२०७२ जेठ ८, विभेद बिरुद्ध अभियान । कैलाली अत्तरिया–३ चैतन्यपुर गाउँकी ४२ वर्षीया माया विक (नाम परिवर्तन) एचआइभीबाट संक्रमित भएको सात वर्ष भयो । १२ वर्षअघि उनका श्रीमान् विक्रम विक (नाम परिवर्तन) एड्सकै कारण बिते । रोजगारका क्रममा भारत जाने गर्थे, विक्रम । उतै संक्रमित भए । गाउँ आए । श्रीमतीलाई सारे र बिते । उनकी श्रीमती माया अहिले नियमित औषधि सेवन गर्छिन् । चैतन्यपुरमा भेटिँदा उनी दुब्ली थिइन् । रुघाखोकी र पखालाले पीडित उनले भनिन्, ‘खेती गर्ने जमिन छैन । भात खान सधँै समस्या हुने । श्रीमान् काम गर्न भारत जाने गर्नुहुन्थ्यो । उतैबाट रोग बोकेर आउनुभएछ । मलाई सार्नुभयो । उहाँ बितेको १२ वर्ष भयो । मचाहिँ औषधिले ज्यान धान्दै छु ।’ दुई कट्ठा जमिन, खरले छाएको झुप्रो घर, एउटा खटिया, पकाइखाने सिलभरका केही भाँडा । सम्पत्तिको नाममा यति नै हुन्, उनका । दुई छोरा छन् । दुवै कमाउन भनेर भारतको केरला पुगेका छन् । साना–साना दुई छोरी छन् । मायासँगै घर बस्छन् । तर, दुवैजना विद्यालय जाँदैनन् । उनले बोल्दा संक्रमणका कारण सुकेको घाँटीमा नसा फुलेको प्रस्टसँग देख्न सकिन्छ । ‘बिहान–बेलुकाको छाक टार्न अप्ठ्यारो छ । कसरी पढ्न पठाउनु ? छोराहरूले अलि–अलि पैसा पठाउँछन् । खाँदै ठीक हुन्छ,’ उनको दुखेसो छ । ००० २० वर्षअघि पहाडबाट तराई बसाइँ सर्नेको लर्को नै लागेको थियो । त्यही क्रममा मायाको परिवार सुदूरपश्चिमको पहाडबाट अत्तरिया झरेको थियो ।
त्यसवेला अत्तरियामा बाक्लो आबाद थिएन । जमिनजति प्राय: घना जंगलले ढाकेको थियो । उनीहरूसँगै अरू पनि झरेका थिए । सबैजना मिलेर जंगल फाँडे । अनि बस्ती बसाले । अत्तरिया–३ को चैतन्यपुर गाउँ यसरी बन्यो । अत्तरिया– ३, चैतन्यपुरमा एक सय ७५ घरधुरी छन् । सात सय ७५ महिला र ६ सय २५ पुरुष छन् । यसमध्ये अधिकांश घरधुरी दलितका छन् । गाउँको पश्चिमतर्फ खैराला नदी छ । नदीमा आएको बाढीले चैतन्यपुर हरेक वर्ष डुबानमा पर्ने गर्छ । वर्षायामका प्रत्येक रात चैतन्यपुरवासीका निम्ति त्रासपूर्ण बन्छ । हिउँदमा भने पानी पर्दैन । सुक्खाले जमिन पट्पटी फुट्छ ।
००० गाउँमा कसैको पनि दुई कट्ठाभन्दा बढी जमिन छैन । उब्जनी भएको अन्नले दुई महिना पनि धान्दैन । काम खोज्दै भारत जानु चैतन्यपुरका स्थानीयको बाध्यताजस्तै भएको छ । त्यसैले यहाँका गाउँमा पुरुषहरू प्राय: भेटिँदैनन् । चैतन्यपुर बोलाई टोलकी डम्बरी कुञ्जेडा भन्छिन्, ‘गाउँमा कोही मर्यो भने मलामी जाने पनि भेटिन्न । मर्दापर्दा हामी महिला नै जुट्ने गरेका छौँ । सबै काम महिला नै गर्छन् ।’ गाउँमा खानेपानीको व्यवस्था छैन । विद्यालय छैन । प्राथमिक उपचार केन्द्रसमेत छैन । झाडापखाला लागेको वेला जीवनजल किन्न चैतन्यपुरका दलितले घन्टौँ हिँड्नुपर्छ । सुत्केरी हुने वेलामा आकालमै ज्यान गुमाइने पो हो कि भन्ने त्रासमा हुन्छन्, गाउँका गर्भवती महिला । बेथा लागेपछि अस्पताल लैजाँदै गर्दा बाटैमा ज्यान गुमाएका महिलाको दर्दनाक कथा सुनाउँछिन्, कुञ्जेडा । एचआइभी एड्स संकक्रमणका दृष्टिकोणले पनि गाउँ जोखिममा छ । एचआइभी संक्रमणले गर्दा गाउँमा एकको मृत्यु भइसकेको छ । तीनजना संक्रमित छन् । खुल्न नसकेकाहरूको संख्या अझ बढी छ । कुञ्जेडा भन्छिन्, ‘एड्सबाट एकजनाको ज्यान गइसकेको छ । तीनजना संक्रमित छन् । उनीहरू औषधि सेवन गरिरहेका छन् । रोग लागेका कतिपय खुल्नै मान्दैनन् । विशेष गरी दलित समुदाय यसबाट ज्यादा पीडित छ ।’
