के यो देशमा डोमका लागि गणतन्त्र आएकै छैन ?- भोला पासवान

साउन ३२ , विभेद विरुद्ध अभियान ।
प्रसंग एक  
बत्ती काटियोपढाइ रोकियो !

रंजित महतो र उम्मेद मण्डल (खत्वे)ले साउनदेखि गाउँमा संयुक्त रुपमा ट्युसन कक्षा संचालन गरिरहेका थिए । कक्षामा दलित र गैरदलित गरी करिब २५ जना विद्यार्थी अध्ययनरत थिए । ट्युसन कक्षामा बिहान रंजित महतो र बेलुका उम्मेद मण्डलले पालैपालो पढाउँथे । तर सातायता दलित विद्यार्थीका लागि कक्षा बन्द छ । शिक्षक उम्मेद मण्डलको घरमा रंजित महतोको घरबाट ल्याइएको विद्युत समेत काटिएको छ ।
“तिम्रो आमाले डोमलाई इनार छुन उत्प्रेरित ग¥यो, डोमले छोइसकेको इनारको पानी खाँदैछ, त्यसैले अब हामी विद्युत दिँदैनौं । सँगै पढाउन पनि दिँदैनौ ।”
रंजित महतोकी आमाको भनाइ सुनाउँदै उम्मेदकी काकी सोनावत्ती मण्डलले भनिन्– “मेरा ३ वटा छोरी ट्युसन पढ्नबाट वञ्चित भएका छन् । गैरदलितका बालबालिका नियमित रूपमा पढे पनि मुसहर र खत्वेका बालबालिकाका लागि कक्षा बन्द गरिएको छ ।”
उनले भनिन्– “प्रतिविद्यार्थी रु. १ सय ५० का दरले ३ विद्यार्थीको एक महिनाको शुल्क ४ सय ५० अग्रिम लिए पनि डोमले छोइसकेको इनारबाट पानी खाएकै कारण दलितलाई घोषित रुपमा नाकाबन्दी गरिएको छ ।”
प्रसंग दुई 
सफाइबापत तरकारी तथा खाद्यान्न उठाउन दिइएन

बुधबार र आइतबार धनगढीमा हाट लाग्छ । हाट लाग्ने दिन निःशुल्क रूपमा रामचन्द्र र लिलिया मल्लिकले बजार सरसफाइ गर्छन् । सरसफाइ गरे बापत उनीहरु खानका लागि व्यापारीहरूसँग तरकारी तथा खाद्यान्न पालैपालो उठाउँछन् । घटना भएयता ३ वटा हाटमा महतो, मगर र यादवजस्ता गैरदलितहरुले त्यसरी तरकारी र खाद्यान्न उठाउनमा रोक लगाएका छन् ।
डोम तथा मेस्तर उत्थान केन्द्र सिरहाका अध्यक्ष समेत रहेका उनी रामचन्द्र मल्लिक भन्छन्– “२०४४ सालदेखि बजार सरसफाइ गरेर हामीले खानका लागि तरकारी तथा खाद्यान्न उठाउँदै आएका थियौं । मैले यो घटनामा नेतृत्व गरेकाले तरकारी र खाद्यान्न उठाउन बन्द गरिएको छ ।”
उनले भने बजार व्यवस्थापन समितिले सरसफाइ गरेबापत पारिश्रमिक दिनुपर्ने ठाउँमा डोमलाई इनार छुन लगाएर ‘परम्परा’ तोडेको भन्दै हामीलाई सबैतिरबाट नाकाबन्दी गर्ने प्रयास गरिएको छ ।”
मंगलबार गाउँमा लाग्ने हाटमा दीपककी आमा प्रमिला मल्लिकलाई समेत सरसफाइ गरेबापत तरकारी उठाउन दिइएन । हाटमा आउने अधिकांश व्यापारी महतो र यादव समुदायका छन् ।
प्रसंग तीन
अब बाटोघाटो सब बन्द !

