सोमपाल कामी सहित ११ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान

काठमाडौं, साउन २७, विभेद विरुद्ध अभियान - युुवा तथा खेलकुद मन्त्रालयले ९ खेलाडी र २ प्रशिक्षक गरी ११ जनालाई राष्ट्रिय खेलकुद प्रतिभा सम्मान पुरस्कार प्रदान गरेको छ । सम्मानित हुनेमा सबै भन्दा बढी एथलेटिक्सका ३ जना खेलाडी छन् । केशरी चौधरी, सुनील चौधरी र प्रमिला चौधरी सम्मानित भए । 
त्यस्तै सम्मानित हुने अन्य खेलाडीमा करातेकी विमला तामाङ, क्रिकेटका सोमपाल कामी, तेक्वान्दोकी ज्ञानी चुनारा, पारा एथलेटिक्सका विक्रमबहादुर राणा, किक बक्सिङका दिवस श्रेष्ठ तथा भलिबलकी विनिता बुढाथोकी छन् । सुनील र प्रमिलाले समान ५०–५० हजार रुपैयाँ पुरस्कार पाए । अन्य ७ खेलाडीले जनही १ लाख रुपैयाँ प्राप्त गरे ।
 सम्मानित हुने प्रशिक्षकमा क्योकुसिन करातेकी सन्जु महर्जन र ब्याडमिन्टनकी रजनीमैया जोशी रहेका छन् । सम्मानितहरुलाई उप्रधान तथा गृह मन्त्री वामदेव गौतम, युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेललगायतले कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रबीच प्रशंसापत्र र नगद पुरस्कार प्रदान गरे । सम्मान कार्यक्रमअघि अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रत्नपार्कदेखि प्रतिष्ठानसम्म प्रभातफेरी आयोजना गरिएको थियो । सोही प्रभातफेरी प्रतिष्ठानमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।   
उज्यालो बाट

No comments:

Post a Comment