गरिबीको मार र बोझमा दबिएका हुम्लाका दलितहरु

दिलविक्रम आङ्देम्बे - हुम्ला, १९ असार,विभेद बिरुद अभियान ।अहिले उनी भर्खर दस वर्षकी भइन् । यस्सो हेर्दा पनि उनी बालिकाजस्तै लाग्छ । तर उनको काम भने अभिभावकको भन्दा कम छैन ।
उनको नाम हो छिता सार्की । हुम्ला जिल्लाको दक्षिणी भूभागमा पर्ने कालिका गाविसको लौँठी–गाउँमा बस्छिन् छिता सार्की । घरमा बाबु जनके सार्की, आमा धोबी सार्की, बहिनी लच्छु सार्की, भाइहरु आइते सार्की, अमृते सार्की र हजुर–आमा सुखमति सार्की गरी जम्मा सात जना परिवार बस्छन् । हजुर–बुबा धनमान सार्कीचाहिँ उनका काका हरिलाल सार्कीसँग बस्छन् ।
छिता घरकी ठूली छोरी पनि हुन् । आमा–बुबा पछि घरको धेरै काम उनैले नै गर्नुपर्छ । त्यसैले छितालाई स्कुल लगाइएको छैन ।
लौँठी–गाउँमा घाम ढिलो लाग्छ । बिहान झिसमिसेमै छिता उठ्छिन् । आफूले लाएको फरिया र पटुका मिलाउँछिन् । पटुकाको पछाडी हँसिया भिर्छिन् । घाँटीमा रानी–पोते (कम्पनी–माला) र कानमा जाले–टप पनि लाउँछिन् । तर उनी खुट्टामा जुत्ता भने लाउँदिनन् ।
बिहान उठे लगत्तै दैनिक रुपमा छिताले घोरी–मोर्चाको चिया पकाउँछिन् । हजुरबुबा धनमान सार्की काका हरिलालकहाँ बसे पनि चिया खानचाहिँ बिहान धेरैजसो छिताकै घरमा आउँछन् ।
त्यसपछि हजुरआमा सुखमति सार्कीलाई दिसा–पिसाबका लागि लाने ल्याउने काम पनि उनैले गर्नुपर्छ । लामो समयदेखि सुखमति सार्कीलाई दम र क्षयरोगको व्यथाले सताएको छ । त्यसको पीडा छिताको जीवनमा पनि देखिन्छ ।
बिहान खाजा खाएपछि छिताको काम पँधेराबाट पानी ल्याउनु हो । लौँठी–गाउँमा पँधेरोका लागि केही टाढा पुग्नुपर्छ । आमा घरमा भात–भान्सा बनाउँछिन् । कान्छो भाइ अमृते सानो भएकोले उसलाई खुवाउने–पिलाउने काम पनि उनकी आमा धोबीले नै गर्नुपर्छ । बालबच्चालाई खानपिन गराएपछि धोबी काम गर्न तल बेसीतिर झर्छिन् ।
छिताका बाबु जनके सार्की उतै बेसीतिरै बस्छन् । चार वर्षअघि तल घोगे–बगर नजिकै सिमली–डाँडामा जनके सार्कीले छिमेकी धनबहादुर जैसीसँग थोरै जग्गा बन्धकी लिएका छन् । त्यहाँ उनीहरु गहुँ, धान, मकै आदिको खेती गर्दछन् । दुई–चार वटा बस्तुभाउ पनि जनकेले बेसीतिरै राखेका छन् ।घरमा भाइ–बहिनीको खानपिन भएपछि छिताले ठूलो भाइ आइते सार्कीलाई स्कुल पुर्या,उँछिन् । ज्ञानोदय नि.मा.वि स्कुल उनीहरुको घरको सिधै माथि पर्दछ । आइते अहिले त्यहीँ कक्षा एकमा पढ्छन् ।

