दलित मुक्ति - सुमन नेपाली

‘मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन।’ लक्ष्मीप्रसाद देवकोटाको यो भनाइ साँच्चिकै यथार्थ र सान्दर्भिक छ। तर यो अन्ध विश्वासमय र कुसंस्कारले जरो गाडेको समाजलले यो भनाइलाई बुझन सकेन, न त यो समाजमा आफूलाई समाजसेवी, सभ्य, शिक्षित र शासक  ठान्नेहरुले नै अनुभूति गर्न सके। उनीहरुको सारा दिमागै धमिराले खाएको छ त के गथ अनुभूति। मानिसले मानिसलाई छोएर मानिसकै जात जाने परम्परा रहेको मध्ययुगीन सभ्यता हाम्रो नेपाली समाज अझै  समाप्त हुन सकेको छैन। हाम्रो देशका बुद्धिजीवी,न्यायप्रेमी, समाज परिवर्तन र विकासमा लाग्नेहरु यिनै मध्ययुगीन कुसंस्कारका विरुद्धमा बारम्बार कलम घोटिरहन बाध्य छन्।
देश यतिबेला २१ औं शताब्दीको नया गोलार्धमा उभिरहेको छ। दिन-दिनानु दिन नयाँ-नयाँ विज्ञान प्रविधिको आविस्कार भइरहेको छ। देशले परिवर्तन समानता र स्वतन्त्रता खोजिरहेको छ। देशले उचित निकाश खोजिरहेको छ। तर हाम्रा समाज अझै पनि अन्धविश्वास र कुसंस्कारको खाडल खनिरहेको छ। विजारोपण छरिरहेको छ। वर्तमान समयमा के यो गर्न उपयुक्त छ ?
हिजो दलित मुक्तिका लागि आवाज उठाउनेहरु आज फेरि पहिलेकै स्थान सुरक्षित गर्न दौडिरहेका छन्। जातीय भेदभाव र छुवाछूत गम्भीर सामाजिक अपराध हो भन्ने शब्द सेतो कापी र कालो मसीमामात्र सीमित रहेको छ। नारामा मात्र सीमित रहेको  छ। रेडियो, टिभी र आफ्ना मान्छेहरुबाट वर्तमान राज्यसत्ताले दलित मुक्ति र दलित जागरणका जतिसुकै राम्रा कुरा फलाके पनि ती सबै हात्तिको देखाउने दाँतशिवाय केही होइनन्। दलित मुक्तिका लागि खोल ओढेर उल्टो दलितलाई नै अन्याय, अत्याचार, शोषण गरिरहेका छन्।
दलितको नाममा अनेक किसिमका रकमहरु आउने गर्दछन् तर त्यो रकम दलितको हातमा नपुग्दै बाटोमै चुहिन्छ। योभन्दा लाचारीपन के हुन सक्छ ? दलित भनेर घृणा गर्नेहरु आज दलित महिलाकोनै इज्जत लुट्न पछि परेका छैनन्।  कति गिरेको छ हाम्रो समाज, कति अशिक्षित र अचेतनाको खाडलमा पुरिएको छ हाम्रो समाज। आखिर दलितको पनि हाड, छाला, मासु, रातै रगत हुन्छ र पनि  मान्छेहरु मान्छे-मान्छेमै फरक किन देख्छन्।
