भदौ २ , विभेद विरुद्ध अभियान । साउन २८ गते मध्यदिन राजेश दर्जी केराबारी गाविस भएर बग्ने खदम खोला पुगेका थिए। ट्याक्टरमा ढुंगा उठाउन गएका १९ वर्षीय दर्जी त्यसैदिन पक्राउ परे।
अहिले इलाका प्रहरी कार्यालय केराबारीमा रहेका उनीमाथि लागेको अभियोगको वयान चलिरहेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ अनुसार उनीमाथि लागेको आरोप पुष्टि भए जेल जानुपर्नेछ।
यो अभियोगमा १० हजार धरौटी वा दुई वर्ष कैद अथवा दुबै हुने व्यवस्था छ। दसै हजार धरौटी माग भए पनि दर्जी जेलै जान सक्छन् किनभने दस हजार धरौटी राख्ने हैसियतका उनी हैनन्, उनको परिवार हैन।
कोसी–हरैंचा नगरपालिका–१५ बस्ने दर्जीलाई त्यसदिन दुई वटा बँदेलका बच्चासहित समातिएको थियो। उनीसँगै गएका सञ्जिल लिम्बू फरार छन्। सञ्जिल को १ त ५९२५ नम्बरको ट्याक्टरका चालक थिए।
***
चारकोसे झाँडी, आमजुँगेस्थित खोलामा ढुंगा भर्न राजेश र सञ्जिल गएका थिए। ट्याक्टरमा ढुंगा भरेर फर्किँदै थिए। खोलामा हल्का बाढी आइरहेको थियो।
बाढीमा ट्याक्टर फँस्यो। उनी उत्रिए। खोलाबाट बाहिर निस्किए। त्यतिकैमा दुई वटा खैरो रंगका सुँगरका बच्चाजस्ता देखिने बग्दै–बग्दै आइरहेको देखे।
सञ्जिलले टिपे। ‘मैले त बँदेल सुनेको चाहिँ थिएँ, देखेको थिइनँ,’ मंगलबार बिहान इप्रका केराबारीमा सेतोपाटी संवाददातासँग राजेशले भने, ‘मै पक्राउ परें, बित्थामा फँस्दैछु हजुर।’
बँदेलका बच्चा बोरामा हाले। केराबारी–५ आमजुँगे स्कुलछेऊ पुग्दा सञ्जिलले नै बेच्नुपर्छ, पैसा आउँछ भनेपछि राजेश लोभिएछन्। स्थानीयसँग बँदेलका बच्चाको मोलतोल गर्दैगर्दा उनी पक्राउ परे।
‘सुँगुरजस्तै लागेर बेच्न खोजियो, यो जन्तु समाउँदा यस्तो होला भन्ने मलाई थाहा थिएन,’ राजेश भन्छन्, ‘प्रहरी आएर झ्याप्प समात्यो, अञ्जानमै थुनिएँ।’
***
त्यो दिन केराबारी जानु नौलो थिएन, किनकि यसभन्दा अघि पनि आइरहेकै हुन्थे। तर कामको सिलसिलामा। बँदेलसँग उनको कुनै सम्बन्ध यसअघि जोडिएको थिएन।
साधारण मजदुरीको निम्ति उनी आउनैपथ्र्यो। उनका लागि ती दुई बँदेलका बच्चा दूर्भाग्य बने। ‘बग्नै दिएको भए हुनेरहेछ जस्तो लाग्यो,’ उनी भन्छन्, ‘समातियो, फँसियो।’
बाबु बीरबहादुर गाउँमा साप्ताहिक रुपमा लाग्ने हाटमा मासु काट्ने काम गर्छन्। जग्गाजमिन छैन। बसेको एउटा घरमात्र हो। उनीहरू सुकुम्बासी हुन्।
आमा देवी, दुई दिदी र दुई बहिनी अनि एक भाइ उनका छन्। दुई दिदीको बिहे भइसकेको छ।
