दैवले चोट र पीडा पनि किन जानकी जस्तालाई नै थपिदिन्छ ?

२०७२ जेठ ८, विभेद बिरुद्ध अभियान  । जानकी परियार (नाम परिवर्तन) बेचविखन प्रभावित दलित महिला हुन् । ४५ बर्षकी जानकीको हालको बसाइ बौद्धमा छ । उनको घर सिन्धुपाल्चोक हो । उनी बौद्धमा आफ्ना छोरासँग बस्दै आएकी छिन् ।  सिन्धुपाल्चोकको घर भत्किँदा माइतीका ८ जना पुरिएको वियेागमा छिन् उनी ।
दैवले चोट र पीडा पनि किन जानकी जस्तालाई नै थपिदिन्छ ? लाउँलाउँ खाउँखाउँको उमेरमा दलालले कोठीमा बेचिदिए । जीवनको नारकीय यात्रा अहिलेसम्म पनि टुंगिएको छैन । वियोग, वेदना र वितृष्णा बाहेक उनको जीवनमा खुसी र सुखले कहिल्यै प्रवेश गरेन । तर, पनि जीवन संघर्षमा उनले हिम्मत हारेकी छैनन् ।
भूकम्पमा घरपरिवार सबै पुरिए पनि उनले अरु पीडितका लागि काठमाडौंका चूल्हा चौका चाहारेर राहत संकलन गरिरहेकी छन् । उनले ४ बोरा चामल, ४ बोरा मस्यौरा र १२ वटा त्रिपाल जम्मा परिसकेकी छिन आफ्नो गाँउका लागि ।
अर्को एउटा संस्थासँग समन्वय गरेर १५० वटा त्रिपाल गाँउमा लैजान उनको दौडधूप चलिरहेको छ । ‘धन हुनेसँग मन हुँदैन, मन हुनेसँग धन हुँदैन’ भन्ने उखान सायद जानकी परियारहरु जस्तैका कारण बनेको होला ।
जानकी भन्छिन् -खै राहत कहीँ थुप्रिएको, कुहिएको छ रे भनेको पनि सुन्छु, कतै राहत लैजान पाइँदैन रे भनेको पनि सुन्छु तर मलाई आफ्नो सोझा निमुखा दलित बस्तिमा अलिकति मात्र भए पनि राहत लैजान पाए हुन्थ्यो भन्ने लागेर आफन्त वियोगयको पीडाका आँशु पिउँदै हिँडेकी छु ।
दलित बस्तीका लागि राहत पर्याप्त नभएको र राहत वितरण गर्न आउँदासमेत आफूहरु दलित भएकै कारण बोल्न नसक्ने र पछि बस्दा जे जति भागमा पारिन्छ त्यहीमा चित्त बुझाउनुपर्ने बाध्यता रहेको उनको अनुभव छ ।
एउटा संस्थाले उनको परिवारका लागि मात्र राहत उपलब्ध गराउने आश्वासन दिएको थियो । तर, आफ्नो परिवारलाई मात्र ओभानोमा राखेर गाउँ भिजाउन नसक्ने भन्दै उनी गाउँका लागि हिँडेकी छिन् ।
राहतका नाममा करोडौं भित्रिरहेका बेला यो ४ बोरा चामल र १२ वटा त्रिपाल केही पनि नलाग्न सक्छ, तर एक गरीव, बेचविखन प्रभावित, साधारण साक्षर महिलाको भूकम्प पीडितका लागि गरेको यो प्रयास वास्तवमै उदारणीय छ ।
‘पीडाका बेलामा मल्हम लगाउन भन्दै दलालहरु गाउँ छिरेर चेलिबेटी बेचविखनको प्रपञ्च रच्न सक्छन्, अब हामी यस बिरुद्ध सचेतसमेत भएर लाग्नुपर्छ,’ जानकी भन्छिन् ।
साभार : आशिष दुलाल//अनलाइन खबर बाट

No comments:

Post a Comment