केही दिनअघि सत्यनारायण महतोको घर अगाडि देवेन मण्डल (दलित)को बाख्रा चौरमा जाँदा समेत महतो परिवारले मण्डलसँग झगडा गर्यो । सत्यनारायण महतोको घरछेउबाट चौरमा जाने साबिकको बाटो छ । अहिले दलितहरुलाई त्यही बाटोबाट जान पनि दिइएको छैन । गैरदलितहरू भन्छन्– “अब बाटोघाटो सब बन्द । अब दलितमाथि लोड पर्छ ।”
गैरदलितहरूले डोमलाई साथ दिएको भन्दै डोमसँगै खत्वे, पासवान र मुसहर समुदायलाई समेत खेतबारीमा जान नदिने, घरआँगनमा झुक्किएर पनि दलितका बाख्रा, पाठा वा बालबच्चा जाँदा खुट्टा भाँचिदिने धम्की दिने काम गरिएको छ ।
सोनावत्ती मण्डल भन्छिन्– “पवन र जयकुमार महतोले प्रहरीकै सामुने ‘अब तिमीहरुमाथि लोड पर्छ त्यसपछि थाह पाउँछौं’ भन्दै खुलेआम धम्की दिइरहेका छन् । खेतबारीमा घाँस काट्न, हिँडडुल गर्न रोक लगाइएको छ ।”
कतिसम्म भने बच्चाहरु समेत गैरदलितको आँगनमा जाँदा ‘भाग्, तिमीहरू डोमुवा पार्टीका मान्छे हौं’ भन्दै कुटपिटमा गरिएको घटना बाहिर आएका छन् । त्यस्तै, दलितहरू इनारमा पानी लिन जाँदा ‘तिम्रो बुबा÷श्रीमानले इनार खनाइदिएको हो, लैजाऊ पानी’ भन्दै तथानाम गाली गनै क्रम बढ्दो छ ।
डोमसँगै अन्य दलितलाई पनि टार्गेट
यी प्रसंग सिरहाको धनगढी गाविस–३ नैनपुरस्थित दलित बस्तीका दलितहरूले दुई सातायता भोगिरहेका समस्यासम्बन्धी प्रतिनिधिमूलक घटना हुन् । यहाँ दलितहरूले अधिकार खोज्दा उच्च भनाउँदो समाजबाटै उनीहरु बहिष्कृत भएका छन्, तर ती ओझेलमा परेका छन । यस गाउँमा चरम छुवाछूत खेपिरहेका दीपक मल्लिक (डोम)को घरमा साउन १६ गते नायक राजेश हमाल पुगेपछि मल्लिक परिवारले भोगिरहेको छुवाछूतको समस्याले मिडियामा व्यापकता पाएको छ भने त्यसपछिका घटनाबारे फलोअप पनि भएको छैन ।
हमालको आगमनसँगै मिडियामा मल्लिक परिवारले भोगिरहेका छुवाछूत र विभेदबारे समाचार छापिएपछि गैरदलितहरू आक्रोशित भएका थिए । अझ, प्रहरी स्वयम् उपस्थित भएर डोम परिवारलाई इनारबाट पानी भर्न लगाइएपछि दलित र गैरदलितबीच तनाव उत्पन्न भएको छ ।
डोम तथा मेस्तर उत्थान केन्द्र सिरहाका अध्यक्ष रामचन्द्र मल्लिकले भन्छन्– “गैरदलितले डोमहरूलाई साथ दिने मुसहर, खत्वे, पासवान र चमारलगायतका दलित समुदायलाई समेत ‘टार्गेट’ गरी सामाजिक बहिष्कार गरिएको छ । डोमहरूले हाटबजार सरसफाइ गरिदिएबापत उठाउने तरकारी तथा खाद्यान्न उठाउन समेत रोक लगाइएको छ ।
सभासद् पनि छुवाछूतकै निरन्तरताको पक्षमा
नेपाली काग्रेसका पूर्वगाविस अध्यक्ष जोगीलाल साह त डोमहरूलाई इनार छुन दिनु हुँदैन भन्ने पक्षमा थिए नै, सभासदले पनि भेदभावलाई भरथेग गरे । सिरहा–४ बाट निर्वाचित सभासद् रामचन्द्र यादवले समेत गाउँमा बैठकै राखेर ‘पहिलेदेखि चलिआएको चलन’लाई निरन्तरता दिँदै विवाद सुल्झाउन दबाब दिए । यस्तो आरोप छ, आन्दोलनको नेतृत्व गरिरहको डोम तथा मेस्तर उत्थान केन्द्रका अध्यक्ष रामचन्द्र मल्लिकको ।
