धरानमा दलित आन्दोलनको संक्षिप्त विश्लेषण -तारा लामगादे

धरान , १६ जेष्ठ २०७२ , विभेद बिरुद अभियान । धरान आधुनिक शहर हो । यहाँ विभिन्न पहाड तथा तराईका जिल्लाबाट बसाईसरी आएका व्यक्तिहरु बसोबास गर्दै आएका    छन् । त्यसरी नै दलितहरु पनि धरानमा सघन रुपमा बसोबास गरेको पाइन्छ । उद्योग कलकारखाना, व्यापार व्यवसायमा दलितहरुको      राम्रै उपस्थिति रहेको छ धरानमा । हुन त ३०–४० वर्ष अगाडि दलितहरु व्यवसाय गर्ने तरिकाले बसोबास गरेका पाइन्दैन । जुनबेला नेवार तथा मारवाडीहरुको कामदारका रुपमा रहेका थिए । प्रतक्ष्य कामसँग जोडिएर धरानमा दलितहरुको बसोबास भएका कारण शिक्षादीक्षाका हिसाबले दलितहरु पछाडी नै परेका थिए । यद्यपी यस्तै पछौटेपनमा पनि केहि दलितहरुले राज्यको माथिल्लो निकायसम्म पहँुच विस्तार गरेको देखिन्छ । तर पञ्चायतकालभन्दा अघि धरानका कुनै पनि दलितहरुले दलितहरुको हक, हित र अधिकारको पक्षमा संघर्ष गरेको देखिदैन । पञ्चायतकालमा व्यक्तिगत रुपमा केहि दलितले फाइदा लिएको भए पनि दलित आन्दोलनमा धरानले गौरव गर्नै पर्ने खास त्यस्तो उपलब्धी गरेको देखिन्दैन ।

