सन्तानले समेत नसम्झेका रघुवीर र छवीमायाका लागि हामी सन्तान जस्तै भयौँ - धुर्मुस

विभेद बिरुद्ध अभियान  ।काठमाडौँ, ३ जेठ ।
हामी (म, सुन्तली, सगुन डटकम र भद्रगोलको टोलीसहित १५ जना) २९ गतेको शक्तिशाली भूकम्प गएको भोलिपल्ट सिन्धुपाल्चोकको पिपलडाँडाको भूकम्प पीडित बस्तीमा जान काठमाडौँबाट यात्रा तय गर्दा भूकम्पका पराकम्पनहरु रोकिएका थिएनन् । बाटो पूरै खाली थियो । एक हिसाबले भन्ने हो भने पूरै सडकहरु कफ्यु लागेको जस्तो देखिन्थे ।
जताततै त्राहि–त्राहि थियो । सबैको होस उडेको जस्तो भएको थियो । बम–बारुदले आक्रान्त बनेपछिको गाउँ–बस्ती जस्तै बनेको थियो सिन्धुपाल्चोक । हामी ती सबैको कुनै प्रवाह नगरी बिहानको खाना खान जीरो किलोमा उत्रेका थियौँ ।
हामी त्यो कठिन यात्रामा निस्केको देखेर त्यहाँका बासिन्दाहरु पनि निकै भाबुक बनेका थिए । उनीहरुले यस्तो कहाली लाग्दो यात्रा तय गरेकोमा हामीलाई छक्क पर्दै धेरै भावुक भएर धन्यवाद दिए । त्यसपछि हाम्रो चर्पी अभियान लिएर हामी पिपलडाँडा पुग्यौँ । हामी त्यहाँ पुग्दा त्यस बस्तीका सबै मानिस भावशून्य जस्ता देखिएका थिए ।
हामी त्यहाँ पुगेपछि उनीहरुले हामीलाई भगवान आएको जस्तो सम्मान गरे । उनीहरुको त्यो सम्मानले हामीलाई झन बढी जिम्मेवार बनायो । त्यहाँ रहेका दलित बस्ती, बस्नेत गाउँ र सापकोटा गाउँमा गएर हामीले गरेको जनश्रमदानको उहाँहरुले खुलेर प्रशंषा गर्नुभयो । बिहान पाँचबजेदेखि बेलुका ११ बजेसम्मको हाम्रो टोली राज्य नपुगेको त्यो बस्तीमा चर्पी निर्माणमा खटेको देखेर त्यहाँका बासिन्दा पनि पीडा लुकाएर हाँस्न थाले । बादल फटाएर निस्केको चन्द्रमा जस्तो उनीहरुको मुहार देखेर हामी पनि भाबुक भयौँ ।
अहिले भूकम्पको पीडा बोकेर बसेका गाउँ–बस्तीहरुमा जनश्रमदानको हातेमालो आवश्यक भएको अनुभूति हामीलाई भयो । चर्पी खन्दा–खन्दै गएको भूकम्प र भत्किएका ढिस्काहरुको समेत प्रवाह नगरी हामी चर्पी अभियानमा लाग्दा ७८ बर्षीय रघुवीर नेपाली र उनकी पत्नी छवीमाया नेपालीको मात्र हामीलाई साथ रहेन् । त्यहाँका भद्र–भलाद्मी पनि हाम्रो अभियानका सारथी बने ।
भूकम्पपछि सन्तानले समेत नसम्झेका रघुवीर र छवीमायाका लागि हामी सन्तान जस्तै भयौँ । रघुवीरसँग एउटै खाटमा रात विताउँदा मलाई झन खुशी लाग्यो । हामीले यहीबाट लिएर गएको जेनेटरले पनि त्यहाँ धेरे काम दियो । ती बस्तीका सबैले त्यहीबाट मोवाई चार्ज गरे भने उनीहरुले धेरै दिनपछि आफन्तसँग कुराकानी गर्ने अवसर पनि पाए ।
साभार :- नेपलिज.ओआरजी 

No comments:

Post a Comment