००० खानेपानी गाउँ अत्तरियाकै अर्को गाउँ हो । पहाडी दलितको घना बस्ती छ, यहाँ । गाउँमा दलितका मात्रै चार सय घरधुरी छन् । उनीहरूको संख्या तीन हजार छ । ०५२ सालमा सबै पहाडबाट झरेका हुन् । जंगल फाँडेरै यहाँ बस्ती बसालेका हुन् । सबैको दुईदेखि तीन कट्ठा जमिन छ । अन्नले तीन महिना पनि खान पुग्दैन । रोजगारका निम्ति भारत जानुको विकल्प छैन । केरला, दिल्ली, मुम्बई, पुणेलगायत भारतीय सहर यहाँका बासिन्दाका निम्ति रोजगारीको मुख्य गन्तव्य बनेको छ । खानेपानी गाउँमा एचआइजी एड्सबाट तीनको मृत्यु भइसकेको छ । मृत्यु हुने श्रीमान्–श्रीमती थिए । उनीहरूको काखेछोरा पनि थियो, जो जन्मिँदै संक्रिमत थियो । पछि उसको पनि मृत्यु भयो । उनीहरूका दुई भाई छोरा भने जीवितै छन् । उनीहरूमा संक्रमण छैन । दुवै भारत छन् ।
००० खानेपानी गाउँमा भेटिएकी सामाजिक अगुवा सुमित्रा सोबका अनुसार नखुलेका एचआइभी संक्रमित बिरामी गाउँमा धेरै छन् । उनी भन्छिन्, ‘काम गर्नैपर्यो । गाउँमा काम छैन । भारत जानुको विकल्प छैन । काम गर्न गएका पुरुष संक्रमित भएर आउँछन् । श्रीमतीलाई सार्छन् । तीनजनाको मृत्यु भइसकेको छ । कोही खुल्नै चाहँदैनन् । यस्ता बिरामी अझ धेरै छन् । पछिल्ला दिनमा भने रगत परीक्षण गर्ने क्रम बढेको छ । संक्रमित भएर आएपछि परीक्षण गरेर के हुन्थ्यो र ?’ गरिबीले थिलथिलो पारेका उनीहरूमा एचआइभी एड्स लागेको कुरा सार्वजनिक भएपछि समाजबाट बेहोर्नुपर्ने अपहेलना सहने आँट छैन । यसैकारण एड्सका जीवाणुले भित्रभित्रै खोक्रिए पनि सार्वजनिक हुने साहस देखाउन सक्दैनन्, गाउँलेहरू । सोब भन्छिन्, ‘सार्वजनिक भएपछि छि:छि–दुरदुर भइने डर छ । कतिलाई इज्जतको पनि डर होला । यसैले सार्वजनिक हुँदैनन् ।’ ००० अत्तरिया नजिकै छ, चमला गाउँ । एक हजार पाँच सयको बस्ती छ, चमलामा । महिला आठ सय छन् । पुरुष सात सय छन् । त्यसमध्ये अधिकांश दलित छन् । जंगल फँडानीबाट बनेको हो, यो गाउँ । २० वर्षअघि पश्चिम नेपालको पहाडबाट झरेका हुन्, सबै । दुई कट्ठा जमिन, बाँसले बेरेको एउटा झुप्रो, एकहल गोरु नै हो, चमलावासीका घरधुरीको औसत सम्पत्ति । अन्य गाउँको तुलनामा यहाँको माटो केही मलिलो छ । तर, उब्जनीले जेनतेन तीन महिना धान्छ । रोजगारका लागि भारतीय सहर धाउनु यहाँका स्थानीयको पनि बाध्यता बनेको छ । गाउँ पुरुषविहीनजस्तै देखिन्छ । एचआइभी एड्सको संक्रमणबाट यो गाउँ पनि मुक्त छैन । ६ वर्षअघि एक पुरुषको मृत्यु भइसकेको छ, एचआइभी संक्रमणका कारण । उनकी श्रीमती पनि संक्रमित छिन् । अहिले औषधि सेवन गरिरहेकी छिन् । दुई छोरा र दुई छोरी छन् । जमिन छैन । कमाउने पनि कोही छैन । चमला पीपल टोलमा भेटिएकी शोभा विक भन्छिन्, ‘श्रीमान्को मृत्यु भयो । श्रीमती औषधि खाइरहेकी छिन् । साना–साना केटाकेटी छन् । कमाउने कोही छैन । बिहान–बेलुकाको छाक टार्न निकै मुस्किल छ ।’ शोभाका अनुसार चमला गाउँमा एड्सबाट संक्रमितको संख्या अरू पनि धेरै छ । तर, कोही पनि खुल्न चाहँदैनन् । उनी भन्छिन्, ‘संक्रमतिहरू गाउँमा अरू पनि धेरै छन् । तर, खुल्न चाहँदैनन् । जबर्जस्ती खुलाउने कुरो पनि भएन । छि:छि–दुरदुर हुने डरले खुल्न नसकेका हुन् ।’ बर्दिया र कैलालीबीच बग्ने कर्णाली नदीनजिकै जोडिएको छ, पथरैया–९ को अमरावती गाउँ । ६ सय घरधुरी छन्, यहाँ । गाउँमा प्राय: सबै दलित छन् । ०५२ तिर पहाडबाट झरेका हुन् सबै । जंगल फाँडेर बस्ती बसाले । निजी जग्गा कसैको पनि छैन । सबै सुकुम्बासी हुन् । दुई–दुई कट्ठाका दरले फँडानी गरेको ऐलानी जग्गा बाँडेका छन्, उनीहरूले । कर्णालीको भेलले वर्षाको तीन महिना सधँै डुबान पर्ने गर्छ, अमरावती । बर्दिया राष्ट्रिय निकुञ्जबाट आएका हात्तीले हिउँदे बाली नष्ट गर्ने गर्छ । उब्जनी भएको अन्नले तीन महिना पनि धान्दैन, अमरावतीका दलित सुकुम्बासीलाई । गाउँका युवालाई रोजगारका लागि भारतीय सहर चहार्नुको विकल्प यहाँ पनि छैन । अमरावतीमा दसैँ र तिहारबाहेक अरू वेला लोग्ने मान्छे कमै भेटिन्छन् । दिल्ली, मुम्बई, केरला नै यहाँका सुकुम्बासीको मुख्य गन्तव्य हो । एचआइभी संक्रमणबाट अमरावती पनि मुक्त छैन । तर, अधिकांश खुलेर बाहिर आउन सकेका छैनन् । अमरावतीकी सामाजिक अगुवा ललिता विक भन्छिन्, ‘एड्स लागेकाहरू गाउँमा टन्नै छन् । तर, खुल्न चाहँदैनन् ।’
|
एचआइभी संक्रमित |
श्रीमानले सार्नुभयो
माया विक (नाम परिवर्तन) म एचआइभी एड्सबाट संक्रमित हुँ । श्रीमान्बाट म संक्रमित भएँ । श्रीमान् रोजगारीका लागि भारत जाने गर्नुहुन्थ्यो । उतैबाट संक्रमित भएर आउनुभयो । सँगै बस्दा मलाई पनि सार्नुभयो । उहाँ अहिले हुनुहुन्न । बितेको १२ वर्ष भयो । म भने औषधि सेवन गरेर बाँचिरहेकी छु । सात वर्षअघि ममा एड्स देखिएको थियो । झाडापखाला, ज्वरो र खोकीले सताइरहन्छ । पुरानो घर सुदूरपश्चिमको पहाड हो । ०५२ सालतिर हामी चैतन्यपुर झरेका हौँ । त्यसवेला अत्तरियामा जंगलै–जंगल थियो । जंगल फँडानी गरेर बस्ती बसाल्यौँ । दुई कट्ठा मात्रै जमिन छ । खान पुग्दैन । त्यसैले गाउँका युवा रोजगारीका लागि भारत जानुको विकल्प छैन । मेरा दुई भाइ छोरा छन् । उनीहरू पनि भारततिरै छन् । वेला–वेलामा पैसा पठाउँछन् । त्यही पैसाले जीवन धान्ने काम हुँदै छ । छोरी पनि छन्, दुइटी । सानै छन् । दुवै विद्यालय जाँदैनन् । छोराहरूले पठाएको पैसा हातमुख जोर्दैमा ठिक्क हुन्छ । छोरीलाई विद्यालय पठाउने खर्च छैन । दुवै मसँग बस्छन् । मजस्तै बिरामी गाउँमा अरू पनि छन् । तर, कोही खुल्न मान्दैनन् । उनीहरू पनि औषधि खाइरहेका छन् । लोग्नेमान्छे काम गर्न भारत जान्छन् । उतैबाट संक्रमित भएर आउँछन् । श्रीमतीसँग बस्छन्, सार्छन् । गाउँमा यसरी नै संक्रमण फैलिएको हो ।साभार : न्या पत्रिका
No comments:
Post a Comment