गरिबीले हो, तीन कक्षामा पढ्दापढ्दै छोडे। दिदीबहिनी पनि सबैले पढेका छैनन्।
पन्ध्र वर्षको उमेरमा काम खोज्दै दिल्ली (भारत) गएका थिए। त्यहाँ साढे चार वर्ष बिताए। ‘दिल्ली बस्दा भात पकाउने काम गर्थें,’ उनले भने, ‘एउटा होटलमा भात पकाउने काम मिलेको थियो।’
भारतबाट फर्केको आउने दसैंमा एक वर्ष पुग्छ। यहाँ आएपछि यतै केही गर्ने सोच बनाए। नभन्दै ट्याक्टरमा मजदुरी पाए। बाबुको कमाइ र उनको मजदुरीको कमाइले घर मुस्किलले धानेको छ। यहीबीचमा उनी जेल जानुपर्ने स्थितिमा पुगेका छन्।
‘बुबा आमा भेट्न आउनुभएको थियो,’ राजेशले भने, ‘साह्रै पीर गर्नुभो, अञ्जान भयो भन्दिएँ।’
***
केराबारी र लेटाङ गाउँ। चारकोसे झाँडी नजिकै छ।
रोचक पक्ष के छ भने यही गाउँका केही घरमा बँदेल खुलेआम पालिएका छन्। ती बँदेल ठूला भएपछि काटिन्छन्, र मासु बेचिन्छ।
यहाँ ल्याइने बँदेल जंगलको हो, राजेशलेजस्तो पानीमा बग्दा भेटिएको होइन। र यीनै जंगलमा बँदेल प्रायः मारिन्छन्। बन्दुकसहित चारकोसे झाँडीभित्र सिकारी पुग्छन्, बँदेललाई गोली ठोक्छन् तर हत्तपत्त कोही पक्राउ पर्दैनन्।
केराबारीका स्थानीयका अनुसार चारकोसे झाँडीभित्र बँदेल अत्याधिक बस्छन्। यहाँको झाँडीमा बस्न बँदेल रुचाउँछ। बँदेलका बच्चा एक दुई दिनका मात्र समात्न सकिन्छ। राजेशले समातेका बँदेल एक महिना पुगिसकेका थिए।
‘खोलामा कसरी बगे बँदेलका बच्चा त्यो भगवानले जानुन्,’ केराबारी–२ स्थित हजारबिघा सामुदायिक वनका अध्यक्ष प्रकाश बस्नेत भन्छन्, ‘बिचरा त्यो मान्छे निर्दोष हो, यहाँ जंगलबाटै मार्दा, समातेर ल्याउँदा कोही पक्राउ परेका छैनन्, खोलामा बगेको समात्नु नौलो कुरा भएन।’
बस्नेतका अनुसार केराबारीको आमजुँगेघारी र भलुवा, डाँगीमा बँदेल बस्छन्, सिकारी त्यहाँ बन्दुक लिएर पस्छन्। ‘तर हामीले देख्नेगरी कोही पसेको छैन,’ बस्नेत भन्छन्, ‘तर चोरीसिकारी भइरहेकै छ।’
***
अर्को पनि रोचक प्रसंग के छ भने चारकोसे झाँडीभित्र सिकार गरिएको बँदेलको मासु ठूलाबडाकहाँ पुग्छ। चाडबाडका बेला होस् या अरु कुनैबेला गरिने गेट टुगेदर। बँदेलको मासु खान रुचाउने छुट्टै वर्ग नै छ।
बँदेल सिकार गर्ने, ल्याउने र मासु बेच्नेहरूबाट लिइएको जानकारी अनुसार केराबारी र लेटाङका जंगलबाट ल्याइएको बँदेलको मासु केही वर्षअघिसम्म नेपाल प्रहरी डिआईजी, एसपी, डिएसपी र इन्सपेक्टरका क्वाटरमा पुग्थ्यो।
