परिवारका ठूलाले जाल र महाजालको प्रयोग गरेर माछा मार्ने गर्छन् । बालबालिका भने खोला र नदीमा पासो थापेर माछा मार्ने गर्छन् । यसरी माछा मारेर नै बादी समुदायको जीविकोपार्जन हुन्छ । विद्यालयमा नाम लेखाएका बादी बालबालिकासमेत दिनभर नदी र खोलामा रमाउने गर्छन् । तर, विद्यालय नगए पनि उदार कक्षोन्नति नीतिका कारण ती बालबालिका कक्षा उक्लने क्रम भने रोकिएको छैन । नाम लेखाएकाले दलित छात्रवृत्ति पनि नियमित पाइरहेका छन् । बादी समुदायको बस्तीनजिकै कालिमाटी बजार छ । उनीहरू माछा मार्नेबित्तिकै बजारमा लगेर साढे तीन सय रुपैयाँ किलोमा बिक्री गर्छन् । ‘पढेर के हुन्छ ? माछा बेचेर पैसा आ’म्छ, मन लागेको कुरा किनेर खान पाइन्छ,’ १२ वर्षीय बालक हिरा बादीले भने । उनले आफूले कमाएको पैसा खर्च गरेर बचेपछि आमाबुबालाई दिने गरेको बताए । अहिलेसम्म यो समुदायमा कोही पनि एसएलसी उत्तीर्ण भएका छैनन् ।
विद्यालय गएका बालबालिकाले पनि ५ कक्षापछि पढाइ छाड्ने गरेको अभिभावक बताउँछन् । ‘विद्यालय पठाएर के गर्नु ? पढ्नै मान्दैनन्,’ स्थानीय बुद्धिमान बादीले भने, ‘पढ्नुभन्दा माछा मारेर पैसा कमाउन रहर गर्छन् ।’ आफ्ना छोराछोरी पढाउने ठूलो रहर भए पनि पढाउनै नसक्ने अवस्था भएको स्थानीय विष्णु बादीले बताइन् । ‘न बाबाले पढे न बाजेले पढे, यी केटाकेटीले त पढ्लान् भनेको पढ्नै मान्दैनन्,’ स्थानीय विद्यालयका शिक्षक डिल्ली गिरीले भने । आफूहरूले जति प्रयास गर्दा पनि बादी समुदायका बालबालिकालाई विद्यालयमा टिकाइराख्न नसकेको उनको भनाइ छ । गरिबीका कारण अति विपन्न अल्पसंख्यक बादी समुदायका बालबालिकालाई विद्यालयको पहुँचसम्म पुर्याउन सरकारले विशेष कार्यक्रम अघि सारे पनि ती बालबालिकालाई कार्यक्रमले समेट्न सकेको छैन । जिल्लामा विद्यालय जाने उमेरका करिब आठ हजार बालबालिका विद्यालयबाहिर छन् ।
No comments:
Post a Comment