तीन दिनमै पुछियो अनिताको सिन्दुर

१८ बैशाख, २०७२
विभेद बिरुद्ध अभियान ।
सिन्धुपाल्चोक– बिछोडको पनि सीमा हुन्छ। शनिबार आएको महाभूकम्पले कैंयन जोडीलाई बिछोडको पीडा दियो। सिन्धुपाल्चोक नरसिंह डाँडाकी १९ वर्षीया अनिता परियारको बिहे गरेको तीन दिनमै खुसी चुँडाएर लग्यो। शनिबार मध्यान्ह उनी घर अगाडिको आँगनमा कपाडा धुँदै थिइन्। दुलहन फर्काउने तयारीको लागि सेल र कुराउनीको तयारी थियो। अब त्यो अधुरै भएको छ। जीवनभर रातो सिउँदो सजाउने उनको सपना महाभूकम्पसँगै चीर निद्रामा पुगेको छ। तीन दिनअघि मात्र अनिता माइतीघर काभ्रेबाट बेहुली बनेर सिन्धुपाल्चोक पुगेकी थिइन्। सुहाग नसकिँदै पतिको कोरामा पुगेकी छन्। भूकम्पसँगै उनको नयाँ जीवनको सुरुवाती जग नै भत्किएको छ । सायद यतिबेला उनीहरु हनिमुनको लागि पोखरा हुन्थे होला। कतै घुम्न जाने उनीहरुको योजना थियो होला। अब ती सब कल्पनामा मात्र सीमित भएको छ। प्रेम पश्चात् सुनिल परियारसँग अनीताले लगनगाँठो कसेकी थिइन्। सुनिलसँग बिताएका पलहरु अब उनको सम्झना मात्र बाँकी छन्। फोटो एल्बम पनि घरसँगै पुरिएको छ। बाँकी छन् त केवल स्मृतिका तस्बिरहरु।

महाभूकम्पमा परी उनको पतिसँगै अन्य ४ जनाले ज्यान गुमाए। पतिको मात्र होइन, परिवारकै पीडाले उनलाई थिचिरहेको छ। माइतिको खबरबारे त उनी अझै अनविज्ञ छिन्। उनी यतिबेला माइतीको भन्दा सँगै जीउने कसम खाएका पतिको वियोगमा डुबेकी छिन्। बिहापछि माइतीभन्दा पहिलो प्राथमिकता ससुराली हुनेगरेका पनि माइतको यादलाई छाँया पारेका हुनसक्छ ।
जीवन जिउन नपाउँदै अनिताको खुसी उनीबाट चुँडिएको छ। सुहागको सिउँदो नफेर्दै पुछिदिएको छ। 'कति खुसीसाथ घर भित्र्याएका थियौं,' अनिताकी हजुरआमाले भनिन्, 'दैव पनि कस्तो निर्दयी ।' कोराको नजिकै उनकी हजुरआमासँग कुरा गरिरहँदा अनिताका आँसु थामिएका थिएनन् पतिको शोकमा।
- साभार # nagariknews

No comments:

Post a Comment