डडेल्धुराका ग्रामीण बस्तीहरु छुवाछूत मुक्त हुदै

डडेल्धुरा, ५ भदौ , विभेद विरुद्ध अभियान । पहिला त बाहुन क्षेत्रीका धारामा पानी पिउनका लागि उनीहरुसँग माग्नु पर्दथ्यो तर अहिले भने कसैलाई नसोधे पनि सजिलैसित धारामा गएर पानी पिउन सकिने डडेल्धुरा कोटेली गाविस–७ निनतोलाका रमि भुलले बताए ।
सबै जातका मानिस एउटै हुन, जातले मानिस ठूलो सानो हँुदैन भन्ने चेतना सबैमा उजागर भएपछि ग्रामीण बस्तीमा गरिँदै आएको भेदभावमा कमी आएको बताउछन् दलित अगुवा सोमलाल दमाईं । उनी भन्छन् । “गाउँमा गरिने उचनिचका व्यवहार आजभोलि त पटक्कै गरिँदैन ।”
गाउँघरमा रहेका पसलमा चिया पिउँदा अरुले तिरेको पैसा बराबर हामीले पनि दिन्थ्याँै तर गिलास पखाल्नु पर्ने र खाजा नास्ता खाएका प्लेट सफा गरेर राख्नुपर्ने हुन्थ्यो तर अहिले भने त्यसो कसैले गरेको पाइँदैन र गर्न पनि लगाउँदैनन् भन्छन् समैजी–५ का ५६ वर्षीय हर्केस पार्की ।
सार्वजनिक ठाउँमा बोल्दा हामीले अन्य जातिको मुखबाट गाली खानु पर्ने वा बोल्न नै पाइँदैन्थ्यो तर अहिले भने आफूहरु निर्धक्कका साथ सार्वजनिक ठाउँमा बस्न, आफ्ना कुरा राख्न र भन्न पाउने ग्रामीण बस्तीका दलितको भनाइ छ ।
सार्वजनिक कार्यमा अर्का जातिका मानिसले आफ्नो समुदायलाई समेत सहयोग पु¥याउँदै आइरहेको कोटेली–७ सुनकोटका शीतल भुलले बताए ।
विभिन्न गाउँठाउँका जातीय छुवाछूतका बारेमा सबै जातजातिका युवायुवती राखेर जनचेतना बढाउने कार्य धेरै संस्थाले गर्दै आएका छन् । जसले जातीय विभेद दिनैपिच्छे विस्तारै पूर्णरुपमा न्यून हुँदै गइरहेको र सम्पूर्ण ग्रामीण बस्ती छुवाछूत मुक्त हुने भनाइ साझा पहल परियोजनाका कार्यक्रम संयोजक रामेश्वर जैरुको रहेको छ ।
डडेल्धुराको कोटेली गाविसले दुई वर्ष अगाडि गाविसलाई नै छुवाछूत मुक्त गाविस घोषणा गर्ने निर्णय गरेको भए पनि त्यो कार्य भने केही महिना पछि मात्र हुने वडा नागरिक मञ्चका संयोजक लक्ष्मी धिक्तले बताए । 

No comments:

Post a Comment