२०७२ साउन २४, विभेद विरुद्ध अभियान ।
कुराकानीको प्रसंग सुरु हुन्छ छोरीले गरेको प्रश्नबाट ।
मामु मामाको निधारमा कसरी चोट लाग्यो ?
पुलिसले हिर्काएर !
पुलिसले किन हिर्काउनुभयो ?
आन्दोलन गरेको भएर ।
आन्दोलन भनेको के हो ?
मलाई छोरीले बुझ्ने भाषामा बुझाउन गाह्रो पर्यो । किनभने छोरी अझै बच्चै थिई, उसलाई आन्दोलन सान्दोलनको कुरा थाहा हुने कुरै भएन ।
बच्चा भएरै होला, छोरीले सोध्ने प्रश्नले मलाई उत्तर खोज्न र बुझिने भाषामा भन्न कर लगाउँछ । यसरी उसले सधैंजसो मेरो भाषालाई सरल बनाउने प्रयास गरिरहन्छे । सरल भाषामा बुझाउनु भनेको त स्कुल र क्याम्पसमा लिइने परीक्षा दिनभन्दा निकै जटिल हुँदो रहेछ ।
छोरीको प्रश्नलाई टालटुल पार्न मेरो ब्रह्मले दिँदैन । आन्दोलनको प्रश्नले पनि मलाई अप्ठेरो बनायो, कब कसरी उत्तर दिने ?
मैले एकछिन सोचे, विचार गरें, त्यसपछि छोरीले पढ्दै गरेको कथासँग जोडेर कुरा बुझाउन खोजें । ऊ अचेल ‘यङ्ग लर्नर्स दि एपिक महाभारत’को पढ्दैछे । त्यसको पाठ ‘स्कुलिङ अफ प्रिन्स’मा लेखिएको कुरा सम्झाउन खोजें ।
मैले कुरा उप्काएँ ।
पहिले पहिलेदेखि हिन्दु समाज चार वर्णमा बाँडिएको थियो । ब्राह्मण, क्षेत्री, वैश्य र शूद्र ।
छोरीले भनी, ए ! ए त्यही क्षेत्रीका कुरा ! मामु, कौरव र पाण्डव पनि क्षेत्री हुन् । उनीहरु फाइट खेल्छन् अनि आफ्नो मानिसको सुरक्षा गर्छन् । अनि हजुरको मामु पनि त क्षेत्री हो नि । ए, लौ मलाई याद आयो । पहिला पहिला के थियो रे ? ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र ।
उसले कण्ठ पारेको चार वर्णको विषय बुझाउन अलिक सहज हुँदैन होला भन्ठानें, तर त्यसो भएन ।
छोरी, तिमीलाई कतिसम्म गन्न आउँछ ?
हन्ड्रेडसम्म आउँछ, मामु ।
हो…. त्यस्तै हन्ड्रेड टेन वटा भएपछि थाउजेन्ड हुन्छ । अनि फेरि थ्री वटा थाउजेन्ड भएपछि थ्री थाउजेन्ड हुन्छ । हो…. त्यति लामो समयदेखि हिन्दु समाजमा चार वर्ण छन् । अनि यी चारै वर्णको आआफ्नै काम पनि छन् । ती काम फरक फरक छन् ।
ब्राह्मणले पढ्ने लेख्ने काम गर्छ है मामु ? क्षेत्रीले फाइट खेल्छ । अनि वैश्यले के गर्छ ?
वैश्यले व्यापारको काम गर्छ छोरी ।
अनि शूद्रले ?
शूद्रले सबैलाई सेवा गर्छ । हेल्प गर्छ ।
अहो, कस्तो राम्रो हुनुहुँदो रहेछ शूद्रहरु त ।
हो नि छोरी, तर उनीहरुलाई ब्राह्मण, क्षेत्री, वैश्यहरुले ‘तिमीहरु हामीजस्ता मानिस होइनौ, तिमीहरु अछूत हौ, हामीलाई छुनु हुँदैन’, भन्छन् ।
किन हुँदैन मामु ?
यी हजुरलाई मैले छोएँ, के भयो ?
नाईं केही नि भएन ।
अनि किन भयो त शूद्र अछूत ?
