धर्म र परम्पराको नाममा लादिएको प्रथाबाट दलित बनाईए-दिपेन्द्र पासवान

           राष्ट्र बिभिन्न समाजको एकीकृत रुप हो ,जुन बिभिन्न जातजाति,धर्म ,संस्कृती ,समुदाय र सम्प्रदायबाट बनेको हुन्छ । राष्टको समग्र बिकासका हुनका लागि सबै जात जाति , धर्म समुदाय तथा सम्प्रदायको बिकास हुनु भनेकै राष्ट्रको बिकास हो । लोकतन्त्रको मुलमन्त्र नै समाजिक प्रतिभा र क्षमतालाई दक्ष बनाई प्रस्फुटित गराउनु , सशक्तिकरण तथा सबैलाई समान अबसर प्रदान गर्नु हो । सोही सन्दर्भमा बिगतका दिनहरुलाई कोट्याउने हो भने हाल सम्म केही आधारभुत पुर्बाधारहरुको सृजना भए पनि सोको कार्यन्वयन पक्ष प्रभाबकारी नभईदिएका कारण आम नेपाली जनसमुदायले अपेक्षा गरे अनुरुप सबै लक्षित समुदायले आफ्नो प्रस्ट सहभागिताको अनुभुति गर्न नसकेको अबस्था छ । 
      यी याबतका कारणहरुबाट मुलुकको जनसंख्याको ठुल्लो हिसा आर्थिक रुपले अझै पनि शोषित , सामाजिक रुपले अपहेलित , राजनैतिक रुपले उपेक्षित , मनोबैज्ञानिक रुपले दमित तथा शैक्षिकरुपमा समेत अझै पनि बञ्चित हुदै आईरहेको छ । त्यो शोषित , उत्पिडित तथा उपेक्षित समुदाय भनेको दलित समुदाय हो । हिन्दू र्वणा श्रम जाति व्यवस्था, वि.सं. १९१० को मुलुकी ऐनबाट पानी नचल्ने र छोइछिटो हाल्नु पर्ने जातजाति भनी जातीय भेदभाव एवं समाजमा अछुत मानिएका र सामाजिक, र्आथिक, राजनैतिक, शैक्षिक तथा र्धार्मिकरुपमा राज्यको मूलप्रवाहबाट पछाडि पारिएका जातजातिका समुदायलाई दलित र्वग भनी परिभाषित गरिएको छ । राष्ट्रिय दलित आयोगले जातिय अनुसुची प्रतिबेदनमा उल्लेख गरे अनुसार नेपालमा २६ जात दलित अन्तरगत पर्दछन् । जस मध्ये तराइका समुदाय अन्तरगत पानि नचल्ने , छोईछिटो हाल्ने जातिका रुपमा चिनिने जातिहरु कलर,ककैहिया, कोरी, खटिक ,खत्वे (मण्डल खङ्ग) ,चमार (राम, मोची, हरिजन रविदास) ,चिडिमार ,डोम(मरिक), तत्मा (ताँती, दास) ,दुसाध (पासवान हजरा), धोवी (रजक हिन्दु) पासी , बाँतर , मुसहर , मेस्तर (हलखोर) ,सरभङ्ग (सरवरिया), नटुवा, ढाँडी,  धरिकरर धन्कार लगायतका जातिहरु पर्दछन् । त्यस्तै , पाहाडका दलित अन्तरगत कामी , दमाई, सर्की , बादी र गाईने लगायतका जातिहरुलाई अनुसुचीमा समाबेश गरेका छन् । यसरी दलितहरुको संख्या उल्लेख्य रुपमा हुदाहुदै पनि उनीहरु निरन्तर समाजिक बिभेदका सिकार हुने क्रममा भने कुनै कमि भएको पाईदैन् । समाजिक बिभेद रदमणको शक्तिशाली संयोजनको कारण समाजमा उनीहरु दास्रो दर्जाको नागरिकहरुको रुपमा जिउन बाध्य भएका छन् । नेपालको कुल जनसंख्याको १३ प्रतिशत भाग ओगटेको दलितहरु अधिकाँश भुमीहिन ,सुकुम्बासी नै रहेको बिभिन्न अध्यनहरुले देखाएको छ । उनीहरु दुई छाक टार्नर्को लागि अन्य गैरदलित समुदायहरुमा आश्रीत हुनेगरेको पाईन्छ । 
                उनीहरुको दिन भरको काम गरे बापत प्राप्त हुने अन्नबाट नै आफ्नो दैनिक गुजारा गर्ने गर्दछन् । कसै कसैले नजिकका शहर बजारमा गएर ज्याला मजदुरी समेत गरी परिवारिक आबश्यक्ताहरु परिपुर्ति गर्ने गर्दछन् । देशमा कानुनी रुपमा छुवाछुत प्रथाको अन्त भईसके पनि ब्यबहारमा भने के तराई के पहाड , जहाँ पनि यो समस्या ब्याप्त छ । अझै पनि सोही कारण दलितहरु गाउँ घर भन्दा पर ऐलानी पर्ति, नदिको किनार , पोखरीको डिल तथा फोहर मैला थुपार्ने ठाउँहरुमा मुख्यतः बसोबास गराईएको हुन्छ । सार्बजानिक स्थलहरु धरा , पानी पँधेरा ,बाटोघाटो लगायतका ठाउँहरुमा समेत उनीहरु बिभेदका सिकार हुने गरेको पाईन्छ । दलितहरु प्रायः हिन्दु धर्मालम्बी हुन । तर हिन्दुहरुकै मठ मन्दिरमा पुजा आजा त के प्रबेश समेत निषेध गरेको हुन्छ । 
              यस्ता कुसंस्कार तथा कुसंस्कृतिको सिकार भएका यी दलित जातिहरु क्लर ,ककहिया , खटिक ,खत्बे , चमार , डोम,धोबी, दुसाध ,बाँतर , मुसहर , ताँती ,सरभंग ,मेहतर कामी , दमाई, सर्की , बादी र गाईने आफ्नो ईच्छा र चाहनाले दलित भएका होईनन् , उनीहरु माथी सदियौं देखि शोषण , उत्पिडन गदै आएका कथित ब्राम्हनहरुले धर्म र परम्पराको नाममा लादिएको प्रथाबाट उनीहरु दलित बनाईएका हुन ।

समाजमा सबै भन्दा अछुतको ब्यबहार अझै पनि भोग्न बाध्य भएका जातिहरु ः

बाँसको सामानहरु बनाउंदै डोम जतिकी एक  महिला  .
