साउन ८ बिभेद विरुद्ध अभियान ।हिन्दु राष्ट्रका पक्षमा पोष्टरहरू टोलहरूमा टाँसिन थालेका छन् । काठमाडौं सहर सफा राख्ने अभियन्ताहरूले यस्ता पोष्टरहरूलाई कसरी लिइरेछन्, थाहा छैन । तर केही दिनअघि यस्तै पोष्टर नयाँवानेश्वरको लक्ष्मीको चियापसल अघि प्रहरी भाइहरू उप्काउँदै थिए । धर्मनिरपेक्ष राष्ट्र रहने कि हिन्दु राष्ट्रमा र्फकने यो बहस आउँदा दिनमा झन् चर्कने सुनिश्चित छ । हिन्दु धर्मालम्बीहरूको संगठित आवाज घन्काउन राजनीतिक व्यक्तिहरू सक्रिय भइसकेका छन् ।
संख्यामा थोरै तर स्रोतसाधनको प्रचुरताको कारण क्रिस्चियन धर्मावलम्बीहरू पनि सक्रियतामा पछि छैनन् । उनीहरू पनि नेपालको संक्रमणकालीन अव्यवस्थाबीच आफ्नो शक्ति बढाउन प्रतिदिन इशुका सन्देशहरू घर-घरमा पुर्याउन व्यग्र देखिन्छन् ।
यो त भयो सतहमा देखिएका कुरा । तर अचेल साथी-भाइहरूबीच बस्दा 'धर्म'ले निकै ठाउँ लिँदैछ । मिल्ने साथीहरू धर्म परिवर्तनका समाचार सुनेर दुःखी हुन्छन् । यसलाई के जुक्तिले रोक्ने होला भनेर निकै पिरोलिएको पाइन्छ । वास्तवमा कानुनले स्वेच्छाले धर्म रोज्न पाइन्छ । कुन धर्म मान्ने वा नमान्ने त्यो निजी कुरो हो । तर अनुचित लोभ वा दबाबमा धर्म परिवर्तन गराइन्छ भने त्यसलाई न नैतिक रूपले, न धार्मिक रूपले, नत कानुनी रूपले नै स्वीकार्य हुनसक्छ । साथीहरू यही बुँदा पक्रेर छलफल चलाइरहन्छन् । एकै ठाउँ, थलोमा बस्ने साथीहरूबीच भएका विमर्शमा चुप लागेर बस्न पनि भएन, चाहे पनि बस्न सकिँदैन ।
सबैभन्दा पहिले हिन्दु धर्मबारे चर्चा चलाइँदा वणर्ाश्रम -बाहुन, क्षत्री, वैश्य, शुद्र) को वर्गीकरण आजको समाजमा कायम रहनुपर्छ, पर्दैन बहसको मुद्दा हुनुपर्ने हो । यसबारे म कम्ती सुन्दछु । जतिबेला वणर्ाश्रमको व्यवस्था गरियो, त्यो कामको विभाजनमात्र थियो वा मानवजातिबीच विभेद आवश्यक छ भनेर सोचिएको थियो, यसबारे गम्भीर विमर्श आवश्यक छ । कामको विभाजनमात्र थियो भने यसलाई प्रचलन गर्दाको अवस्थाको प्रगतिशील धारणा मान्न सकिन्छ । धेरै पछि अर्थशास्त्रमा स्वीकार गरिएको उत्पादन वृद्धिमा श्रमको विभाजनको महत्त्वलाई यसले स्वीकारेको ठहर्छ । हैन, मानवजातिबीच विभेद गर्ने उद्देश्यले यो व्यवस्था कायम गरिएको मान्ने हो भने जुन कालखण्डमा यो लागु भए पनि अप्रगतिशील थियो, छ भन्न हिचकिचाउनु पर्दैन ।
आजको पश्चिमी समाजले जति आधुनिकताका कुरा गरे पनि इतिहासको कालखण्डमा त्यही समाजले पुरुष र नारीबीच गरिएको विभेदलाई कसरी न्यायोचित ठहराउन सक्ला ? काला र गोरा बीचको विभेदलाई कसरी बिर्सन सकिएला ? क्रिस्चियन धर्म विस्तारका नाममा भएका युद्धहरूलाई कसरी जायज ठहराउने हो ? त्यसैले इतिहासकारहरू इतिहासका ती कालखण्डलाई आजको आँखाले नहेर भनेर सुझाउँछन् । इतिहासको लेखाजोखा गर्दा तत्कालीन समाजको परिवेशमा टेकेर मूल्याङ्कन गरेमात्र न्याय पर्छ भन्ने मान्यता राख्छन् ।