सही प्रश्न गर्यौ ।
मैले केही समयदेखि उसलाई के ? किन ? कसरी ? कहिले ? र कहाँ ? भन्ने प्रश्नबारे सिकाएकी थिएँ । हो, ‘प्रश्न साथी’ बनाइदिएकी थिएँ । ऊ आजकाल त्यही साथीसँग प्रायः खेल्छे ।
छोरी, शूद्र किन अछूत भए भन्ने कथा म अर्को पटक भन्छु है । मामुले पनि आजकल यही कथा पढ्दै छु । यो ठूलो प्रश्न हो । तर म तिमीले सोधेको मामालाई किन पुलिसले कुट्नुभयो भन्ने कुरा सुनाउँछु है ।
हस् मामु ।
ब्राह्मण, क्षेत्री र वैश्यले शूद्रलाई “तिमीहरु हामीजस्तै मानिस होइनौ, तिमीहरु अछूत हौ, हामीलाई छुनु हुँदैन” भन्दा शूद्रहरुले “हामी पनि तिमीहरुजस्तै मानिस हौं, हामी पनि सोच्न सक्छौं” भने ।
ए ! मामु, भनेपछि शूद्रहरु मास्टर हो ?
होइन, छोरी । उनीहरु थ्री थाउजेन्ड इयर्सदेखि स्लेभको रुपमा बाँच्दै आएका छन् ।
त्यसो भए मामु, किन नेहरुले सोच्न सक्ने माउतेलाई मास्टर र नसक्ने इलिफेन्टलाई स्लेभ भन्नुभयो त ?
उसले खेल्ने गरेको साथीको आलोचनात्मक प्रश्नले मलाई अप्ठेरो पार्यो । तर प्रयत्न गर्न भने जारी राखें ।
छोरी, सोच्न सक्ने शूद्रलाई सोच्न नसक्ने भनेर कथा बनाएको लामो समय भइसक्यो । र, यो कथा समाजमा चल्दै आएको छ ।
कथा कसले लेख्नुभयो मामु ? हत्तेरीका ! म पनि कस्तो मान्छे होला ? हजुरले अघि नै लेख्ने पढ्ने मान्छे ब्राह्मण, प्रोटेक्सन गर्ने मान्छे क्षेत्री भनी सक्नुभयो त ? कथा पनि पक्कै ब्राह्मणले लेख्नुभयो होला है ?
हो, छोरी तिमीले ठिक भन्यौ । पढ्न लेख्न जसले जान्यो, उसैले कथा लेखे । लेखेपछि पनि पढ्ने लेख्नेले नै पढे । त्यसैले पढ्न र लेख्न जान्नेहरुको कथा हामीले पढ्न पायौं ।
त्यसो भए मामु, नपढ्ने, नलेख्ने, अरुलाई हेल्पमात्रै गरिरहने शूद्रको कथा हामीले कहिले पढ्ने त ?
कहिले होला जस्तो लाग्छ छोरी ?
थाहा छैन मामु मलाई ।
तिमीले मलाई प्रश्न गरेपछि मैले पनि त तिमीलाई सोध्नु पर्यो नि होइन ।
हो मामु ।
त्यसो भए भन त तिमीलाई कैले होला जस्तो लाग्छ ?
जहिले शूद्रहरुले लेख्छन् त्यहिले ।
हो, ठिक उत्तर ।
छोरी मुसुक्क हाँसी । उत्तर मिल्दा छोरी सधैं खुसीले फुर्किन्छे ।
मामु अघि हजुरले भन्नुभएको कथामा शूद्रहरुले हामी पनि क्षेत्री, ब्राह्मण, वैश्यजस्तै हौं भनेको ठिक हो नि ?
अनि फेरि पुलिसले किन कुट्नुभयो त मामालाई ?
छोरीले मामालाई पुलिसले कुटेको कारणको जवाफ खोजेको खोजै गरी ।
मामा पनि शूद्र हो र मामु ?
हो, छोरी त्यहाँ कुटाइ खाने हामी सबै शूद्र हौं ।
सबै रे ? हजुर पनि शूद्र हो र ??
हो छोरी ।
ठिक कुरा गर्दा किन कुटाइ खानुभयो त मामाले ?
छोरी अब अलि गाह्रो कथा छ । तिमीलाई पछि भन्छु है ।
नो मामु, यु सुड टेल मि ।
फेरि गाह्रो भयो भने तिमीले दिक्क मान्छ्यौ ।
नो नो । यु सुड टेल मि ।
छोरी रुन थाली ।
फेरि अर्को संकट ।
छोरी अहिले हामी सबै चार वर्णको मात्र नभएर वर्णव्यवस्थाबाहिरका मानिसको भविष्य पनि लेखिँदैछ ।
के हो भविष्य भनेको मामु ?
साँच्चै छोरी तिमी फ्युचरमा के बन्ने रे ?
