नेपाली दलित आन्दोलनको लामो इतिहास अहिले
केही मथ्थरिएको छ । संविधान सभाको विघटनसँगै आन्दोलनको बाटो अनिश्चित जस्तै
देखिएको छ । के अब सबै बाटो बन्द भएका हुन् त ? होइनन् हामीसँगै अझै धेरै
बाटाहरू छन् । तर, यहीँ गति र शैलीमा हाम्रा आन्दोलनहरू निरर्थक मात्र
होइन् बेढंगका नाटकजस्तै देखिनेछन् ।
हामी कहाँ चुक्यौं ? आफैलाई एकपटक सोचौं ।
धेरै अगाडिका घटनाहरूलाई सम्झिनै पर्दैन । वि.सं २०६८ जेठ १० गते सरकारले
जातीय विभेद तथा छुवाछुत(कसुर र सजाय) ऐन पारित गरिसकेपछिका घटनाहरूलाई
विश्लेषण गरौं । गत वर्ष भदौ १३ गते दैलेखका सेते दमाईको हत्या भयो । दुई
महिनापछि कार्तिक २६ गते कास्कीको घान्द्रुकस्थित तालवराही प्राविका
प्रधानाध्यापक कर्णबहादुर नेपालीमाथि जातीयताकै आधारमा कालोमोसो दल्ने र
कुटपिट गर्नेलगायतका दूव्र्यवहार भए । कालिकोटमा मंसिर २५ गते मनवीर
सुनारको हत्याभयो । घटनाक्रम अझै रोकिएन माघ १६ गते सप्तरी पंसेराका दलित
युवा शिवसंकर दाश गैरदलित केटीसँग प्रेम गरेकै कारणले मारिए ।
यी घटनाहरूमा शिक्षित र समाजका परिवर्तनका
बाहक मानिने शिक्षकहरूको समेत संलग्नता देखियो । के चेतनाले मात्र छुवाछुत
हट्छ ? हट्दैन तथ्यहरूले त्यस्तै देखाउँछन् । सरकारले पीडितलाई
क्षतिपूर्तिको आश्वासन बाँढ्यो । सेते दमाई हत्याका तीन आरोपीहरूले जन्म
कैद व्यहोर्नुपर्ने भो । उनका परिवारले १० लाख क्षतिपूर्ति पाउनेभए । मनवीर
सुनारको परिवारले पनि त्यहीँ १० लाखको क्षतिपूर्ति पायो । अन्य घटनाका
केही आरोपीहरू समातिए । सुरु भएका केही संगठित आन्दोलनहरू पनि सेलाउँदै गए ।
बजारमा दलित संघसंस्थाहरूले सरकारको कदमको स्वागत गर्दै विज्ञप्ती निकाले ।
दातृ निकायका प्रतिवेदनमा दोषीले बकाइदा न्यायपाएको देखाइयो । हाम्रो
जीवनको मूल्य दश लाख र पीडकलाई कैद । कति सस्तो हाम्रो मृत्यु के यो न्याय
हो ? हामीसँग उत्तर छैन । विगत सातदशकदेखि हाम्रो आन्दोलन चलिरहेछ । जातीय
छुवाछुत र विभेदका मुद्दामा प्रशासनको लाचारीपन उस्तै छ । प्रहरीले घटना
दर्ता नगर्ने, प्रमुख जिल्ला अधिकारीले समय नदिने, दोषी उम्किने हाम्रा
साझा समस्या ।
गएको साउन महिनामा मात्र एकदर्जनबढी
छुवाछुतका घटनाहरू भए । १५ आसारमा बर्दियाका राम बहादुर सार्कीको गिलाँस
छोएको निहुँमा ज्यान लिइयो । असार १७ गते धादिङ्ग मुलाखर्कका नवराज सुनार र
सम्झना सुवेदीले भागेर विवाह गरेपछि सिंगो दलित वस्तीलाई लखेटियो ।
बर्दियाका भिमबहादुर विक र लिला परियार अन्तरजातीय विवाह गरेकै कारण अझै घर
फर्किन सकेनन् । सप्तरीका अर्जुन विश्वर्कमाले देवकुमारी शाहसँग भागेर
विवाह गरेपछि अर्जुनको परिवार गाउँ निकालामा परे र सार्वजनिक धारामा गाग्री
छोइएको भन्दै दैलेखमा नन्दबहादुर विकको परिवारमाथी कुटपिट भयो । यी त