डोमः नेपालका तराई प्रदेशमा बसोबास गर्ने डोम जाति सबै भन्दा अपहेलित तथा बहिस्कृत जातिका रुपमा पर्दछन् । पौराणिक कथा अनुसार महादेब र पार्बतीले कुनै बखत बिशाल भोजको आयोजना गरी सबै जात जातिलाई उक्त भोजमा निम्तो दिएका थिए । डोम समुदायका पुर्खा सुफल भगतले भोजमा ढिलो आई पुगेका हुनाले अरुले खाएर बाँकी रहेको खानेकुरा खाएपछि समाजमा उनलाई जुटक खाई (जुठो खाने ) भन्न थालिए । सोही बेलादेखी समाजमा यो जातिलाई हेला र दुब्र्यबहार गरि पानी नचल्ने तथा अछुत बनाईएको छ । प्रचिन कालका तराईका राजा बेन उनीहरुका पुर्खा हुन भने कथन पनि पाईन्छ । यो जाति राजा जनक कै पाला देखी नै बिभिन्न भागहरुमा  बसोबास गदै आएको  भनाईहरु छ ।
                  डोम समुदायको जम्मा कुल संख्या ८ हजार ९ सय ३२ छ । जसमा ४ हजार ६ सय ३१ प्ुारुष र ४ हजार ३ सय महिला रहेका छन् । तराईका १२ जिल्लामा यो जातिको बसोबार रहेको छ । ंतथ्याँक अुनुरसार यो जातिको साक्षरता प्रतिशत ९.९ रहेको देखाईएको छ । यो समुदायका अधिकाँस बालबालिकाले अहिले पनि प्राथमिक शिक्षा समेत पाउन सकेको छैनन । प्रबेशिका परिक्षा उत्तिर्ण गर्नेहरुको संख्या त झनै नगण्य नै रहेको छ । 
नदि कटानका  दुख्य जोखिममा मुसहर बस्ति .
मुसहरः यो जाति नेपालको एक प्राचीन जाति हो । प्रचलित एउटा पैराणिक कथा अनुसार राबणले सितालाई हरण गरेर लगेपछि भगवान रामले सिताको खोजी गर्ने क्रममा सबरी मुसहरनिसंग भेट भएको र सबरी ले खाँदै गरेको जुठो बयर रामलाई अर्पण गरेपछि उनको श्रद्धाबाट राम प्रभाबित भएर ईच्छा लागेको कुरा आफुसंग माग्न अनुरोध गर्दा सबरीले २ छोराको ईच्छा राखेकी कथन छ । त्यसैको फल स्बरुप १० महिना पछि जोगिया जाँजर भन्ने ठाउँमा एक दम्पतिको कोखाबाट २ जुम्ल्यहा  सन्तानको जन्म भएको थियो  । तीनै जुम्ल्यहा मध्ये एकको नाम दिनाराम र अर्काेको नाम दिनाभद्री राखियो भन्ने गरिन्छ । मुसहरहरु यी नै दिनाराम दिना भदीको सन्तान भएको भएको कारण त्यो नै उनीहरुको कुलदेबता मान्ने गरेको पाईन्छ ।
      यो जाति पनि समाजमा जातिय छुबाछुत तथा बिभेदको प्रमुख चपेटामा परेको समुदाय हो । शैक्षिक दृष्टिकोणले अन्य दलित जातिको तुलनामा शुन्य रहेको यो जातिको कुल जनसंख्या १ लाख ७२ हजार ४ सय चौतिस रहेको छ । जस मध्ये ६.९ प्रतिशत मानिसहरु मात्र साक्षर छन । जुन तराईको दलितहरु मध्ये सब भन्दा कम साक्षर भएको समुह पनि हो । 
बाँतरः आफुहरु नेपालका आदिबासी भएको दबी गर्छन । करिब ३ सय बर्ष पहिले यी जातीका मानिसहरु बारा जिल्लाको पिपरा गाउँमा बाक्लो बसोबास गरेको र उनीहरुलाई तत्कालिन ईलिया र ईलियास नेतृत्बका मुस्लिमहरुको समुहले आक्रमण गरेपछि नेपालका बिभिन्न भागहरुमा बसाई सरी डरले बृहत रुपमा सुङ्गुर पालन गर्न थालिएको र फलस्बरुप सो मुस्लिमहरु आक्रमण गर्न छोडेको बुढा पाकाहरु भन्ने गरेका छन । अर्काे तिर प्रचिन कालमा यी जातीका पुर्खहरु राजाका दरबार बनाउने काममा गर्नको साथै टोडा (कर) संकलन गर्ने काममा संलग्न भएकाले बातरहरुलाई त्यस बेलाको सिंहको रुपमा चिन्ने गरेका भनाईहरु ब्याप्त रुपामा पाईन्छ । यो जातिका मानिसहरुको थर सरदार , सिरदार , माझी , ढोकेबाल, ढोड बाँतर,दास, राजबाँतर , पजहा तथा जाठ जस्ता नामहरुले पनि यस जाति परिचित छन ।