“माननीयज्यूले बोलाएको छ, इनारको घटनाबारे छलफल गर्न । यस्तो खबर आउँदा मलाई न्याय र कानुनको पक्षमा नेताज्यू बोल्नुहुन्छ भन्ने आशा थियो । तर त्यसको ठिकविपरीत उहाँले बुढापाका जिउँदो रहेसम्म यो समस्या रहने, तपाईंहरुसँग हामी बाहिर त खाएकै छौं, त्यसैले यो घटना पहिलेको चलन जस्तो थियो, त्यस्तै कायम गरी सल्टाउँ’ भन्दै तत्काल निर्णय गर्न दबाब दिए ।”
नेता मल्लिकले भने– “तर मैले एक्लैले यो निर्णय गर्न सक्दिनँ भन्दै पन्छिएर आएँ । अब सभासदजस्तो व्यक्तिले यस्तो धारणा राख्छन् भने गाउँलेहरूको कस्तो धारणा राखे, अनुमान लगाउन सक्नुहुन्छ ?”
धनगढी गाविस–४ का रामचन्द्र मल्लिक डोमले धनगढी बजारका होटलहरुले डोमलाई चियानास्ता खान नदिने, दिइए पनि आफैले गिलास बोक्नुपर्ने चलन हटाउन २०६१ सालमै धनगढीमा ‘होटल प्रवेश आन्दोलन’को अगुवाइ गरेका थिए ।
“सिरहाका करिब दर्जनभन्दा बढी संघसस्थासँगको सहकार्यमा आन्दोलन गरिएको पनि १० वर्ष कटिसक्यो, तर पनि गुनात्मक रूपमा खासै परिर्वतन महसुस गर्न पाएका छैनौं हामी डोमले ।” रामचन्द्र मल्लिकले भने– “१० वर्षमा थुप्रै राजनीतिक परिवर्तन भयो, राजाको शासन हटेर प्रजाका छोरा राष्ट्रपति भइसके तर डोम जातका लागि नैनपुरमा मात्रै होइन, मधेसका प्रायः सबै ठाउँमा दीपक मल्लिकको भन्दा फरक अवस्था छैन । के यो देशमा डोमका लागि गणतन्त्र आएको छैन ?
सिरहाका प्रमुख जिल्ला अधिकारी मानबहादुर विश्वकर्माले पीडितहरुले उजुरी दिए कारबाही प्रक्रिया अघि बढ्ने बताएका छन् । घटनास्थल पुगेका प्रजिअ विश्वकर्माले पीडक र पीडितसँग छलफल गरेका थिए । छलफल गरे पनि पीडकहरु कुनै हालतमा पनि डोमहरुलाई इनारमा भर्न नदिने पक्षमा छन् ।
प्रतिरोधको क्रममा दलितहरू आन्दोलनमा 
प्रशासनले कारबाही प्रक्रिया अघि नबढाएको र गैरदलितहरूले घटनालाई सुल्झाउनुका सट्टा बढाउन थालेको स्थितिमा दलित संघसंस्था र भूमि अधिकार मंचले पीडकहरुमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन् । डोम तथा मेस्तर उत्थान केन्द्र सिरहाको नेतृत्वमा दलित जनकल्याण युवा क्लब, लहान; भूमि अधिकार मंच, सिरहा; पूर्वाञ्चल दलित नेटवर्कलगायतका सघसंस्था पीडितलाई न्याय र पीडकलाई सजायको माग गर्दै प्रदर्शन गरेका हुन् ।
दलित एक भएपछि गैरदलितले रणनीति फेरे 
गैरदलितले डोमलाई इनारबाट पानी भर्न नदिन दलितभित्रकै खत्वे र मुसहरहरूलाई प्रयोग गरेका थिए । गैरदलितहरूले डोमबाहेक सबै दलितलाई पानी भर्न दिँदै डोमहरुविरुद्ध अन्य दलितलाई प्रयोग गरेका थिए । दीपक मल्लिकसँग राजेश हमाल इनारमा पानी लिन गएको हेर्न जाँदा गैरदलितभन्दा दलित महिलाहरू नै इनार घेरेर बसेका थिए ।
गैरदलितहरूले दलित महिलाहरूलाई ‘तिमी दलितहरूले पानी भर्न दिएनौ भने कानुन लाग्दैन, तर हामीले भर्न नदिएको खण्डमा कानुन लाग्छ’ भनेर सिकाइएको स्थानीय रेणु सदाले बताइन् । उनले भनिन्– “गैरदलितहरूले हामीलाई डोमलाई छुवाछूत गर्न उक्साएका थिए, हामी पनि कुरा नबुझी उनीहरूकै पछि लागेका थियौं ।”
प्रहरीले साउन १९ गते डोम परिवारलाई इनारबाट पानी भर्न लगाएपछि गैरदलितहरूले उक्त इनारको पानी पिउन बन्द गरेका छन् । त्यसको साटो उनीहरु गाउँबाहिरबाट पानी ल्याएर पिउँछन् । तर दलितहरूले भने डोमले छोएको इनारबाटै पानी प्रयोग गरेपछि गैरदलितहरू ती दलितसँग पनि चिढिएका हुन् ।
