स्वर्गद्वारी मन्दिरमा जातीय विभेद गर्ने पण्डित निलम्बित

  • ३० साउन, विभेद बिरुद अभियान । 

स्वार्गद्वारी आश्रमले ‘आश्रममा दलितमाथि विभेद’ भन्ने विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै विवादित ब्राह्मण दण्डपाणि चालिसेलाई निलम्बन गरेको छ ।

आश्रम व्यवस्थापन समितिले विज्ञप्ति जारी गर्दै आश्रममा जातीय आधारमा कसैमाथि पनि विभेद नहुने बताएको छ ।दाङको त्रिपुर नगरपालिका–६ सिस्नेरीका बसन्ता र भिबहादुर नेपालीलाई प्यूठानस्थित स्वर्गद्धारी आश्रममा पूजा गर्नबाट बञ्चित गरिएको भन्ने समाचार सञ्चारमाध्यममा प्रकाशित भएपछि आश्रमले विज्ञप्ति जारी गरेको हो ।

विज्ञप्तिमा नेपाली दम्पतीले पूजाका लागि आश्रमभित्र औपचारिक रुपमा रसिद काटी तोकिएका व्यक्तिबाट पूजा गराउनु पर्नेमा त्यसो नगरी आश्रममा गाई दुहुने व्यक्तिसँग सम्पर्क गरेको र उनले मन्दिरमा पूजा गर्ने नियमअनुसार नगराई आश्रम बाहिरै पूजा गराउँदा आस्थावान व्यक्तिमाथि दुर्व्यवहार हुन पुगेको समितिले जनाएको छ ।

समितिले आश्रमभित्रका कुनै पनि मन्दिरमा पूजा अर्चना गर्न–गराउनका लागि आश्रममा निश्चित शुल्क तिरेर रसिद काटी तोकिएका ब्राह्मणबाट गराउनु पर्ने नियम गत १ वैशाखदेखि लागू गरिएकाले पूजा गर्न गराउन चाहने जो कोहीले आश्रमभित्र सम्पर्क राख्न पनि आग्रह गरेको छ ।

हरिप्रसाद अधिकारीद्वारा जारी विज्ञप्तिमा आश्रमभित्र कसैमाथि पनि जातीय विभेद नहुने भन्दै त्यसो भएमा व्यवस्थापन समितिसँग सम्पर्क गर्न पनि भनिएको छ ।

सिस्नेरीका नेपाली दम्पतीको सम्पर्कमा आएका दण्डपाणी चालिसेले भक्तजनलाई आश्रमको नियम नबुझाई बाहिरै काम सम्पन्न गराउन खोजी आश्रमको नियम उल्लंघन गर्नुका साथै भ्रम सिर्जना गरेकाले एक महिनाका लागि निलम्बन गरिएको समितिले जनाएको छ ।

दलित भन्ने थाहा पाएपछि गोठमा पूजा गराइयो​


नयाँ संविधान जारी भएपछि के हुन्छ थाहा छैन अहिलेसम्म नेपाल धर्मनिरपेक्ष मुलुक हो। अन्तरिम संविधान २०६३ अनुसार नेपालमा धर्मनिपरेक्ष मुलुक हो। तर, अझै पनि सबै जातजातिका मानिस एउटै मन्दिरमा बसेर पूजाआजा गर्न पाउँदैनन्। यसै मेसोमा र्भखरै प्युठानको स्वर्गद्वारी मन्दिरमा एक दलित परिवार मन्दिरभित्र पूजाआजा गर्नबाट वञ्चित भएको छ।

मन्दिरमा पूजा गर्नबाट वञ्चित गराएर गोठमा पूजा गराइएपछि अपमानित महसुस गरेर दाङ फर्केका दाङ त्रिपुर नगरपालीका ६ सिस्नेरी निवासी बसन्ता नेपाली  र श्रीमान भीम नेपालीले पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेका छन्।
पीडित बसन्ताको बयान जस्ताको तस्तैः