२०५८ सालको तथ्याँक अनुसार यस जातीको कुल जनसंख्या ३५ हजार ८ सय ३९ रहेको छ । जस मध्ये १८ हजार १ सय ३९ पुरुष तथा १७ हजार ७ सय महिला रहेका छन् । यो जाति नेपालको पुर्बिय ५ जिल्लाहरुमा १० हजार भन्दा बढीको संख्यामा बसोबास गरेको पाईन्छ । मोरङ्गमा सब भन्दा बढी संख्यामा बसोबास गर्ने यो जाति सप्तरी तथा सुनसरीममा समेत उल्लेख्य संख्यामा बसोबास गरेको  पाईन्छ । 
खत्बेः यो जातिको उत्पति तथा बिकासको बारेमा ठोस प्रमाण नभेटिए पनि समाजमा प्रचलित  जनश्रुतीलाई यस जातीका उत्पतिका आधार मान्ने गरेको पाईन्छ । प्राचिनकालमा भारतकोे बिभिन्न ठाउँहरुमा महा खडेरी लागेपछि आज भन्दा १ सय बर्ष पहिले बिहारबाट नेपाल प्रबेश गरी यहाँका बिभिन्न ठाउँहरुमा छरिएर बस्दै आएको भनाईलाई बिकासको आधार बनाएको पाईन्छ । हाल तराईका बिभिन्न जिल्लाहरुमा बसोबास गरिरहेका यस जातिका मानिसहरु बिभिन्न नामले परिचित हुने गरेको पाईन्छ । उनीहरु खत्बे ,खंग, मण्डल, राही शर्मा , चौपाल जस्ता नामहरुले पनि यस जाति परिचित छन ।
         यो जातिका कुल जनसंख्या ७४ हजार ९ सय ७२ रहेको छ । जस मध्येृ ३८ हजार ६ सय ४३ पुरुष छ भने ३६ हजार ३ सय २९ महिलाहरु रहेको तथ्याँक ले देखाएको छ । तराईका बिभिन्न ७ जिल्लाहरुमा १ हजार भन्दा बढिको संख्यामा बसोबास गर्दै आएका यो जाति सप्तरीमा मात्रै २७ हजार ४ सय ५० को संख्यामा बसोबास गरेको पाईन्छ । त्यस्तै धनुषा ,महोतरी, सिरहामा समेत उल्लेख्य संख्यामा बसोबास गरेको पाईन्छ । यो जातिको कुल जनसंख्याको १६.४ प्रतिशत मानिसहरु साक्षर रहेको तथ्याँकले देखाएको छ ।  
यस जातीका मानिसहरुले आफ्ने कुल देबताको रुपमा शसिया महाराज लाई लिने गरेको पाईन्छ । पैराणिक कथा अनुसार भारतका उज्ज्य नगरकी मैया मातैरले दाउरा तथा अन्य कामका सिललिलामा आफ्ना साथी सहेली कासाथ जंगल गएका बेला महऋर्षि परासरलाई तपस्या गरेको देखेर ढोग गरे । उनकी गुणबाट प्रभाबित भएर ऋर्षि परासरले ३ सन्तानको बरदान दिएका थिए । फलस्बरुप मैया मातैरले शसिया महराज, निकुजीया र चिराजी महाराजलाई जन्म दिएका थिए । ती तिनै दाजु भाई शुरबिर तथा प्रतापी रहेको बिश्वास गरिन्छ । तत्कालिन राजा दरभंगा महाराजले आफ्ना राज्यका ्सबै खत्बे समुदायलाई निस्कासन गर्ने उदेश्यले बन्दी बनाउन रेलगाडीमा हालेर बेलसार स्थित जेलमा लगिरहेका थिए । बन्दी खत्बेहरु सहयोगको लागि मैया मातैरलाइ सहयोगका लागि गुहार मागे पछि उनले छोरा शसिया महराजलाई बचाउन आदेश दिएको थियो । छोरा शसियाले खत्बहरुलाई उद्धार गर्ने उदेश्यले चलिहेको रेलको ईन्जीन नै ध्वस्त पारेर उनीहरुलाई बचाएको कारण सो समुदायले शसिया महराजलाई आफ्नो देबताको रुपमा मान्न थालेको बताउँछन ।                           
दुसाध(पासवान)ः यीनीहरु दुसाध, पासवान , हजरा , पासी , गोलो दत्रि , जस्ता थरको रुपमा चिनिन्छन् । जस मध्ये यो जातिका अधिकाँश मानिसहरु थर भने पासवान नै लेखाउने गरेको पाईए पनि कसै कसैले सिँह थर राख्ने गरेको पनि पाईन्छ । यस जातिलाई कामहर , कुर्मी , मघहैया ,पलिबार सरुजहाँ गरि ५ भागमा बिभाजित गरेको पाईन्छ । यी जातिका मानिसहरु अफुहरु काष्यप गोत्र मान्ने गर्दछन् ।