“उनीहरु पहिला भन्थे, ‘तिमी दलितहरू पहिले डोमले छोएको पानी खाऊ, त्यसपछि हामी खान्छौं । तर अहिले हामीले डोमले छोएको इनारबाट पानी खान थालेपछि डोमसँगै हामीलाई पनि सामाजिक बहिष्कार गरिएको छ ।” दिना भद्री गाउँ मञ्च, धनगढीका अध्यक्ष दुःखनी सदाले भनिन्– “तिमीहरूले डोमको पक्ष लियौ, त्यसैले तिमीहरूको हालत डोमहरुकै जस्तो हुन्छ । तिमीहरूले डोमलाई साथ दियौ, अब तिमीहरूलाई पनि पेल्छौं ।”
अहिले गैरदलितहरूले एकजुट भएर डोमसँगै सबै दलितलाई नाकाबन्दी गरी पेल्ने रणनीति लिएका छन् । दलित अगुवा प्रेम रामले भने– “आन्दोलनको नेतृत्व गर्ने म, रामचन्द्र मल्लिक र रामसेवक रामलाई गैरदलित युवाहरूले कुटपिट गर्न ‘टार्गेट’ गरेका छन् । हामीलाई सुरक्षा थ्रेट छ ।”
हिन्दू परिषदका प्रतिनिधिका कुरामा पनि अविश्वास
यसैबीच विश्व हिन्दू महासंघका प्रतिनिधिहरुले सिरहा जिल्लाको धनगढी गाविस ४ नैनपुरस्थित डोम, दुसाध, मुसहर र खत्वे जातका हातबाट सामूहिक रुपमा पानी पिएका छन् ।
विश्व हिन्दू परिषद साधुसन्त निर्देशक मण्डलका केन्द्रीय सदस्य हितराम दासजी, लक्ष्मण दासजी, धर्माचार्य एवं केन्द्रीय सदस्य काशिन्द्र यादव, सगरमाथा जनकपुर संगठन मन्त्री रामप्रकाश यादव, साधु रामशरण भण्डारीलगायतकाले विवादित इनारबाट मुसहर, डोम, दुसाध र खत्वे समुदायको हातबाट पानी पिएका थिए ।
विश्व हिन्दू महासंघका प्रतिनिधिहरुले गाउँमा गैरदलितहरुलाई हिन्दू धर्ममा छुुवाछूत नरहेको सम्झाउने प्रयास गरेका थिए । ‘रामायण रचयिता वाल्मीकि डोम समुदायको रहेको र महाभारतमा सन्त सुफल डोमले भोज नखाएसम्म भण्डार सफल नभएको’ भन्दै उनीहरुले गाउँलेहरुलाई विभेद नगर्न सम्झाएका थिए ।
विश्व हिन्दू परिषद साधुसन्त निर्देशक मण्डलका केन्द्रीय सदस्य हितराम दासले भने, “डोमले इनार छुँदैमा पानी कालो हुँदैन । धर्मशास्त्रले छुवाछूत गर भन्दैन । भनेको भए मुसहर समुदायका सबरीको जुठो ‘बैर’ हाम्रो भगवान रामले खाँदैनथियो होला । त्यसैले डोमलाई छुवाछूत गर्नु हुन्न ।” उनीहरुले यसरी सम्झाउँदा समेत गैरदलितहरूको चेत खुलेको छैन ।
हिन्दु धर्म र जातपातको नाममा जारी विभेद र छुवाछूतलाई तथाकथित उच्च जातका मानिसहरुले निरन्तरता दिइरहेकोमा हिन्दु धर्मका मठाधीशहरुले केही हस्तक्षेप गर्न खोजेका छन् । तर उनीहरुले गरेको हस्तक्षेप पनि दबाबकारी र उपयोगी भइरहेको छैन भने सरकारचाहिँ प्रशासनिक उपायबाट हल गर्न उद्यत देखिन्छ, जबकि यी समस्याको सम्बोधन आर्थिक, राजनीतिक र सांस्कृतिक उपायको दरकार पर्दछ ।
यता सिरहाका प्रमुख जिल्ला अधिकारी मानबहादुर विश्वकर्माले नैनपुर घटनामा प्रहरी परिचालन गरिएको बताए । पक्कै पनि अहिले दलितहरूलाई इनारबाट पानी भर्न कुनै समस्या छैन, अन्य समस्या भुसको आगोजस्तै सल्कँदैछ र सरकारको ध्यान त्यता गएको छैन । गैरदलितहरूले दलितहरूलाई सामाजिक बहिष्कार र कुटपिट गर्न उत्रिएको बारे प्रजिअ विश्वकर्माले भने– “दलितहरूमाथि कसैले कुनै पनि बहानामा कुटपिट वा सामाजिक बहिष्कार गरेको कुरा उजुरी गरे कारबाही गरिनेछ ।”

