दलितको अधिकार कटौती नगर्न सभासद्को ध्यानाकर्षण

नवलपरासी -साउन ४ -२०७२ , विभेद बिरुद अभियान । संविधानको मस्यौदामा दलितको अधिकार कटौती गरिएको भन्दै नवलपरासीका दलित समुदायले सभासद्को ध्यानाकर्षण गराएका छन् । आज नेपाल उत्पीडित जातीय मुक्ति समाज नवलपरासीले क्षेत्र नं. २ का सभासद् जीवन श्रेष्ठलाई १० बुंदे सुझाव सहितको ज्ञापन पत्र बुझाएका हुन् ।
नवलपरासीका ६ वटै निर्वाचन क्षेत्रका सभासदहरुलाई सझुाव बुझाउने क्रममा आज नवलपरासी क्षेत्र नं. २ का सभासद जीवन श्रेष्ठलाई कावासोतीमा ज्ञापन पत्र बुझाइएको हो । साथै सभासद जीवन श्रेष्ठमार्फत संविधान सभाका अध्यक्ष सुभाव चन्द्र नेवाङको ध्यानकर्षण गराएका छन् ।
ज्ञापन पत्र बुझ्दै सभासद् जीवन श्रेष्ठले संविधानको मस्यौदामा भएका कमिकमजोरीलाई हटाएर सुझावमा आएका बुदाहरुलाई थप गरिने बताए ।
ज्ञापन पत्र बुझाएपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल उत्पीडित जातीय मुक्ति समाज नवलपरासीका अध्यक्ष बाबुराम विश्वकर्माले संविधानका मस्यौदामा दलितका अधिकारहरु कटौती गरिएको बताए । उनले संविधान सभा २०६४ मा समाहित भएका तथा संविधान सभा २०७० ले स्वामित्व ग्रहण गरेका दलित समुदायका सबै अधिकारहरु जस्ताको त्यस्तै नयां संविधानमा समेटिनु पर्ने लगायतका १० बुदे माग पेश गरिएको जानकारी दिए ।

No comments:

Post a Comment