जेठी छोरी सन्ध्या ११ वर्षकी भई, ऊ चार वर्षदेखि बिरामी छे। बेहोश हुने, देउता चढेजस्तो गर्ने समस्याले ज्योतिषलाई हेराउँदा संकटा ग्रह भएकाले ग्रहदान गर्न भनियो। स्वर्गद्वारी मन्दिरमा धेरै पूजारी हुने भएकाले त्यही जान ज्योतिषले सुझाव दिए।
हामी यही साउन २२ गते स्वर्गद्वारी गयौं। अघिल्लो दिनमै गएर हामी बास बस्यौं र २३ गते विहानै पूजापाठका लागि मन्दिरमा छिर्यौं। पूजारीले दुई छोरी र हामी श्रीमान श्रीमतीलाई मन्दिरभित्र बस्न भने। त्यहाँ हलजस्तो कार्पेट बिछ्याएको सफा ठाउँ थियो।
पूजाका सबै सामाग्री तयार बनाएर पूजारीले भित्र आउ भने, हामी बसेर पूजा गर्न शुरु गरेपछि पूजारीले मन्त्र भट्ट्याइरहेका थिए, त्यसै क्रममा  आफ्नो नामथर र गोत्र सोधेपछि मैले थर नेपाली भन्ने बित्तिकै एकाएक उठेर पूजारीले पूजा गर्न नसक्ने बताए।
हामीलाई अचम्म लाग्यो, अघिसम्म निकै हाँसीखुशीरुपमा पूजा गर्न बसेर पात्रो पल्टाउँदै मन्त्र उच्चारण गरिरहेका पूजारी एकाएक उठेपछि मनमा चिसो पस्यो।
'किन उठ्नुभयो गुरु ?’– मैले पूजारीलाई सोधें।
'होइन, म अरु काममा लाग्नुपर्ने भयो, त्यसैले नभ्याउने भएँ’– पूजारीले यसो भनेपछि हामीलाई निकै दुःख लाग्यो।
त्यसपछि पूजारीले उता गाईगोठमा पूजाका लागि जान आग्रह गरे। गाईको गोठमा गएर पूजा गर्दा पवित्र हुने भन्दै उनले गाई दुधे बाजेलाई भनिदिने र उनी पनि पूजारी भएको बताए।
पात्रो पल्टाउँदै मन्त्रोच्चारण गरिरहेको बेला एक्कासी हाम्रो थर सुनेर कालोनिलो बनेका पूजारी त्यहीँ बस्नसमेत सकेनन् र सिधै गाईगोठतिर गए। उनले गाईगोठमा गएर 'दलितहरु आएका रहेछन् यतै पूजा गरिदिनुहोस्’ भनेपछि हामीलाई गोठमै बोलाएर गाई दुहुने व्यक्तिले पूजा गराए।
हामीलाई यस्तो अपमान किन गरियो? हामीले मन्दिरमा पूजा गर्न किन पाएनौं? पटकपटक सोध्यौं तर ती गाइ दुहुने व्यक्तिले 'होइन गाईगोठमा पूजा गर्दा अझ पवित्र हुन्छ, धेरैले यही पूजा गर्छन्, ग्रह फाल्ने यतै हो' भनेर हामीलाई फकाउँदै पूजा गरिदिए।
अरुले मन्दिरमा पूजा गरिरहेको बेला हामीलाई घासँपात र गोबरमात्र थुपारिएको गोठमा पूजा गराएर अपमान गरे। हामीले अपमान महसुस गर्दै पूजा गर्यौं र छोरी सन्धाको ग्रह शान्तिको ग्रह शान्ति गरिदिए वाफत २ हजार ७ सय दियौं। मेरो र श्रीमानको ग्रह शान्ति गरिदिए वापत छुटै १ हजार ५ यस रुपैयाँ दियौं।
त्यसपछि हामी फर्क्यौँ, छोरीले प्रसाद लिन जाउँ भने पनि हामी गएनौं, मलाई त्यो मन्दिर नै हेर्न मल लागेन। तल झर्दा एउटा मन्दिरकै पसल रहेछ। त्यहाँ एक जना 'बाजे’ रहेछन्, उनलाई हामीमाथि किन यसो गरियो भनेर प्रश्न गर्यौं तर उल्टै उनले यो मन्दिर व्यवस्थापन समितिको निर्णय हो, जहाँ पूजा गरे पनि गरिहाल्यौ नि किन मन्दिरभित्रै जानुपर्यो भनेर हकारे।
हामी दाङ आएर फेरि एकपटक फोन गर्दा बाहिर हल्ला नगर्नू, बरु पीर परेको भए आऊ पैसा फिर्ता गरौंला भनेर मन्दिरका व्यक्तिहरुले भनिरहेका छन्। हामीले पैसा फिर्ता त लिउँला तर हामीजस्तै अरु दलितले देशका कुनै पनि मन्दिरमा यस्तो अपमान भोग्नुनपरोस् भनेर यो घटना सार्वजनिक गरेका हौं।

No comments:

Post a Comment