        राष्ट्रिय जनगणना २०५८ अनुसार यो जातिको कुल जनसंख्या १लाख ५८ हजार ५ सय २५ रहेको देखाईएको छ । जस मध्ये ८२ हजार १ सय ७३ पुरुष रहेको छन् भने महिलाहरुको संख्या ७६ हजार ३ सय ५२ छ । तराईको प्रत्येक जिल्लाहरुमा यो जातिको बसाई रहेको भए तापनि सब भन्दा बढि संख्यो भएको जिल्ला सर्लाही र त्यस पछि कपिलबस्तु र बारा पर्दछन ।, धनुषा, सिरहा, सप्तरी ,रौतहट ,महोतरी , पर्सा , रुपनदेही लगायतका जिल्लाहरुमा १० हजार भन्दा बढीकै संख्यामा यो जातिको बसाई रहेको पाईन्छ । तथ्याँक अनुसार यो जातिको कुल जनसंख्याको १८.३ प्रतिशत मानिसहरु साक्षर रहेको देखाईएको छ । जस मध्ये २७ प्रतिशत पुरुषहरु साक्षर रहेको देखिन्छ भने महिलाहरुको साक्षरता प्रतिशत ८ मात्र रहेको देखाईएको छ । बालबालिकाको ठुलो संख्या गरिबी तथा भोकमरीको कारण बिद्यालय जान नपाएको बताउँछन ।
यस जातिले, नेपालकै प्राचिन राजा तथा लोक नायक सलहेशलाई आफ्नो कुल देबताको रुपमा मान्ने गर्दछन ।        आज भन्दा २५ सय बर्ष पहिलेको सिरहाको मैसोथा गढमा यो जातिको राजधानी रहेको र त्यहाँका राजा सलहेश थिए । सलहेश सुरबिर, साहासी र कुशल राजतितिज्ञ  एबं लोक नायकको रुपमा मानिन्छ । उनी बनजंगल देखि हरेक ठाउँहरुमा आफत बिपत परेको बेला मानिसहरुलाई सहयोगीको भुमिका गदैआएको कथन पाईन्छ । उनलाई जंगलको राजाको रुपमा पनि चिनिन्छ । 

चमारः जातिका नाम संस्कृत नाम “चर्मकार” बाट भएको मानिन्छ । संस्कृत शब्द चर्मकारको अर्थ छाला सम्बन्धि काम गर्ने र त्यो पेशामा संलग्न ब्यक्ति वा जातिलाई बुझिन्छ । हिन्दुधर्म ग्रन्थ मनुस्मृतीमा चर्मकारलाई निसाद बैदेहस्त्रीको सन्तान भनि उल्लेख गरेको पाईन्छ ।  यीनीहरु राम, रबी दास, दास, रञ्जन , चक्रबर्ती , गाँधी , महरा , मोची , हरीजन लगायतका  थरको रुपमा चिनिन्छन् । यस अलाबा पनि यीनीहरु राउत मेहरा लगायतका नामले पनि चिनिन्छ । 
  तराईमा बसोबास गर्ने दलित जात जाती मध्ये जनसंख्याको दृष्टिकोणले पहिलो समुहमा रहेका छन् । यस समुदायको कुल जनसंख्या  २ लाख ६९ हजार ६ सय एकसठ्ठी रहेका  छन् । जस मध्ये १ लाख ३८ हजार ८ सय ७९ पुरुष छन् भने १ लाख ३० हजार ७ सय ८३ महिला रहेका २०५८ सालको तथ्याँकले देखाएको छ । तराईका रुपनदेही, सिरहा ,कपिलबस्तु, बारा, धनुषा, सप्तरी , पर्सा ,नबलपरासी , सर्लाही ,रौतहट , महोतरी र बाँके लगायतका जिल्ःलाहरुमा यो जातिको जनसंख्या उल्लेख्य रहेको पाईन्छ । यीनीहरु कुल जनसंख्याको ६.९ प्रतिशत साक्षर रहेको तथ्याँकले देखाएको छ । बालबालिकाहरुको ठुलो संख्या गरिबी तथा अशिक्षाका कारण बिचैमा बिद्यालय छोड्ने गरेको पाईन्छ ।
       यी जातिमा आफ्नै कुल परम्परा अनुसारको देबी देबताहरुलाई समेत पुजा गर्ने गरेको पाईन्छ । ती मध्ये काली ,बानी, गोरैया , लुकेश्वरी , मिरा , हनुमान,कुहेल्नी , थाली ,रक्त माला ,नरसिंहलाई  मान्ने गरेको पाईन्छ । यस आलाबा महारानी ,रबी दास, सलहेश, कन्दुल ऋषि , डगरिन देबी लागायतका देबी देबताहरुलाई श्रद्धा पुर्बक मान्ने गरिन्छ । जस मध्ये रबी दासलाई आफ्नो अग्रजको रुपमा लिएको पाईन्छ । 
हलखोर ः यो जातिका नाम उर्दु भाषाको हलाल शब्दबाट भएको जानकारहरु बताउँछन् । हलालको अर्थ उर्दु भाषामा खानाको लागि पशुलाई बद्ध गर्नु हो । र यही पेशामा संलग्न मानिसहरुलाई हलखोर अथबा हललखोर भन्न थालिएको उनीहरुको धारणा छ । अर्काे थरीको भनाई अनुसार  “हल” भनेको फोहर र “खोर” भनेको फोहर थुपार्ने ठाउँ । अथबा त्यो ठाउँलाई सफाई गर्ने जाति भएकोले यो जातिलाई हलखोर भन्न थालिएको यो जातिलाई मुख्य रुपमा मेस्तर , मेहतर ,सुपार र राउत लगायतका नामले चिनिन्छ ।