हिन्दु वणर्ाश्रमको व्यवस्थालाई पनि इतिहासकारले भनेझंै मूल्याङ्कन गर्दा जे ठहर हुन्छ, त्यो नै उचित हुन्छ । तर हिजो जे भयो, त्यसको पदचिन्ह छोड्नु आफ्नो धर्म नाश गरेको, संस्कार संस्कृति मासेको भनेर हेरिनु भएन । के हिन्दु धर्मका नाममा दलितहरूको प्रताडनालाई निरन्तरता दिइरहन सकिन्छ ? छुवाछूत लगायतका कुरीतिलाई कायम राख्न सकिन्छ ? राज्यले कानुन बनाएर पचास वर्षअघि नै छुवाछूतलाई अग्राह्य तुल्याएकै हो । तर अझै पनि सार्वजनिक मन्दिरमा समेत दलितको प्रवेश वर्जित गरिने कार्य कायम भएको समाचार आइरहेकै छ । नेपालका कैयन भागमा अझै पनि चिया पसलभित्र बसेर दलितले चिया खान पाउँदैनन् । आफूले खाएको चियाको गिलाससमेत आफैले धुनुपर्ने अवस्था छ । यद्यपि उनीहरूले अरु व्यक्तिसरह नै पैसा तिर्ने गर्छन् । पानी चल्ने र नचल्ने भनेर ग्रामीण समाजमा अझै विभेदको व्यवहार दलित बाहेकलाई समेत गरिँदैछ ।
यस्तो धारणा कायम रहुन्जेल हिन्दु धर्मावलम्बीहरू स्वाभाविक रूपले अरु धर्मको दाँजोमा कमजोर दलिलका साथ आत्मरक्षा गर्न बाध्य हुन्छन् । वणर्ाश्रमको बारेमा धर्माधिकारीहरूले बोल्नुपर्यो, हिन्दु धर्ममा छुवाछूत सहय हुँदैन । हिन्दु धर्मभित्रका कुनै पनि जात, जाति, समुदायबीच विभेद हुनुहुँदैन । कुनै बेला नेपालमा बाहुनले हलो चलाउँदा कसैले क्रान्तिकारी कदम माने, कसैले अधार्मिक भनेर भत्र्सना गरे । आज समय परिस्थितिले हलो कसले जोतेको छ भन्ने कुरा धर्मसंँग जोडेर हेरिने भएन । अचेल बाहुनले जुत्ता सिउन थालेका छन् भने उच्च जातका व्यक्तिहरूले लुगा सिउने, बाजा बजाउने जस्ता काम गर्दैछन् । फलामका काम गर्नेहरू, घर बनाउनेहरू आज इञ्जिनियर भनिन्छन् । तिनले इज्जत पाउँछन् । तर परम्परागत रूपमा त्यही काम गर्ने व्यक्ति दलित समुदायमा किन पर्छन् ? के कलकारखानामा काम गर्ने इञ्जिनियर लगायतका व्यक्तिहरू दलित हुन् ? कि आधुनिक छाला तथा जुत्ता कारखानामा काम गर्ने व्यक्तिहरू दलित मानिन्छन् ? के बाजा बजाउने वा लुगा सिउने सबै व्यक्ति दलित हुन् ? यदि दलितहरूले हिजो गरिआएको काम आज अरुले गर्दा दलित हुन्नन् भने कुनै जात वा कूलमा जन्म लिएकै कारण तिनलाई दलित मान्नुपर्ने र हेलाभाव राख्नुपर्ने किन ? कैयन दलितहरू आज आफ्नो पुरानो पेसा छोडेर नयाँ काम गर्दैछन्, तर तिनको दलितको ट्याग हटाउन सकिएको छैन ।