एक दुई पेक रेडलेबल, ब्ल्याकलेबलको साथी बँदेल बन्थ्यो। सशस्त्र प्रहरीमा पनि यो चलन थियो। ‘अहिले नेपाल प्रहरीमा अलि राम्रा मान्छे आउन थालेपछि दारुपानी चल्दैन, बँदेल पुग्दैन,’ बँदेलको मासु कसरी आउँछ बिक्री हुन्छ भन्ने थाहा पाएका एक जना व्यक्तिले सेतोपाटीसँग भने, ‘ल्याउने वा बाटो कटाइदिने अरू कोही नभएर प्रहरी नै हुन्थे अहिले चाहिँ मलाई थाहा भएन।’
उनका अनुसार अहिले पनि बँदेलको मासु विराटनगरमा पुग्छ। ठूल्ठूला व्यापारीहरूकहाँ पुग्छ। किलोमा आठ सयले बेचिन्छ। तर बँदेलको मासु खाने नखाने भन्ने ‘मुड’मा भरपर्ने उनले बताए।
‘खाने हो बँदेल? भनेपछि खाउँ न त भन्ने जवाफ आयो र यति चाहियो भन्ने अर्डर गरेपछि जसरी पनि आइपुग्छ,’ उनी भन्छन्, ‘सुगर लागेका बिरामीलाई त झन् बँदेलको मासु अचुकै हो, त्यसमा बोसो हुँदैन।’
उनका अनुसार बँदेलका पारखीले बच्चा ल्याएर घरमा पालिएको बँदेलको मासु रुचाउँदैनन्, किनकि घरमा पालेको बँदेल र सुँगुर एउटै हो। जंगलबाटै मारेर ल्याएको बँदेलको मासु धेरैले मन पराउँछन्। त्यसपछि सिकारी जंगलै पठाइन्छ, भरूवा वा थ्री नट थ्री राइफलसहित।
‘सिकारीको टिमले घेरा हालेर गोली चलाइ बँदेल मार्छन्, मासु कहाँको जंगलबाट कहाँ पुर्याउँछन् कसैले सुइँको पाउँदैन,’ उनी भन्छन्, ‘कोसी ब्यारेज पश्चिमको केराघारी, उदयपुरको कमलपुर जाने गाउँ र चारकोसे झाँडीका बँदेल डूलाबडाका खजना हुन्।’
***
पक्राउ परेका राजेशको बयान भइरहेको छ। फरार सञ्जिल फेला परेका छैनन्। सेक्टर वन कार्यालय सलकपुरका वन अधिकृत जनक पाद्धेका अनुसार पक्राउ परेका बँदेल हसिना सिमसारमा लगेर राखिएको छ।
‘अरुथोक खान सक्ने भएका छैनन्, दुध खुवाएर राखेका छौं,’ उनले भने।
पाद्धेका अनुसार चारकोसे झाँडीमा वन्यजन्तु चोरी सिकारी गर्ने केहीलाई हतियारसहित समाएर कारबाही भएको छ। तर उनले बँदेलमा चासो राख्ने ठूलाबडा र सिकारीलाई अहिलेसम्म नदेखेको बताए। ‘हाम्रो नजरमा अहिलेसम्म बँदेल मार्ने कोही भेटिएका छैनन्,’ उनले भने, ‘त्यस्तो सूचना नै आउँदैन।’ उनले गाउँघरमा पालिएका बँदेलबारे जानकारी नभएको बताए।
***
राजेश चिन्तित छन्, उतिकै आफ्नो अञ्जानी दोषबारे।
तर यो नजानिँदो गल्तीले उनलाई जेल पुर्याउँदैछ। ‘खै के गर्ने होला र सर, यस्तो हुन्छ मलाई थाहा भएन,’ राजेशले मुन्टो झारेर भने, ‘म बित्थामा जेल जाँदैछु हजुर।’
सेतोपाटी बाट
No comments:
Post a Comment