म त डेन्टिष्ट बन्छु कि ? टिचर बन्छु कि ? पापाजस्तै अरुलाई हेल्प गर्छु कि ? थाहा छैन ।
तर मामुले बनाइदिने फ्युचर र तिमीले बनाउने फ्युचर अलिक फरक हुन्छ नि ।
फेरि त्यो भनेको के हो मामु ?
मैले भन्न खोजेको, पहिलो कुरा तिमी जस्तो चाहन्छौ त्यस्तै भविष्य । दोस्रो, म जस्तो चाहन्छु त्यस्तै भविष्य ।
उदाहरणका लागि तिमीलाई ब्याले डान्स गर्न मन पर्छ । स्टोरी पढ्न मन पर्छ । भ्वायलिन बजाउन मन पर्छ । साथीसँग, मामुसँग खेल्न मन पर्छ । दिदीहरुसँग बस्न मन पर्छ । तर तिमीलाई अरुको घरमा काम गर्न जाने मामुहरुले जस्तै कोठाभित्र ताल्चा लगाएर मामु काममा जानुभयो भने तिमीलाई त्यो मन पर्छ ?
अहँ मन पर्दैन ।
म असल मामु हो भने तिमीलाई खुसी हुने, मन पर्ने काम गर्नुपर्छ होइन ?
हो मामु ।
मैले मन नपरेको काम गरें भने तिमी के गर्छौ ?
कहिलेकाहीं रुन्छु । कहिलेकाहीं कराउँछु मामु ।
अहिले हाम्रो देशमा हामी जनताको भविष्य लेखिँदैछ । त्यो भविष्यको नाम हो संविधान । तर त्यो किताबमा सबैलाई खुसी पार्नेगरी लेखिएको छैन । हामीलाई मन नपर्ने कुरा लेखिएकाले हामी आन्दोलन गर्न गएका हौं । त्यसैले मामु र मामाहरु सडकमा कराउन गएका हौं, आन्दोलन गर्न गएका हौं ।
त्यो संविधानमा के लेखिँदैछ त मामु ?
त्यसैले हामी ब्राह्मण, क्षेत्री, वैश्य, शूद्र अनि वर्णव्यवस्थाबाहिरका सबै एक हौं कि होइनौं भन्ने कुरा निर्धारण गर्छ । हामी सबै एक हांै पनि होइनौं पनि । एक हौं कसरी भने सबै जनाले स्वास फेर्दा अक्सिजन लिन्छ कार्बनडाइअक्साइड फाल्छ । पेट भर्न खाना खान्छ । तिर्खा मेटाउन पानी खान्छ । ज्यानलाई आरामका लागि सुत्छ । यसरी हेर्दा हामी सबै एकै हौं । अर्को ढंगले हेर्दा हिन्दु समाजमा यी चार वर्ण र वर्णव्यवस्थाबाहिरकाले स्वास फेर्दा लिने हावा फरक हुन्छ । भीमराव अम्बेडरले भन्नुभएको छ, हामीले स्वास फेर्दा लिने अक्सिजनमा जात छ । त्यसैले जहाँतहीँ जातको गन्ध आउँछ । पुलिसले हानेको लात्ती, हिँड्ने बाटो, संविधान सबैमा जातकै गन्ध आउँछ ।
ए हो ?
हो नि ।
त्यसो भए मामु म र मजस्तै मेरा साथीहरुले जात भनेको के हो भने बुझ्ने ?
छोरी, पहिले पहिले जे काम गरिन्थ्यो, त्यही कामअनुसार वर्ण हुन्थ्यो । पछि वर्ण भनेकै जात भनियो । पछि जातअनुसार काम हुने भयो । जुन जातमा जन्मिएको हो, त्यहीअनुसारको काम गर्नुपर्ने नियम बनाइयो । त्यही नियम नै संविधान थियो, कानुन थियो, ऐन थियो । अब सबैलाई बराबरी गर्ने संविधान बनाउनुपर्छ भनेरै हामी सडकमा निस्केका हौं ।
========
मैले दिएको उत्तर कत्तिको सही भयो ? तपाईंहरुले पनि आफ्ना छोराछोरीसँग यस्ता सामाजिक प्रश्नमा छलफल गर्नुभएको छ ? छ भने थाहा पाउँ, कत्तिको गाह्रो वा सजिलो हुने रहेछ, हाम्रो समाजबारे बुझ्न र बुझाउन । अनुभव साटासाट गरौं ।
इसमता बाट
No comments:
Post a Comment