उखान टुक्कामा दलिएका दलितहरू-मनकुमार गदाल
Sunday, August 4, 2013
बोल्ने
उखान तुक्काहरु कत्तिपय यस्ता पनि छन जसले प्रायः त दलित समुदायको हुर्मत
लिएका छन् । दलितको काम, पेशा र जीवनशैलीमाथि निरन्तर प्रहार गर्ने,
उनीहरुलाई मानसिक रुपमा सँधै होच्याइरहने दासपूर्ण अभ्यासको दुःखी बिरासत
बनेका छन् त्यस्ता उखानहरु ।
लवाई खवाई हेर्दा भद्र भलाद्मी
देखिने व्यक्तिहरु एकअर्कामा गफिँदा ‘कामीको बिहे अठार थोकको खाँचो, बुढो
दमाई नाच्न थाल्यो नर्सिंगा भाँच्यो’ भन्दै उखान तुक्काले गफ जोड्दा मुटुमा
काँडा बिझेको अनुभब हुन्छ दमक-१५ का कृष्ण विश्वकर्मालाई । त्यति मात्र
होइन ठूलाबडा, सरकारी हाकिम, शिक्षित र बुद्धिजीवी भनिएकाहरुबाट पनि कामको
सिलसिलामा होस् या त चिया गफमा प्रसङ्ग मिलाउँदै ‘कामीको ढर्रा, दमाइ स्वाङ
सार्कीका मुखमा एकमुठी ल्वांङ्ग’ जस्ता उखान बोल्छन् । बारम्बार पीडित
हुनु परेको कारण बेकारमा दलितको रुपमा जन्म लिएँछु भन्ने पनि लाग्छ उनलाई ।
कुचिकार सिकन्दर मल्लीक दमक नगरपालिकाका कर्मचारी हुन् । नगरपालिकाको
कार्यालय बढारकुँढार गर्ने उनको पेशा हो । तर उनको मन खिन्न भइरहने मुल
कारण पनि यहि पेशै बन्ने गरेको छ । नगरपालिका कार्यालयमा आउने
सर्वसाधारणदेखि हाकिमसम्मले कुराकानी गर्दा ‘मरेपछि डुमैराजा’ भन्ने गरेको
उनले प्रसस्त सुनेका छन् । “साँच्चै मन दुख्छ” निधार खुम्च्याउँदै
सिकन्दरले भने । आफ्नो जातलाई पिर पर्नेगरी भनेको सुन्दा मन कुँडस्ने
बताएपनि सिकन्दरलाई यो पिडा सुनिदिने कोहि भए जस्तो लागेको छैन । हामी
जस्ता साना मान्छेको कुरा कसले सुनिदेला र ? उनले उल्टो प्रश्न गरे ।
दमक-१३ का हेमकुमार दर्नाल (दर्जी) पनि शिक्षिकाले पढाएको बेला कामी काले र
कालेकामी भनेको एउटै हो भनेर उदाहरण दिंदा साह्रै अपहेलित भएको महसुस गरे ।
बिद्यालय शिक्षा पूरा नगरी बिचैमा पढाइ छोड्नु पर्ने अन्य कारणमध्ये
अपमानित उखान तुक्का पनि एउटा रहेको उनले बताए । दमक-११ कै आँचल भेराइटी
सेन्टरका सञ्चालक विनोद रजक (धोबी) लाई पनि तराईका ठूला जात भनाउँदा शाह,
राजपूत, गुप्ता, यादव, चौधरी र झालगायतका ब्यक्तिले मैथिली भाषामा उखान
भन्दै उदाहरण दिने गर्नाले आफूले ‘पिन्च’ हुन्छ ।
यी त प्रतिनिधि
उदाहरण वा पात्र मात्र हुन् । बर्णाश्रम समाज बहुल मुलुकभित्रका लाखौं
दलितहरु आज उखान तुक्काको नाममा रातोदिन चर्को मानसिक पिडा खोपिरहेका छन् ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य मिन विश्वकर्मा उखान तुक्काहरु मानव
सभ्यता, संस्कृतिका विकाससँगै शुरुवात भएको बताउँछन् । केन्द्रीय सदस्य
विश्वकर्माको बुझाइमा कुनै पनि कुरालाई लामो ब्याख्यात्मक तरिकाले भन्नुको
सट्टा संक्षिप्त वा पर्यायवाची भाषामा प्रस्तुत गर्न उखान प्रयोग गरिएको
ठम्याइ छ । समाज, जाति, र समुदायका कसैको आत्मसम्मानमा चोटपुग्ने पाराका
उखान तुक्काको चलन अन्त्यको लागि उनीहरुकै आर्थिक, सामाजिक सशक्तिकरण,