नेपालमा यो जातिको कुल जनसंख्या  ३ हजार ६ सय २१ रहेका  छ । जस मध्ये १ हजार ८ सय ४८ पुरुष छन् भने महिलाको संख्या १ हजार ७ सय ७३ रहेको तथ्याँकले देखाएको छ । जस मध्ये सब भन्दा बढी जनसंख्या भएको जिल्ला पर्सा हो भने कम जन संख्या भएको जिल्ला सुनसरी हो  । यस बाहेक, धनुषा, रौतहट ,सप्तरी ,सिरहा, बारा , महोतरी मोरङ्ग र सर्लाही लगायतका जिल्लाहरुमा यो जातिको बसाई रहेको पाईन्छ । यीनीहरुको कुल जनसंख्याका २९.३ प्रतिशत मानिसहरु मात्रै साक्षर रहेको तथ्याँकले देखाएको छ ।  जसमा ३७.३ प्रतिशत पुरुषहरु २०.७ प्रतिशत महिलाहरु मात्र साक्षरता रहेको देखाईएको छ । बेचुरामलाई आफ्नो कुल देबताको रुपमा पुजा गर्दछन् ।
तत्मा ः यी जातीका मानिसहरुले तत्कालिन राजा महाराजाहरुको लागि तान , सल्गा तथा डोरी बुन्ने काम गदै आईरहेको भनाई छ । सोही तान ,तन्ती लगायतका शब्दहरुलाई परिष्कृत भएर आफ्नो जातिको नाम तत्मा रहन गएको कथन छ ।  यीनीहरु दास , तत्मा , दन्ती ,ताँती, दास र प्रसाद लगायतका नामले पनि चिनिन्छ । यस बाहेक यी जातीलाई कनौझिया , बनौधिया, ढोलबजुवा तथा मगहैईया ४ बटा समुहमा नामाकरण गरेको पाईन्छ ।
यस जातिको कुल जनसंख्या  ७६ हजार ५ सय बाह्रो रहेका  छ । जस मध्ये ३९ हजार ६ सय ६ पुरुष छन् भने ३६ हजार ९ सय ६ महिला रहेको  तथ्याँकले देखाएको छ । धनुषा, रौतहट ,सिरहा,  महोतरी , सर्लाही , पर्सा ,बारा , सप्तरी सुनसरी तथा मोरङ्गमा समेत यो जातीको बासाई उल्लेख्य रुपमा पाईन्छ । यो जातिको कुल जनसंख्याको २१.४ प्रतिशत मानिसहरु साक्षर रहेको तथ्याँकले देखाएको छ ।  जसमा ३२.१ प्रतिशत पुरुषहरु र ९.५ प्रतिशत महिला रहेको देखाईएको छ ।
यी जातिका मानिसहरुले मुख्यतः  काली , नन्दी , धर्मराज ,पञ्च देबता, रक्तमाला, गहिल , नरसिंह ,महा मैया, भैरब तथा मौधकर लगायतका देबी देबताहरुलाई श्रद्धा पुर्बक मान्ने गरेको पाईन्छ । जस मध्ये मौधकरलाई यस जातीका मानिसहरु आफ्नो कुल देबताको रुपमा मान्ने गरेको पाईन्छ ।
धोबी ः यी जातीका मानिसहरुले लुगा धुने काम गदै आईरहेको कारण यो जातिको नाम धोबी रहन गएको जानकारहरु बताउँछन्  छ । “धो” भनेको धुने काम अथबा यो जति धुवाई संग सम्बन्ध रहने गरेकोले यो जातिको नाम धोबी हुन गएको कथन छ । यो जातिलाई दुई भागमा छुट्याईएको पाईन्छ । एउटा धोबी र अर्काे राजधोबी । धोबी अन्तरगत धोबी, रजक , साफी पर्दछन भने राजधोब अन्तरगत माझी मण्डल, खड्गा पर्दछन् ।
         तथ्याँक अनुसार यो जातिको कुल जनसंख्या  ७३ हजार ४सय १३ रहेका  छ । जस मध्ये ३८ हजार ३ सय ५० पुरुष छन् भने ३५ हजार ६३ महिला रहेका २०५८ सालको तथ्याँकले देखाएको छ । जस अनसार  सप्तरी, रौतहट , रुपन्देही सर्लाही ,कपिलबस्तु , बाँके ,सिरहा, बारा , महोतरी , धनुषा ,पर्सा  तथा नबलपरासी लगायतका जिल्लाहरुमा यो जातीको बासाई उल्लेख्य रहेको देखाईएको छ । यो जातिकोे कुल जनसंख्याका ३२.४ प्रतिशत मानिसहरु साक्षर रहेको छ ।  जस मध्ये ४५.२ प्रतिशत पुरुष तथा  १८.१ प्रतिशत महिलाहरु साक्षरता रहेको देखाईएको छ ।
