जातिय विभेदको अन्त्य गरौं -डोलु आले मगर

भदौ १४ , विभेद विरुद्ध अभियान ।

‘ क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।’

सन् १९३० मा महाकवि- लक्ष्मीप्रसाद देवकोटा द्वारा रचित “मुनामदन” कविता संग्रहमा यी रहफहरु आज करिब ८० को दशक पछाडी सम्म पनि हाम्रो नेपाली समाजमा उत्तिकै सान्दर्भिक र मार्मिक छ। सायद यी क्रान्तिकारी र परिवर्तनशील चेतनाका हरफहरुले नेपाली समाजमा एउटा अमानवीय जातीय छुवाछुतको अन्त्यको निम्ति ठुलो फड्को मार्न सक्नु पर्दथ्यो। तर बिडम्बना दुखको साथ भन्नु पर्छ मानव हौँ भन्नेहरुले अर्को मानवलाई उचोनिचो र छुट अछुतको व्यबहार प्रथा कायम रहनु आजको २१ औं शताब्दीको लज्जास्पद र घीनलाग्दो नेपाली समाजको प्रतिक बनेको छ।
 म करिब ५-६ कक्षमा पढ्ने बेलाको कुरा होला। मेरो घरमा लुगा सिउने दमाइ र आरन चलाउने कामि वालिघरे प्रथामा चलेको उनीहरु जब अन्नवाली उठाउन आउनु हुन्थ्यो तब घरमा बज्यै र आमा लगायतले उहाँहरुलाई खान दिएको भाँडो आफैलाई माझ्न लगाउनु हुन्थ्यो। आफुले खाएको भाँडो आफै माझ्नु राम्रो नै भए पनि उनीहरुलाई जातीय विभेदको कारण त्यसो गरिन्थ्यो। र मलाइ उनीहरुले खाएको भाँडाकुँडा माझ्दा उनीहरुले माझेको भाँडो नछुएर पानी हाल्न लगाउनु हुन्थ्यो। मैले छुवाएर हाल्दा आमा-बज्यैले गालि गर्नु हुन्थ्यो। तर दलित भएकै कारण सार्वजनिक पानी धाराहरुमा पानी भर्न नदिएको भन्ने घटना भने नजिक बाट देखेको थिएन। जुन सिराहा जिल्लाको धनगढी गाविसको वडा नम्बर ३ स्थित नयनपुरमा रहेका दुई घर डोमलाई कथित उच्च जातका मानिसहरुले इनार छुन नदिएको घटना सार्वजनिक भयो।
 जब प्राकृतिक विपत्ती आइ लगेर भूकम्प जाँदा घरबारविहीन हुँदै खुल्ला आकाशमा रात बिताउनु पर्ने अवस्था सिर्जना हुँदा छिमेकको घरमा ओत पाउन सक्दैन मनिता बि.कहरुले। भूकम्प पश्चात राहात वितरणमा पनि जातीय विभेद गरेको खबरहरु छापामा आए। आफुलाई ठूला जात हौँ भन्नेहरुले आफ्नो जातीय अहंकार देखाउदै दलितहरुलाई दिन लागेको राहत पनि खोसेको घटना सार्वजनीक भयो। समाजले तल्लो जातिको फूर्का भिराएकै कारण थर लुकाएर प्रेम गर्न बाध्य छन् थुप्रै जीवनहरु।
 सिंगो समाज उठेर डोमहरुलाई इनार छुन नदिएको घटनाले हाम्रो समाज अनि चेतनाको स्तर कहाँ छ छर्लंग पारेको छ। स्वर्गदारी मन्दिर पुजा गर्न जाँदा दलित भएकै कारण पण्डितले पुजा नगरिदिएको घटनाहरु कति सर्मनाक छ। के हामीले एउटा मानवले अर्को मानवलाई गर्नु पर्ने व्यबहार यहि हो ? के हाम्रो धर्मले हामीलाई त्यहि सिकाएको छ ? हाम्रा हिजोका पुस्ताले मानिआएको संस्कार भनेर यस्ता अमानवीय व्यवहारलाई हामीले पनि निरन्तरता दिनु भनेको कुनै जमानामा हाम्रो पुस्ता नांगै हिड्ने गर्थ्यो भन्दै आज पनि नांगै हिड्नु हो।