देशब्यापी जनजागरण साथै ब्यक्ति, समूह संगठन, राजनीतिक दल र सरकारले एकै
साथ स्वर मिलाएर काम गर्नुपर्ने उनको भनाई छ ।
नेपाली शब्द भण्डारजस्तो
किताबमा समेत दलितलाई होच्याउने उखान तुक्का लिपिबद्ध गरिएको पाइन्छ ।
धेरैजसो त्यस्ता उखानलाई नयाँ र पढेलेखेको पुस्तासम्म पुग्ने काम नजानिदो
पाराले प्रज्ञा प्रतिष्ठानले निकालेको शब्द भण्डारबाटै भइरहेको कुराले
नेपाल उत्पीडित जातीय मुक्ति समाज इलामकी अध्यक्ष मधु विश्वकर्मालाई निक्कै
पिरोलेको छ ।
दमक बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख मोहन
भण्डारी अभिधा अर्थमा नभएर लक्षणा र ब्यञ्जणा अर्थमा उखान तुक्काको प्रयोग
हुने बताउँछन् । कुनै-कुनै घटना अनुभूति आभाषबाट पनि उखान बन्ने गरेको
भण्डारीको भनाई छ । भण्डारीको भनाईमा नेपालमा बग्ने नदीको मुहान जस्तै उखान
तुक्काका मुहान अनेक छन् । सबै जातिलाई होच्याउने र उकास्ने पनि उखान
तुक्का छन् । यिनीहरुको संकलन गरे शब्दकोषभन्दा ठूलो हुने हुँदा अनावश्यक
उखान तुक्काको संशोधन गर्नुपर्ने पूर्व क्याम्पस प्रमुख भण्डारीको भनाई छ ।
नेपाल बुद्धिजीवी परिषद् झापा अध्यक्ष उत्तम भट्टराई भन्छन् – मानिस
जन्मजात ठूलो सानो हुँदैन । उसको मूल्यांकन कर्मको आधारमा गर्नुपर्छ । कुनै
पनि जात-जाति तथा वर्गलाई लक्षित गरी बनाइएका समाजविरोधी उखान-तुक्काहरु
नेपाल प्रज्ञा प्रतिष्ठान तथा साझा प्रकाशनलगायतका अन्य सामग्री प्रयोगमा
ल्याइएका सम्बन्धित सामग्री हटाउनु पर्ने अध्यक्ष भट्टराईको पनि जोड छ ।
डा. नरेन्द्र चापागाइँको नेपाली शब्द भण्डारमा रहेको उखान ‘कामी बिहे अठार
खाँचो’को अर्थ हेर्दा कामी समाजको दरिद्रता बुझाउने बचन, कामीको पेशा गर्ने
मानिस सम्पन्न कहिल्यै हुँदैन भन्ने गरिएको पाइन्छ । कामी ढर्रा दमाई
स्वाँङको अर्थमा उत्ताउलो श्रृङ्गार तथा आडम्बर आफ्नो औकात भन्दा माथिको
‘जबर्जस्त ढर्रा’ अर्थ दिन्छ भन्नेहरु पनि भेटिन्छन् । तर त्यस्ता उखानले
गर्ने उपहास र दिने चोटको मर्म ज्यादै ठुलो छ, दलित अगुवा सोमनाथ पोर्तेल
भन्छन् ।
नेपाली भाषाको पहिलो शब्दकोष नेपाली-अंग्रेजी शब्दकोष वि.सं.
१९८८ मा पाश्चात्य विद्वान आर.एल. टर्नलले लेखेको शब्दकोष र नेपाली विद्वान
चक्रपाणी चालिसेको बगालीकोष, १९९८ देखि हालसम्म लेखिएका शब्दहरुमा
दलितहरुकलाई होच्याउने शब्दहरु धेरै रहेको दलित बुद्धिजीवीहरु बताउँछन् ।
एक दशक अघिदेखि दलित समुदायको अधिकार र जीवनशैलीको विषयमा अनुसन्धानमा
क्रियाशील धनबहादुर सुनारले दलितहरुलाई होच्याउने उखान तुक्का निरुत्साहित
गर्ने समतामुलक समाज निर्माणका लागि नीति, नियम बनाएर प्रभावकारी
कार्यान्वयन गर्नुपर्ने बताएका छन् । ‘खाँचो नेपाल’ काठमाण्डौका
अध्यक्षसमेत रहेका सुनार भन्छन्- मिडिया नीतिमा पनि परिवर्तन गर्नु आवश्यक छ
। सँगै बौद्धिक आन्दोलन सबै तह र तप्का समुदाय, सरकार, राजनीति दलले पनि
यसलाई अभियानको रुपमा सञ्चालन गर्न आवश्यक छ ।
साभार :thenepalivoice
सरोकार
No comments:
Post a Comment