बाहुनको खाँटी सन्तान हुँ ..छातिमाथि हात राखेर सत्यलाई ढाँट्न सक्दिन

shiva gyawali Bankaila

यो सत्तोश्राप मैले व्यक्तिगत आधारमा गरेको होइन । जातले टपरे बाहुनको खाँटी सन्तान हुँ । सायद, यो समाजको दृष्टिमा विटुलिइसकेँ हुँला । तर, छातिमाथि हात राखेर सत्यलाई ढाँट्न सक्दिन । अन्याय न त हेर्छु, नत सहन्छु । बोल्छु, चिथोर्छु । दाह्रा किट्छु । यहाँ लेखेर अन्यायका विरुद्ध शब्द विद्रोह बोलें । कसैप्रति दुखेमा जानाजान गरेको गल्ति हो मेरो ।
इतिहास पल्टाएर हेर, कानुनका ठेलीहरूमा खोज, धर्मग्रन्थका कुरूप मन्त्रहरू पढ र समाजमा हुनेखाने वर्गहरूको दैनिक जीवनमा हेर । कल्ले कुचेको छैन दलितहरूको छातिमाथि ? कल्ले चुसेको छैन दलितहरूको रगत ? यहाँ मिडियाको प्रसङ्ग जोड्छु । समाजको चेतना र परिवर्तनको एउटा संवाहक मिडिया हो । नेपाली मिडियाको सन्दर्भ पनि विष्ट संस्कृतिमा हुर्केको समाजभन्दा धेरै फरक छैन । कहाँ सम्मान गरेको छ मिडियाले दलितहरूको पाइलालाई ? कहाँ लेखिएका छन् दलित समुदायका गाथा ? पृथ्वीनारायणहरू मरे, देवकोटाहरू मरे, वीपीहरू मरे, मरेका ‘ती’हरूको हरेक जन्मजयन्तीमा मूलधारका मिडियाहरू दुईपृष्ठ लामो भाट भजन गाउँछन् । उनीहरूका कविता लेख्छन् । कथा लेख्छन् । मानौ उनीहरू यो लोकमै जन्मनु नेपालीहरूको लागि गर्व हो । तर, विषे नगर्ची, भगत सर्वजितहरूको गाथा कल्ले लेख्यो ? कहिले देख्यो ? समाज या मिडिया, मिडिया या समाज ?
विश्व समुदाय दलितअधिकार दशक (२०११–२०२०) मनाउँदै छ । दलित समुदायको पहलमा ‘जातीय भेदभाव तथा छुवाछुत कसुर तथा सजाय ऐन, २०६८’ आइसकेको छ । यो विषयलाई कहिले उठायो मिडियाले ? कहाँ बोले मानवअधिकारका चर्का सवाल उठाउने च्याउछाते एनजीओ र त्यहीँ संस्कृतिमा हुर्केका राष्ट्रिय मानवअधिकार आयोगका नेतृत्व तहका भूपि शेरचनको कवितामाजस्तै ‘कानमा इयरफोन लाउने’ व्यक्तिहरू । रङगभेद अपराधको दमन र दण्डसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९७३ को पक्ष राष्ट्र हो, नेपाल । तर, यस महासन्धिको धारा १४ अनुसार पक्ष राष्ट्रका कुनै व्यक्तिले जातपात र छुवाछुतको भेदभावविरुद्ध आफ्नो मुलुकभित्र न्याय नपाए जातीय विभेद उन्मूलन समितिमा ठाडो उजुरी गर्न पाउने प्रावधानलाई नेपालले हालसम्म मान्यता दिएको छैन । दलित समुदायको अधिकारको स्थापनाका लागि संयुक्त राष्ट्रसङघमाथि सकारात्मक दबाब सिर्जना गर्न हरेक दुईवर्षमा नेपालका तर्फबाट राष्ट्रसङघमा पठाउनु पर्ने सरकारी प्रतिवेदन हालसम्म ढाँटछलका आधारमा पठाइएको छ । अब सो प्रतिवेदनको निर्माण प्रक्रियादेखि पठाउने अवस्थासम्म दलित समुदायको सहभागिता हुनुपर्छ भनेर कहिल्यै मिडिया बोल्यो ? छैन । उनीहरुको दिमाग २२ सय वर्षअघि बनेको काँचो वायुले बनेको छ ।
धेरै लामो समय कोट्याउनु पर्दैन, गत एक महिनाको अवधिमा नेपाली मिडियाले जातीय विभेद र त्यससँग सम्बन्धित सवाललाई जसरी प्रस्तुत गरे त्यसको मूल्याङ्कन गर्ने हो भने पाँच कक्षा पढ्दै गरेका एकजना विद्यार्थीले पनि सजिलै भन्ने छ, नेपाली मूलधारको मिडिया दलित सवालमा कति पूर्वाग्रही छ ?