          यी जातिमा आफ्नै कुल परम्परा अनुसारको देबी देबताहरुलाई समेत पुजा गर्ने गरेको पाईन्छ । ती मध्ये काली , भगबती ,बन्दी ,गोरैया ,जल्पा ,धर्मराज , रक्तमाला, गहिल , नरसिंह ,भैरब तथा बिषहैर लगायतका देबी देबताहरुलाई श्रद्धा पुर्बक मान्ने गरेको पाईन्छ । जस मध्ये बन्दी ,गोरैया लाई यस जातीका मानिसहरु आफ्नो कुल देबताको रुपमा मान्ने गरेको पाईन्छ ।
बादी ः परापुर्ब काल देखि नृत्य गायन तथा बाध्यबादन पेशा अंगाल्दै आएका यो जातिको उत्पति र बिकासको बारेमा कुनै ठोस प्रमाण भेटिएको छैन् । तर बिभिन्न भनाई तथा किम्बदन्तिहरुको आधारमा भन्ने हो भने यो जाति नेपालमा आज भन्दा ३५० बर्ष अघि नै प्रबेश गरेको बुझिन्छ । तत्कालिन राजा महाराजाहरुले यो जातिका मानिसहरुलाई मनोरञ्जनको साधनको रुपमा प्रयोग गर्न भारतबाट नेपाल भित्राएको बिश्वास गरिन्छ । जानकारहरुका अनुसार यो जातिको नाम पेशाबाट निर्धारण गरिएको हो । उनीहरुले अंगालेको पेशा नचगान, नृत्य तथा बाध्यबादन मध्ये बाध्यबादन शब्द परिमार्जित भएर यो जातिकोनाम बादी हुन पुगेको उनीहरुको भनाई पनि पाईन्छ । यीनीहरु थरको रुपमा  खाती , रसाईली थापा , लेकाली , छिनाल , बराल, ठाकुर , राणा, कुमाल , नेपाली लगायतका नामहरुले पनि  चिनिन्छन् । 
            जनगणना अनुसार नेपालमा यो जातिको कुल जनसंख्या ४ हजार २ सय ४२ रहेकोे छ । जसमा  २ हजार १ सय ५२ जना पुरुष छन् भने महिलाहरुको संख्या २ हजार २ सय ९० रहेको से देखाएको छ । यो जाति पहाडका जिल्लाहरु मध्ये सब भन्दा बढी सुर्खेतमा छन भने सबभन्दा कम कैलालीमा रहेको पाईन्छ । यस बाहेक जाजरकोट , दाङ्ग , बर्दीया, र दैलेख लगायतका जिल्लाहरुमा पनि उल्लेख्य रुपमा बसाई गरेको पाईन्छ ।
      यी जातिमा आफ्नै कुल परम्परा अनुसारको देबी देबताहरुलाई समेत पुजा गर्ने गरेको पाईन्छ । ती मध्ये दारे मास्ते ,पितार भैयार, लाटो भैयार , रोटे भईयान ,बराह र ब्रम्हा लगायतका देबी देबताहरुलाई मान्ने गरेको पाईन्छ ।
गाईने (गन्धर्ब)ः परापुर्ब कालमा यो जाति संगितकर्मीको रुपमा स्वर्गको राजा ईन्द्रको दरबारमा गायन तथा बाध्यबादनको काम गदै आएको भनाईहरु ब्याप्त रुपमा पाईन्छ । यो जातिका मानिसहरु महाभारतमा मुख्य कर्ता पात्रको रुपमा देखिएको कौरबहरुको मामा सकुनी र उसको बहिनी गन्धारीको बंशज आफुहरु रहेको बिश्वास गर्दछन् । तथापी पनि यो जातिलाई नेपालमा तत्कालिन नेपालका राजा कुलमण्डल साहले नेपाल बाईसे,चौबिसे राज्यको बेलामा भारतबाट गित संगित तथा मानोरञ्जनको निम्ती  भित्रयाईको थियो । र सोही बेला देखि यो जाति नेपालको बिभिन्न ठाउँहरुमा छरिएर बसेको उनीहरुको भनाई छ । यीनीहरु गन्धर्ब ,गाईने , गन्धारी नेपाली लगायतका  थरको रुपमा चिनिन्छन् । 
            जनगणना अनुसार ५ हजार ८ सय ८७  रहेको तथ्याँकले देखाईएको छ । जसमा  २ हजार ८ सय ५७ जना पुरुष छन् भने महिलाहरुको संख्या ३ हजार ३० रहेको सोही तथ्याँकले देखाएको छ । यो जाति पहाडका जिल्लाहरु मध्ये सब भन्दा बढी जनसंख्या भएको जिल्ला दाङ्गमा हो भने सबभन्दा कम भएको जिल्ला तनहँु हो  । यस बाहेक  कास्की , सुरखेत , चितबन , गल्मी लगायतका जिल्लाहरुमा पनि यो जातिको जनसंख्याउल्लेख्य रुपमा रहेको पाईन्छ । 