हामीमध्ये कोही चुच्चा हौला, कोही थेप्चा, कोही होँचा, कोही अग्ला फरक जात भाषा संस्कृतिका हौंला तर हामी सबै मानव जाति नै हो। धर्ति आकाश सबैको साझा हो।दलितको पनि आत्मा हुन्छ, अनुभूति गर्न सक्छन् र चेतना हुन्छ। मान्छे-मान्छेमा विभेद नभइदिए यो समाज यो संसार कति सुन्दर हुन्थ्यो होला है ? समाजमा पानी नचल्ने जात भनेर भन्छन्। तर त्यही जातले उब्जाएको अन्नपात खान्छन्, त्यही जातले बनाएको भाँडोमा पकाएर खान्छन् अनि त्यही जातले सिलाएको लुगा कपडा जुत्ता चप्पल लगाउँछन्। अब भन्नुहोस् के  तिनीहरु अछूतो रहन सक्छन् ? के मान्छेले कल्पन गरेको स्र्वर्ग पुग्न सक्छन् ? कुनै पनि मानिस  जन्मजात दलित हुँदैन। दलित हुनत त्यो समाजले बाध्य गराउँदछ। चाहेर कोही पनि दलित हुँदैन। हिजोका ती यथास्थितिवादी शोसक सामन्तीले बनाएको हो कथित  दलित।त्यसो भए दलितको अर्थ के हो ? परिभाषा के हो ?
नेपालको जनयुद्धको पहिलो शहीद दिलबहादुर रम्तेल हुन्। उनी पनि  दलित परिवारकै थिए। उनले १० वर्षको उमेरमै शहादत प्राप्त गरेका थिए। नेपालको विभिन्न आन्दोलन, युद्ध,जस्ता सङ्र्घर्षको कार्यक्रममा दलितहरुको सक्रिय सहभागिता रहेको छ। जुन कुरा इतिहासलाई थाहा छ। यो भूमिमा लाखौं दलितले रगत बगाएका छन् पसिना चुहाएका छन्।
२०६२/६३ सालको जनान्दोलन सबै भन्दा बढी दलित नै सहभागी भएका थिए। सबैभन्दा बढी रगत दलितले नै बगाएका थिए।आज लाखांै बालबच्चाले बाबा आमा गुमाएका छन्। सिउँदोको सिन्दुर ओभाउन नपाउँदै लाखांै महिलाको सिन्दुर पुछिएको छ। डाडाँमाथिको घामजस्तै बुढाबुढीले आफ्नो बुढेसकालको छोराछोरी गुमाएर आज सहाराविहीन बनेको छ। के यसको अनुभूति यो समाजले गरेको छ ? झन उल्टो कथित दलितलाई नै महादलित बनाउन खोजिरहेको छ। मान्छेले मान्छेलाई कुनै कुरामा पनि विभेद गर्न पाइँदैन भन्ने कुरा यिनीहरुले कहिल्यै बुझन खोजेनन्।
देशलाई यतिवेला सङ्घीय लोकतान्त्रिक गणतन्त्रले स्र्पर्श गरिरहेको छ। तर यसले पनि दलितको मनलाई अलिकति पनि स्र्पर्श गर्न सकेको छैन। दलितहरु स्वतन्त्रताको आभास गर्न सकेका छैनन्। लोकतन्त्र र स्वतन्त्र शब्दको अर्थ एउटै हुन्छ र पनि दलितहरु धर्ती आकाशको फरक देख्न बाध्य छन्। आज सङ्घीयताको नाममा जातीय भागबण्डा गर्न दौडिरहेका छन्। क्षेत्रीय सन्तुलन र  देशविकासको लागि सङ्घीयता अपरिहार्य छ  तर जातीय र धार्मिक आधारमा कसैलाई पनि मान्य छैन। होइन भने १९ प्रतिशत दलितको पनि राज्य छुट्टाइदिनुहोस्।अब राज्यले दलितहरुको लागि शिक्षामा पहुँच पुर्‍याएर डाक्टर, इन्जिनियर, पाइलट, कृषि शिक्षाजस्ता आदि विषयमा छात्रवृत्तिसहित निःशुल्क शिक्षाको व्यवस्था गर्नुपर्दछ। अझ नेपाली समाजका सबैभन्दा पडित, श्रमजीवी समुदायलाई वर्तमान राज्य सत्ताको वास्तविक मालिक बनाएर मात्र राज्यको पर्नर्संरचनासहितको नयाँ नेपाल बन्न सक्छ।
स्रोत-eadarsha

No comments:

Post a Comment