सुन्दा र सम्झँदा पनि डर लाग्छ, वि.सं. २०५० मा सिन्धुपाल्चोक सिपापोखरेमा ३ वर्षकी बालिका लक्ष्मी विश्वकर्मालाई कुवा छोएको निउँमा सोही कुवामा चोबलेर हत्या गरियो । वि.सं. २०६६ मा रूपन्देहीमा ९ बालिका मनिसा हरीजनलाई इट्टाभट्टामा गर्धन छिनाएर बली चढाइयो । वि.सं. २०६८ भदौ १३ गते दैलेखमा छोराले ठकुरीकी छोरी विवाह गरेको निहुँमा सेते दमाईलाई खुँडा र खुकुरीले रैथाने ठकुरीहरूले चोक्टाचोक्टा काटेर हत्या गरे । कास्कीको घाद्रुकका शिक्षक कर्ण नेपालीलाई कालोमोसो र पेटीकोट लगाइदिएर समग्र आमाहरू र पूरै दलित समुदायको जातीय स्वाभिमानको हत्या गरियो । तनहुँ, घाँसीकुवा १ की किशोरी माया विकलाई गाग्री छोएको निहुँमा मरणासन्न हुने गरी कुटपिट गरियो । कालीकोटमा मनवीर सुनारलाई जातीयताकै आधारमा कुटेर हत्या गरियो । अहँ खोई किन मौन ? को बोल्यो ? आवाज आएन कतै ? कुनामा दलित समुदायको एउटा टोलीमात्र सानो आवाजमा ‘हाम्रो अधिकार लेऊ’ भन्यो, राज्यले दिएँ भन्यो, अरू केही भएन । बरू यही समयमा यस्ता सबै घटनाहरूलाई चितवनका नेपालीकाँग्रेस समर्थित एक अपराधी गुण्डाको मृत्युले छायाँमा पारिदियो । यहाँका कथित मिडियाहरू उसैको पछि दौडिए । भजन गाए । मनवीर हत्यालाई दारुपानीको झगडा भने । माथि उल्लेख गरिएका घटनाहरूको मिडिया कभरेजमात्र काफी छ, वर्षौंदेखि मूलधारको मिडिया प्रवृत्ति ।
मैले स्वघोषित, सबैभन्दा बढी बिक्न,े धेरैले हेर्ने वा सुन्ने कुनै मिडिया हाउसका बरिष्ठ पदमा रहेकाहरूको विवेक छैन भन्न खोजेको होइन । तर, उनीहरूको विवेकमा बिर्को यसरी लाइएको छ कि त्यो बिर्को उनीहरूको नाति पुस्तासम्म पनि खोल्न कठिन छ । उनीहरूको प्राथमिकता सामाजिक उत्तरदायित्व होइन, व्यापार हो । र, त्यसको आधारको रूपमा रहेको राजनीति ।
म फेरि दोहो¥याउन चाहन्छु कोट लाउँदैमा, बिबिसिमा अन्तर्वार्ता आउँदैमा, पत्रिकाको सम्पादक हुँदैमा कोही बरिष्ठ हुँदैन । त्यसो त म एउटा गाउँले केटोले यसो भन्दा अनर्थ लाग्ला । तर, सामाजिक उत्तरदायित्व र निम्न वर्गिय, आवाज खोसिएका समुदायको पक्षमा बोल्न नसक्ने, लेख्न नसक्ने र उनीहरूको संवेदनालाई व्यापार र राजनीतिको दाउ बनाउने पत्रकारिताको खोल ओढ्नेहरू साँचो अर्थमा राज्यको चौथो अङ्ग हुनै सक्दैनन् । मैले पत्रकारिताको विद्यार्थीको रूपमा बुझेको यत्ति हो । अरू बुझ्नु परे बुझौंला । प्रतिकृया आउलान् । नेपाली मुलधारका मिडियाको यहीँ प्रवृत्तिले गर्दा नै हो आमसञ्चारका कैयौं विद्यार्थीहरू मूलधारको पत्रकारिता गर्न चाहन्नन् । अनुसन्धानकर्ताले अनुसन्धान गरे हुन्छ, देशभर रहेका एक दर्जन सरकारी तथा निजी क्याम्पसमा पत्रकारिता अध्ययन गरेका विद्यार्थीहरूले के गरिरहेका छन् ? कसरी मूल्याङ्कन गर्छन् मूलधारको पत्रकारिता ? अहिले पनि यो क्षेत्र अरू ‘केही गर्न नसके पत्रकार बन्नु’ भन्ने हजुर बाजेको पालाको उखानलाई अङ्गालिरहेको छ ।