          यो जातिमा आफ्नै कुल परम्परा अनुसारको देबी देबताहरुलाई समेत पुजा गर्ने गरेको पाईन्छ । ती मध्ये भंगेर पूजा ,बाई पूजा लगायतका प्रमुख हुन् ।
दमाईः यो जाति बाहुनको भान्जा भएको भनाई पाईन्छ । त्यती खेर एउटा बाहुनले घरमा बाजा बजाएर पुजा गर्ने भाकल गरेका थिए । पुजाकोलागि आँगनमा दमहा राखेर जस्ले यो बाजा छुन्छ उसैलाई बाजा बजाउनु पर्न शर्त राखेका थिए । साही बेला एक जना बालक एक्कासी खेल्दै आएर बाजालाई छोई दिएपछि  सोही बालकलाई त्यो दिन देखी हरेक शुभ कार्यहरुमा बाजा बजाउने जिम्मा दिईयो र त्यहीबाट दमाई जातिको उत्पति भएको बिश्वास गरिन्छ  । यीनीहरु परियार , सुन्दास ,मोते , बग्दास , सिवा , सोनाम ,महरा ,नेपाली ,रिजाल ,नगर्ची, कार्की लगायत अन्य  थरहरु बाट पनि  चिनिन्छन् ।
दमाई जातीले बजाउने पन्चे बाजा 
          यो जातिको कुल जनसंख्या २०५८ सालको जनगणना अनुसार ३ लाख ९० हजार ३ सय ५  रहेको तथ्याँकले देखाईएको छ । जसमा  १ लाख ८८ हजार ३ सय २९ जना पुरुष छन् भने महिलाहरुको संख्या २ लाख १ हजार ९ सय ७५ रहेको देखाएको छ । कास्की ,सुर्खेत ,अछाम , कैलाली , दाङ्ग , झपा लगायतका जिल्लाहरुमा पनि यो जातिको जनसंख्या १० हजार भन्दा बढी नै रहेको पाईन्छ । शैक्षिक रुपमा अन्य दलित जतिहरुको तुलनामा केही अगाडी रहेको देखिएको भए तापनि अधिकाँश यो जातिको मानिसहरु अन्य दलित जात जाति जस्तै गरिबी , भेदभाब तथा अज्ञानताकै कारण पढ्न लेख्नबाट बञ्चित हुनु परेको छ । 
      म्ुाख्य रुपमा हिन्दु धर्म मान्ने यो जाति अन्य हिन्दुहरु जस्तै  होली, तिज, दशै, तिहार लगायत अन्य चाडपर्बहरु बिशेषतः मुख्य रुपमा मनाउने गरिन्छ । यस अलाबा यी जातिमा आफ्नै कुल परम्परा अनुसारको देबी देबताहरुलाई समेत पुजा गर्ने गरेको पाईन्छ । ती मध्ये भंगेर पूजा ,बाई पूजा लगायतका प्रमुख हुन् ।
सार्की ः परम्परागत रुपमा छाला सम्बन्धि काम गर्ने जाति हो सार्की । यो जातिको उत्पति तथा बिकासको बारेमा कुनै लिखितम सामग्री तथा अन्य कुनै ठोस प्रमाण भेटिएको छैन तथापी पनि समाजमा प्रचलित बिभिन्न भनाई तथा किम्बदन्तीहरुको आधारमा लामो समय अघि शाह राजाहरु कै शासन कालमा यो जाति नेपाल प्रबेश गरेको हो । अथबा उनीहरु तत्कालिन शाह राजाहरुकै बंशज रहेको भनाईहरु पाईन्छ । केही समय यता उनीहरु मध्ये कोही कोहीले  मरेका जनाबरहरुको मासु खाएकोले तीनीहरुलाई बिस्तारै शाह बाट सार्की भन्न थालिएको कथन पाईन्छ । अर्को थरीको भनाई अनुसार सार्कीहरु भारतबाट नै ११औ शताब्दी पछि त्यहाँका बैदिक आर्यहरु संगसंगै पश्चिमबाट नेपाल आएको अध्ययनहरुले देखाएको छ । र यो जातिका मानिसहरु सराक भन्ने ठाउँबाट आएको हुनाले यो जातिलाई पछिल्लो समयमा आएर सार्की भन्न थालिएको बताउँछन् । यीनीहरु रम्तेल ,खिलुङ्गे , रोक्का, अछामी, बयलकोटी, कोयराला, भुजेल , ब्रह्मसाखा , पुरी ,नेपाली  लगायत अन्य  थरहरु बाट पनि  चिनिन्छन् । ्
             जनसंख्या २०५८ सालको जनगणना अनुसार ३ लाख १८ हजार ९ सय ८९  रहेको तथ्याँकले देखाईएको छ । जुन पहाडका दलितहरु मध्ये तेस्रो ठुल्लो समुह हो । यसमा  १ लाख ५३ हजार ६ सय ८१ जना पुरुष छन् भने महिलाहरुको संख्या १ लाख ६५ हजार ३ सय ८ रहेको देखाएको छ ।