 जातीय छुवाछुत हामीले हाम्रो घर परिवार, समाज, छर छिमेकमा सबै तिर देख्न र भोग्न सक्छौं। जगजाहेर छ जातीय छुवाछुतको शिकार सबै भन्दा बढी दलित समुदाय बनेको छ। ब्राह्मण, क्षेत्री, जनजाती लगायत सबै समुदायबाट दलितहरु छुवाछुतको शिकार बनेका छन्। चेतना र शिक्षाको कारण हिजो आज केहि कम हुदै गरेको भएता पनि अझै पनि ठुलो समस्याको रुपमा जातीय छुवाछुतको प्रथा कायम छ। अझ ब्राहमण,क्षेत्री, जनजाती समुदाय भित्र पनि थर अनुसारको ठुलो सानो भन्ने प्रचलन छ। स्वयम् दलित समुदाय भित्र पनि ठुलो सानो भन्ने प्रथा कायम छ। तर सबैभन्दा बढि जातिय छुवाछुतको मारमा दलित समुदाय नै छन्।
 जुन समुदायले बनाएको मुर्ति,त्रिशुल बोकेर मन्दिर चढाउछौं, तिनै समुदायलाई हामी मन्दिर प्रवेशमा रोक लगाउँछौँ, जुन समुदायले सिलाएको कपडा पहिरिएर हामी आफ्नो लाज ढाक्छौं हामी तिनै समुदायलाई अछुत मान्छौं। यो हाम्रो कस्तो अमानवीय व्यबहार हो ? यो कस्तो हाम्रो दरिद्रता हो ? यो हाम्रो कस्तो प्रथा हो जसलाई अहिले सम्म पालेर राखेका छौँ ? श्रम चल्छ सिप चल्छ पानी नचल्ने किन ? समय संगै ति समुदायमा मात्रै यी पेशाहरु सिमित छैन बदलाव आएको छ। तर हाम्रो मन मष्तिस्कमा जातीय छुवाछुतको भावनाले जरा गाडेको छ। जसलाई हामीले किन उखेल्न चाहेका छैनौ ? उखेलौं आजै देखि आफै बाट।
 हुन् त् यहाँ राज्यनै जातीय विभेदको अन्त्यको निम्ति अनुदार भएको हो कि भन्ने विम्वहरु पनि देखिएको छ। जातीय विभेद जस्तो अमानवीय व्यवहारलाई अन्त्य गर्न कडा कानुनको व्यवस्था गर्दैन। खुलेआम जातीय विभेद गर्नेहरुलाई कारबाही गर्न सक्दैन। एउटा सिंगो समाजले दलित भएकै कारण डोम परिवारलाई खाने पानी इनार छुन दिदैन भने त्यहाँ राज्यको भूमिका के ? के ति जातीय छुवाछुतको अमानवीय व्यबहार गर्ने नावलाक र वृदवृदाहरुलाई बाहेक हत्कडी लागएर जेल कोच्नु पर्दैनथ्यो ? हुनत यहाँ कथित धर्मको नाममा आन्दोलन बन्द चक्काजाम गर्दा प्रशाशन सुरक्षा कवज बनिदिन्छ तर दलित समुदायले आफ्नो अधिकार संविधानमा लेखिनु पर्छ भन्दै सडकमा टेक्ना साथ् धरपकड र दमन गर्दछ।
जातीय छुवाछुत प्रथा कायम रहनुमा म अनि तपाइँ हामी सबै उत्तिकै जिम्मेवार र दोषी छौं। हामीले आफ्नै घर परिवारमा आफ्नै आफ्नतीहरुले जातीय छुवाछुत गरिरहँदा हामी चुप बसी दिन्छौं। कम्तिमा यसो गर्नु हुदैन भन्न समेत सक्दैनौ। कुनै दलितले तिम्रो घर भित्र पस्न पाउनु पर्छ भन्दैन। मैले पकाएको खानै पर्छ भन्दैन। जातीय विभेद घर र पानी संग मात्र सम्बन्धित होइन र छैन। तर जातीय विभेद सार्वजनिक स्थानमा हुने र गरिने अपमानको अन्त्य