परियारलाई रातभर हातमा हतकडी र खुट्टामा नेल लगाई प्रहरीले चरम यातना दिए

नेपालगन्ज: शान्तिसुरक्षाको प्रत्याभूतिको जिम्मा पाएको प्रहरीले भान्जीको जन्म दिनका अवसरमा नाचगान गर्ने एक युवकलाई बिनाकारण पक्राउ गरी चरम यातना दिएका छन्।

बर्दिया मोहमदपुर-८ भैसाही घर भई सानेश्री-३ लालीबजारमा सिलाइकटाइ गरेर गुजारा गर्दै आएका ३६ वर्षीय रत्‍नबहादुर परियारलाई आइतबार राति घरमा नाचगान गरिरहेको अवस्थामा गस्तीमा गएको इलाका प्रहरी कार्यालय, मोहमदपुरको टोलीले पक्राउ गरेको थियो। पक्राउ गरी परियारलाई रातभर हातमा हतकडी र खुट्टामा नेल लगाई प्रहरीले चरम यातना दिएर भोलिपल्ट छाडेका हुन्।
नेपालगन्जस्थित भेरी अञ्‍चल अस्पतालमा उपचार गराइरहेका परियारले ‘तँ साले दमाई ठूलो हुन्छस्’ भन्दै प्रहरीले निर्घात कुटपिट गरेको बताए। गस्तीमा गएको प्रहरी टोलीले सुतिरहेका प्रहरी सहायक निरीक्षक लोकेन्द्रबहादुरसिंह ठकुरीलाई बोलाएर आफूलाई कुट्न लगाएको परियारले बताए। ‘सुतिरहेको मान्छे उठेर आएर मलाई पिट्यो, खुट्टा उठाउन लगाएर नेल लगाएर पिट्यो, हात पनि पछाडि लगेर हतकडी लगाई गालामा झ्याम् कि झ्याम् हान्यो’, परियारले भने, ‘रातभर कुटपिट गरी नेल लगाएर राखे।’
सहायक निरीक्षक ठकुरीले कुटपिट गरी ‘यसलाई फसाइदे, हेरोइन र चरेस कहाँ छ, त्यो यसको साथमा राखिदे’ सम्म भनेको परियारले बताए। बर्दियास्थित जिल्ला अस्पतालले गम्भीर अवस्था भन्दै परियारलाई भेरी अञ्‍चल अस्पतालमा रिफर गरेको छ। ‘भान्जीको जन्म दिन थियो, केटाकेटीहरू नाचिरहेका थिए। हामी लोग्‍ने स्वास्नीबीच सामान्य बादविवाद चलिरहेको थियो’, परियारकी पत्‍नी हरिकलाले भनिन्, ‘त्यतिकैमा प्रहरी आए, होहल्ला किन गरेको भन्दै उहाँलाई समातेर लगे, हाम्रो झगडा होइन सामान्य भनाभन हो भन्दाभन्दै उहाँलाई लिएर गए।’
गत वैशाखमा आँगनमा सुतिरहेको बेला सहायक निरीक्षक ठकुरीको नेतृत्वमा गएको प्रहरी गस्ती टोलीसँग परियारको सामान्य विवाद भएको थियो। त्यसबेला मापसे गरेर गएका ठकुरीको सम्बन्धमा परियारले इलाका प्रहरी कार्यालयमा मौखिक उजुरीसमेत गरेका थिए। परियारले भने, ‘ वैशाखमा हामी आँगनमा सुतिरहेका थियौं, रक्सी खाएर आएको ठकुरीले घरको ढोका हान्न थाले र ‘उठ उठ’ भन्दै गाली गर्न थाले। मैले त्यसको प्रतिकार गरेको थिएँ। त्यही रिस अहिले आएर पोखेजस्तो छ।’
परियारको अवस्था खतरामुक्त भए पनि सबै रिपोर्ट नआएसम्म यसै भन्न नसकिने अस्पतालको इमर्जेन्सी शाखाका मेडिकल अफिसर डा. ज्ञानेन्द्र पाण्डेले जानकारी दिए। ‘शरीरको बाहिरी भागमा निकै चोट लागेको छ’, उनले भने, ‘भित्रको कुरा भिडियो एक्सरे, सिटी स्क्यान, एक्सरे गरेपछि मात्र थाहा हुन्छ।’
लुगा सिलाइकटाइबाट गुजारा चलाउँदै आएका परियारलाई अहिले उपचार गर्न पनि कठिनाइ भएको छ। एड्भोकेसी फोरम नेपालगन्जका प्रमुख वसन्त गौतमले तत्काल उपचारको व्यवस्था आफूहरूले गरिदिने बताए। गौतमले आवश्यक भएमा कानुनी सहयोग पनि गर्न एड्भोकेसी फोरम तयार रहेको बताए।
बर्दियाका प्रहरी नायब उपरीक्षक राजेन्द्र धमलाले घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको बताए। ‘हिरासतमै रहेको अवस्थामा परियारमाथि कुटपिट भएको प्रमाणित भए दोषी सबैमाथि कारबाही हुन्छ’, उनले भने।उनले मापसे गरेर पति-पत्नी झैझगडा गरिरहेको देखेर प्रहरीले परियारलाई पक्राउ गरेको दाबी गरे।
source:- annapost

1 comment:

  1. yesta gunda palne gunda ra neta ko paltu kukur haru ko k hi kam 6 e na nepal ma police ko sahyoog pauna lai ki ta neta ki ta, ki ta chor gunda, ki ta taskar hunu par 6. natra police le pani sidha sojha janta oli kutne, neta haru le pani janta ko chora chori marne, ani jail ma halne yetai 6 nepal

    ReplyDelete