यसरी हुँदैछ दलित समुदायबाट राहत वितरण - तिलक चाम्लिङ

२०७२ जेठ ८, विभेद बिरुद्ध अभियान  । आजसम्म यहाँ सरकारी राहत आइपुगेको छैन । निजी क्षेत्रबाट पनि प्रतिपरिवार ६ किलो चामलबाहेक अरु राहत नपाइएको भन्ने सुनेर हामी अहिले यहाँ आइपुगेका हौं ।’ राहत वितरण गर्न सिन्धुपाल्चोक जिल्लाको फुन्टिङ गाविस–५ मा पुगेका पूर्वसभासद तथा दलित अगुवा विनोद पहाडीले भने ।
वैशाख १२ गतेको विनासकारी महाभूकम्पले धेरै दलितहरुको पनि धनजन क्षति भएको छ । सबै समुदायका भूकम्पपीडितका लागि राहत संकलन र वितरण अभियानमा अहिले विभिन्न सामाजिक संघसंस्था लागिरहेका छन् । यो अभियानमा दलित समुदायका विभिन्न सामाजिक संघसंस्था तथा अभियन्ताहरु राहत संकलन र वितरणमा लागेका छन् ।
उनीहरु चामल, नुन, तेल, जीवनजल बोकेर दलित समुदायको बाक्लो बसोबास भएका ठाउँहरुमा पुगिरहेका छन् । तर, राहत वितरण गर्दा दलितलाई मात्रै दिएका छैनन् । पहाडी भन्छन्, ‘पीडा भनेको सबै समुदायको हो । दलित समुदायका पीडितलाई मात्रै दिने भन्ने हुँदैन । हामीले दलितलाई मात्रै छानेर दिएका पनि छैनौं । तर, दलितहरुको बाक्लो बसोबास भएको ठाउँलाई छानेका छौं ।’
समता फाउन्डेसन, साम इन्टरेसनल, कोपिला गृह, हिमाली सहयोग केन्द्रलगायतका संस्थाहरु अहिले दलित बस्तीतिर राहत बोकेर पुगेका छन् । उनीहरुले जेठ ५ गते सिन्धुपाल्चोकको फुन्टिङ गाविस–५ मा मात्रै ४ लाख बराबरको राहत वितरण गरे । त्यहाँका २ सय घरलाई राहत वितरण गरिएको हो । यही क्रममा उपत्यकाको साँखु, टेल्कोट, दोदामेचौर, थानकोटको गोलढुङ्गा, पाँचखालका राहत वितरण भइसकेको छ ।
यसका लागि राहत स‌ंकलन गर्ने क्रममा समता फाउन्डेसनका कर्मचारीहरुले मात्रै २ लाख सहयोग गरे आफ्नो तलबबाट कटाएर । फाउन्डेसनका अध्यक्ष तथा दलित अगुवा पदम सुन्दास भन्छन्, “हामी संस्थागत रुपमा मात्रै हैन व्यक्तिगत रुपमा पनि राहतका लागि लागिरहेका छौं । दलित महिला संघ (फेडो) लगायत धेरै सामाजिक संस्थाहरु दलित बस्तीमा पुगेका छन् । उनीहरुले चामल, नुन, तेल, जीवनजलजस्ता रासनपानी वितरण गर्दैछन् ।”
यसै क्रममा विदेशबाट पनि दलितहरुका लागि राहत संकलन भइरहेको छ । अमेरिकाबाट सुरज गौतम र विक्रम चौधरीले यसको संयोजन गरिरहेको विनोद पहाडीले जानकारी गराए ।
साभार : इसमता 

No comments:

Post a Comment