मिडियामा आएका घटनाहरूमात्र भए । मिडियामा नआएका कत्ति घटनाहरू गाउँमै छन् ।
आएकाध्ये पनि यी घटना प्रतिनिधिमूलक मात्र हुन् । पचासको दशकमा पनि हाम्रा
समस्या यी र यस्तै थिए । आन्दोलनका आयाम र प्रवृति फेरिएका छन् तर समस्या
भने ज्यूँकात्यूँ छन् ।
त्यसो त आर्थिक, सामाजिक, राजनीतिक र
जनचेतनामा केही सुधारहरू भएका छन् । र यसलाई पनि सफलताकै रूपमा लिनु पर्छ ।
तर, १० लाखको क्षतिपूर्ति र केही मुख्य अपराधीहरूले सजाय पाउँदैमा मुलुकमा
छुवाछुत तथा जातीय विभेदको समूल अन्त्य हुँदैन किनकि हामीकहाँ
छुवाछुतमुक्त संस्कृतिको निर्माण हुनै सकेन । हाम्रा आन्दोलनका
कार्यक्रमहरू पनि यसतर्फ पटक्कै केन्द्रित भएनन् । कानुनी, नीतिगत र
राजनीतिक तहमा प्रमुख प्राथमिकताभित्र परे पनि छुवाछूत र जातीय भेदभाव
गर्ने परम्परा (विकृती) नेपाली समाजले त्याग्न सकेको छैन । हाम्रा
आन्दोलनले दलितरूपान्तरणमा मद्दत पुर्यायो तर नैतिक र छुवाछुतमुक्त
संस्कृतिको निर्माण गर्न सकेन ।
सामाजिक आन्दोलनका लागि स्पष्ट मुद्दा र
दोस्रो न्यायपूर्ण रूपान्तरण आवश्यक हुन्छ । नेपालका समाजिक आन्दोलनहरू बढी
अर्काको विरोधमा केन्द्रित भए । दलित आन्दोलन पनि यो विचारबाट ग्रसित छ ।
के देलित समुदायले मात्र बोलेर आन्दोलनले सफलता पाउन सक्छ ? के दलितहरूको
समस्या यो समुदायको मात्र हो ? अरुको पनि समस्या हो भने अरु समुदाय किन
नबोल्ने ? यसका लागि पहिलो त हामीले दलित आन्दोलनको संरचनात्मक परिवर्तन
गर्नु आवश्यक छ । हाम्रा विरोधी आन्दोलनहरूले स्पष्ट मार्गदर्शन दिन सकेका
छैनन् र सर्वसाधाहरणको जीवनमा परिवर्तन आउन सकेको छैन भन्ने तथ्य पहिले
स्वीकार्न सक्नुपर्छ ।
अब हामीले सामाजिक आन्दोलनहरूबीच बहस सुरु
गर्नु ढिला भइसकेको छ । अबको हाम्रो बाटो सबै सामाजिक आन्दोलनहरूलाई कसरी
एक ठाउँमा ल्याउन सकिन्छ र समग्र आन्दोलनको नेतृत्व कस्ले र कसरी गर्न सक्छ
भन्ने तर्फ केन्द्रित हुनुपर्छ । एउटा आन्दोलनले अर्को आन्दोलनलाई कसरी
सहयोग गर्न सक्छ ? फरक आन्दोलनहरूबीचका मिल्दा मुद्दाहरूमा कसरी सहकार्य
गर्न सकिन्छ भन्ने तर्फ हामी केन्द्रित हुनुपर्छ । यसले विभिन्न सामाजिक
आन्दोलनहरूबीच निरन्तर सूचना, संवाद र तीनको दस्तावेजीकरण गर्दै आन्दोलनलाई
कार्यमूलक ढंगले कसरी अगाडि लैजाने भन्ने दिशानिर्देश गर्ने छ । यदि
हामीले यस्ता तथ्यमा ध्यान दियौं भने सामाजिक आन्दोलन उत्पीडनविरुद्ध
न्यायपूर्ण अवस्था र त्यसका लागि संयन्त्र र संस्कृतिको विकास हुनेछ । र,
यहाँको सामाजिक आन्दोलनहरूले राष्ट्रिय, अन्तर्राष्ट्रि आन्दोलनहरूको
अध्ययन गर्दै विश्वका अरु न्यायपूर्ण आन्दोलनसँग सहकार्यका लागि टेवा
पुर्याउनेछ । र, दलित सामाजिक आन्दोलनहरूलाई वैज्ञानिक र व्यवस्थित बनाउन
मद्दत पुर्याउनेछ ।
source:-shiva gyawali Bankaila/meropost
No comments:
Post a Comment