दलित महिलासँग बिहे गर्दा यति सम्म सामाजिक बहिष्कार गर्ने हाम्रो समाज ?

मुझुङ (पाल्पा), असार २- दलित महिलासँग बिहे गरेको भन्दै पश्चिम पाल्पाको मुझुङ-८ बाटुलीपोखरीका ६० वर्षे नारायण रानाको शव आफन्तले चौरमा बेवारिसे छाडिदिए। सामाजिक बहिष्कारका कारण छोरा डिलबहादुरले मंगलबार दिनभरि बाबुको शव एक्लै कुर्नुपर्‍यो। 
'दलित बिहे गरेको भनेर बुबाको लासमा काँध हाल्ने कोही भएन,' डिलबहादुरले नागरिकसँग भने, 'एक्लै घाट लान सकिनँ, गाडीमा लैजाने पैसा पनि छैन।' बाटुलीपोखरी गाउँमा ५० घर मगर र ४० घर दलित बस्ती छ। सुरुमा मृतकका सहोदर दुई दाजुले नारायणको शव उठाउन मानेनन्। त्यसमा अन्य आफन्तले पनि साथ दिए।मृतकका जेठा दाजु यमबहादुर रानाले दलितसँग बिहे गरेकाले भाइको लासमा काँध नहालेको बताए। 'जात फाल्नेको लासमा कसरी काँध हालूँ?' उनले भने।

मृतक नारायण नशासम्बन्धी रोगबाट पीडित थिए। मंगलबार बिहान सदरमुकाम तानसेनको एक अक्युपञ्चर क्लिनिकमा उपचार गरी गाडीबाट झर्नासाथ बान्ता गरेर भुइँमा लडेका र त्यहीँ उनको मृत्यु भएको स्थानीय बलबहादुर बम्रेलले बताए।बम्रेलले आफूहरू दलित भएकाले शवमा हात हाल्न पनि नपाएको र आफन्तले पनि लास नउठाएको बताए। 'दलितले उठाए मारामुंग्री गर्लान् भनेर हामीले साहस गरेनौँ,' उनले नागरिकसँग भने।

जेठी पत्नीको मृत्यु भएपछि नारायणले १५ वर्षपहिले गाउँकै दलित महिलालाई भिœयाएका थिए। कान्छी पत्नीले पनि छाडेपछि कान्छा छोरा र नातिसँग बस्दै आएका थिए। उनी जेठीतर्फका जेठा छोरा २० वर्षदेखि बेपत्ता छन् भने कान्छा छोरा डिलबहादुर पत्नीको मृत्युपछि मानसिक बिरामी छन्।

दलित महिलासँग बिहे गरेपछि नारायण आफ्नै घरभित्र पस्न पाएका थिएनन्। नाति वीरबहादुरले खाना पकाएर पिँढीमा खान दिन्थे। 'ठूला बुबाहरूले घरमा छिरे पानी नखाने भनेकाले हजुरबा बाहिरै सुत्ने गर्नुहुन्थ्यो,' वीरबहादुरले भने, 'हजुरबा कर्मी काम गरेर पढाइ खर्च दिनुहुन्थ्यो।'बुबाको मानसिक अवस्था ठीक नभएको र कमाएर ल्याउने बाजेको मृत्यु भएपछि वीरबहादुरको पालनपोषण र पढाइ खर्च दिने कोही छैनन्। उनी स्थानीय कालिका निमाविमा कक्षा ६ मा पढ्छन्। 'बाजेको मृत्युपछि वीरबहादुर एक्लो भएको छ,' स्थानीय इन्दिरा खड्काले भनिन्, 'आफन्त कसैले नहेरे चन्दा उठाएर भए पनि पाल्छौँ।'

यसैबीच, मंगलबार साँझ पाल्पाका प्रहरी नायव उपरीक्षकसहितको प्रहरी टोली गाउँ पुगेर दुई हजार नगद र गाडी व्यवस्था गरेपछि गाउँलेले नारायणको शव रिडीघाट लगेका छन् !
साभार : नागरिक (Wednesday, १६ जून २०१०)

No comments:

Post a Comment