     हालको धरान–१४ का ईश्वरमान विश्वकर्मा (कोइराला) पञ्चायतकालिन अवस्थाभन्दा अघिदेखि नै वामपन्थि व्यक्तित्व थिए र उनले जातीय विभेदका विरुद्धमा जनचेतनाको काम गरेका थिए । धरान–१० कलेजरोडमा बसोबास गर्ने जुदुविर विश्वकर्मा (रसाइली) पञ्चायत कालमा वामपन्थी राजनीतिकबाट प्रभावित थिए । उनले संगठित रुपमा धरानको दलित आन्दोलनलाई हाक्न नसके पनि व्यक्तिगत रुपमा अध्ययन अनुसन्धान गर्ने, अन्य साथीहरुलाई आफुले पढेका पत्रपत्रिका र दलित आन्दोलन सम्बन्धी विभिन्न सामग्रीहरु उपलब्ध गराउने, छलफल र बहस चलाउने काम गरेका थिए । जसले केहि दलितहरु बीचमा भारतीय दलित आन्दोलन र नेपालका दलितहरुबीचको समस्याका विषयमा छलफल हुने गरेको थियो । यद्यपी जदुविर मनमोहन अधिकारी, पुष्पलाल श्रेष्ठहरु जो नेपाल कम्युनिष्ट पार्टीका नेताहरु थिए तिनीहरुसँग उठबस गरका थिए । तर जदुविर आफै अन्तमा पलायन भए र उनले कुनै राजनीतिक हैसियत निर्माण गर्न सकेनन् ।
          धरान–१४ विजयपुरका हिरालाल विश्वकर्मा (सुन्च्यूरी) नेपालमा दलितहरुको इतिहासमा उल्लेखनीय नाम हो । दलित समुदायबाट नेपालको इतिहासमा मन्त्रीमण्डलमा पुग्ने उनी नै पहिलो व्यक्ति हुन् । पञ्चायती व्यवस्थामा राजालाई रिजाएर शिक्षा सहायक राज्य मन्त्री समेत खान भ्याएका हिरालाल विश्वकर्माले धरानकै लागि भने चाहि खासै त्यस्तो केहि नगरेको देखिन्छ । राजाको निर्देशनमा गठित नेपाल दलित समाज कल्याण संघ धरानमा ल्याएर दलितहरुको निम्ति केहि कोसेली बाँडेको भए पनि हिरालाल मन्त्री भए पछि उनका आफन्तलाई केहि आर्थिक सम्पन्नता बनाउने र व्यक्तिगत फाइदा लिए । तर, दलित आन्दोलनमा अविस्मरणीय र ठोस कार्यक्रम गर्न सकेनन् बरु दलितहरुलाई विकाउको साधन बनाए र राज्यसत्तामा आसामूखी बनाउने काम गरे । उनी कट्टर राजावादी पञ्चायती थिए । यद्यपी शिक्षादिक्षाका हिसावले अन्य दलितहरुभन्दा पढेलेखेका थिए । 
धरानका दलितहरु मध्ये टिआर (तुलाराम) विश्वकर्माको नाम पनि जोडिन आउँछ । टिआर बौद्धिक व्यक्तित्व थिए भन्न हिचकिचाउनु हुन्न । पञ्चायककालिन अवस्थामा विभिन्न पत्रपत्रिका प्रकाशन गर्ने र पत्रकारको भूमिका निर्वाह गर्न सक्ने व्यक्ति थिए । त्यसका अलवा उनले साहित्यका क्षेत्रमा पनि पहिचान बनाएका थिए । उनी हिरालाल विश्वकर्मा भाई थिए । टिआरले व्यक्तित्व विकासका हिसावले निकै प्रगति गरेता पनि दलित समुदायको लागि सोचनीय र प्रभावकारी भूमिका खेल्न सकेनन् । संस्थागत विकासमा ध्यान नदिनु उनको कमजोरी हो । धरानको दलित आन्दोलनकै सिलसिलामा उनको नाम त आउँदैन तर धरानका दलित व्यक्तिहरुको सूचिमा भने छुटाउन मिल्दैन ।
धरान–१० कलेजरोडका पृथ्वीमान मोते पनि पञ्चायतकालिन व्यवस्थामा वामपन्थी राजनीतिमा आस्था राख्ने दलित थिए । उनी एमाले निकट रहेर काम गरेको देखिन्छ । उनले पनि सामूहिक रुपमा दलितहरुकै निम्ति भनेर उल्लेखनीय काम भने गरेको देखिन्न ।
पञ्चायतकालको अन्त्यतिर भने धरानका केहि दलितहरु सक्रिय रुपमा दलित आन्दोलनमा होमिएको देखिन्छ । धरान–१० कै पदम सुन्दासले भने सामूहिकरुपमा दलित आन्दोलनमा योगदान दिएको पाइन्छ । उनले नेपाल राष्ट्रिय जनविकास परिषद् नामक संस्था स्थापना गरी दलित आन्दोलनमा बैचारिक छलफल चलाउने काम गरेका छन् । सुरुवाती समयदेखि नै धरानमा दलितहरुको सघन उपस्थिति भए पनि दलित आन्दोलनका क्षेत्रमा त्यसपछि निकै व्यक्तिहरु अग्रसर भएका थिए ।
०४६ साल पछिको बहुदलीय व्यवस्थामा भने धरानका दलितहरु सक्रिय रुपमा दलित आन्दोलनमा लागेको देखिन्छ । धरान–३ का लालबहादुर सुन्च्यूरी, धरानका मोहन लामगादे, डिल्लीराम सिवा, गोपाल रणपहेली, रमेश गजमेरलगायतका व्यक्तिहरुले दलित आन्दोलनलाई निकै सक्रियता पूर्वक अगाडि बढाए । १० वर्षे जनयुद्धमा धरान–१५ का रामकुमार रामदाम (प्रवल) र चन्द्र अछामी सहिद भएका थिए । उनीहरु जातीय विभेदको अन्त्य गर्न वर्गिय मुक्ति आन्दोलनमा सहभागि भएका थिए ।
लोकतन्त्रको स्थापना पछि धरानमा निकै मजबुद अवस्थामा दलित संघ संस्थाहरु रहेका छन् । यस क्रममा एक दर्जनभन्दा बढि दलितजन्य संगठनहरु अस्तित्वमा रहेका छन् । जसले अहिले दलित नेताको रुपमा करिब–करिब दुई दर्जनको हाराहारीमा देखिएका छन् ।
यसबाहेक धरान–१५ का मिन विश्वकर्मा अहिले संविधान सभामा सभासद रहेका छन् । उनी नेपाली काँग्रेसको तर्फबाट समानुपातिक सभासद हुन् । नेपाल दलित संघका नेताका रुपमा उनी रहेका छन् । त्यस्तै धरान–१७ का दलमर्दन कामी पनि अहिले केन्द्रिय राजनीतिक पहुँचमा रहेका छन् । सामाजिक लोकतान्त्रिक पार्टीको केन्द्रिय अध्यक्ष मण्डलमा रहेका दलमर्दन मोशाका नामले पनि       परिचित थिए । धरान–१५ का रमेश गजमेर भने दलित सेवा संघका  बरिष्ठ केन्द्रिय उपाध्यक्ष छन् ।
      यसरी हेर्दा धरानका दलितहरु राजनीतिक तथा गैरसरकारी संघ संस्थामा केहि राम्रै स्थानमा रहेका छन् त्यसको प्रतक्ष्य प्रभाव  स्थानीय रुपमा परेको छ । लोकतन्त्र स्थापना पछि राम्रो रुपमा दलित आन्दोलन पनि एकाकार भएको छ ।
छिन्नभिन्न अवस्थामा रहेको दलित आन्दोलन आस्थाका हिसावले फरक फरक ठाउँमा भएका नेताहरु मुद्धाका हिसावमा एकै ठाउँमा छन् । पछिल्लो समयमा विकास भएको यो एकता निरन्तर रहन जरुरी छ र सामूहिक रुपमा केहि योगदान पु¥याउन आवश्यक छ ।

No comments:

Post a Comment