पछिल्लो समयमा बाजुरामा दलित समुदायबीचमै भएको छुवाछुतको घटना घटनालाई लिऔ, जुन दलित समुदायबीच रहेको चरम विभेदको नमुना थियो । मुलुकभर गैरदलितभित्र र दलित समुदायबीच मात्र होइन दलित समुदायभित्रै पनि ठूलो जातीय विभेद रहेको छ । यो हामी सबैलाई थाहा भएकै कुरा हो । बाजुरा घटना एउटा प्रतिनिधि घटना हो जसले नेपाली दलित आन्दोलन कति लथालिङ्ग छ भन्ने प्रस्ट देखाएको छ । अबका दिनमा यो अवस्थालाई व्यवस्थापन गर्नु र दलित आन्दोलनभित्रै व्यापक शुद्धीकरणको अभियान चलाउनु आवश्यक छ । यस तथ्यलाई दलित आन्दोलनले स्वीकार्नै करलाग्छ । अब गैरदलितलाई ‘ब्राह्मणवादी’ भनेर मात्र दलित आन्दोलन निष्कर्षमा पुग्दैन । हो, दलित समुदायभित्र कमजोरीहरू छन्, समस्याहरू छन् । यी समस्याहरूको निराकरणको खाँचो पनि त्यत्तिकै छ । मिडियामात्र खराब भन्ने पनि होइन । कतिपय मिडियाले दलित आन्दोलनलाई सघाइरहेका पनि छन् । त्यो हामीले स्वीकार्नै पर्छ । तर, मुद्दालाई कसरी उठाए ? कति प्राथमिकता दिए ? भन्ने प्रमुख कुरा हो । बाजुरा घटनालाई जसरी मुख पृष्ठमा प्राथमिकताका साथ उठाइयो त्यसमा मिडियाको मृख्य प्रवृत्ति के रहेछ भन्ने छर्लङग देखिन्छ ।
कहीले पनि र कहीँ पनि दलित समुदाय हेपिएको, चेपिएको, च्यातिएको र लुटिएका खबरहरू ब्यानर न्यूज बन्न सकेनन् । मुख्य पृष्ठमा आउन सकेनन् । रङ्गिन पेजमा आउन सकेनन् । यस्ता मुद्दाहरूले ठाउँ पाए त विज्ञापन राखेर बचेको ठाउँ, जहाँ पाठकको आँखा सितिमिति नपरोस् । मनवीरको हत्याकाण्डलाई नै लिऔं । कहाँ आयो एउटा दलित मारिएको समाचारको ब्यानर न्यूज ? त्यो पनि मुख्य पृष्ठमा ? कोही छ बहादुर यो तथ्य देखाउने ? कस्ले लेख्यो सेते दमाईले चोक्टाचोक्टा काटिएर मरेको कथा ? कल्ले लेख्यो गाग्री छोइएको निहुँमा मरणसन्न हुने गरी एउटी किशारीमाथिकोे भाटे कुटाइ । कल्ले देख्यो एउटा हेडमास्टर लाई पेटीकोट लगाएर कालोमोसो सहित गाउँ घुमाएइँदाको पीडा ? के यी समाचारहरू मुख पृष्ठमा आए ? अहँ आएनन् । समय छैन नेपाली मिडियाका व्यापारीहरूलाई, दलित समुदायको पीडा लेख्ने । उनीहरू त ‘फुटाउ र सासन गर’ भन्ने मात्र बुझेका छन्, त्यसैले त आयो मुख पृष्ठमा बाजुरा घटना । मनवीर हत्याकाण्डलाई मिनिमाइज गर्ने ढङ्गले दलित समुदायलाई लोप्पा खुवाउनुभन्दा यो समाचारले अरू कुनै अर्थ राखेजस्तो लाग्दैन मलाई । साटो फेर्ने तरिकाले आएको यो समाचार दलित आन्दोलनको विरुद्ध मात्र आएको हो । यति भन्दाभन्दै पनि मैले दलित समुदायभित्र रहेको विभेदलाई राम्रो भन्न खोजेको होइन । जुन समुदायभित्र भएपनि विभेद अपराध नै हो अपराध भन्दा अरु केही होइन । आफूभित्र भएका कमजोरीहरुलाई हटाउँदै अब नेपाली दलित आन्दोलनले फरक प्रकृतिको एकीकृत ‘हान्दोलन’को सुरुवात गर्नुपर्छ ।
साभार :- meroreport

1 comment:

  1. सहि स्पष्ट बिचार दिनुभएकोमा धन्यवाद !

    ReplyDelete