संयुक्त दलित आन्दोलनका दोस्रो चरणका कार्यक्रमहरु सार्वजनिक

काठमाडौ ,२२ साउन , विभेद विरुद्ध अभियान । १० बटा राजनीतिक दलका भातृ संगठन, दलित संघसस्था र नागरिक समाज सम्मिलित दलित अधिकार संघर्ष समितिले दोस्रो चरणको आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।समितिले शुक्रवार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर ११ दिने आन्दोलनको कार्यक्रम घोषणा गरेको हो ।
घोषित आन्दोलनका कार्यक्रमहरुमा 
१. २०७२ श्रावण २२ गते : पत्रकार सम्मेलन मार्फत दोस्रो चरणको आन्दोलनको घोषणा ।
२. २०७२ श्रावण २३ गते :दलितसभासद, गैरदलित सभासद तथा दलित आन्देलनबीच संविधान निर्माणको मार्ग चित्र र आन्दोलनको सफलताबारे अन्तरसंवाद ।
३. २०७२ श्रावण २४ गते : महिलाहरुद्धारा नेतृत्व गरिने, महिलाहरु बक्ता भएको महिला र्याली ।
४. २०७२ श्रावण २५ गते : ७५ वटै जिल्लाबाट जुलुश सहित प्रजिअ मार्फत प्रधानमंत्रीलाई ध्यानाकर्षण पत्र ।
५. २०७२ श्रावण २६ गते : देशभरि २ घंटा चक्काजाम सहित सीटी जुलुश ।
६. २०७२ श्रावण २७ गते :टाउकोमा सेतो कपडा बाँधेर कफन जुलुश ।
७. २०७२ श्रावण २८ गते: राजनीतिक दलका शिर्ष नेताहरुसंग विशेष अन्तरक्रिया तथा प्रतिबद्धता ।
८. २०७२ श्रावण २९ गते : महाराजगंग, जमल, लाजिमपाट, घंटाघर, रत्नपार्क, त्रिपुरेश्वर हुंदै नयाँ वानेश्वरसम्म मोटरसाइकल र्याली ।
९.२०७२ श्रावण ३० गते : दलित समुदायका परम्परागत बाजा, हतियारसहित साँस्कृतिक झाँकी सहित बृहत जनप्रदर्शन गर्ने रहेको छ ।
दलित अधिकार संघर्ष समितिले दोस्रो संविधानसभाले स्वामित्व ग्रहण गरेका दलित अधिकार सम्बन्धी विषयलाई नयाँ संविधानमा उल्लेख गर्नु पर्ने, दलित प्रतिनिधित्व सुनिश्चित गर्न क्षतिपूर्तिसहित संघ, प्रदेश र स्थानीय निकायमा क्रमस ३, ५ र १० प्रतिसत प्रतिनिधित्वको सुनिश्चित गर्नु पर्ने, दलित उम्मेदवारवीच प्रतिष्पर्घा हुने गरी प्रत्यक्ष निर्वाचनमा समावेशी गरिनुपर्ने, राज्यको सबै निकायमा दलित समूदायको समानुपातिक प्रतिनिधित्व गराउनु पर्ने, दलितको हकमा रहेको कानून बनाई भन्ने शब्दावली हटाउनु पर्ने र महिलाको हकमा दलित महिलाको समानुपातिक हिस्सेदारी हुनु पर्ने माग राख्दै आन्दोलनको थालेको हो ।
यसका अतिरिक्त समितिले राष्ट्रिय सभामा सबै प्रदेशबाट कम्तिमा एक दलितको प्रतिनिधित्व, राष्ट्रपतिबाट सिफारिस ५ सभासदमा एक जना दलितको प्रतिनिधित्व गर्नु पर्ने र दलित अधिकारकर्मीवीच भएको सहमति कार्यान्वयन गर्नु पर्ने रहेको छ ।
समितिले पहिलो चरणको आन्दोलन अन्र्तगत साउन १९ गतेको कार्यक्रममा भएको दमनको विषयमा गृहमन्त्रीले दिएको जवाफ झुठा भएकोले आपत्ति प्रकट गर्दै सोही क्रममा पक्राउ परेका राजकुमार बसेमललाई तत्काल रिहा गर्न माग समेत गरेको छ । साथै दोस्रो चरणको आन्दोलनलाई समेत बेवस्ता गरिए तेस्रो चरणको आन्दोलन पार्टी छाड्ने समेतको हुने चेतावनी दिएका थिए ।
पत्रकार सम्मेलनमा नेकपा एमालेका सभासद जितु गौतमले दलितका मुद्दाहरु संविधानमा समावेश गराउन संबाद समिति, मस्यौदा समिति र संविधानसभामा अन्तिम समयसम्म लड्ने बताउँदै कुनै पनि मुल्य चुकाएर संविधानमा आफ्नो अधिकार सुनिश्चित गराई छाड्ने दृढता ब्यक्त गरे ।
उनले आफूहरुले राज्य नभई समान रुपमा सार्वभौम नागरिक हुन मात्र खोजेको स्पष्ट पार्दै संबैधानिक रुपमा आफ्नो भूमिका स्थापित हुनु पर्ने बताए ।
एमाओवादीका सभासद दलजित श्रीपाईलीले शिर्ष नेताहरुले आफूहरुको माग संबोधन गर्नेमा आशंका ब्यक्त गर्दै माग पुरा गर्न जस्तो सुुकै संघर्ष गर्न तयार रहेको घोषणा गरे ।
नेकपा मालेका सभासद कमला विश्वकर्माले संविधानसभा र संबाद समितिमा आफूहरुले राखेको कुरालाई टिप्दा समेत नटिपी हेपाहा प्रबृत्ति देखाउने गरेको गुनासो गर्दै अहिले नै दलित अधिकारको दुस्मन को हो भन्ने पहिचान गर्नु पर्ने आवश्यकता औल्याए ।
समितिका संयोजक विनोद पहाडीले दलितहरु आफ्नो अधिकार स्थापित गर्न जस्तो सुकै बलिदान दिन तयार रहेको भन्दै टाउकोमा कफन बाधेर संघर्षमा उत्रिएको बताए ।
पूर्व सभासद सम्भु हजारा पासवानले शान्ति पूर्ण आन्दोलनबाट पनि आफूहरुको माग नसुने अधिकार र लोकतन्त्रको लागि आफू जस्तो सुकै बलिदान गर्न तयार रहेको बताए ।
दलित नागरिक समाजका पद्म सुन्दासले आ आफ्नो दलमा दलित नेताहरुले अधिकारको विषयमा कन्भिन्स गर्न नसके पार्टी भित्रै आन्दोलन गर्नु पर्ने आवश्यकता औल्याए ।
नेपाल दलित मुक्ती मोर्चाका अध्यक्ष परशुराम रम्तेलले हिन्दुबादीहरुले हिन्दुृ राष्ट्रको माग गर्दै तरवार सहित जुलुस निकाल्दा केही नगर्ने सरकारले आफूहरुको शान्तिपूर्ण आन्दोलनमा दमन गरेको आरोप लगाउँदै दलितलाई अधिकारविहीन बनाएर ल्याउने संविधान टिक्नै नसक्ने ठोकुवा गरे ।
हेर्नुस प्रेस बिज्ञप्ति 

No comments:

Post a Comment