दलित संघर्ष समिति र पूर्वी थारुवान कोचिला राज्य संघर्ष समिति बिच सहमति

बिर्तामोड , ३० साउन,विभेद विरुद्ध अभियान  । पूर्वका ६ जिल्लालाई पूर्वी थारुवान कोचिला राज्य घोषणाको माग गर्दै आम हड्तालसहित संघर्षमा उत्रिएको पूर्वी थारुवान कोचिला राज्य संघर्ष समितिले बन्दहडतालसहित आफ्नो आन्दोलनको कार्यक्रम शान्तिपूर्ण र मर्यादित बनाउने सहमति गरेको छ । संवाद समूहको सचिवालय झापाको संयोजनमा बिर्तामाड उद्योग बाणिज्य संघको कार्यालयमा आज शनिवार भएको छलफलमा समितिले त्यस्तो सहमति गरेको हो । बन्द हड्तालका बेला अत्यावश्यक सेवा तथा तिनका सवारी साधन निर्वाध सञ्चालन गर्न दिने सहमति समेत भएको छ । झापा, मोरङ, सुनसरी, सिराहा, सप्तरी र उदयपुर गरी ६ जिल्लालाई पूर्वी थारुवान कोचिला राज्यको घोषणाको माग गर्दै विभिन्न १२ घटक संलग्न समितिले शनिवारबाट झापादेखि कञ्चनपुरसम्म तीन दिने आम हड्तालको आव्हान गरेको छ । 
बन्द हड्ताल र आन्दोलनमा जनजीवन सहज बनाउन भएको संवादमा यस्तो सहमति भएको हो । त्यस्तै विभिन्न १० वटा घटक संलग्न संयुक्त दलित संघर्ष समितिले शनिवार बिर्तामोडमा गर्ने खबरदारी सभालाई सहज बनाउन दलित संघर्ष समिति र पूर्वी थारुवान कोचिला राज्य संघर्ष समितिबीच पनि सहमति भएको छ । सहमति अनुसार दलितले खबरदारी सभामा विभिन्न ठाउँबाट लिएर आउने सवारी साधनमा पहिचान खुल्ने गरी व्यानर र झण्डा राख्ने, कार्यक्रम स्थल हनुमान सेन्ट्रल अगाडिबाट इलाका प्रहरी कार्यालय छेऊ सार्ने, सवारीका साधनहरु मुक्ति चौकभन्दा केही पर नै राख्ने र आ–आफ्ना कार्यक्रममा घुसपैठ हुन नदिन दुबै पक्ष सचेत गरी जिम्मेवारीपूर्वक प्रस्तुत हुने सहमति भएको छ । पूर्वी थारुवान कोचिलाको बन्द र दलितको खबरदारी सभा गर्ने विषयमा उत्पन्न परिस्थितिलाई सहज बनाउनको लागि संवाद समूहले सो पहल गरी सहमति कायम गरेको सचिवालयका संयोजक अधिवक्ता दीपेन्द्र भट्टराईले बताए । दलितले शनिबार दिउसो वृहत खबरदारी सभा गर्दैछन् । सो अवसरमा दलितले पनि आफ्ना संघर्षका कार्यक्रम शान्तिपूर्ण र व्यवस्थित गर्ने सहमति गरेको बताइएको छ । दलित संघर्ष समिति र पूर्वी थारुवान कोचिला राज्य संघर्ष समितिले एकअर्काको आन्दोलनप्रति ऐक्यवद्धतासमेत जनाएका छन् । 
सहमतिमा पूर्वी थारुवान कोचिला राज्य संघर्ष समितिका तर्फबाट अध्यक्ष श्रीप्रसाद चौधरी, कोचिला एकता मोर्चाका अध्यक्ष दिनेश राजवंशी, राजवंशी भाषा विकास समितिका अध्यक्ष पुकारचन्द्र सिंह राजवंशी, कोचिला ग्राभुर फ्रन्टका अध्यक्ष खकेन राजवंशीले हस्ताक्षर गरेका छन् । त्यस्तै दलित संघर्ष समितिका तर्फबाट सोमनाथ पोर्तेल, टेकबहादुर साशंकर, हस्त परियार, गोपाल लकान्द्री, छविलाल विश्वकर्मा, नगेन शंकर, राजकुमार शंकर, टीकाराम मंग्रातीले हस्ताक्षर गरेका छन् । 
छलफलको सहजीकरण मानवअधिकारकर्मी डा. चुडामणि शिवाकोटी, नेपाल पत्रकार महासंघ नेपालका पूर्व केन्द्रीय सदस्य मदन ढकाल र राष्ट्रिय मानवअधिकार प्रतिष्ठानका अध्यक्ष रुपक खनालले गरेका थिए । छलफलमा बिर्तामोड उद्योग बाणिज्य संघ तदर्थ समितिका अध्यक्ष बलराम कार्की र उपाध्यक्ष प्रकाश शिवाकोटीले बन्दको विकल्प खोज्न र उद्योगी व्यवसायीलाई असर नगर्ने प्रकृतिका आन्दोलनका नयाँ कार्यक्रम अघि बढाउन सुझाव दिए । 

No comments:

Post a Comment