्न कहिलेकाहीँ उसको आमा आए पनि बुवा भने कहिल्यै पनि नआएको पूजारीले बताए । पूजारीसँग बालिकाको आमा बुवाको ठेगाना सोधेपछि आफूलाई थाहा नभएको प्रतिक्रिया दिए । मन्दिरमा रहेकी बालकामाथि यौन दुव्र्यवहार गर्ने जोसुकैलाई कानुनको दायरामा ल्याई हदैसम्म कारवाही गरिने जिल्लाका एसपी विश्वराज पोखरेलले बताए । महिला तथा बालबालिकाहरूमाथि हिंसा गर्नेलाई कारवाही गर्न आफूले कुनै पनि कसुर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।
उता यस्तै रूपन्देहीको मर्चबार क्षेत्रमा रहेको मर्यादपुर गाविसमा केही वर्ष पहिला इँटा भट्टीमा एक चमार समुदायकै आठ बालिकालाई कालीमाईको नाममा बलि चढाइएको थियो । यो घटना त एसियामा पहिलोपटक बालिकालाई बलि चढाइएको भनी प्रकाशनहरूमा आएको थियो । यो घटनामा बालिकालाई बलि दिइने पीडकहरूलाई २०÷२० वर्षको सजाय अहिले भोगिरहेका छन् । यो घटनामा सोही ठाउँका राजु हरिजनकी छोरी मनीषा हरिजनलाई विद्यालयबाट घर फर्कने बेलामा गाउँकै जमिन्दार विरेन्द्र जयसवालले लगी आफ्नो उद्योग राम्रोसँग चलोस् भनी घाँटी रेटी बलि दिएका थिए । तर पनि बालिकाका अभिभावकहरूलाई छलेर गाउँमै बसिरहेका थिए । घटनाको ५ महिनापछि मात्रै पीडक जयसवालसहित हत्यामा संलग्नहरूलाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी कारवाही अघि बढाएको थियो ।
हामीहरू आँखा दान महादान, दान गरौँ पूण्य कमाऊँ जस्ता आदि नाराहरू सुनेका छौँ तर यस्तो छोरी दान महादान गरे जस्तो तराईका चमार र डोम समुदायले आफू छोरा पाउने उद्देश्य वा आफ्नो काम नभइरहेको अवस्थामा छोरीलाई मन्दिरमा बलि दिइने र छोरीलाई राजस्वला आउनुभन्दा पहिला छोरीलाई मन्दिरमा भगवान्को पूजाका लागि जेठी छोरीलाई छोडियो भने भगवान्ले जिन्दगीभरका लागि आफूहरू शान्ति पाउनेजस्ता तमाम सोचहरू चमार र डोम समुदायमा अझै पनि पाइन्छ । यस्तो प्रथा मर्चबारलगायत तराईका विभिन्न जिल्लाहरूमा चमार र डोम समुदायका मानिसहरूले छोरीलाई मन्दिरमा दान गर्ने भनेको बलि चढाउने प्रथा अझै पनि हामी पाउन सक्छौँ । यो त केही उदाहरणका बालिकाहरू भए । तर यी बालिकाहरू मन्दिरमा जवान भएपछि मन्दिरमा दर्शन गर्न आउने मानिसहरूले पुरुषहरू वा भनौँ युवाहरूले ती बालिकाको यौन चाहनाका लागि प्रायः आउने गरेका पाइयो ।
किनकि मोरङ जिल्लामा रहेकी बालिका कयौँपटक यौन हिंसाको सिकार भएकी छन् । मन्दिरमा राम्रो ढोका नहुनु मन्दिरमा विहानै ५ बजे उठेर चापाकलमा नुहाने आदि जस्ता क्रियाकलाप गर्दा सो ठाउँका युवाहरूले उनलाई यौन दुव्र्यवहार गर्ने गरेको पाइयो । यसरी यौन दुव्र्यवहार हुनुमा राज्य प्रमुख दोषी रहेको चमार सेवा समाज राष्ट्रिय परिषद् नेपालका केन्द्रीय सदस्य अमिरी मोची चमारको कथन छ । तराईमा रहेको यो बलि प्रथा भनौँ वा देवकी प्रथा भनौँ खासगरी चमार र डोम समुदायमा अत्याधिक रहेकाले यसलाई नियन्त्रण गर्न जनचेतनाको खाँचो रहेको मोचीले बताए । उनका अनुसार हिन्दू धर्म मान्ने बाबाहरू भनौँ वा पूजारीहरू दलित समुदायमा गलत प्रचार गरेर उनीहरूको इज्जतमाथि खेलवाड गरिरहेको आरोप लगाए ।
तराईका दलित समुदायका वस्तीहरूमा हिन्दू धर्म मान्ने बाबाहरूले रजस्वला आउनुभन्दा पहिलै बालिकालाई मान्दिरमा बलि चढाएको खण्डमा सबै दुःख समाप्त हुने जस्ता पाखन्ड रचेकाले यो प्रथा चमार र डोम समुदायमा मौलाएको बताए । बालिकाहरूलाई मान्दिरमा बलि दिएपछि बालिका ठूलो भएपछि उबाट यौन तिर्सना मेटाउनका लागि गैरदलित समुदायका हिन्दू मानिसहरू लागिपरेका हुन्छन् । यसरी तराईका जिल्लाहरूमा यो प्रथा अन्त्य गर्नका लागि राज्यले यही समुदायका लागि विशेष कार्यक्रम ल्याउन जरुरी रहेको मोचीको भनाइ छ । यसरी अहिलेका गणतान्त्रिक नेपालको सरकारले यो समुदायका यस्तो नराम्रो प्रथालाई उन्मूलन गर्नका लागि यथा शीघ्र विशेष कार्यक्रम ल्याउन जरुरी देखिन्छ ।
चमार डोम समुदायका बालिकाहरूलाई शिक्षासम्म पु¥याउनका लागि उनीहरूकै समुदायका युवाहरूलाई जागरुक गराउन जरुरी छ । यो प्रथालाई अन्त्य गर्नका लागि खासगरी विद्यालय तहदेखि लिएर गाउँबाट विद्यालय नजाने नपठाउने अभिभावक र बालिकाहरूलाई स्थानीय स्तरबाटै पहल गर्न जरुरी छ । यसका साथै यो समुदायका छोरीहरू जवान भएपछि गैरदलित समुदायका लागि यौन सन्तुष्टि लिने र पछि पेटमा बच्चा वा गर्भवती भएको खण्डमा दलित भनेर हेप्ने र यो मन्दिरमा दिइने बलि प्रथालाई अन्त्यका लागि तपाई हामीहरू आवाज कहिले उठाउने ? त्यसकारण हामी आफ्नो देशलाई राम्रो देश बनाउनु छ भने यस्तो प्रथालाई अन्त्यका लागि तपाई हामी आजैदेखि पहल गरौँ र मन्दिरमा बलि दिइएकी छोरी चेलीलाई आजैबाट उद्धार गरौँ ।
(लेखक # चमार समुदायबाट नेपालमा पहिलो एम.एस्सी गरेका हुन् ।)
स्रोत- इप्रभाव डट कम
No comments:
Post a Comment