दलित समुदायले गर्ने सुन्दरी प्रतियोगिताको विषयमा विवाद

पछिल्लो समय विभिन्न समुदायबिच सौन्दर्य प्रतियोगिताको होड निकै बढेको छ । यहि मेसोमा दलित समुदाय पनि सौन्दर्य प्रतियोगिताको लागि जुर्मराएको छ । नेपालमै पहिलोचोटी दलित समुदाय यसरी सुन्दरी प्रतियोगिताको लागि जुटेको हो । तर विडम्बना, ‘पहिलो गाँसमै ढुंगा’ भनेजस्तै दलित सुन्दरीहरुबिच गराईन लागेको सुन्दरी प्रतियोगिता विवादमा तानिएको छ । पहिलोपल्ट हुन लागेको दलित समुदायका युवतीहरुबिचको सुन्दरी प्रतियोगिता एकैसाथ दुईवटा आयोजकले गर्ने भएपछि ‘कुन प्रतियोगिता दलित समुदायको लागि वास्तवमै लक्षित हो ?’ भन्ने मतभिन्नता देखिएको छ । यहि विषयले दलित समुदायका युवतीहरु पनि अन्यौलमा पर्ने निश्चित छ ।नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले शुक्रबार पोखरामा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर आफुहरुले नेपालमै पहिलोपटक यो कार्यक्रम गर्न लागेको जनाएको थियो । यद्यपी त्यसकै भोलिपल्ट शनिबार दलित समुदायकै अर्को समुहले पनि एउटै प्रकृतिको कार्यक्रम गर्ने बारेमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । ‘यो कन्सेप्ट हाम्रो हो तर दलित समाज कल्याण संघले हाम्रै कन्सेप्ट चोरेर हामी भन्दा अगाडी यो कार्यक्रम गर्न लागेछन्, त्यसैले हामी किन पछाडी हट्ने ?’ स्टार टिमवर्क नेपालका निर्देशक प्रेम बहादुर परियारले भने–‘दुई वर्षदेखि हामी यसैको तयारीमा छौँ तर उहाँहरु गैरदलितहरुसंग मिलेर कार्यक्रम गर्दैहुनुहुन्छ ।’
यी दुईवटै समुह पहिला एउटै समुहमा आबद्ध भएको समेत बुझिएको छ । पछि आएर यहि विषयमा विवाद बढ्दा छुट्टिएर कार्यक्रम गर्ने मनस्थितीमा उनीहरु पुगेको केहि जानकारहरुले बताएका छन् । छुट्टिएर कार्यक्रम गर्न लागेका यी दुवै समुहले ईभेन्टको नाम पनि छुट्टाछुट्टै राखेका छन् । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघले ईभेन्टको नाम ‘मिस दलित’ राखेको छ भने स्टार टिमवर्क नेपालले ‘मिस डायोनमिक’ राखेको छ । संघले ईभेन्ट म्यानेजमेन्ट कम्पनी ट्रेनर नेपालसंगको सहकार्यमा ‘मिस दलित’ गर्दैछ ।
‘मिस दलित’मा पोखरा सहित काठमाण्डौ, बाग्लुङ, धरानमा अडिसन गरी छानिएका २५ जना प्रतियोगितालाई एक महिने तालिममा सहभागि गराईने संयोजक निसा सुनारले जानकारी दिएकी छन् । प्रतियोगिताको फाईनल असोज १९ गते हुने आयोजकले जनाएको छ । एसएलसि उत्तिर्ण १६ देखि २९ बर्ष उमेर समुहका ५ फिट उचाईका दलित युवतिले यो ईभेन्टमा सहभागिता जनाउन पाउनेछन् । प्रतियोगिताका लागि १० लाख खर्च लाग्ने संघको अनुमान छ ।
यता अर्को संस्था स्टार टिम वर्क नेपालको आयोजनामा असोजकै दोस्रो साता पहिलो मिस डाईनामिकको घोषणा गर्ने जनाएको छ । ‘मिस डायोनमिक’का लागी यो संस्थाले पाँच वटै विकास क्षेत्रका सहभागिलाई ल्याउने जनाएको छ । पहिलो चरणमा देशभरका करिब ५ सय दलित युवतिको सहभागिता रहने आयोजकको अनुमान छ । प्रतियोगितामा १६ देखि २५ बर्ष उमेर समुहका युवतिहरुलाई सहभागि गराईने संयोजक प्रकाश दिप नेपालीले जनाए । प्रतियोगिताका लागि करिब १५ लाख रुपैँया लाग्ने आयोजकको अनुमान छ । कुन प्रतियोगितामा कति दलित युवतीहरुको सहभागिता रहने हो, त्यो भने आगामी दिनले नै देखाउनेछ ।

No comments:

Post a Comment