पहिले बहिनी लच्छु पनि उनीहरुसगैँ स्कुल जाने गर्थिन् । तर दुई वर्षअघि कान्छो भाइ अमृते जन्मिएपछि घरमा भाइलाई हेर्न लच्छुले स्कुल छाड्नुपर्योभ । भाइलाई स्कुल पुर्याेउँदा छितासँगै उनका छिमेकी साथी सम्झना प्याकुरेल, मोहन सन्जेल र रेणुका जैशी पनि स्कुल जान्छन् । सम्झना र मोहन तीन कक्षामा पढ्छन् । रेणुकाचाहिँ दुई कक्षामा ।
लौँठी–गाउँका बामन–क्षेत्रीहरु बच्चाहरुलाई प्रायःजसो स्कुल पठाउँछन् । तर त्यहाँका दलितहरुले भने थोरैले मात्र बच्चाहरु स्कुल पठाएको देखिन्छ । दैनिक जीवनमा गरिबीको मार छँदैछ‚ गाँसकै लागि पनि कडा परिश्रम गर्नुपर्ने चाप पनि छ । तिनको बोझमा दबिएका दलितहरुमा शैक्षिक चेतना पुग्न सकेको छैन ।
लौँठीबासी दलितहरुमा परिवार धान्न सक्ने जग्गा त्यत्तिविधि छैन । उनीहरु धेरैजसो अँधिया वा बन्धकीको रुपमा छिमेकका धनी बामन–क्षेत्रीका जमिन खन–जोत गर्छन् । त्यसबाट पनि नपुग भएपछि उनीहरुका गाउँदेखि माथि पाम्सा–गाउँका पुन (मगर) हरुको जमिन जोत्न जाने गर्दछन् । त्यसकारण बाली लगाउने समयमा धरैजसो दलितका छोरा–छोरी बामन, क्षेत्री तथा पुन (मगर)कहाँ ‘बाउरो’ जाने गर्छन् । बाउरो भनेको जग्गा–जमिन उपभोग गरेबापत मालिकहरुका खेतीपातीमा सघाउने काम हो ।
कहिलेकाहीँ आवश्यकताअनुसार अघि–पछि पनि बाउरो जान्छन् उनीहरु । यसैले पनि यहाँका दलित बच्चाहरुले स्कुल जाने अवसर कमै पाउँछन् । लौँठीमा हाल अठाइस घर दलितमध्ये एका–दुईले मात्र एसएलसीसम्म गरेका छन् । यिनीमध्ये पनि महिलाहरु त अन्यन्त न्यून नै छन् । अधिकांशको हालत छिताकै जस्तो भएपछि पढ्ने कतिबेला ? बाउरो जाने कि घरका काम गर्ने कि भाइहरुलाई स्कुल पुर्‍याउने ? भाइलाई स्कुल पुर्‍याएर फर्केपछि छिताले हजुरआमालाई आँगनमा निकाल्छिन् । कहिलेकाहीँ छिताले अटेरी गर्दा हजुरआमा बर्बराउँछिन् पनि ।
जनके सार्कीले घरमा पनि एउटा गाई पालेका छन् । गाईलाई चराउन पारी खानी–डाँडामा लाने ल्याउने काम पनि छिताले नै गर्नुपर्छ । समयमै लान सकिएन भने गाईले पनि असन्तुष्टि पोख्छ ।
गाईलाई पुर्‍याएर आएपछि छिता धान कुट्न ओखलतिर जान्छिन् । उनको परिवारले बिहान रोटी खाएर छाक टारे पनि बेलुकाचाहिँ चामलको भातै खाने गर्छन् । त्यस क्षेत्रमा राता चामलको धेरै प्रयोग हुन्छ । कहिलेकाहीँ उनलाई धान कुट्न बहिनी लच्छुले पनि सघाउँछिन् । तर आजभोलिचाहिँ आमा (धोबी) धेरैजसो बेसीतिर झर्ने भएकीले सानो भाइलाई हेर्न लच्छु प्रायः घरैमा बस्छन् । आमा साँझतिर मात्र घरमा आइपुग्छिन् । कहिलेकाहीँ उनी बेसीतिरै पनि बस्छिन् ।जेष्ठ पुर्णिमातिर लौँठी–गाउँमा मदना–देवताको पूजा गरिन्छ । यस देवतालाई उनीहरु महादेवको प्रतीकको रुपमा पूजा गर्छन् । प्रायः यो पूजा घरभित्रै गरिन्छ ।
एक दिन छिमेकी बामनकहाँ मदना पूजा हुन्छ । साथीहरुसँग छिता पनि पूजामा जाने सुर गर्छिन् । त्यसैले उनी घरका सबै काम सबेरै सक्छिन् त्यो दिन । साँझतिर साथी सम्झना र रेणु छितालाई लिन घरमा आउँछन् । छिता र लच्छु आफ्ना दुवै साथीसँग पूजामा जान्छन् । त्यहाँ उनीहरु सामूहिक देउडा पनि नाच्छन् ।
पूजा सकिएपछि धामीले टीका थाप्न घरभित्र बोलाउँछन् सबैलाई । सम्झना र रेणु पनि भित्र जान्छन् । तर छिता र लच्छु भित्र छिर्दैनन् । घरभित्र टीका थापेका सबैलाई दूध, खिर–भात, चिया–रोटी आदि खुवाइन्छ । त्यसपछि धामी घरबाहिर आई छिता र लच्छुलाई पनि हातमा टीका थमाइदिन्छन् । धामीले हातमा थमाएको टीका उनीहरु आफैले निधारमा लगाउँछन् । त्यस क्षेत्रमा दलितलाई निधारमा टीका लगाइदिने चलन छैन ।
त्यसपछि उनीहरुलाई पनि रोटी–तरकारी प्रसाद दिइन्छ । अरुलाई झैँ दूध र खिर–भातचाहिँ दिइँदैन उनीहरुलाई । लौँठी–गाउँमा तल्लो जातिकालाई दूध–दही दिनु हुन्न भन्ने मान्यता छ । त्यहाँका अधिकांश बामन क्षेत्रीहरु मस्टो–देवताको पूजा गर्छन् । मस्टो–देवतालाई गाई पनि चढाउनुपर्छ । सानो जातिलाई दूध–दही दिइएमा गाई बाँझो हुने, घरको मुली मान्छे विरामी हुने अन्धविश्वास छ ।
टीका र प्रसाद लिएपछि छिता र लच्छु घरतिर लाग्छन् । अँध्यारो बाटोमा छामछुम गर्दै, अँध्यारो गन्तव्यतिर । अरुको जीवनमा रातपछि बिहान आउँछ, तर छिताको जिन्दगीमा रातपछि बिहान त आउँछ र त्यो बिहानीसँगै पुरानै दिनचर्या सुरु हुन्छ । हो‚ बिहानदेखि नै छिताको दैनिक कार्य पुरानै रीतले घुम्न थाल्छ कुमालेको चक्रजस्तै । तर कहिलेसम्म यसरी नै चल्छ छिता र छिताहरुको जिन्नगी ?

साभार : - इसमता//हुम्लाकी छिता सार्की : कुमाले चक्रजस्तै हो जिन्नगी ?

No comments:

Post a Comment