पहिलो पटक नेपाली भएकोमा लज्जाबोध भयो

- राजेश हमाल 
छुवाछूत प्रकरणमा कलाकार र मिडिया
साउन १६ गते शनिबार बीबीसी मिडिया एक्सनको साप्ताहिक कार्यक्रम साझा सवालको टोलीले नायक हमाललाई नैनपुर गाउँमा पुर्‍यायो । बीबीसीले दलितलाई इनार छुन नदिइएको र अरुले पानी हालिदिएको दृश्य खिच्न चाहेको थियो । 
नेपालका चर्चित नायक गाउँ आएकाले हेर्नेको भीड लागेको थियो । भीडका बीचबाट हमाल दीपकलाई सँगै घरबाट करिब सय मिटरको दूरीमा रहेको इनारसम्म पुगे । झुक्किएर पनि कोही नजाने दीपकको घरमा हमाल मिडियासहित पुगेपछि हल्लीखल्ली भयो ।
उनीहरु पानी लिन बाल्टिनसहित इनारतर्फ बढेपछि गाउँलेहरुलाई कुरा बुझ्न कठिन भएन । रसारा गाउँले उल्टिएर आए अनि उनीहरुलाई इनारबाट पानी झिक्न अवरोध गरे । 
नैनपुरपछि सप्तरीको रुपनीमा छायाँकन सकेर राजेश हमालले काठमाडौं फर्केर फेसबुकमा स्टाटस लेखे, “जीवनमा पहिलो पटक नेपाली हुनुमा लज्जास्पद महसुस भयो ।” 
यता राजेश हमाल काठमाडौं नपुग्दै मिडियामा राजेश हमाल र दीपक मल्लिकसँग इनारमा भएको दुर्व्यवहारको खबर सामाजिक सञ्जाल र मिडियामा भुसको आगोझैं सल्किसकेको थियो । 

इसम्ता बाट साभार

No comments:

Post a Comment