दलित आन्दोलन अलमलिएकै हो त ?


भाद्र १, २०७२, विभेद विरुद्ध अभियान - गत शनिबार सकिएको एक साताको प्रदर्शन तेस्रो चरणमा प्रवेश गर्नै लाग्दा दलित नेताहरू भने अब कसरी अघि बढ्ने भन्नेमा अलमलिएका छन्। सोमबार तेस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गरी मस्यौदामा छुटेका दलित मुद्दा अटाउन दबाब दिने उनीहरूको तयारी बीचैमा रोकिएको छ।
‘होटेलमा कार्यक्रम गर्दा सबै आउन खोज्ने, सडकमा प्रहरीको लाठी खाने डरले कोही नआउने,’ एमाओवादीसम्बद्ध दलित भ्रातृ संगठनका एक नेताले कान्तिपुरसँग भने, ‘मुक्तिका लागि लड्ने यो ऐतिहासिक मौका हो, तर साथीहरू यही बेला अलमलिनुभएजस्तो लाग्यो।’
तर, कांग्रेस र एमालेका केन्द्रीय नेताहरूले भने मोहन वैद्य र नेत्रविक्रम चन्द समर्थकहरू आन्दोलनमा मिसिएपछि आन्दोलन असहज बनेको निष्कर्ष निकालेका छन्। कांग्रेस केन्द्रीय सदस्य एवं सभासद मानबहादुर विश्वकर्माले कान्तिपुरसँग भने, ‘यहाँ सविधानसभा बहिष्कार गर्नेहरू पनि सडकमा झरेका छन्, तर हामी संविधान बनाउने, दलितका हक पनि समावेश गर्न दबाब दिने पक्षमा छौं।’ संविधान च्यात्ने र जलाउनेबाट सचेत हुनुपर्ने भन्दै विश्वकर्माले आफ्ना कार्यकर्तालाई त्यसैअनुसार निर्देशन दिएको बताए। ‘संविधान विरोधीबाट सचेत हुनैपर्छ,’ उनले भने, ‘त्यही भएर मैले सबैलाई सडकमा पठाएको छैन।’
पहिलो र दोस्रो संविधानसभाबाट सर्वसम्मतिले पारित दलित हकसम्बन्धी धाराहरू मस्यौदा समितिले काटेको भन्दै दलित अधिकारकर्मी प्रदर्शनमा छन्। संविधान मस्यौदाका पक्षधर कांग्रेस एमाले, फरक मत राख्ने एमाओवादीदेखि सबै असन्तुष्टसमेत सँगै मोर्चामा छन्। आन्दोलनले गति लिँदै जाँदा नेतृत्वमा असमझदारी उत्पन्न हुन थालेको दलित कार्यकर्ताहरू बताउँछन्।
एमाले नेता छबिलाल विश्वकर्माले भने निरन्तरको बन्दका कारण आफ्नो आन्दोलनमा असर परेकाले पनि सुस्तता देखिएको तर्क गरे। संविधानका विरोधीहरू सडकमा आउने अवस्था बनेपछि सचेत हुनुपरेको उनको पनि भनाइ छ। एमाओवादी पोलिटब्युरो सदस्य विश्वभक्त दुलाल (आहुति) ले आन्दोलन जारी रहने भन्दै शंका नगर्न आग्रह गरेका छन्। दोस्रो संविधानसभा चुनाव पछिको प्रक्रिया नस्वीकारे पनि दलित हक जोगाउन उनीहरूले खेलेको भूमिकाको मूल्यांकन हुनुपर्ने उनको भनाइ छ।
कान्तिपुर दैनिक बाट

No comments:

Post a Comment