सामाजिक विभेद वा बहिष्करणमा पारिएका यी दलित समुदायको उत्थान नभई आधुनिक नेपालको मुहार फेरिन सक्दैन । झन्डै चौध प्रतिशत जनसंख्या दलित समुदायको छ । दुई करोड पचहत्तर लाख जनसंख्या नेपालको मान्ने हो भने झन्डै चालिस लाख जनसंख्याको हिस्सा यो समुदायले ओगट्छ । यति ठूलो जनसंख्याको हिस्सालाई माथि उकास्न हाम्रो सोच के हो ? छुवाछूत र भेदभाव मात्रै हटाएर पनि पुग्दैन । किनभने शताव्दीदेखि नै यो समुदाय सामाजिक बहिष्करणमा पारिएको छ । बहिष्करणमा पारिएकाले नै शिक्षामा पछि पर्यो यो समुदाय । शिक्षा ज्ञानशक्तिको आधार हो । ज्ञानशक्तिमा जो अगाडि छ, त्यसैले समाज हाँकेको छ, राज्य चलाएको छ । शिक्षा, स्वास्थ्यको क्षेत्रमा दलित समुदायलाई नउठाई राज्यको अन्य अंग-प्रत्यङ्गमा पनि यसको उपस्थिति उल्लेखनीय हुने भएन ।
दलित समुदायको पिरलो यतिमै सकिँदैन । यो समुदाय नेपालभरि छरिएर रहेको छ । संख्यामा यसको प्रतिशत बाहुनसरह वा केही बढी छ । एउटै भूभागमा केन्दि्रत रहेको भए यसको राजनीतिक सौदाबाजी गर्ने शक्ति निश्चित रूपले बढ्ने थियो । तर गाउँ, वस्ती, नगर जहाँ छ, सानो-ठूलो संख्यामा यिनको उपस्थिति छ । समग्रमा उल्लेखनीय संख्या छ । तर त्यसलाई राजनीतिक नेतृत्वमा रूपान्तरण गर्नसक्ने क्षमता यीबीच छैन । फेरि थप दुःखको कुरा दलितहरूबीच पनि उचनिचको भेदभाव कायम छ । यी सबै कारणले दलित अझै सामाजिक, आर्थिक वा राजनीतिक रूपमा दबाब दिन समर्थ भइरहेका छैनन् ।
हिन्दु र्धमका पक्षका प्रचारकहरूले हिन्दुहरूबीच रहेको यो भेदभावलाई जहिलेसम्म अन्त्य गर्ने प्रण गर्दैनन्, यसका लागि प्रयत्न गरिँदैन, धर्म परिवर्तनका सम्भावना कायमै रहन्छ । यो कुरा दलित समुदायमा मात्रै लागु हुँदैन । विभेदमा परेका अरु जातजातिमा पनि लागु हुन्छ । अरु धर्मका प्रचारकहरूलाई गाली गरेर, धारेहात लगाएर मात्र पुग्दैन । यस सम्बन्धमा आत्मसमीक्षा आवश्यक छ । यो भन्ने गरिन्छ कि शताव्दीयौंदेखिको परम्परालाई एक झट्कामा छिन्नभिन्न गर्न सकिँदैन । विस्तारै हामी यो भेदभाव समाप्त गर्न लागिरहेछांै । यसमा सत्यताको अंश होला । तर जुन वेगमा यसमा काम हुनुपर्ने हो, भएको छैन । मान्छे-मान्छे बीचको विभेदलाई समेत अस्वीकार गराउने स्थिति समाजमा छैन भने हिन्दु धर्मको आडमा मात्र जनतालाई गोलबन्द गर्न कसरी सकिएला ?
म कलेजमा पढ्दै गर्दा नेपाल-भारत संस्कृतिक संघ अन्तर्गत नेपाल वायुसेवा निगमको भवनमा रहेको पुस्तकालयमा काका कलेलकर नामका ख्यातिप्राप्त भारतीय समाज सुधारकको प्रवचन सुन्ने अवसर पाएको थिएँ । त्यसबेला उहाँले अन्तरजातीय विवाहमात्र हैन, अन्तरधार्मिक विवाहबारे लामो आख्यान दिनुभएको थियो र अन्त्यमा हिन्दु धर्मको सार भनेको 'वसुदैव कुटुम्वकम्' हो भनेर टुंग्याउनुभएको थियो । अपशोच १ छुवाछूतजस्ता विषयमा विभेद अन्त्य गर्न आधिकारिक रूपले बोल्ने र त्यसलाई समाजले स्वीकार गर्ने परिस्थिति निर्माण गर्ने त्यस्ता समाज सुधारक नेपालमा अझै देखापरेका छैनन् ।
साभार- कान्तिपुर दैनिक
No comments:
Post a Comment