हुनुपर्दछ। कुनै दलित र खस आर्य वा जनजाति समुदायको केटा वा केटि वैवाहिक सम्बन्धमा बाँधिएकै कारणले उसलाई सार्वजनिकरुपमा हुने अपमानको अन्त्य गरिनु पर्दछ। उसलाई हेरिने हेयको दृष्टिकोण र भावनालाई त्याग्नु पर्दछ। सार्वजनिक स्थानहरुमा निर्वाद रुपमा उपस्थिती र सार्वजनिक सम्पतिहरुको अरु समुदायहरुले जस्तै प्रयोग गर्न पाउनु पर्दछ। हामीले आफ्नो घरमा कुकुर बिरालोलाई पाल्छौं तिनीहरुलाई भित्र पस्न कुनै छेकबार छैन भने एउटा मानवले अर्को मानवलाई अछुत भन्दै घर भित्र पस्न नदिनु हामि कस्तो र कुन युगको मानवधारी हौँ ? घर भित्र पस्न दिनु नदिनु, दलितले पकाएको खानु नखानु , दलितले छोएको पानी चल्नु नचल्नु , त्यो व्यक्तिगत कुरा होला तर जातीय छुवाछुतको आधारमा यसो गरिनु निन्दनीय, अमानवीय र लजास्पद छ। यस्तो अपराधलाई राज्यले कडा कानुन बनाएर भए पनि दण्ड सजाय गरिनु पर्दछ।
 जातीय विभेद समाजको एक निकृष्टतम अमानवीय व्यबहार हो यसलाई हटाउने सजिलो मध्यम भनेको शिक्षा र चेतना नै हो। तर नेपालमा शिक्षित भन्ने, अझ विधालयमा पढाउने गुरुहरु बाट नै यस्तो अमानविय जातीय छुवाछुतको व्यबहार हुनु लज्जास्पद छ, हुँदै आएको पनि छ। यसलाई कडा कानुन द्वारा दण्डनीय बनाइनु पर्छ। अब हाम्रो यो पुस्ताले पनि जातीय छुवाछुतको प्रथा कायम राख्नु भनेको हाम्रो आउने पुस्ताहरुलाई पनि लज्जित बनाइ राख्नु,समाज र देशको विकासमा बाधक बन्नु हो। त्यसैले आजका हरेक युवाहरुले आफु र आफ्नो ठाउँबाट जातीय छुवाछुत जस्तो अमानवीय निन्दनीय कार्यको विरोध र त्याग गर्नु पर्दछ। जातिय छुवाछुत जस्तो घृणित अमानविय प्रथा हटाउनको निम्ति आजको युवा सचेत र जागरुप हुनु पर्दछ। जातिय छुवातछुत प्रथाको अन्त्यको निम्ती आफै बाट सुरु गरौ। समता,समभाव र विभेदमुक्त समाज निर्माणको लागि आ-आफ्नो स्थानबाट पहल गरौं।
जातीय विभेद अन्त्यको लागि लक्ष्मीप्रसाद देवकोटाको यो हरफहरु नै काफी थियो तर नेपाली समाजले चेत्दैन किन ?
क्षेत्रीको छोरो यो पाउ छुन्छ, घिनले छुँदैन
मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन ।’


फोनिज कोरिया बाट

2 comments:

  1. This comment has been removed by the author.

    ReplyDelete
  2. tapai ko lekh ramro chha tara घर भित्र पस्न दिनु नदिनु, दलितले पकाएको खानु नखानु , दलितले छोएको पानी चल्नु नचल्नु , त्यो व्यक्तिगत कुरा होला तर जातीय छुवाछुतको आधारमा यसो गरिनु निन्दनीय, अमानवीय र लजास्पद छ। dalit ko thau ma aru le pakhaeko bhannu vaeko vae ramro hunthyo kina vane dalit le pakhaeko ra chhoeko nakhanu pakai pani bayktigat hudaina jasto lagchha .

    ReplyDelete