यो जाति पहाडका जिल्लाहरु मध्ये सब भन्दा बढी जनसंख्या भएको जिल्ला गोरखा  हो  त्यस पछिका जिल्ला धादिङ्ग र बागलुङ्ग हो । यी ३ जिल्लाहरुमा १० हजार भन्दा बढि नै जनसंख्या रहेको पाईन्छ । यस बाहेक  अछाम , कैलाली , दाङ्ग , झपा लगायतका जिल्लाहरुमा पनि यो जातिको उल्लेख्य संख्यामा बसोबास रहेको पाईन्छ । 
कामी ः यो जातिको उत्पति र बिकासको बारेमा कुरा गर्ने हो भने आफुहरु बाबा बिश्वकर्माको सन्तान , दरसन्तान भएको बताउँछन । जो निर्माण , कला र बिज्ञानको क्षेत्रको भगबानको रुपमा चिनिने अदृष्य पुरुषको रुपमा चिनिन्छ । हिन्दुहरुको महान ग्रन्थ पुराण अन्तरगत स्पन्ध पुराणको पाँचौ खण्डमा उल्लेख भए अनुसार भगबान बिश्वकर्माको पाँचबटा सन्तान रहेको र तिनीहरुको नाम मनु , मय , तोष्ठा , सिन्ती र दैबज्ञ थिए । जसलाई पाञ्चाल पनि भन्निछ । जस मध्ये दैबज्ञको सन्तान कामीहरु रहेको बताउँछन कामीको बिस्तृत रुप कारण धमी हो । अर्थात परिश्रमी अथाबा काम गर्ने जात । यीनीहरु बराईली , बिश्वकर्मा , गजमेर , लुहार शंकर पोर्तेल ,लाम्गादे , घतानी , रसाईली ,गहतराज , खाँती, रुचाल ,सेन्चुरी ल्वागुन रिसाल सुनार र सोब लगायत अन्य  थरहरु बाट पनि  चिनिन्छन् । 
         यो जातिको कुल जनसंख्या २०५८ सालको जनगणना अनुसार ८ लाख ९५ हजार ९ सय ५४  रहेको तथ्याँकले देखाईएको छ । जुन पहाडका दलितहरु मध्ये सब भन्दा ठुलो समुह हो । यसमा  ४ लाख ३२ हजार ९ सय ३७ जना पुरुष छन् भने महिलाहरुको संख्या ४ लाख ६३ हजार १७ रहेको देखाएको छ ।
यो जाति पहाडका जिल्लाहरु मध्ये सब भन्दा बढी जनसंख्या भएको जिल्ला सुर्खेत हो । त्यस पछि कैलाली , बाग्लुङ्ग , दैलेख , अछाम, गुल्मी , जाजरकोट , कास्की, दाङ्ग , प्युठान रोल्पा स्याङ्गजा , चितबन , नबलपरासी  तनहँु र पुर्बका सुनसरी , संखुवासभा लगायतका जिल्लाहरुमा यो जातीको जनसंख्या २० हजार भन्दा बढी नै रहेको पाईन्छ । यी बाहेक नेपालका अन्य बाकी जिल्लाहरुमा समेत यो जातिको बसाई रहेको पाईन्छ । 
             बि.सं.२०५८ सालको तथ्याँक अनुसार समग्र नेपालीहरुको कुल साक्षरता प्रतिशत ५४ रहेको छ । जस मध्ये पहाडी दलितहरुको कुल साक्ष्।रता प्रतिशत ४२ देखाईएको छ भने मधेसी दलितको साक्षरता २१ प््रतिशत मात्र देखाईएको छ । शैक्षिक योग्यता एस.एल.सी. भन्दा माथी भएको दलितको प्रतिशत १ प्रतिशत भन्दा कम देखाईएको अबस्था छ । यसरी साक्ष्।रता दर कम देखिनुको मुख्य कारण के त ? निश्चित रुपमा सहजै अनुमान लगाउन सकिन्छ । त्यो के हो भने गरिबी, शैक्षिक संस्थाहरुमा बिभेदकारी ब्यबहार हुनु , शैक्षिक गतिबिधीहरुमा मातृ भाषाको समाबेश नगर्नु । यसरी सामाजिक , आर्थिक , शैक्षिक तथा धार्मीक रुपले उत्पिडित र उपेक्षिते भएकोले राज्यको हरेक निकायहरुमा  उनीहरुको पहुँच र सहभागिता गराउन आबश्यक छ । 
आर्थिक रुपमा शोषित , राजनैतिक रुपमा बञ्चित , सामाजिक रुपमा अमर्यादित रहेको समग्र दलित समुदाय मानसिक रुपले समेत कमजोर भएको हुदा लोकतान्त्रिक मुल्य मान्यता ,मानब अधिकार , नागरिक्ताको सहज प्राप्तीको लागि कानुनी आधारहरु नागरिक हक ,अधिकार र कर्तव्य जस्ता बिषयहरुमा शैक्षिक परामर्स , तालिम जस्ता कार्यक्रमहरु संचालन गरी उनीहरुलाई जागृत बनाउने र शसक्त नेतृत्वको बिकास गर्नु नितान्त आबश्य छ ।  

साभार :- dipendrapaswan'sblog

No comments:

Post a Comment